बिहीबार, चैत १५, २०८०

पुटिनका आलोचक विपक्षी नेता नभाल्नीलाई विष खुवाईएको पुष्टि

सुशीला श्रेष्ठ, बर्लिन२०७७ भदौ ८ गते १३:०२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक र भ्रष्टाचार विरोधी नेताको रुपमा चर्चित विपक्षी नेता अलेक्सी नभाल्नीलाई विष ख्वाइएको प्रमाणित भएको छ । उक्त कुरा उनको उपचार भइरहेको बर्लिनको अस्पतालले जनाएको हो ।

बर्लिनको चारिते अस्पताल प्रशासनले नभाल्नीको शरिरमा विषको मात्रा देखिएको बताउँदै स्वतन्त्र रुपमा अन्तर्राष्टिय स्तरबाट मान्यता प्राप्त ल्याबमा छुट्टै परिक्षण समेत गरिएको बताएको छ । अहिले तुरुन्तै भने उनी खतरामुक्त रहेको जनाइएको छ । खेती किसानीमा प्रयोग हुने रसायनिक विषले शरिर शिथिल बनाएर दिमागलाई निष्क्रिय बनाउँदै लैजान्छ । जिउ बाउँडिने, रक्तचाप घटेर लल्याकलुलुक हुने, मुटुले बिस्तारै काम गर्न छाड्ने, फोक्सोले राम्रोसँग काम नगर्दा सास फेर्न अप्ठेरो हुने, किड्नीलाई निष्क्रिय बनाउने काम गर्ने यो रसायनलाई मानिसको हत्या गर्न यसअघि पनि प्रयोग भएको पाइएको थियो ।

रुसको खुफिया एजेन्सी केजीबीका माथिल्लो तहका कर्मचारी सर्गेइ स्क्रीपाललाई दुई वर्ष अघि लन्डनमा छोरीसँग यहि विषालु पदार्थको प्रयोग गरेर हत्या गर्न खोजिएको थियो ।

सार्वजानिक पार्कमा बेहोस अवस्थामा फेला पारेर पुलिसले अस्पताल पुर्याएर लामो समय उपचार गरेपछि दुवैको ज्यान बाँचेको थियो ।

गएको बिहिबार साइबेरियाको तोम्स्क विमानस्थलबाट मस्कोतिर आइरहेका नेता नभाल्नीले विमानस्थलमा चिया पिएका थिए । त्यही चियामा बिख हालेर खुवाइएको हुनसक्ने अनुमान गरिएको छ ।

भ्लादिमिर पुटिनको विरोधमा सार्वजानिक रुपमा विरोध गर्ने नभाल्नी भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा चर्चित रुसका नेता हुन् । ४४ वर्षीय यिनलाई यस अघि पटक पटक सरकारको विरोध गरेको कारण जेल हालिएको थियो । रुसी डाक्टरले विष छैन भनेका थिए ।

गएको बिहिबार साइबेरियाबाट मस्कोका लागि उडेका नभाल्नी जहाजमा बेहोस भएपछि तत्काल विमान अवतरण गरेर उनलाई तोम्स्कको अस्पतालमा लगिएको थियो । डाक्टरहरुले उनको शरिरमा विषको प्रयोग नभेटिएको बताएका थिए । रुसी अधिकारीहरुले उनको सुरक्षाको कारण भन्दै तत्काल उनलाई बाहिर जानबाट रोकेको थियो ।

रुसको सिनेमा फर पीस नामको गैर सरकारी संस्थाले कुटनीतिक प्रयास मार्फत् उनलाई बर्लिन ल्याएर उपचार गराएको हो ।

रुसमा पटक पटक उच्च तहका नेता, गुप्तचर निकायका सत्ता विरोधी मानिसहरुलाई विषादी प्रयोग गरेर ज्यान लिने प्रयास गरिएको उदाहरण भएकोले नभाल्नी समर्थकहरुले पुटिनकै गोप्य योजनामा यो षडयन्त्र भएको हो भनी विश्वास गर्दछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक