बिहीबार, वैशाख ६, २०८१

दोश्रो पटक पनि ओलीले अल्मल्याइदिए : कार्यदलप्रति नेपाल, खनाल र श्रेष्ठ असन्तुष्ट

महाधिवेशनसम्म समिकरण बदलिन सक्ने

लिला भारद्वाज२०७७ साउन ३२ गते १०:४८

पार्टी विभाजनको तहसम्मको युद्धमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको झगडा तत्कालका लागि रोकिएको छ । सरकारले राम्रोसँग काम गर्न नसकेको, भ्रष्टाचारीहरुलाई सँरक्षण गरेको, कोरोना विरुद्ध प्रभावकारी काम गर्न नसकेको जस्ता विषयहरुमा सरकारको प्रधानमन्त्री ओलीको आलोचना गर्दै शुरु भएको नेतृत्वको झगडा भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको भनेर सार्वजनिक रुपमा भनेपछि झनै चर्किएको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्शा जारी गरेसँगै मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा ओलीले यस्तो आरोप लगाएपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सबैतिर असफल ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेर आआफ्ना गूट मार्फत ओलीलाई दबाब दिइरहे । संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटी सबैतिर अल्पमतमा रहेका ओलीले बालुवाटारमै राखिएको स्थायी कमिटीको वैठक समेत
बेवास्ता गरे । विधान सम्मत केन्द्रीय कमिटीको वैठकको माग गरेर ज्ञापन पत्र बुझाएका केन्द्रीय सदस्यहरुको मागको पनि सुनुवाइ भएन । प्रचण्ड नेपाल पक्ष पनि ओलीले एकतर्फी रुपमा स्थगित गरेको स्थायी कमिटीको वैठक त्यसरी स्थगित गर्नु विधिसम्मत नभएको भनी ओली विरुद्ध माइन्यूट नै गर्ने हदसम्म पुग्यो । ओली निकट महासचिव विष्णु पौडेल र प्रचण्ड निकट जनार्दन शर्माको दौडधूप चलिरह्यो । जतिपटक वार्ता र बहस गरेपनि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा बाहेक अरु कुरामा सहमति गर्ने ओलीको अडान यथावत नै रह्यो । स्थायी समितिको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएर फेरि वार्ताको दौड चलिरहँदा यतिसम्म भयो कि नौ नौ दिनसम्म दुई अध्यक्षको बोलचाल नै बन्द भयो ।

 निषेधको मिलन

भनिन्छ, राजनीति दुई अतिहरुको मिलन हो । निषेध निषेधको सहकार्य हो । पानी बाराबारको स्थिति पछि अहिले पार्टी भित्रको समस्या समाधान गर्न भनी विष्णु पौडेलको सँयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा ओली निकट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्ड निकट जनार्दन शर्मा र पम्फा भुसाल, नेपाल निकट सुरेन्द्र पाण्डे र भीम रावल छन् । कुनै समयसीमा नतोकि दुई अध्यक्षको सहमतिमा बनाइएको कार्यदल सचिवालयलाई बाइपास गर्दै बनाइएपछि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएका छन् । तत्कालका लागि समस्या टरे जस्तो लागे पनि दीर्घकालसम्म यसले सकारात्मक नतिजा निकाल्ने कुरामा शंका लागेको उनीहरुले आफ्ना गूटका सदस्यहरुलाई बताएका छन् ।

निषेधको तहसम्म रहेका ओली र प्रचण्डको बीचमा सहमति भैसकेपछि औपचारिकताको निम्ति यो कार्यदल बनाएको नाटक गरिएको उनीहरुको शँका छ । प्रचण्डलाई सक्रिय अध्यक्षको जिम्मेवारी दिने, पूर्व निर्धारित मिति अनुसार चैतमा पार्टीको महाधिवेशन गर्ने र सर्वसम्मतिले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गराउने भित्री आश्वासन पाएर नै प्रचण्ड ब्याक हटेका हुन् भनिए पनि प्रचण्ड स्वयम्ले भने यो स्विकारेका छैनन् ।

शीतल निवासमा यही सहमतिको छिनोफानो गर्न बोलाइँदा जनताको बहुदलीय जनवाद मान्नुपर्छ भनेर ओलीले जबजका प्रचण्डलाई अल्झाउन खोजेपछि पछिल्लो पटक ओली बिच्किएका थिए । तर, यसपटक पनि अस्थिर सचिवालय सदस्य वामदेव गौतमले ६ बूँदे सहमतिको नाममा ओलीको कित्तामा आफूलाई उभ्याइदिएपछि सन्तुलन बिग्रँदै गयो । त्यसपछि प्रचण्ड आगामी महाधिवेशनपछि पार्टीको नेतृत्वमा पुग्ने सहमति पछि मात्र ब्याक भएका हुन् भनिएको छ ।

केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी भित्र विधि र निष्ठाको राजनीतिको वकालत गर्दै आएका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालप्लससँग भने, शीर्ष नेतृत्वमा एकताको विकल्प छैन । अहिले विभाजित भएर अघि बढ्ने बेला नै होइन । अहिले विभाजनमा जानु भनेको जनताको विश्वासमाथि गद्दारी गर्नु हो । यसो भनिरहँदा, पार्टीभित्र पद्धति र अनुशासन, विधि र अन्तरपार्टी जनवादको मामिलामा हामी खरो उत्रिनुपर्छ भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । आम कार्यकर्तापँक्ति विभाजनको विपक्षमा छ, नेताहरुले एकजुट भएर जाने निर्णय गरेर विवेक देखाउनुभएकोछ । पार्टी स्थायी समितिका एक सदस्यको भनाइछ, मन्त्रीमण्डल हेरफेर, प्रदेश सरकारमा नेपाल समूहका केही नेताहरुको भर्ति र सरकारी नियुक्तिहरुमा असन्तुष्टहरुलाई समेटेर नियुक्ति दिलाउने कुरामा ओली सहमत भएका हुन् र कुरो मिलेको हो । तपाइँले यसको नतिजा छिटै देख्नुहुनेछ ।

