मंगलबार, असोज ६, २०७७

दिदी लिन जाँदा बाँदर सेनाको आक्रमण

उदयराज गौतम२०७७ भदौ ७ गते ७:३१

हामी ६ भाईकी दिदीको सानैमा बिवाह भैसकेको थियो। “पढाउने बिचार गरेको थिएँ । राजाको छोरो जस्तो केटो फेला पर्यो छोरी दिएँ” भनेर बाले आमालाई सुनाउनु भएछ । “दिने बेलामा मैले थाहै पाइन । दिईसकेपछि मलाई किन सुनाउनु पर्यो ?” भनेर आमाले गुनासो गरेको अलि अलि थाहा पाइयो । दुरान आउँदा रातै कपडा लगाएर रुँदै घर भित्र पसेको र माटे खाटमा बसेर दिदीले सुँक्क सुँक्क गरेको घटनाको मलाइ धमिलो सम्झना छ । दुई हो की तिन कक्षा पढ्दै गर्दा दिदीको पढ्ने रहर मेरै कारणले छुटेको भनेर दिदीले अहिले पनि गुनासो गर्छिन् । “भाई हेर्न पर्यो स्कुल नजा” भनेपछि दिदीको के लाग्यो र !

माछाको बल पानी सम्म । सबैकी जेठी घरकी एक्ली छोरी भएर होला अघिपछि भन्दा तिहार र तीजमा दिदी हामीलाई जसरि पनि चाहिन्थ्यो । तिहारको बेलामा दिदीको मासिक धर्म नहोस भनेर पुकार गर्नुपर्थ्यो । अफसोच त्यस्तो कहाँ हुन्थ्यो र !

बहिनी कमलालाइ पनि सानैमा कान्छाबाले चितवन लिएर जानु भयो । दिदी नआउँदा निधार खाली हुँदैनथ्यो । कति पटक हाम्रो तिहार निकै खल्लो हुन्थ्यो । केटाकेटी बेलैमा हुनेरैछ चाडबाडको महत्व ।

भर्खर ६ कक्षामा पढ्दै थिएँ । तीजमा दिदी लिन जानुपर्ने भयो मलाई । पर्बत हुवासबाट स्याङजाको आँधिखोला, डौवा गाजने । साँढे चार घण्टा लाग्थ्यो । आमाले दिदीको लागि तयार गरेको मसाउरो (ढकनी) एउटा भाँडामा थियो । अर्को सानो पोको टपरीमा मलाइ बाटामा खान भनेर तयार थियो । अरु केहि चिज पनि थिए जस्तो लाग्छ । एउटा बर्कोलाई झोला बनाएर सामान तयार भए पछि ओढ्ने छाताको कुरो आयो । भदौरे झरी निरन्तर थियो । घरमा छाताको कुनै समस्या थिएन ३ वटा लैजान्छु भने पनि पाइन्थ्यो । समस्या केमा थियो भने ति छाताले पानी बाहिर फ़ाल्दैनथे ।

कताबाट कसले हो बालाई एउटा स्वचालिएत (अटोमेटिक) छाता दिएको थियो । त्यो हामीले बिरलै छुन पाइन्थ्यो । पिट्ट पारे पछि गोलि चले झैं फ्याट्ट खुल्थ्यो । त्यो छाता खोल्दा छुट्टै रौनक आउँथ्यो । मन दह्रो पारेर बासँग मलाई त्यहि छाता चाहियो भनें । “म डुल्न जानु पर्छ तँलाइ त्यहि छाता किन चाहियो ?”

