बिहीबार, वैशाख ६, २०८१

राष्ट्रपतिलाई तिन वटी, मैले चाहिँ एउटीपनि नपाउने ?

ददि सापकोटा२०७७ भदौ १० गते १३:३४

एकविहानै काममा जानेहरुको भिड छ, रेलका डिब्बाहरुमा । तर कोहि कसैसित बोल्दैन । सबै थकित देखिन्छन् । विहान सात नबज्दै हिँडेका छन् । निन्द्रा नपुगेर कसैले रेलका भित्तामा टाउको अड्याएका छन् । कोहि आँखा चिम्म पारेर ध्यान बसेझैं । कसैको अनुहार च्याउँतो परेको छ । कसैलाई कोहिप्रति चासो छैन । त्यति धेरै मान्छे बसेको रेलको डिब्बा शान्त छ । अति शान्त ।

अरु काममा हिँडेका छन् र थाकेका छन् । म कामबाट फर्किएको छु र झनै थकित छु । घर पुग्न लाग्छ, ठ्याम्मै एक घण्टा । यसो निदाउनुपर्‍यो भनेर मैलेपनि टाउको लगेर भित्तामा अड्याएको छु । आधा निन्द्रामा हुँदो हुँ । एउटा मान्छे करायो ‘इल्निया पा द फाम पोर म्वाँ ? पुताँ ! तुत्ले फाँम सोँ अँ साँथ ? तुत्ले फाँम सोँ देजा तुसे पार ले सेर्ताँ ओम ? ज सुइ मारुरु, पाद सँस ?’ (यहाँ कोहि महिला छैन मेरो लागि ? कुनै न कुनै पुरुषले जुठो हालिसकेका ? म कस्तो अभागि ? मेरो लागि चान्स छैन ।’

बिहानै रेलको झ्याल छिचोलेर सिर्स हावा भित्र पसेको मौका पार्दै एउटा अफ्रिकी ढोकाबाट छिरेर बर्बराकोबर्बराई गरेको छ । त्यो शान्त वातावरणलाई उसले एकैछिनमा गिजोल्यो । सबै जर्‍याकजुरुक्क उठे । कोहि हाँस्न थाले । कसैले आँखा राता बनाए । साउती मारेर खास खुस गर्दै गरेकापनि एक्कासी चुपचाप लागे । कोहि एक अर्कालाई भन्दै थिए ‘ओइ नहेर त्यता, त्यो पागल हो । यौनले मैमत्ता भएको पागल । त्यसलाई हेर्‍यो भने भेउ पाउँछ र आएर च्याप्पै समातेर गालामा किस हान्दिननी सक्छ । यस्ता पागलको त के भर ?’

‘उ बर्बराईरहेकै थियो ‘मपनि के कम छु ? शरिर गजजबको छ । सरकारी भत्ता त मपनि खान्छु । बाँचेकै छु । के जागिर नहुनेले केटी नपाउने ? सप्पै जागिरेकै पछि मात्रै लाग्ने ? मेरो जिन्दगी जिन्दगी होइन ? ।’

उ चिच्याउन छोडेको छैन ‘ओइ आइमाई हो लु बोल । के सन्तुस्टि म दिन सक्दिन ? ए गाँठे दुई वर्ष भो मैले कोहि नभेटेको । जता हेर्‍यो सप्पैको हातमा औंठी लगाएका । कि भुँडी पुक्क फुलाएका ।’

रेलको डिब्बामा उ यता र उति पस्दै, बर्बराउँदै हिँड्यो ‘हैन जुन डिब्बामा गएपनि सबै कसै न कसैले ओगटिसकेका मात्रै छन् गाँठे आइमाई त । रातभरि यि त साह्रै ब्यस्त पो हुने रैछन् । के बिधी जान्ने हुने रैछन् हँ अरु लोग्ने मान्छे आइमाईलाई फसाउन । म मात्रै के भाको ?’

‘ओइ मेरालागि कोहि नभएपनि सिकाइदेओ कसरि तिमीहरु सप्पइ पट्टियौ ?’ कोहि उ नजिक आउनु अघिनै अर्कोतिर घाँटी मोडेर बसे । कोहि स्कापले मुख छोपेर मुसुमुसु हाँसे । कोहि कर्के आँखा लगाउँदै थिए । त्यत्तिकैमा उसको आँखा एक महिलामाथि पर्‍यो जो बल लगाएर हाँसो रोक्न खोज्दाखोज्दै पनि वरिपरिकाले देख्नेगरि छचल्किएको थियो हाँसो । त्यो देखेर उसले भन्यो ‘ओ ओ ओ ओ यसले चाहिँ साईड हाने जस्तो छ । मुख नियाल्यो । निहुरी परेर उसले सिटमा बसेकि महिलाको पेट नियाल्यो ।

‘पु ताँ, एल ए तोसि देजा ओकुपे । स किल दोन दे सुरि ओसी ओकुपे (साला योपनि ओगटिईसकेकि रहिछे । जसले मुस्कान दिन्छ त्योपनि ओगटिईसकेकि)।’ महिला मुस्काइरही । वरिपरिका कोहि हाँस्दै थिए । कोहि ‘यो पागल हो भनेर आफ्नै कंचटमा चोरी औंलो राख्दै ‘ठिस’ को संकेत गर्दै थिए ।

रेल र बसमा यसरि चर्को चर्को बोल्न पाइन्न । तर ऊसलाई कसले रोक्ने ? डँडाक छ । अग्लो न अग्लो लम्बु । उसका बिरुद्द कोहि बोल्यो भने फूलको थुँगो झैं टिपेर मिल्काइदिन बेर लाउन्न । बडेमानका पिँडौला । बटारिएका हात । अग्लो न अग्लो टिंगरे । हाँडी जस्तो कालो वर्णको बिचमा सेता डरलाग्दा आँखा । बाफ रे ! यस्तो ज्याङ्गुसित को बोल्ने ?

फेरिपनि बर्बराउँदै उ केहि डिब्बा चहार्‍यो ‘यो देशको राष्ट्रपती निकोला सार्कोजीले चाहिँ तिन चार वटा स्वास्नी फेर्ने । फ्रान्सेली नभएर इटलियन कलाकारसमेत चाहिने । राष्ट्रपतीले स्वास्नी फेरेको फेर्‍यै गरेपछि अरुलाई चाहिन्न ?’

त्यो बेला फ्रान्सका राष्ट्रपती निकोला सार्कोजिको प्रेमको खुब चर्चा थियो फ्रान्समा । पहिलेकि पत्नीसित डिभोर्स गरेर कारला बुनी अंगालेका थिए उनले । सार्कोजी सेक्सी राष्ट्रपतीका रुपमा चर्चित थिए । पदमा पुग्यो । राष्ट्र प्रमुख बन्यो । देश र जनताको हितमा काम गर्न दत्ताचित्त हुनुपर्नेमा पद र पैसाले मैमत्ता भएर प्रेममा दगुरेको भन्ने धेरैले सार्कोजीलाई आरोप लगाए । देश बनाउन दिनुपर्ने समय रमाईलोमै बिताउन फालेको भन्नेहरुपनि निकै थिए ।

राष्ट्रपती भैसकेपछि ईटालियन मोडेल कारला ब्रुनीसित प्रेममा फसेर घरजम गरेका निकोला सार्कोजी । ब्रुनी र उनको बैवाहिक संवन्धका अनेक टिप्पणी सुनिए । कतिपयले भने ‘राष्ट्रपती हुन्जेल हो । त्यसपछि नाता तोड्छन् ।’ अर्काथरीले ठोकुवा गरे ‘राष्ट्रपती हुन्जेलसम्म डिभोर्स गर्न नपाइने शर्त ब्रुनीले राखेकि छे । त्यसपछि छुट्टिन्छन् ।’ धेरैले ब्रुनीले पैसा र पावर हेरेर राष्ट्रपतीको पछि लागेको र सार्कोजीले बाटुलो, सर्लक्क परेको, सधैं मुस्काउने सुन्दरताकालागि अँगालेको चर्चा गरे ।

काले फेरि करायो ‘यो देशमा केटी पाउनपनि राष्ट्रपती बन्न पर्छ कि के हो ?’

‘कुनाको सिटमा बसेकि एक अर्ध बैंशे महिला सुस्तरी बोली ‘हो त, राष्ट्रपतीको देखेपछि अरुले त्यहि सिक्नु परेन त ?’ वरिपरिका केहि महिला हाँसे । अफ्रिकी पुरुष झन जंगियो ‘म त यि यसैगरि हसाउँछु । जो मसित बिहे गर्न मञ्जुर हुन्छ उसले यसैगरि हाँसेर, जोकै जोकमा रमाएर जिन्दगी बिताउन पाउँछ । मत जहिलेपनि यस्तै रंग गर्छु’ अंगार जस्तो कालो अनुहारभित्रबाट एकाध जोडी सेता दाँत टल्काउँदै उ हाँस्यो हाहाहाहाहा, जे होस आइमाईलाई मुर्छा पार्ने गरि हँसाउने खुबि चाहिँ छ है मसित हाहाहाहा ।

रेल अर्को स्टेशनमा रोकिनु अघि उ फेरि करायो – ओइ लु भन म त अहिलेनै बिहे गर्न लैजान्छु, सकार्छु । लभ न सभ, अति भो । म त आत्तिईसकें । अफ्रिका जाउँ भने फेरि फर्केर आउन पाइने कागज छैन । ह्याँकाले पत्याउने होईनन् । साला सरकार बाँच्न मात्रै पुग्नेगरि पैसो दिन्छ । मन बाँच्ने, हिर्दय बाँच्ने, आत्म रमाउने ब्यवस्था गर्दिन्न । मानव अधिकार भन्छ । लूगा दिन्छ । तर आफूलाई जे चाहिएको छ त्यो दिन्न । बाँचेर मात्रै मानव अधिकार हुन्छ ?’

उसले निकैबेर राष्ट्रपती र कार्ला ब्रुनीको कुरा काट्यो । हाम्रो भोट खायो । जित्यो । यो गर्छु र ऊ गर्छु भन्यो । राष्ट्रपती बनेपछि त सुन्दरी केटी हेर्न थालेछ । मोडेल ताकेछ । ऊ चाहिँ मोडल खोज्दै हिँड्ने । हामीलाई चाहिँ बाँच्न मात्रै दिने । केटीहरु घुमाउने, नाटक देखाउन लैजाने, सिनेमा हल र नाईटक्लव लैजाने पैसो नदिने । केटीहरुले फेरि त्यस्तो मात्रै खोज्ने अनि कहाँबाट हाम्ले केटी पाउनु ?’ रेल स्टेशनमा रोकिनासाथ ऊ फुत्त निस्कियो । उसलाई सम्झेर बल्ल मानिसहरु हाँस्न थाले ।

उसले चर्चा नगरोसपनि किन ? निकोला सार्कोजी । त्यसपछिका राष्ट्रपती फँस्वा होलँद, अहिलेका राष्ट्रपती एमानुयल माख्रों सबै राष्ट्रपती बनेपछि कहिँ न कहिँ यस्तै घटनामा जोडिएका छन् ।

तपाइँको प्रतिक्रिया