सोमबार, असोज १२, २०७७

इनफ इज इनफ अर्थात सोम्याक्स

देवेन्द्र भट्टराई२०७७ भदौ ८ गते १:०२

केहि समय भयो, यो शहरमा चर्को चर्चामा छ— इनफ इज इनफ थाहै थिएन । यहि स्लोगन उहिलेदेखि मसँगै जोडिएर बसेको रहेछ । नाम मात्रै अलग रहेछ — सो म्याक्सिमम् अर्थात सोम्याक्स

काठमाडौंका गल्ली–गल्छेंडामा अस्तिसम्म एउटा पात्र भेटिन्थ्यो । अस्ति अर्थात हिजो छाडी अस्ति । तर हिजोदेखि यो पात्र यो शहरमा छैन । एउटा पात्र जोसँग म यति जोडिएको थिएँ, ऊ आज यो शहरमा छैन भन्ने म अझै पनि पत्याइरहेको छैन । तर यथार्थ यही हो — कटु सत्य भन्छन् नि । एकाएक आज ऊ यो शहरमा छैन । हो, यही पात्रका बारेमा धेरै कुरा बोल्नु छ ‘गवाही’ झैं । तर संकेतमा मात्रै । किनभने ऊ मसँग यति निकट छ कि सपाट भएर खुलस्त बोल्न म स्वयं पनि चाहन्न । अथवा सक्तिन । त्यो मेरो यारों थियो, दोस्ताना । ऊ ज्याठा गल्लीको मोमोचा मन पराउँथ्यो । होनोचाको पिरो छोइला वा कीर्तिपुरे बारामा हत्ते हाल्थ्यो । कहिले चोभारे सुरुङमा बेपर्बाह हामी पुग्थ्यौं । कहिले काभ्रे–कोलाँतीको गाउँघर पुग्थ्यौं । जीवनमा यस्तो चरण पनि थियो जहाँ कसैले निम्तो नदिएपनि कसैको भोजमा हामी सरिक हुन्थ्यौं ।

कहिले कुनै बुढो रसिक प्रोफेसरलाई बोकेर विश्वज्योती हलमा ‘रंगीला’ हेर्न जान्थ्यौं । कालिकास्थानको भ्यार्भ्यारे मःम स्टेसन पुगिरहन्थ्यौं— किनभने त्यहाँ भनेजति झोल थप्न पाइन्थ्यो, पेट अघाउनेगरी । आपसमा भेट हुनासाथै ति हरेक क्षणहरु उत्सव हुन् कि झैं लाग्थ्यो, अकारणै । अथवा, दुःखी बन्न पनि कारण चाहिन्नथ्यो ।

एक पटक गायिका अरुणा लामालाई भेट्न गएका थियौं । हत्तपत्त प्रश्न गरेथ्यो उसैले— ‘पोहोर साल नै खुशी किन फाट्यो ? परार किन फाटेन ? हो, ऊ यसरी कहिलेकाही ‘बेतुक’ पनि थियो । कहिलेकाही सम्हाल्नै गाह्रो पर्ने । संगीतमा भए ‘बेसुरा’ भन्न मिल्ने झैं । अरु बेला मुड र मुद्रा हेरिकन ‘खुस्कट’ जस्तै । ऊ मृगस्थली टहल्न मन पराउँथ्यो । आर्यघाट छेउमा आएर टोलाइबस्थ्यो । त्यहाँबाट नउठाइन्जेल । अलिक फूर्सतमा ओशो तपोबनमा हामी टहल्थ्यौं । जीवन, प्रेम, यौन, स्त्री जगत वा मृत्युका बारेमा आफूले पढेका ओशो रजनिशका केही कृतिबारेको गफैले दिन कट्थ्यो । ऊसलाई जे।कृष्णमुर्तीमा पनि उधुम चाख थियो । ओशोका किताबहरु हिन्दीमा पाइएपनि कृष्णमुर्तीका अधिकांस पुस्तक भने अंग्रेजीमा हुन्थे । ऊ कृष्णमुर्तीको ‘द बुक अफ लाइफ’ सधैंजसो साथमैं बोकिरहेको हुन्थ्यो । उसले अंग्रेजी पढेको त मैंले खासै देखिन । तर, उसको रवाफ सानो थिएन । पोखरा, बेगनास ताल नजिकैको सरकारी बिद्यालयबाट एसएलसी गरेकै भरमा ऊ मलाई भन्थ्यो— पोखरालाई अंग्रेजी भाषा भनेको ‘जिनेटिक’ कुरा हो । पढ्नै पर्दैन । सिक्नै पदैन । यु अन्डरस्ट्यान्ड ?