छाता पाउने अन्तिम उपाय भनेको “दिदी लिन जान्न” भन्नु पर्ने भयो । त्यो पनि भनियो । छाता मिलेपछि यात्रा सुखद हुनेभयो । ११ बजे तिर घरबाट हिंडेर सौर्कोट, धरादी, काभ्रेको जंगल हुँदै मैदान पुगें । तिन घण्टा हिंडेपछि भोकपनि लाग्यो । पोकामा यसो छामेको मसाउरो अझै तातै थियो । मसिनो पानी परिरहेको थियो । हात्तीछाप चप्पलले पछाडि माथि सम्मनै हिलो छम्केको थियो । मैदान सकिनै लाग्दा एउटा अग्लो ढुंगा माथि बसेर आफ्नो भागको मसाउरो खाने शुर कसें । अगाडी पट्टिको ठूलो रुखमा एक हुल बाँदर देखिए । मैले खान थाले पछि तिनीहरु अलि नजिक आए । बाँदरलाई अलि पहिल्यै देखी अलि सम्मान नगर्ने बानीले पनि होला केहि जस्तो लागेको थिएन । त्यस्तै बाँदर धपाउने कहिले रहर र कहिलेको बाध्यताले दिदीका घर यस भन्दा पहिला पनि बाक्लै जाने आउने गरेको थिएँ । हाम्रा घरतिर बाँदर हुँदैनथे । शुरुमा २-४ वटा आए । मैले खाइसकेर छाता बन्द गर्दै फेरी फ्याट्ट खोल्दै गरेर बन्दुक हाने जस्तो गरे छि ति पछि हटे । निमेष भरमा बाँदरको ठूलो हुलले मलाइ छापामार शैलीमा आक्रमण गर्न थाले । मनमनमै पैयुँ कोटकी कालिका माइलाई सम्झें । छाता च्यातियो । कमेजको बाउलो पनि गयो । पोको जोगाउन मलाइ ठूलो युद्ध गर्नुपर्यो । छाता र पोको भुइमा फ्याँकेर ढुङ्गो टिप्नै लाग्दा घाँस काट्न हिंडेका तिन जना महिलाहरु टुप्लुक्क त्यहि बाटो आईपुगे र उनीहरुले पनि बाँदर भगाउन सहयोग गरे । बल्ल तल्ल दिदीको मसाउरो जोगाएँ । मसाउरो जोगिएकोमा मेरो मनमा खुशीको सिमानै रहेन । त्यो पोको अनुकुल समय मिलाएर दिदीलाई बुझाउने अनि दिदीले त्यसलाई बिशेष ठाउँमा सुरक्षित राख्ने कुराको पक्का भएको हुँदा मन फ़ुरुङ्ग भयो ।

अब एक घण्टा भन्दा बढिको ओरालो झर्नुपर्ने थियो । बाँदर काण्डको डरले खुट्टा फुतुक्क गले । चिसा पसिनाले जीउ निथ्रुक्क भयो । बाँदर सेनाले हुर्मत लियो । दिदीको घरमा त पुगियो । झट्टै घटनाको सबै कुरो भन्ने कुरो पनि भएन । त्यहाँका मान्यजन सबैलाई दिदीको आदेश अनुसारको दण्डवत प्रणाम गरिसकेपछी बल्ल बाँदरले लखेट्यो मात्र भनेर कुरो मिलाइयो । भोलीपल्ट बाको अटोमेटिक छाता को दुर्दशाले भने भेद खुलायो ।

अर्को दिन दिदीभाई मिलेर दिनभरि घाँस काटियो । पंचमी सम्म दुई वटा भैंसीलाइ पुग्नेगरि घाँस काटेर ब्यवस्था मिलाउनु पर्थ्यो । दिदीलाइ लिएर जान पाइने होकी हैन त्यसको कुनै टुंगो थिएन । अन्तिम तोकादेश हुन बाँकी थियो । पठाई हालेको अवस्थामा हाम्रो घर दुई दिनलाई हुनसम्म रमाइलो हुन्थ्यो । तर गीतका भाका र व्यथा भने सधैं एउटै हुन्थे ।

फकाई फकाई ल्याऊँछन्, कोचाई कोचाइ ख्वाउँछन्
पंचमीका भोलीपल्ट रुँदै पठाउँछन् ।

दिदीका दुखका पहाड सम्झदा अहिले पनि मेरो मन गलेर पानी पानी हुन्छ । कसैकी बुहारी, कसैकी छोरी भएर जन्मेपछि कति सम्मको दुख कस्टको सामना गर्नुपर्दो रहेछ एउटा महिलाले !

