कोरोनासँगै राजनितिक रुपले जाग्दै नेपाली युवा

-दिपक देवकोटा / जर्मनी

सन् २०१९ डिसेम्बर महिनाको अन्त्यतिर चीनको हुवेइ प्रान्तको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस विश्वका २१३ मुलुकमा फैलिइसक्दा नेपाल पनि त्यसबाट अछुतो भने रहन सकेन । कोरोना भाइरसको असरसँगै त्यसले विश्व अर्थव्यवस्थामा पार्ने असरको बारेमा कुनै लेखाजोखा गरिसाध्य छैन । कोरोना भाइरसले नेपालमा कुनै असर गर्दैन भन्दै सरकारका मान्छेले जति नै फुकेपनि नेपाल त्योबाट बच्न  भने सकेन । अन्तत रोकथामका लागि भन्दै लकडाउन गर्न बाध्य भयो ।

नेपाल लकडाउनमा गएसँगै कतिपय अर्थविद्वहरुले नेपालको भावि अर्थतन्त्र बारे चिन्ता व्यक्त गर्न थाले । त्यसले आम नागरिकलाई थप निराशातिर धकेल्यो । नेपाल आफैँमा कमजोर अर्थतन्त्र भएको देश । त्यसमाथि यो कोरोनाबाट सिर्जित नयाँ परिस्थितीले थप संकट थपिदियो । कोरोना रोकथामकै लागि भनेर गरिएको लकडाउन भनिए पनि सरकारले त्यसबिचमा कुनै प्रभावकारी कदम चालेको भने देखिएन ।

दिनानुदिन संक्रमितहरु थपिँदै गर्दा पनि सरकारको ध्यान भने अन्यत्रै बढि देखिन थाल्यो । यस्तो अवस्थामा पनि कहिले सांसद अपहरण काण्ड कहिले राष्ट्रपतिको गलैंचा फेर्ने देखि मन्त्रीका जिमहल बनाउने सम्मका अनावश्यक कार्यहरुले सरकार जनताको माझमा अलोकप्रिय बन्दै जान थाल्यो । यस्तो बेला पनि अस्पतालका कर्मचारीहरु सरुवा बढुवा गर्ने, अनावश्यक क्षेत्रमा आफू अनुकुलका व्यक्तिहरु नियुक्ति गर्ने जस्ता आलोचित कामहरु गर्न थाल्यो । संकट तथा महामारीको यो घडीमा देशका गरिब वर्गहरु भोकै तड्पिरहेको बेला तिनलाई राहतको कुनै व्यवस्था नगरि सरकारको खर्च १० अर्ब निस्कियो । न पर्याप्त संक्रमण जाँच गर्न सकेको छ न क्वारेन्टाइनको व्यवस्था राम्रो गर्न सकेको छ ।

त्यस्तै राहत वितरणको नाममा २, ४ किलो चामल केहि दाना आलु र एक पोका नुन बाँडेरै सरकारको १० अर्ब सकियो । यो कोरोनाका बिचमा सरकारका यस्तै अलोकप्रिय र भ्रष्ट कार्यहरुकै कारण हिजो राजनैतिक छायाँबाट टाढा रहेका युवा वर्गहरुमा समेत सरकारको यस्ता कार्यहरुले घच्घच्याउन थाल्यो । जुन कुरा हालै केहि दिन अघि देशैभरि देखिएको युवाहरुको सडकमा उपस्थिति त्यसको पछिल्लो उदाहण हो ।

हिजोसम्म यहि वर्ग हो जो आइ हेट पोल्टिक्स, पोल्टिक्स इज डर्टि गेम भन्दै राज्यको सुचनाहरुबाट बेखबर जस्तै थियो । कोरोना कहरसँगै यसका बिचमा सरकारका चरम घोटाला काण्डले उनीहरुमा पनि राजनितिक चासो बढाईदिएको छ जुन सकारात्मक पाटो हो । राजनिति यस्तो विषय हो जुन हरेकले गर्नु आवश्यक छैन । तर बुझ्नु हरेकले आवश्यक छ ।

केही समय अघि मेरो एउटा साथीले कुरै कुरामा अहिलेको संसदलाई संविधानसभा भन्यो ! जिब्रो चिप्लिएको होला भनेर बुझ्नको लागि मैले फेरी सोधेँ । तर होइन रहेछ । यहाँनेर होच्याउने नियत मेरो होइन । देशको हालखबर बारे हामी कति अनभिज्ञ छौँ भन्ने कुराको प्रतिनिधि उदाहरण मात्र हो यो । के सत्य हो भने आजको युवा पुस्तामध्ये अत्यन्त कमले मात्र नियमित पत्रपत्रिका पढ्छन् वा समाचार सुन्छन् ।

नयाँ संविधान बन्यो । उत्सव मनाइयो । किन मनाइयो ? थाहा छैन । तराइको ठूलो समुदायले संविधानलाई कालो झण्डा देखायो। संविधानको किताब जलायो । किन जलायो ? थाहा छैन । गाविसको ठाउँमा गाउँपालिका आयो तर किन आयो ? थाहा छैन । फेसबुक र इन्स्ट्राग्राममा रमाउने आजको युवा जमात त्यसबाट लिन सकिने सकारात्मक कुराको ग्रहण गर्न चाहँदैन । मात्र फोटो हाल्न र लाइक सेयर बटुल्न उसको ध्यान जान्छ । यी चोर नेताहरु सबलाई लगेर झुण्ड्याउनुपर्छ र गाड्नुपर्छ अनिमात्र देश बन्छ । यस्तो अभिव्यक्ति तिनै युवा जमातले दिने गर्छ । तर देशको बारेमा जान्नुपर्ने सामान्य जानकारी पनि आफूमा राख्न चाहँदैन । तर यो कोरोना कहरसँगै उनीहरुमा यी यावत कुराहरुमा चासो राख्नुपर्ने रहेछ भन्ने आभास भएको हुनुपर्छ ।

हिजोसम्म फेसबुकमा फोटो हाल्न मात्रै व्यस्त युवा वर्ग आज सरकारसँग १० अर्बको हिसाब माग्दैछन् । सरकारको कार्पेट खरिदको विरोध गर्दै संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न खबरदारी गरिरहेका छन् । लकडाउनको लगभग तिन महिनासम्म शान्त रहेका युवाहरुमा यो स्तरको बिद्रोहको चेतना कसरी पलायो त ? एउटा यक्ष प्रश्न छ । यस्तो विषम परिस्थितिमा पनि युवाहरु स्वतःस्फूर्त रुपमा सडकमा उत्रिनुले उनिहरुमा राजनितिक चासो वा भनौं देशप्रति सचेतना बढेको देखिन्छ । यो अवस्था कसरी सिर्जना भयो त अब त्यता चर्चा गरौं ।

जब कोरोना भाइरसको संक्रमण बुहानमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय रुपमै त्यसले आकार ग्रहण गर्दै जान थाल्यो त्यस्तो बेलामा हाम्रो देशका मन्त्री प्रधानमन्त्रीहरु भने त्यसबाट बच्न पूर्व तयारीमा लाग्नुको सट्टा नेपाल कोरोनामुक्त देश रहेको भन्दै पर्यटकहरुलाई नेपाल घुम्न आउन निमन्त्रणा गर्दै बस्न थाले । सरकारको यो पहिलो गल्तिबाट नै युवाहरुमा आक्रोश पैदा गर्न थालिसकेको थियो । विश्वको स्वास्थ्य क्षेत्रमा गम्भिर संकट देखिइरहेको अवस्थामा नेपाल सरकारलाई भने पर्यटन वर्ष २०२० कसरी सफल बनाउने भन्ने मै चिन्ता रहेको देखिन्थ्यो । अन्ततः जब कोरोनाले ठूलो रुप लिँदै गयो, नेपालमा पनि केहीलाई यसको लक्षण देखिन थाल्यो तब सरकार पछि हट्न बाध्य भयो । उक्त कार्यक्रम नै हाललाई स्थगित गर्न अवस्थामा पुग्यो ।

जब भारतमा कोरोना संक्रमण फैलिन सुरु गर्दै थियो तब त्यहाँ रहेका नेपाली श्रमीकहरु स्वदेश फर्कन खोज्दा उनीहरुलाई देशभित्र छिर्न नदिई सिमा मै अलपत्र पारेर राखियो । प्रतिपक्षी दल र सत्तारुढ दलकै कयौं सांसदहरुले ति श्रमीकहरुलाई स्वदेश भित्रिन दिनुपर्ने माग राख्दै गर्दा सरकार कानमा तेल हालेर बस्यो । जब भारतमा कोरोना डढेँलो जस्तै गरी तिब्र गतिमा बढ्न थाल्यो बल्ल सरकारले ति श्रमीकहरुलाई भित्र छिर्न दियो । भारतमा कोरोना फैलिनु भन्दा अगावै छिर्न दिएको भए नेपालमा संक्रमण जोखिम कम हुन्थ्यो । तर सरकारको अदुरदर्शी रणनितिले आम नेपाली जनतामा त्रासको दर बढेर गयो । यस्तो अवस्थामा सरकारले आफ्नो आत्मआलोचना गरेर अघि बढ्नुको सट्टा झन बढी दम्भ देखाउँदै जान थाल्यो । यसले युवामा आक्रोश पैदा गर्‍यो ।