भनौं न, जीवनको एउटा मोडमा हामीसँग केही कुनै सपना थिएन । न थियो योजना । अघिल्लो दिन ओशो रजनिश जस्तै दार्शनिक र जीवन–जगतको ब्याख्याता बनौं कि झैं लाग्थ्यो । भोलीपल्ट शिवपुरी बाबाझैं ध्यानी बन्ने लहड चल्थ्यो । बैज्ञानिक वा डक्टर, इन्जिनियर बन्ने सपना कहिल्यै पलाएन । यसमा भने हामी दुबैको ल्याकत र रुची रहेन । होइन, बरु अलिक धमाकेदार पत्रकार बन्नुपर्छ कि भनेर गोरखापत्रमा पाठक–पत्र लेखेर पुर्याउन पनि सँगै जान्थ्यौं, धर्मपथसम्म । ती पाठक पत्रमा निर्दिष्ट बिषय र सन्दर्भभन्दा बढि बहकाउ गुदी भरिएकाले हुन सक्छ, निकै कम मात्रै छापिएको सम्झना छ । कहिले हेडसर छविलाल बनौं कि भन्ने मनमा पलाउँथ्यो । कहिले नारायण गोपालको स्वरमा दम छ कि मोहम्मद रफीको भनेर गलफत्ती चल्थ्यो । पुजा भट्ट ठिक कि करिश्मा भनेर लामो बहस चलेपछि अरुलाई गलाउने र थकाउने उपायमा ऊ लागिहाल्थ्यो ।

त्यो उपाय थियो—प्रोफेसर भण्डारीको शैलीमा तर्क गर्ने, बलजफ्ती भएपनि । छाडा र अराजक भैकन ति प्रोफेसर हाम्रा लागि एक मानक थिए— अपनत्व र अभिभावकत्वका । जस्तो, प्रोफेसर भण्डारीले हरेक तर्क र बिचार कतै राख्दा कुनै बिद्धानको भनाइ ‘कोट’ गर्दै केही भन्ने गर्थे । शायद त्यही प्रभावले हुन सक्छ, कतै वादविवादमा हारिने स्थिती आएमा ऊ भनिदिन्थ्यो— लाओत्सेले भनेका छन्- “प्रेममा कोही पनि मालिक हुन सक्तैन, सबै दास मात्रै हुन्छन्” । अब मुश्किल के भने यी लाओत्से भनेका को हुन् ? कुनै मानिस हुन् या पुस्तकको नाम ? लाओत्सेले कहिले भने यस्तो प्रेमको यो कुरा ? अथवा किन र कुन प्रसङ्गमा भने ? यस्ता प्रश्न वा तर्कको कुनै काम थिएन, उसका अघि । यदि कसैले यो जिज्ञासा राखिहालेमा मेरो अन्तर्मुखी जस्तो लाग्ने तर, वाकपटु मित्र मुखेन्जी भनिहाल्थ्यो— अलिक गहकिला पुस्तक पढ्ने गर, ‘मुना’ बाट माथि उठ बाबु !