दिदी एउटा प्रतिनिधि पात्र मात्र हुन् । त्यहाँका अरु थुप्रै दिदीहरुको, दिदीका वल्लो पल्लो घरका अरु दिदीहरुको पनि अवस्थामा कुनै भिन्नता थिएन । निरन्तर घाँस काटिरहनुपर्ने । बिहानै ४ बजेदेखि राती ११ बजेसम्म कसैलाई पनि बसेको देख्नै नपाइने मुख्य कारण भनेको त्यहाँको भौगोलिक अवस्था थियो । पानी लिन टाढै पुग्नुपर्ने । घाँसदाउरो र खेतीपाती निकै टाढा जानुपर्ने । हाम्रो घरको अवस्था भन्दा त्यहाँ बस्ने मान्छेका दुख निकै फरकको अनुभूति मेरो कलिलो मस्तिष्कले गर्यो । बडा अदबले भित्र बाहिर गर्नुपर्ने । गुच्चा खेल्नपनि नपाइने । बिस्तारै बोल्नुपर्ने । केहि भन्नुपरे दिदीसँग मात्र सुटुक्क भन्नु पर्ने । अलि डम् डम् आवाज आउने गरि हिंड्न, पिंढीबाट आँगनमा ब्वाङ्ग हामफाल्न, चरा, कुकुरलाई मन फुकाएर ढुंगाले हान्न पनि नपाइने । दुई दिन बस्दा मलाई त यस्तो गाह्रो भयो दिदीलाइ झन् सधैं यहाँ बस्दा कस्तो भाको होला जस्तो लाग्थ्यो । यसरि बोल, यसरि हिंड यसो यसो गर, यसो नगर बेला बेला दिदीका अर्ति सुन्नु छुट्टै पाटो थियो । काइदाको अनुशाशन थियो त्यहाँ ।

भिनाजु सर्खारी जागिरे भएकोले सितिमिति भेट हुँदैनथ्यो । भेट हुनैपनि सकेसम्म नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । अगाडी पर्दा किन हो कुन्नि बिछट्ट डर लाग्थ्यो । भिनाजु बर्दिवाला भएर पनि होकी ! घरमा बाले पनि भिनाजु आउँदा ओछ्याउने छुट्टै दरि किन्नु भाको थियो । ओढ्ने ओछ्याउने अनि वरपर लगाउने चप्पलको छुट्टै व्यवस्था थियो । खाने कुरामा पनि छुट्टै हरहर वासना आउँथ्यो । ए रातै ! ज्वाईं हुन पाउनु पनि काइदाको कुरो रहेछ । मेरोपनि बिहे भएपछि त्यस्तै राम्रो दरि काम्लोमा बस्न पाइन्छ होला भने जस्तो लाग्थ्यो ।

भैंसीलाई झन्डै तिन दिनको बन्दोबस्त गरि यस पटक दिदीलाई लिएर हिँडियो । कम्ता रमाइलो भएन । बेला बखत नसोचेको दुख आइ लाग्थ्यो । एक पटक तीजमा आएकी दिदीलाई छोड्न जाँदा काभ्रेको बनमा पुगेपछि मेरो अप्रत्यासित रुवाबासी भयो । म अगाडि थिएँ एउटा ६ किलो जतिको पोको बोकेर । दिदी मेरो पछाडी थिईन् । २० मिनट हिंड्नुपर्ने वनको बाटोको ठिक बिचमा पुग्दा म पिसाब फेर्न जान्छु भनेर दिदीले आफ्नो पोको मलाई सुम्पेर वन पसिन् । मेरो मनमा चिसो पस्यो ‘निकै बेर कुर्दा पनि दिदि आइनन’ । बेला पनि ढल्कीसकेको थियो । बाटोबाटै निकै बेर दिदीलाई बोलाएँ । बोलिनन । किन होला ? केहि झगडा गरेको पनि हैन । अब यि २ वोटा पोका के गर्ने ? वनमा पस्न पनि अलि डर लाग्यो । अलि पर दिदी गए तिर लागें । हेरें । देखिन । बोलाएँ । बोलिनन । पर्नु फसाद पर्यो । आकाश हेरेको पुरै हुण्डरि मच्चिएला जस्तो थियो । घर फर्कौं कि दिदीकहाँ जाउँ म बिलखबन्दमा परें । नजिक कुनै घर पनि थिएनन । बाटोमै थुचुक्क बसें । एकछिन रोएपछि मन अलि हलुङ्गो भयो । मनमा अनेक तर्कना खेले- दिदी हराइन् । घरमा अरु दिदी पनि थिएनन् । फेरी जुरुक्क उठेर पोका बोकें । जाने ठाउँको कुनै ठेगान थिएन ।