सरकारले तयारी बिनाको लकडाउन घोषणा गर्दै जाँदा गरिब मजदुर किसान जनतामा दुई छाक टार्न नै समस्या देखिन थाल्यो । यस्तो अवस्थामा सरकारले ति वर्गको पक्षमा कुनै कार्यक्रम ल्याउनुको साटो लकडाउन मात्रै थपेर आम जनतालाई सास्ती दिएर थप आक्रोस पैदा मात्रै गरिरह्यो ।

कोरोनाको यस्तो त्रासदी अवस्थामा पनि सरकार स्वास्थ्य सामाग्री खरिदको नाममा भ्रष्टाचारमा लिप्त हुनथाल्यो । जनतालाई राहतको कुनै प्याकेज नै नल्याई १० अर्ब सकिएको खर्च देखाईदियो । त्यस्तै कोरोनासँग जुध्नका लागि प्रभावकारी रुपमा क्वारेन्टाइन, आइशोलेसन निर्माणमा जुट्नुपर्ने बेला सरकारको ध्यान भने दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनमै ब्यस्त रह्यो । कोरोना रोकथाममा १० अर्ब खर्च भईसकेको बताएको सरकारले गोठ जस्तो ठाउँलाई पनि क्वारेन्टाइन बनायो । यसले जनतामा थप आक्रोस पैदा गराउनेनै भयो ।

जनतामा डर, त्रास, आक्रोस बढी रहेको यो अवस्थामा प्रधानमन्त्री जस्तो व्यक्तिले उट्पट्याङ कुरा गरेर आफ्नै पदिय गरिमाको खिल्ली उडाउने काम मात्र गरिरहे । कोरोना रोकथाममा लकडाउन बाहेक अन्य केही प्रभावकारी कदम चाल्न नसकेपछि प्रधानमन्त्री आफू नै सर्वविज्ञ हुँ भने जसरी उट्पपट्याङ कुरा मात्र बोलिरहे । कोरोनालाई कहिले फ्याटिय तत्व र बोशिय तत्व भन्दै तातो पानी प्रयोग गरेरै कोरोनाबाट बच्न सकिने बताए । यसले उनको तिब्र आलोचना हुँदा पनि उल्टै आफ्ना आलोचकहरु माथि खनिन थाले । त्यो कुराबाट आलोचित भईसक्दा पनि आफूलाई पूर्ण ज्ञान नभएको कुरामा बोल्न छाड्नुको सट्टा फेरी पनि कहिले हाछ्युँ गरेर, बेसार पानी खाएरै कोरोना निको हुन्छ । सुत्केरी महिला, गर्भवति महिलाले बेसार प्रयोग गर्नु हुन्न भन्ने जस्ता कुरा बोलिरहे । कोरोना केही होइन हाछ्युँ गरेर, तातो पानी खाएर, बेसारको प्रयोग गरेरै निको हुने भए यत्रो समय लकडाउन किन गरेको भनेर युवाले प्रधानमन्त्री प्रति चर्को आक्रोश व्यक्त गर्न थाले ।

सरकारका यस्तै हर्कतका कारण राजनिति प्रति झुकाव नराख्ने युवाहरुमा पनि आक्रोश उत्पन्न भयो । र उनीहरुलाई सडकमा आउन बाध्य पार्‍यो । युवाहरुमा सरकारको काम कर्तव्यप्रति चासो जानु ढिलै भएपनि एक सकारात्मक पक्ष हो । युवा वर्गमा सरकारको गलत प्रवृत्ति विरुद्ध विद्रोह पैदा हुनु स्वागतयोग्य कुरा हो । युवा वर्गमा सरकार र देशप्रति यो स्तरको चासो र सरोकार निरन्तर हुनु जरुरी छ ।

युवा वर्गको यो सचेतनाले सरकारलाई के चेतावनी दिएको छ भने सरकारले कुनै पनि निर्णय गर्नुभन्दा पहिला बिकल्प सहित आउनुपर्छ । सरकारले के सहयोग गर्न सक्छ भन्ने बारेमा सोच्न जरुरी छ । कार्यान्वयन नहुने निर्णयले नागरिकहरुमा निरासा मात्रै पैदा गर्छ । सरकारले फजुल खर्च कटौति गर्ने, भ्रष्ट्राचार रोक्ने, उत्पादनमुलक काममा अर्थपूर्ण लगानी गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापन गर्न अवसर सिर्जना गर्ने, दैनिक आधारभूत सेवा जुन व्यक्तिको जीवनको अधिकारसँग जोडिएको छ । यस्ता कार्यमा ध्यान दिनु पर्नेछ । अन्यथा युवा जाग्नेछन् र ति सडकमा आएभने सरकालाई थेग्न गाह्रो पर्नेछ । सरकारले चेतोस् ।

तपाइँको प्रतिक्रिया

फेसबुक