बानेश्वर चोकमा किरण सेढाई दाइको डुनट पसल हाम्रो मुकाम हुन्थ्यो । कालो चिया र प्लेन डुनटका भरमा घण्टौं गफ चल्थ्यो, कहिले प्रसङ्गका वा कहिले वाहियात । यत्ति हो कि अरु औसत साथीभाइ र सर्कलभन्दा यो मित्र अलिक माथि थियो— बिचार र गफमा । हामीबिच उमेर हिसाबमा रसरंगको थोरबहुत कुराकानी हुन्थ्यो नै । तर केटीका कुरा गर्न थाल्यो भने ऊ अलिक झर्कन्थ्यो । उसमा कुनै शारीरिक कमजोरी पो थियो कि ? थाहा भएन । चिनजानकी कुनै युवतीको नाम जोडेर उसलाई छेडखान गरेमा ऊ तर्किरहन्थ्यो । असाध्ये ढिपी गरेपछि फेरि भण्डारी–स्टाइल सामुमा तेस्र्याइहाल्थ्यो । भन्थ्यो, बौद्ध दर्शनमा उल्लेख छ—‘तिमीले भनेको फूल तिमीले भनेको हाँगामा फुल्दैन । तिमीले भनेको हाँगोमैं फुल्ला । तर तिमीले भनेको फूल फुल्दैन’ । अब यो दर्शनको सप्रसंग ब्याख्या कुन पुस्तकको कुन पाना, कुन सर्ग अथवा के–कता खोज्दै हिंड्ने ? तैं चुप मैं चुपमैं बाटा लागिन्थ्यो ।

अहँ, यो पटक भने म चुप लागिन । एकदिन हामी बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रेक्षालयमा सँगै थियौं । गायक दीप श्रेष्ठको एकल साँझ थियो । हामी जेनतेन पाएको निशुल्क पास चेपेर एकल साँझका स्रोता बन्न गएका थियौं । दीपले चर्को ध्वनी र वाहवाहीमाझ ‘म पत्थरको देवता होइन’, ‘बितेका कुराले’, ‘भन्थिन् मेरी उनी’, ‘हुँ यात्री एउटा’ जस्ता गीतहरु गाइरहेका थिए । अनि अबको पालामा बज्दै थियो—‘कति कमजोर रहेछ भाग्य’…! एकाएक मसँगै बसेको उही पात्र, मेरो मित्र जर्याकजुरुक उठ्यो र, भन्यो— हिंड जाऔं, गैहालौं । ओहो, दीपको गायन आधा पनि भएको छैन । यो के आइपरयो नि ? ‘होइन, बसन यार । केही बेरमा जाऔंला, मैंले भन्न पाएकै थिइन । मेरो हात झट्कार्दै उसले भन्यो—‘उसोभए म गएँ।’ अनि म पनि बाहिर निस्किएँ— अन्यमनस्क मुड लिएर ।

छिप्पिएको साँझमा हामी सम्मेलन केन्द्र बाहिर आइपुग्यौं । बाहिर पेटीमैं उभिएर उसले सोध्यो— लु भन, नेपालभित्र सबैभन्दा लामो दूरीको बससेवा के कताको हुन्छ ? ‘शायद काठमाडौं–नेपालगंज होला कि’- मैंले जवाफ फर्काएँ । के, किन भन्नै नपाइ ऊ बाटा लागिहाल्यो । यो कस्तो एकसुरे र खुस्कट मान्छे होला भन्ने लागिरह्यो । अचम्मै भयो, त्यस्तो अभिन्न मित्र भोलीपल्टदेखि भेटघाटमा आएन । न अफिसै आयो, किरण दाइको चिया पसलमा पनि भेटिएन ।

फेरि एकाएक ५ दिनपछि ऊ उही भाव र मुद्रामा फर्किएर आयो । कुराकानी बिस्तारै खुल्दै गएपछि उसले दीप श्रेष्ठ साँझले निम्त्याएको मुड र तरंगबारेका अनेक गफ सुनायो । उसकी एकजना काठमाडौंमैं कलेज पढ्दै गरेकी चिनारु कवयीत्रि मित्र रहिछन्, दाङ–देउखुरीतिरकी । तिसँग अन्तर्मुखी स्वभावमा हुर्किदै गरेको भूमीगत–प्रेम पनि उभित्र खुम्चिएर बसेको रहेछ । ति दुइबीचको आपसी सम्बन्ध र विश्वास कतिसम्म निकटवर्ती रहेछ भने उसले भन्नासाथै ती युवती काठमाडौं–नेपालगंज रात्री बसमा उसका साथमा लागेर यात्रामा निस्कन तयार भएकी रहिछन् । यसरी, भोलीपल्टै रात्रीसेवामा चढेर त्यो मित्र नेपालगंज पुगेको रहेछ । उसले उनै किरण दाइको पसलमा बसेर अम्बर गुरुङको ‘आए, सबै याद आए’ गीति शैलीमा लगातार केही दिन लगाएर यो कथा–कहानी सुनाइरह्यो । ‘आखिर यो सबै नाटक किन त ?’