अलि परबाट एक जना बुढा आउँदै थिए । उनलाई देख्दा मरुभूमिमा पानी परेझैं भयो । मेरो नजिक आएर उनले बेली बिस्तार लगाए । ‘बाउकी दिदी नछुनी भैछन् । मैले बाटामा भेटें । भाइ आत्तिए होला भनेर छट्पटाएकी छन् । दिदी भाई देखिन नहुने हुँदा वन पसेर अगाडी गैछन् । अब दिदी अगाडी अगाडी जान्छिन तिमी बिस्तारै जाउ ।’ उनले बेली बिस्तार लगाए ।

अब भने आत्तिनुपर्ने भएन । ३ दिनको दिन दिदीसँग भेट हुने भयो । पानीले भिजायो । दुई वोटा पोका बोकेर साँझ घर्कीसकेपछि म दिदी कहाँ पुगें । दुइ दिन दिदीलाइ नदेखी बिताउन मलाइ दुई बर्ष जस्तो भयो । देखिईहाल्यो भने आकाशै खस्ला जस्तो भ्रान्ती भयो । अज्ञानता र रुढिबाद जस्तो दुश्मन दुनियाँमा केहि छैन । महिलाको मासिक धर्मलाई महापाप सम्झिने ति काला दिनहरुमा भने अहिले केहि सुधार आएको छ । तर अझै पनि पंचमी पूजाको नाउँमा मासिक धर्म हुँदा गरिएका ज्ञात अज्ञात पापकर्मलाई बिसर्जन गर्ने परिपाटीको भने अन्त्य भएको छैन ।

अहिले विश्व महिनावारी मनाउने चलन छ हरेक वर्ष मे महिनाको २८ का दिन । तारे होटलमा गोष्ठी गरेर सुकिला मुकिलाहरुले महिनावारी दिवस मनाउनु भन्दा पंचमीको पूजा गराउने पण्डितहरुलाई महिनावारीको बारेमा राज्यले प्रशिक्षणको ब्यबस्था मिलाउने र उनीहरु मार्फतनै देशैभरि महिनावारी पाप होइन भनेर ‘प्रजनन स्वास्थ्य र महिनावारी’ दिवसको रुपमा मनाउनु सबैको हितमा हुन्छ । बैज्ञानिक चेतनाको बिकास भैनसकेको समयमा महिनावारी सम्बन्धि कथा लेखिए र ‘ऋषी पंचमीको पूजा बिधि’ अलि पछि बने होला । यद्यपी लेखिएका कुरा स्वास्थ्य सरसफाईसँग सम्बन्धित भएपनि अब भने हरेक महिलाले आफ्नै चेतनाले आफ्नो सरसफाई गर्न सक्ने भैसकेका छन् । तसर्थ दिदीसँग छुट्टिएर डाँको छाडेर मलाइ जस्तो रुन नपरे पनि अझै थुप्रै दिदी बहिनीहरुले महिनावारीको नाममा कस्ट भोगीरहेको अवस्थाबाट राज्य समाज र हरेक व्यक्तिले गम्भीर ढंगले सोच्नै पर्छ ।

यस पटक भने कोरोना कहरको कारण हामी सबैले दिदीसँग भिडियो सम्मेलन गरेर तीज मनाइयो । दिदीलाई, भान्जीलाइ तीजको गीत पनि डिजिटल्ली गाउन लगाइयो ।
मन मनमै सोचें, काभ्रेको वनमा दिदी हराएको भए यस्तो गीत बन्थ्यो होला :
बाबाले भन्नु भयो छोरी मेरी यिनै हुन्
ससुराले भन्नु भयो गहना मेरै हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक