शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रकवि माधव घिमिरे : एक शब्दचित्र

नेपाल प्लस२०७७ भदौ ३ गते ५:०३

दुःखी भएनि पिर, सम्झेकी आमा भनी
खुशी भएनि पिर, बिर्सेकी आमा भनी
राष्ट्रकवि माधव प्रसाद घिमिरेको सबैभन्दा चर्चित ‘गौरी’ खण्डकाव्यमा बैँसमै साना केटाकेटी छोडेर बितेकी श्रीमती, अनि ती केटाकेटी हेर्दै बसिरहेको एक्लो श्रीमानको यो शोक काव्य पढेर नरुनेहरु कमै होलान् ।

कविवर घिमिरेको भदौ २ गते मंगलबार १०१ वर्षको उमेरमा काठमाडौमा निधन भयो । विक्रम सम्वत् १९७६ असोज ७ गते लमजुँग पुस्तुनमा पिता गौरीशंकर र माता द्रौपदीको जेठो छोराको रुपमा घिमिरेको जन्म भएको थियो ।

काठमाडौ र वनारसमा अध्ययन गरेका घिमिरेले २००४सालमा श्रीमती गौरीको निधन भएपछि रचना गरेको गौरी शोककाव्य निकै चर्चित भयो । उनका नवमन्जरी, घामपानी, नयाँ नेपाल, किन्नरकिन्नरी जस्ता कविता सँग्रह प्रकाशित छन् ।

स्वच्छन्दतावादी र परिष्कारवादी लेखन शैलीका कारण उनका काव्य मात्र होइन मालती मँगले,शकुन्तला,हिमालपारि हिमालवारी, देउकी जस्ता गीति नाटक पनि निकै चर्चित र लोकप्रिय भए । आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चा निबन्ध प्रबन्ध सँग्रह पनि प्रकाशित छ । लामो समय तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य र कुलपतिको रुपमा सेवा गरेका उनले उषाचरित्र, नागानन्द र दुर्गासप्तशतिको अनुवाद पनि गरेका थिए ।

गाउँछ गीत नेपाली, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, फूलको थुँगा बहेर गयो गँगाको पानीमा, आजै र राति के देखेँ सपना जस्ता चर्चित गीतका गीतकार घिमिरेले स्थानीय जनजिब्रोका शब्द र लयलाई गीतमा ढाल्ने बैशिष्ट्यताकै कारण चर्चित भएका थिए ।

राणाकालीन, पँचायतकालीन, शाहीकालीन,गणतन्त्रकालीन सबै विधि र व्यवस्थामा उत्तिकै सक्रिय कविवरले उत्तरार्धमा ऋतम्भरा महाकाव्य रचना गरिरहेका थिए । सय वर्ष नाघेको कविको सिर्जनशीलता असाध्यै लोभलाग्दो थियो । महाकवि देवकोटा र रविन्द्रनाथ टैगोरबाट प्रभावित घिमिरे रचना गरिसकेपछि धेरैपटक काँटछाँट
गरेर मात्र छाप्न पठाउने बानीका कारण पनि चर्चित थिए ।

नेपाली साहित्यमा कविवर माधव प्रसाद घिमिरेको योगदान अजम्मरी रहनेछ । दिवंगत कविप्रति हार्दिक श्रद्धान्जली !

तपाइँको प्रतिक्रिया