मैंले अर्को दिन झोंक्किदै सोधेको थिएँ—‘यसरी केही थिएन भने समय, पैसाको खर्च मात्रै किन गर्नु ?’ ‘हेर, तिमी र ममा यहि फरक छ । तिमी मष्तिष्कले केही कुराको निधो गर्छौ, म भने मनले । त्यहि भएर मैंले दुःख पाउने गरेको छु । दीप श्रेष्ठका गीतहरुमा खाली भावना, मन र अनुभुतीको कथा मात्रै मैंले पाइरहें । मलाई सनक चल्यो, मेरो मनले भन्यो—तँसग प्रेम, भावना र अनुभुतीको कुरा के छ ? तँ त रित्तो पो छस् त, पुरै खोक्रो……हो, त्यही भएर म उनीलाई लिएर लामो यात्रामा निस्किएको थिएँ । त्यो केवल भावना र मनको अनुभव बटुल्ने यात्रा थियो, केवल मनको यात्रा । तिमीलाई भनिहालौं— केटी भन्नासाथ यसअघि मेरो बिरक्ती मात्रै थियो र छ । बरु अहिले आएर केटीको मनसँग भने आशक्ति बढेको छ, मनसँग मात्रै नि’ !

कस्तो लाग्छ भने मलाई यो मेरो मित्र र आफूले निकटतम ठानेको यो पात्र साच्चै ‘खुस्कट’ छ, अल्टर टाइपको । एकप्रकारले ‘मेन्टल’ पो हो कि ? ऊ भन्छ— मलाई केटीको शरीरसँग मतलब छैन । मन भए पुग्छ । नेपालगंज आवतजावतको लामो बसयात्रामा उनीसँग भावनाका कुरा भए, एकअर्काको मनलाई तुलोमा राखियो । शारीरिक कुरै भएन । मानसिक र बरु आध्यात्मिक कुरा मात्रै भए— मैंले शिवपुरी बाबा र जे. कृष्णमुर्तीका बारेमा धेरै कुरा उनलाई भनें हैट, यो कस्तो बज्रस्वाँठ होला ? फेरि त्यो युवती कस्ती होली जो यस्तो रुखो पुरुषसँग मन, साधना र अध्यात्मका फोस्रा कुरा गर्न दिनरात बसयात्रामा निस्किएकी ? म अचम्मित मात्रै भैरहें । मलाई उसको नेपालगंज यात्रा बारेमा सधैंसधैं शंका लागिरह्यो—के, किन, कसरी भनेर । फेरि पनि प्रश्न गरिरहेकै हुन्थें । फेरि पनि उसले उही प्रोफेसर भण्डारी शैली निकाल्यो र, भन्यो— भगवान कृष्णले अर्जुनलाई भन्नुभएको छ- शरीर र मनमा त्यति नै अन्तर छ, जति एउटा बज्रस्वाँठ र बिद्धानका बिच छ । अब फेरि पनि उहि स्थिती । कृष्णले अर्जुनलाई कहाँ, कहिले, किन यसो भने होलान् र ? कहाँ खोजिरहने ?

