सोमबार, असोज १२, २०७७

‘बैकुण्ठमा बास हुनैपर्छ‘

ब्यंग्य

​​​डिल्लीराज अर्याल२०७७ भदौ ९ गते १३:४०

हाँस्नु कति हाँस्नु ? हाँस्ने विषय यति धेरै भए कि सबै कुरामा हाँसेर साध्यै नहुने भयोब्। नहाँस्नु यति धेरैले हँसाउने विषय प्रस्तुत गरिदिन्छन् कि हाँसो रोकेर नहाँसेर पनि सकिन्न । त्यसैले, हाँस्न पनि वर्णानुक्रम अनुसार पालो गरेर हाँस्नु पर्ला जस्तो लाग्न थालेको छ । देशमा एकातिर हाँस्ने विषयले व्यापकता पाएको छ । हँसाउने कलाको प्रयोग र विकास हुँदै गएको छ । अर्कातिर मान्छे त्यसलाई स्वाभाविक मानेर ग्रहण गरिरहेछ । केहिले स्वाभाविक मानेर ग्रहण गरिसकेका कुरामा के हाँस्नु? किन हाँस्नु ? भन्ने गरे पनि हाँस्ने क्रम चलिरहेछ !

म त्यस्तो विषय पाउँदा खुलेरै हाँस्छु । एक्लै पनि हाँस्ने बानी परेको छ । अरूलाई हाँसो लाग्दैन भने नहाँसून्, म हाँसेरै छोड्छु । त्यसरी हाँस्दा मेरा साथीहरू मभन्दा अलि पर बसेर मलाई, मेरो हाँसोलाई हेरिरहेको पाउँछु म । म हाँसिरहन्छु र हाँस्दा ‘हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ’ भन्ने भनाइ पनि सम्झन्छु । यो बुझेकाले हँसाउन कसरत पनि गर्छन्, गरिरहेछन् ।

अलि हाँसो खटाउन नसक्ने पनि छु क्यार ! त्यसो भएकैले होला अलि बढि नै हाँस्छु म । यही हाँसो खटाउन नसक्ने कारण शोक मनाउन मौन धारण गर्न उभिएको बेला हाँसो फुत्केको सम्झन्छु । आमा बिरामी भएर एकदमै छटपटाएको बेला लामा हल्लिएको ‘हुडुडुडु, छुनुमुनु’ जस्ता आवाजमा दङ परेर हाँस्न लाग्दा डरले आफैंलाई चिमोटेर सँभालिएको सम्झन्छु । के गरिएन हाँसो खटाउन ? के गरिएन हाँस्न र हँसाउन ? हाँस्ने, हँसाउने क्रममा कतिपटक गलत समयमा, गलत विषयमा, गलत ठाउँमा हाँसो खटाउन नसकेर हाँसेको छु म । धन्न अहिलेसम्म अरू धेरै कुरा खाए पनि गलत समयमा ठाउँमा हाँसेबापत गोदाइ खानभने परेको छैन !

मेरो हास्यकार बन्ने रहर पनि हो तर हुन सकिएन । ससानो व्यंग्यकार सम्म भए पनि बन्ने कोशिसमा भएकाले प्राय: हाँस्ने विषयको खोजमै हुन्छु म । हेर्दा हाँस्ने विषय अलि बढेका पनि देखिन्छन् । सोही अनुरूप हाँसोको प्रचारपनि बढेको छ । स्वास्थ्यकर्मीहरूले यसको प्रचार पनि गर्ने गरेकाले र यसले स्वास्थ्यको अभिन्न अङ्गको रूपमा मान्यता प्राप्त गरेकाले गोदाइ खाने सम्भावना पनि कम भएको हो कि भन्ने भएको छ । तैपनि खतरा टरिसकेको भने छैन ।

