शुक्रबार, वैशाख ७, २०८१

गाम्बिया, सन्की राष्ट्रपति र अलपत्र परेका एक्ला नेपाली

हिक्मत थापा२०७७ भदौ ७ गते ८:१६

पश्चिम अफ्रिकामा एउटा देश छ सेनेगल । मानव संसाधन सूचिमा निकै तल छ । कृषि, पशुपालन र थोरै मात्रमा पर्यटन ब्यवसाय बाहेक अरु आयश्रोत नगन्य छ भन्दापनि हुन्छ । मान्छेको जीवनस्तर उकास्न त्यतिसारो सुधारका कार्यक्रमहरु छैनन् । सामान्यरुपमा भन्दा अरु अफ्रिकी मुलुकको जस्तै आर्थिक अवस्थामा छ यो देश । कयौं वर्षसम्म फ्रेन्चहरुले उपनिवेश बनाएकोले देशमा फ्रेन्च भाषा बोलिन्छ । सेनेगल नदी यहाँँको मुख्य आकर्षण छ । माथिल्लो तहबाट मौरिटानियालाई छुट्याउदै अविरल बग्छ । नदीको अल्ली तल मरुभूमी छ- फेर्लो मरुभूमी ।

सेनेगल २००१ मा पुगिसकेको थिए, बिछाट्टै घुम्न मन थियो- धित मर्ने गरी । तर समय अभावले मेरा रहर पुरा हुन सकेनन, मनमा सेनेगल छापेर रहर लाई थाँती राख्दै फर्के । सबै रहर एक्कैछिनमा कहाँ पुरा हुन्छन् र ! जिन्दगीलाई जिन्दगी चलाऊने बोझले थिचिरहेको हुन्छ । समय कुदेको थाहै हुँदैन- अजीवको हुन्छ हाम्रो जीवन । तैपनि सन् २०१५ को एउटा बिहानी म गाम्बियाको बन्जुल बिमानस्थलमा ट्रान्जिट पारेर म डाकर उत्रें । गाम्बियाको बारेमा धेरै सुनिन्न । यस्ता देशहरुबाट कहिलेकाहीँ आउने मसिना समाचारहरु अमेरिका, युरोप र अन्य देशबाट आउने समाचारहरुले च्याप्छन । ओझेलमा पार्छन् । यस्ता देशहरु हाम्रो बुझाईको प्राथमिकतामा पर्दैनन । तर मलाई निकै रहर छ- यस्ता देशहरुको बारेमा थाहा पाउन ।

अस्तिनै कुन्नी कल्ले भन्यो ‘सेनेगल भित्र पनि अर्को देश छ ।’ एउटा देश भित्र अर्को छुट्टै देश कसरी उभिन सक्ला ? मलाई गाम्बियाको बारेमा जान्नु छ । सेनेगलको बिच भागबाट गाम्बिया नदी बग्छ, यसको निलो पानी आन्द्र महासागरको गहिराईमा पुगेर अलप हुन्छ । नदी सकिए जस्तो लाग्छ । तर त्यसले अली वल्तिर एउटा देश बनाएर गएको छ द गाम्बिया । नक्सामा हेर्दा मसिनो धर्को जत्रो देखिने यो देश जम्मा जम्मी १० हजार ६ सय ८९ बर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ र जनसंख्या मात्र २० लाख छ । पहिले यो देशको बिच भागबाट बग्दै आन्ध्र महासागरमा पुग्ने गाम्बिया नदीको वरिपरिको क्षेत्र अंग्रेज़को उपनिबेश थियो र बाँकी वरिपरि फ्रेन्च उपनिबेश । स्वतन्त्रता पछि पनि अंग्रेज़ले राज्य गरेको बिच्चैकै अंग्रेजी बोलिने यो भाग गाम्बिया रहिरह्यो भने वरिपरिको फ्रेन्च बोलिने बिशाल भूमी सेनेगल बन्यो ।

एड्स रोगीको स्वआविष्कार गरेको औषधीबाट उपचार गर्दै पूर्व राष्ट्रपति यहया जमेह ।

यहि गाम्बियामा सन् १९९४ देखि सन २०१६ सम्म एउटा सन्की रास्ट्रपतिले क्रुर शासन गरे । देशको हरेक क्षेत्र तहस नहस भयो । म गाम्बिया पुगेको एक बर्षपछी २०१६ मा सत्ताच्युत भए । म नाइजेरियामा बसेर सयौं किलोमिटर परको त्यो देशलाई हुरुक्क हुँदै हेरे ति तानाशाह अहिले बेलायतको निर्बासनमा छन् । याहहा जमेह बिरुद्द अहिले पनि गाम्बियामा सयौं आरोप र मुद्दा चलीरहेकै छन । अनेकन कुकृत्य बिच एक पटक तिनले गाम्बियालाई रातारात धनी बनाउने घोषणा गरे । उनले एडसको आयुर्वेदिक औषधी पत्ता लगाएको बताए र सम्पूर्ण उपचार आफै सम्हाल्ने जनाए । यो त्यस्तो उदेकलाग्दो घोषणा थियो जसलाई तेस्रो विश्वले अलिकती पनि पत्याएन् । तर पनि उनले भने’ हामीले यो औषधी पुरै दुनियाँलाई बेच्ने छौं र गाम्बिया संसारको धनी राष्ट्र हुने छ ।’