आज यतिका बर्षपछि म मेरो उहि पात्र, उहि मित्रलाई यो शहरमा खोजिरहेको छु । त्यसले मभित्र पनि आगो सल्काएझैं भएको छ । घरिघरि सम्झिरहन्छु । आफूमा भावनात्मक तलबितल भएका बेला, साह्रै उदास र निराश भएका घडी म त्यही यारोंलाई खुबै मिस गर्छु । अझ छटपटी र बैचैनी अहिले किन पनि बढेको छ भने यहि कोरोना–कहर र लकडाउन सन्त्रासमाझ अस्तिको शनिबार साझ मलाई अननोन–नम्बरबाट एउटा फोन आयो । अरे बाफरे ! यतिका बर्षपछि उहि स्वर–उहि आत्मीयताको बोली— ‘के छ यार ? के गर्दैर्छौ ?’ ‘ओहो, तिमी कता छौ ? कहाँ छौं ? कहाँ हरायौ ? बृन्दाबन–मथुरा वा बनारस कता छौ ? भन मात्रै, म भेट्न आउनेछु….’- मैंले हतारमैं भनें ‘छाड्देउ यार यी कुरा । एउटा महत्वपूर्ण घटना आइपरेकाले यसको साक्षी राख्न र सुनाउन तिमीलाई फोन गरें । त्यो के भने तिम्रो र मेरो सम्बन्ध, हाम्रा सम्बन्धहरु, भण्डारी सर र मृगस्थलीका हाम्रा दिनरात…अझ ती मदालसा, शिला, सहनशिला, शोभा, तृष्णा, शर्मिष्ठा, तारा, तृष्णासँगका मनका कुराहरु समेटेर एउटा ‘क्लासिक मेमोयर’ लेखेको थिएँ । त्यसमा थानेश्वर, पेशल, सुरेश, ज्ञानराम, रंजन, दीपक, सुजित, समज्ञ, धर्मेन्द्र, डिल्ली, बिष्णु, बिद्या र अरुहरु पनि जोडिएका थिए—मायावी पात्र बनेर । मुरारीराज, किशोर दाई र कुमार सरहरु पनि तानिएका छन्— तिलस्मी पात्र बनेर । ७० हजार जति शब्द पुगेको थियो होला । म निचोडमा पुग्दै थिएँ ।

हेर, मैंले संसारका सबै क्लासिक पढिसकें, सबैको गुदि छामें । मेरो यो लेखाइ भने बिचार, भावना र मनको संवेग उतार्ने भयावह कृति हुनेवाला थियो । तर, म अहिले बिक्षिप्त छु यार…एक हातमा वाइन–ग्लास बोकेर तिमीलाई सम्झेको छु…’,उसले एकोहोरो भनिरह्यो ।‘अनि के भयो त ? म छु नि नेपालमा.. के सहयोग पर्छ, म गर्छु…’मैंले भनें । ‘के भन्ने यार ? त्यही मेनुस्क्रिप्ट भरिएको मेरो ल्यापटप हिजो चोरियो…, मलाई के पुरापुर आशा र भरपुर विश्वास थियो भने यो मेरो मेमोयर नेपालीमा छापिएपछि अंग्रेजीमा अनुवाद निकाल्नेवाला थिएँ । नेपालीमा मदन पुरस्कार त कन्फर्म नै छ, जसले शायद नोवेल प्राइज पाउनेवाला थियो …

माइ गड…म लुटिएँ यार,’मेरो अजबगजबको पात्र अब भने फोनमा सुँकसुकाए जस्तो लाग्यो । ‘डन्ट वरी यार.. त्यो चोर पक्कै विदेशी होला जसले नेपाली भाषा बुझ्दैन नि । त्यो मेमोयरको कन्टेन्टबारे चोरलाई के थाहा ? नो वरी…’,मैंले पनि फकाउने आइडियामा उसलाई भनें । ‘खोइ के गर्ने यार ? अब शायद यो तनावका माझ मनको त्यो संवेग फेरि लेख्न सक्तिन होला । म थाकिसकेको छु । बरु मेरो पुस्तक टाइटलमा तिमीले नै केही लेख है, मलाई सम्झेर— हाम्रा ती दिनहरु नि सम्झेर, ऊ अब चैं फोनमैं डाँको छाड्न लागेको थियो ।
‘टाइटल के थियो नि ?’ केके न बितेझैं गरि मैंले फेरि सोधें ।
‘सोम्याक्स !’ यो बोलीपछि फोन पनि काटियो ।
यसरी म यतिखेर यहि नाममा अल्झिरहेको छु ।
ओहो ! इनफ इज इनफ अर्थात सोम्याक्स !

तपाइँको प्रतिक्रिया

फेसबुक