मान्छेहरूले हाँसोको महत्त्व कति बुझे ? कति बुझेका छैनन् ? म भन्न सक्दिन । तर मैले भने बुझ्दै गएको छु र त्यसबाट फाइदा पनि लिंदै गएको छु । हाँस्न अरू पनि हाँस्छन् । धेरै मान्छे हाँस्छन् । कति बुझेर हाँस्दा हुन् कति नबुझेरै पनि । केहि मान्छे भने बुझेर पनि नहाँस्ने बनेका छन् । सोच्दा हुन् कति हाँस्नु ? किन हाँस्नु ? हाँसेर हुनु के छ र ? हाँसेरै प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, अध्यक्ष, मन्त्री, अख्तियार-प्रमुख बनिने, बन्न पाइने होइन । बरु हँसाउन सके त्यस्ता पद पाउने सम्भावना हुन्छ रे । त्यसैले हँसाउन तम्सिँदा हुन् मान्छेहरू ! त्यस्ता पदमा पुग्नेहरू प्राय: हँसाउन पोख्त नै भेटिने गरेका छन् ।

अचेल हँसाउने पालो पत्रकारहरूको, लेखकहरूको छ । नेता, कार्यकर्ताहरूको छ । न्यायाधीश, वकिलहरूको छ । शिक्षक कर्मचारीको छ । सबै लाइनमा बसेका छन् । हँसाउने धेरै भए । तिनलाई पालै चाहिने भो, तर हाँस्नेहरू थोरै भएकाले पनि अप्ठेरो भएको छ । म भने हाँस्ने कुरा धेरै भएर पालो अनुसार हाँस्ने गरेको छु ।

हिंजो नेताहरूको पालो थियो हँसाउने । खुब हँसाए उनीहरूले । जति ठूला नेता त्यत्ति राम्रा हास्यकार । हास्यकलाकार । हास्यव्यंग्यकार । तिनका हास्यव्यंग्य त सम्झीसम्झी हाँसो लाग्ने खालका छँदै छन्, हुन्छन् । आज मात्र हो र ? वर्षौंदेखि हँसाइरहेछन् उनीहरू । पालो छ हँसाउने । हिंजोकाले हँसाए, आजकाले हँसाउँदैछन् । भोलिकाले पनि हँसाउलान् । उनीहरूका पछि पछि बुद्धिजीवीबाट ‘बुद्दी जिबि’ बन्न खोज्ने, बन्नेहरूको लश्कर छ । तिनी पनि हँसाउने कलामा कम छैनन् । तिनले यी ठूला नेताले भन्दा कम हँसाउन्नन् । त्यसैले जनताले पनि यिनलाई चानेचुने कलाकार ठान्दैनन् । नेताहरू सरहकै मान्छन् । कतिपयलाई त अझै बढि पनि ।

अँ त, लेखकहरू पनि कम्ता छैनन् । तिनको कला त झन् के भनिसाध्ये छ र ? अगाडि हेरेर पछाडि लेख्न सक्छन् । पछाडि हेरेर अगाडि लेख्न सक्छन् । कैयौँ वर्षको योजना बनाएर अरूका देशका गतिविधि हेर्ने र बिगारेर आफूले फाइदा निकाल्ने चलाख योजनाकारहरूलाई पनि चिन्न र भेट्न सक्ने कला छ तिनमा । नत्र कसरी एकातिरबाट अर्कैतिरको मूल्याङ्कनमा पर्न सक्थे? लाइन एकातिरको छ, लाइन अर्कैतिरबाट आउँछ र फाइदा अर्कैतिरको समाउँछन् । ती सबै कला नभए के हुन् त ? यस्तो कला अचेल धेरैमा छ, धेरै क्षेत्रकामा छ । हाम्रा कलाकार नेताहरूले विगत केही वर्षमा धेरैलाई कलाकार बनाएछन् । अब त कलाकारलाई अरूले नै उछिन्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।

म आज भाषामा पत्रकार,लेखकहरूको कला देखेर हाँस्दो छु । तिनको सूक्ष्म अध्ययनको, चिन्तनको र प्रकटिकरणको भूरिभूरि प्रशंसा गर्दैछु । कस्तो कला हो ! कस्तो चिन्तन हो ! सरकारका समग्र गतिविधि तिनका नजरमा छन् । व्याकरणका सूत्र तिनका कण्ठमा छन् । कलम त जादूकै छ । एक जना पत्रकार समवेदना दिने सन्दर्भमा लेख्छन्- ‘मृत आत्माको चीरसान्तीको कामना गर्न चाहन्छु’। कमालको लेखाइ ।

यति थोरै शब्दमा यति धेरै कमाल त हाम्रै भाषामा, हाम्रै लेखकमा मात्र हुनसक्छ । आहा ! आत्मा, कति महत्त्वपूर्ण छ त्यो आत्मा ! जो यतिवेला मृत अवस्थामा छ । आत्मा पनि मृत ! हो लेखक, पत्रकार महोदयहरूको यो कला कस्तो अचम्मको छ ! अनि त्यहि मृत आत्मालाई चीर शान्तीको कामना व्यक्त गर्न खोज्दैछन् ! आहा ! अझै आहा त त्यो पनि कामना गर्न चाहने मात्र, गरिहालेका छैनन् ! गर्न चाहन्छन् । अहिले चाहेका छन्, कुनै दिन गर्ने पनि छन् । यो अद्भूत कला धेरै लेखकमा, पत्रकारमा देख्छु । आफू कलाहिन भएको महसुस गर्दै अलि वरै बसेर निरिह, निर्लज्ज हाँसो हाँस्दैछु ।

अर्का ठूला लेखक आइपुग्छन् । उनी ‘भाषाबित्’ पनि हुन्, विद् होइनन् । उनी त्यहीँ बसेर दनादन लेख्छन्- ‘सोर्गीय आत्माको बैकुन्ठमा बाँस होस् ।‘ म अवाक बनेर त्यो अर्को कलात्मक लेखाइलाई हेरिरहन्छु । बुझ्ने कोशिस पनि गर्छु म । पटकपटक क्षेत्रीय, राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका ‘बरिस्ठ’ लेखकको यो कला ! मलाई त कलाको प्रशंसामा पनि हाँस्न मन लाग्छ । यो प्रतिभाको सम्मानमा नाच्न मन लाग्छ । धन्न हाम्रो सरकार, उनको लेखनकलाको महत्त्व बुझ्न सक्यो । मलाई सरकारप्रति पनि कृतज्ञता प्रकट गर्न र खुशीमा हाँस्न मन लाग्छ तर हाँसोमा उही गोदाइ सम्झन्छु । समय, स्थानको ख्याल गर्छु ।

अर्का ठूला लेखक आइपुग्छन् । उनी ‘भाषाबित्’ पनि हुन्, विद् होइनन् । उनी त्यहीँ बसेर दनादन लेख्छन्- ‘सोर्गीय आत्माको बैकुन्ठमा बाँस होस् ।‘ म अवाक बनेर त्यो अर्को कलात्मक लेखाइलाई हेरिरहन्छु । बुझ्ने कोशिस पनि गर्छु म । पटकपटक क्षेत्रीय, राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका ‘बरिस्ठ’ लेखकको यो कला ! मलाई त कलाको प्रशंसामा पनि हाँस्न मन लाग्छ । यो प्रतिभाको सम्मानमा नाच्न मन लाग्छ । धन्न हाम्रो सरकार, उनको लेखनकलाको महत्त्व बुझ्न सक्यो ।