सिद्धान्तको होइन : शक्ति र लोभको लडाइँ

वामपन्थी विश्लेषकहरु भने नेपाल कम्युनिष्ट पार्टी विभाजनको तहसम्मै पुग्दैन भनेर शुरुदेखि नै परिस्थितिको आँकलन गरेका थिए । पार्टीको नीति र कार्यदिशा, भावी योजना, घोषणापत्र अनुसारको बहस, दलित र उपेक्षित सर्वहाराको पक्षमा कसरी कार्यक्रम लैजाने भन्नु भन्दा पनि आफू कसरी शक्तिशाली हुने, ओलीलाई विस्थापित गरेर कसरी आफूहरु स्थापित गर्ने भन्ने मै असहमतहरुको ध्यान गएको हुँदा मिलन अवश्यम्भावी हुनु राजनीतिशास्त्रमा सामान्य रहेको उनीहरुको भनाइ छ ।

पार्टीभित्र विधि र पद्धति सबैभन्दा बढि मिच्नेमा अध्यक्ष ओली स्वयं छन् । तर, उनको राजीनामाको माग बोकेर चिच्चाउनेहरु स्थायी समितिबाट निर्णय गराउन सक्दैनन् । ओलीमाथि पार्टी पद्धति र नीति विरुद्ध गएको अभियोग लगाएर पार्टीको जनवादी केन्द्रीयताको नीति अनुरुप दण्डित गर्न पनि सकिन्थ्यो । तर भारतले पार्टी भित्रकै नेता उचालेर नक्शा निकालेकै कारण आफूलाई सत्ताच्यूत गरेको अभियान लिएर एमाले पुनर्गठन गर्ने ओलीको रणनीतिको अगाडि बहुमतपक्षीय नेताहरु निरिह भए । पार्टी विभाजनको दोष आफ्नो टाउकोमा आउला भन्ने भयले उनीहरुमा काम गर्यो ।

महाधिवेशनसम्म समिकरण बदलिन सक्छ

सानो समूह लिएर हिँडेका अस्थिर खेलाडी वामदेव गौतमले दुई दुई पटक भिरैमा पुगेका ओलीलाई बँचाइदिए । प्रचण्ड लगायत ओली गलहत्याउन तम्तयार समूहलाई पनि के कुरा राम्ररी थाहा छ भने टेक्ने र समाउने दुवै भाँचियो भने भोलि सबैको पत्तासाफ हुनसक्छ । नयाँ पुस्ता नेतृत्वको लागि खुट्टा उचालेर बसेको छ मैदानमा । सजिलै छोड्ने पक्षमा बूढाहरु छैनन् ।

अधिकांश केन्द्रीय सदस्यको बुझाइमा महाधिवेशनसम्म समीकरण फेरिन सक्ने अनुमान गरिरहेकाछन् । जनताको बहुदलिय जनवादको औचित्य सकियो भन्ने प्रचण्ड, घनश्याम भूसालहरुको यौटा वैचारिक समूह र जबजको औचित्य यथावत देख्ने राष्ट्रपतीको समेत सहानुभूतिप्राप्त ओली सँरक्षित शंकर पोखरेल , प्रदीप ज्ञवाली लगायत पूर्व एमालेको यौटा पँक्तिको महाधिवेशनमा यसलाई ठूलो मुद्दा बनाएर लैजाने सम्भावना उनीहरु देख्छन् । यसो गर्दा पूर्व एमालेलाई एकैठाउँ गोलबन्द गर्ने एजेण्डा हुनसक्छ जसको कारण नेतृत्वमा पुग्न सहज हुन सक्दछ । तर, वैचारिक हिसाबले पार्टीमा पुरानो त्याग र नयाँ युवाहरुको बहस बनाएर लैजान तम्सिएका माधव नेपाल समूहले कस्तो भूमिका खेल्ने हो त्यसमा भर पर्दछ । पूर्व माओवादी समूह पनि वैचारिक बहस लिएर मैदानमा आउन सक्दछ ।

तर, आगामी महाधिवेशनलाई एकताको महाधिवेशन भनेर वैचारिक कुरालाई एकातिर थन्क्याएर शक्ति बाँडफाँड गरेर टुँगिने सम्भावना पनि उत्तिकै हुनसक्दछ । तर, कोरोना संक्रमणको कहरमा ओलीमाथि प्रचण्ड नेपालको अगुवाइमा भएको हमलाको बदला नलिएर ओली समूहले छोड्ला ? महाधिवेशनसम्म ओलीकै नेतृत्वमा सरकार संचालन हुने भएपछि शक्ति र सत्ताको पनि सक्दो दुरुपयोग हुने नै छ । त्यसबिचमा पार्टी भित्रका इमान्दार र त्यागी कम्युनिष्टहरुले वैचारिक हमला छेडेभने त्यो ओली समूहलाई भारी पर्न सक्दछ । तर भीरमै पुगेका सबैतिर अल्पमतमा परेका ओलीले बहुमत समूह लिएर आमनेसामने भएका प्रचण्ड ओलीलाई अल्मल्याइदिएकाछन् ।

(फोटो क्रेडिट -खबर हब)

तपाइँको प्रतिक्रिया