घोषणाको भोलि देखिनै रास्ट्रपतिको सरकारी आवाशको एक छेउमा अस्पताल बन्यो र उनी बने, मुख्य डाक्टर । देश भित्रका एड्स रोगिहरु छ महिना त्यो अस्पताल क्याम्पमा बस्नुपर्ने र उनको औषधी उपचार सबै रोगीहरुले प्रयोग गर्नुपर्ने नियम शुरु गरियो । उनी आफैंले हरेक बिहान बिरामीहरुलाई उनको जडीबुटि औषधीबाट मालिस गरिदिने र दिनको दुई पटक आफै आबिश्कार गरेको र एकदमै गोप्य राखिएको जडिबुटीको हरियो झोल खुवाउन थाले । यहाँसम्म की एन्टी रेट्रो भाइरल औषधी लिँदै गरेका बिरामीलाई पनि त्यो औषधी खान बन्द गराइदिए । अहिले के भनिन्छ भने उनले जबर्जस्ती औषधी गर्न त्यो अस्पताल क्याम्पमा राखेका नौ हजार मध्ये अधिकांश बिरामी एडस रोग र अन्य कारणले थालिएर त्यहीँ मरे । तर उनले आफूले एड्सको सफल औषधी आविस्कार गरेको दाबी गर्न भनेपछि सम्मपनि छोडेनन् । सुनेर मेरो मन जिरिङ्ग भयो, यस्ता शासकहरुलाई बेलायत जस्ता देशले किन आश्रय दिदा हुन् ।

मैले अर्को दिन एउटा सानो बिमानमा निकै काम उचाइबाट गाम्बिया नदीको तिरै तिर त्यहाँ इत्रुको शहर बन्जुल र पुरै गाम्बियालाई छिचोल्दै पारी सेनेगलको जिङुइचोर शहर पुगेको थिएँ । आकाशमा उडिरहँदा गाम्बियाको सुन्दरताले छोड्दै छोडेन । धेरैबेर हेरे आँखा झिमिक्क समेत भएनन् । मनमा कताकता लागिरह्यो यो देशमा नेपाली होलान कि नहोलान ? हुन त होलान नि ! हामी जहाँ तहीं छौं- दुनियाँको कुना कुनामा छौ । जहाँतहीँ हुनुपर्ने बाध्यता छ हाम्रो । त्यो बेला त्यत्तिकै भयो, अहिले एक जना नेपाली त्यही देशमा अलपत्र परेको मेल तारन्तार आइरहेको छ । “म एक्लो नेपाली गाम्बियामा अलपत्र परेको छु । अहिले जागिर छुटी सकेको छ र आम्दानी पनि छैन । कोरना पनि अहिले यहाँ पिकमा चलीरहेको छ । भोक र तनावले यहि मरिएला जस्तो छ” ।

उनले यस अघि नेपाल फर्कन दुबइबाट चार्टर फ्लाइटमा टिकट मिलाउन भरसक प्रयास गरिसकेका रहेछन । दुबई स्थित दूतावासलाई नेपाल जाने लिस्टमा पार्न इजिप्ट दूतावासले बनाइदिएको उनको सिफारिस काठमाडौंमा परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका हेर्ने शाखामा कतै अट्केको छ । त्यो सिफारिस दुबइ नियोगमा पुगेर अब हुने फ्लाइट लिस्टमा नाम परे सेनेगलबाट दुबई उड्न ब्यबस्था आफैं मिलाउन सक्ने र दुबई काठमाडौंको पनि टिकट भाडा तिर्न तयार रहेछन, उनी । दूतावास र काठमाडौं सबै तिर उनको अनुरोध पुगि सकेको छ । तर नेपाल फर्किने दिन अन्योल छ । दु:खमा अलपत्र परेकाहरुको गुनासो कसले सुन्नेहोला ? काठमाण्डौंले, देशले सुन्नुपर्ने खै त !

हुन त गाम्बियाको समुन्द्री तटबाट चिच्याएको सुन्ने र सम्बोधन गर्ने फूर्सद कहाँँ होला र सरकार सँग । किन सुनोस हामीलाई सरकारले । त्यसैले हामी जताततै छौं । पलपल कोपरिएका छौं । तथापी यो जीवन र मृत्‍युको कुरो हो अभाव, भय र तनावमा परेका यी नागरिकको सिफारिस पत्र परराष्ट्रको त्यो टेबुलबाट दुबई नियोग सम्म लौ न छिट्टै पुगोस । अनी ती गाम्बियामा एक्लो परेका नेपालीको घर फिर्ती छिटो होस् । तिनले पनि आफ्ना बालाई देख्न पाउन् । छोरो पर्खेर बसेकी उनकी आमाले आफ्नो ममता पोख्न पाउन् ।

तपाइँको प्रतिक्रिया