स्वर्गीय आत्मालाई बैकुन्ठमा बाँस बनाउन चाहने, बनाइदिने उनको कामना अभूतपूर्व नै लाग्छ मलाई । शायद उनलाई तामा मन पर्दो हो त्यसैले त बैकुन्ठमा पनि बाँस होस् भन्छन् । स्वर्गीय आत्मालाई पनि बाँस बनाउन चाहन्छन् । यहाँ यो मर्त्यमा बाँसको, तामाको कमी छैन । त्यहाँ पनि बाँसको पउल भैदियो भने ! भविष्यको निम्ति कति राम्रो जोगाड गर्न चाहेका ! कामना त अरूका लागि गरे जस्तै चाहना भने आफ्नै जस्तो ! म पनि तामा मन पर्ने मध्येकै भएकाले त्यसै खुशी हुन्छु । त्यसैले पनि यो बैकुण्ठमा समेत बाँस बनाउने कला मलाई झन् मन पर्छ । कला मात्र होइन, चाहना पनि अनुकूल लाग्छ, अनि एकदम खुशीको हाँसो हाँस्छु ।

मेरो मनमा अर्को एउटा तरङ्ग आउँछ- त्यहाँ अर्का एकजना नेता पनि हुन्छन् । ती भनिरहेका हुन्छन्- त्यता बस्न, सर्न अलिकति ‘इ स्थान’ छैन । भए अलिकति पर सरेर बस्नुहुन्छ कि ! स्थानको अर्थात् ‘इ स्थानको’ खोजीमा एउटा अलग्गै कला छ । नेताहरूलाई त्यस्तो ‘इ स्थान’ असाध्यै प्रिय लाग्छ । ‘इ स्थान’ नपाउने हो भने तिनका यि स्थिति नै बिग्रन थाल्छन् । शरीर त्यसै गल्न थाल्छन् । उनका हातमा मात्र होइन शरीरमै त्यस्तो कला छ र मनमा त्यही यि स्थानको आकाङ्क्षा पनि ।

ति नेताले पनि पत्रकार महोदयका भाषाको अनुशरण गरेका हुन् कि ! पत्रकारका भाषामा त यो ‘इ स्थानै’ हो र उनी पनि ’इ स्थानप्रेमी’ नै हुन् । टेलिभिजनमा जब उनी उफ्रीपाफ्री गर्दै भनेका हुन्छन्- आज परेको अबिरल बर्षाले देशका धेरै ‘इ स्थान’ जलमग्न बनेका छन् । बाढिको ‘इ स्थिति’ हेर्न हाम्रा सहयोगी अहिले त्यो ‘इ स्थानमा’ पुगेका छन् । म ध्यान मग्न भएर उनको त्यो कलात्मक भाषा सुन्छु र हाँस्छु । हाँस्न छोड्दिन किनकि कलाकारको इ स्थान पाउनु छ ।

यसरि भाषामा जताततै यो कलाको बिगबिगी चलेको छ । चाहे नेता हुन् चाहे पत्रकार, लेखक हुन्, शिक्षक प्राध्यापक हुन् भाषामा सबैले कलाको प्रदर्शनमा ठूलो योगदान गरेका छन् । प्राज्ञहरूको त विशेष योगदान छँदैछ । सरकार पो के कम त्यो योगदानको उचित मूल्याङ्कन गर्दै प्रत्येक वर्ष कुनै न कुनै पुरस्कारबाट पुरस्कृत पनि गर्दैछ ।

यसरी हेर्दा लाग्छ, यो देशले, यहाँको भाषाले संसारमै एउटा महत्तोपूर्ण इ स्थान ओगट्ने पक्का छ । यसमा हामी सबैको अज योगदान पुग्नुपर्छ, हुनुपर्छ । त्यसकालागि हामी आज सक्रिय भएर काम गर्न आवश्यक छ । अवश्य पनि मृत आत्माले चीर सान्ती पनि पाउनेछ, सोर्गीय आत्माको बैकुन्ठमा बाँस पनि हुनेछ र हामी ।।।।।

पाल्पा, हाल- काठमाण्डौं ३२, मनोहरवस्ती
१५ साउन २०७७

तपाइँको प्रतिक्रिया

फेसबुक