मंगलबार, मंसिर ९, २०७७

स्विजरल्याण्डका हिमालपनि नेपाल जस्तै : पर्यटक लोभ्याउन नेपालले सिक्नुपर्ने कुरा

निराजन श्रेष्ठ२०७७ भदौ ११ गते २२:४५

लामो समयदेखि स्विस्जरल्याण्डमा बसोबास गर्दै आएका दाजुहरु प्रेम भारती, बिदुर संग्रौला र म बर्षको एक हप्ता परिवार छोडेर कतै जान्छौं । हामी तिन मिलेर एक हप्ता घुम्न जाने यो मेसो बर्षौं देखि मिलाउँदै आएका छौँ । त्यो एक हप्ता हामी तिन जनालाइ मनपर्ने कुनै ठाउँ छान्ने गरेका छौं । दर्जनौं पटक गएको ठाउँ भएपनि यो बर्ष अप्रिलमा च्याम्पिएन लिग हेर्न बार्सेलोना जाने भयाैं । तर संसारलाइ भयाभह बनाउने कोरोनाले गर्दा यो कार्यक्रम स्थगित गरियो । अगस्ट २१ – २३ सम्म तिनदिन स्विजरल्याण्डकै पहाडहरू घुम्ने अर्को योजना बनाइयो ।

क्यान्टोन वाद स्थित ले दिअब्लें क्षेत्रमा भएको हिमनदी ३००० सेस रुज २९७१ मिटरको पिक वक नामक पहाड स्विसको पश्चिममा पर्दछ । यो पहाडलाइ पुरै फन्को मार्न जाने जानकारी बर्न बसोबास गर्ने दाजु अचुत फुयाललाइ दिएपछि उहाँपनि हामीहरुसँगै जाने निर्णय गर्नुभयो । शुक्रवार २१ अगस्ट हामी लेसीं पुग्याैं । यहाँ हामीले अग्रिम होटेल बुक गरेका थियौं । हिँड्न चाहिने समान बाहेक अरु सबै होटेलको रिसेप्सनमा दिएर ऐग्ले हुँदै ट्राम र बस लिएर ग्लासिएर जान गोंडल चढ्ने ठाउँ कोल दु पियोँ पुग्याैं ।

गोंडल (ठूलो केवलकार) चढ्ने ठाउँको नाम कोल दु पियोँ हो । यो स्थानमा जान चाहनेहरुले स्विसको जुनैपनि ठाउँबाट एस्प्रेस्स ट्रेन लिएर ऐग्लेसम्म जान सक्छन । ऐग्लेबाट ले दिअब्लें पोस्ट सम्म ट्राम र त्यहाँबाट बस लिएर फेदी पियोँसम्म जान सकिन्छ । त्यस पछि गोंडल लिएर सिधै सो रुज पिक वकसम्म जान सकिन्छ ।

गोंडलको गति १० इटर प्रति सेकेण्ड छ भने प्रति घण्टा १,२१५ जना मान्छे बोक्ने क्षमता रहेछ । गोंडलबाट झरे पछि पर्यटकहरुलाई आकर्षित गराउन ग्लासिएर वाल्क । मनोरंजनका लागि विन्टरमा हिउँचिप्लेटी र समरमा १,००० मिटर लामो रोडलबान लगायत पानोरामा देखिने रेस्टुराँ बनाइएको छ । २,९७१ मि माथि दुइ अग्ला डाँडाका ढिस्कोलाइ जोडेर झोलुङ्गे पुल बनाइएको छ । उक्त पूल स्विसको प्रसिद्ध घडी टिसो कम्पनीले प्रायोजन गरेकाले पिक वक बाई टिसो भनेर नाम राखिएको छ । झोलुङ्गे पूलको भ्यु पोइन्टबाट स्विसमा भएको आदिभन्दा बढि अग्ला हिमशिखरहरुको पानोरामा देख्न सकिन्छ ।

समयको अभावले पहिलो दिन हामीले गोंडल चढेर झोलुङ्गे पूलको भ्यु पोइन्टमा पुग्ने र फर्कने बेला हिँडेर तल आउने निर्णय गर्यौं । जब गोंडलबाट तल झर्ने बाटो देखियो तब हाम्रो हंसले ठाउँ छोड्यो । त्यो अल्पिन ट्रेल बाटो यस्तो थियो कि जुन हेर्दै डर लाग्दो । कहाली लाग्दो । पहाडको खोल्सा र पहराको बाटो हिँड्न सजिलो देखिएन । यदि कथंकदाचित हामीले हिड्ने बाटो गल्ति गरेर चिप्लीयौं भने हाम्रो ज्यान त कता पुग्थ्यो कता ।

बिदुर दाइले गोंडलबाट हामी फर्कने बाटो देखाउँदै भन्नुभो ‘निराजन यो बाटो हिँडेर आज तल झरिएला जस्तो छैन । आज फेरी गोंडलबाटै फ़र्किनुपर्ला कि जस्तो छ । बाटो हेर्दा त्यस्तै छ ।’ प्रेम दाइले पनि हो मा हो मिलाउँनु भयो ‘यस्तो बाटो हिँड्नु हुँदैन ।’ म भने हिँड्ने मनिस्थितिमै थिएँ । दाजुहरुको कुरो सुन्दा मौन भएँ ।

हुन त, बाटो हेर्दा मेरो मनमा डर र चिसो नपसेको त हैन । ‘तै पनि हेर्दैजाउँ । माथि पुगेसी निर्णय गरौंला’ भन्दै मैले कुरो टारें । माथि पुगेसी हामीले झोलुङ्गे पुलबाट देखिने भ्यु लगायत पर्यटकहरुका लागि राखिएको आकर्षित र मनोरंजनको भरपुर रमाइलो लियौं ।

पैदल फर्कने छलफल हुँदै गर्दापनि हाम्रो मुटुमा डरको ढ्यांग्रो ठोक्दै थियो । अन्तत : तिन स्विस पैदलयात्रीहरु हामी पैदल फर्कने बाटो हिँड्दै गरेको देखेपछि हामीमा साहस आयो । हामीपनि उनीहरुकै पछि लाग्यौं । बिचमा उनीहरुलाई भेटेर कुरा गर्दा त उनीहरु प्रोफि ट्रेक्कर र डाँडा चढ्ने क्लाइम्बर पो रहेछन् । हामी नेपाली हौँ भन्ने उनीहरुले थाहा पाएपछि ‘नेपालीहरुका लागि यो त केहि हैन’ भन्दै थिए । उनीहरुलाइ के थाहा हामीलाइ डरले ढ्यांग्रो ठोकेको छ । तैपनि हामीले साहस बटुलेर डरलाग्दो पहाडी खोल्सा र पहरा हिँड्दै फेदिसम्म आइपुग्याैं।

अर्को दिन सबेरै उठेर कोल दु पियोँबाट हाम्रो पैदल यात्रा फेरि सुरु भएको थियो । पैदल यात्राको बाटो कोल दु पियोँ, रुच जेतेइग-लाक द सेनेच – स्लुसोर्न (३०३५ मि डाँडा) को तल २,४८५ मि मा रहेको काबाने दि दियाब्ल घर(हुट्टे)मा आएर बास बसियो । पियोँ आएर सकिएको थियो यात्रा ।

यि बाटाहरु पनि पहिलो दिन हिँडे जस्तै गाह्रो थियो । साह्रै उकालो । पहाडको खोल्सा खोल्सी । झनै गाह्रो आल्प ग्लेचरको बाटो (हिउँ जमेको पहाडी बाटो) हिँडेर गेलिहोर्न- किल दु दियाब्लको २९०८ मि सम्म । यस्तो कि त्यहांँ हिँड्ने बाटोमा निलो डोरी टाँगिएको छ । मौसम नराम्रो भएको बेला डोरी समातेर हिँड्नुपर्ने । यदि त्यो बाटो छोडेर अरु बाटो हिंडेमा ज्यान बचाउन गाह्रो हुन्छ । कि त चिप्लने डर । कि पहाडको खोचमा खसिने डर । कि भासिने डर । त्यो भनेको जिन्दगी जोखिमको भूमरिमा ।

डरलाग्दो बाटो । पहाडको खोँच । चट्टानै चट्टान । र आल्प ग्लेचर हुँदै आफ्नो लक्ष्यमा पुगेका हामी । आल्प ग्लेचरबाट झरेर बनेको सुन्दर ताल । सुन्दर हिमशिखरको पानोरामा । मिलेर बसेका सुन्दर डाँडाकाँडा देखेर हामी यति मस्त थियौं कि त्यो बर्णन गर्ने कुनै सिमा छैन । यो सुन्दरताको कति ब्याख्या गर्ने ? कुन शब्दले त्यो सुन्दरताको यथार्थ चित्रण गर्न सक्ला र ?

यो छोटो तिन, चार दिनको ट्रेकिङ भए पनि अविस्मरणिय छ मेरो लागि । यात्राको क्रममा बास बस्ने ठाउँमा गरेको रमाइलो । मन मिल्नेहरुसँग हिँड्दाको अविस्मरणिय क्षण । प्रेम दाजुको बर्थडे मनाउँदाको रमाइलो । यी सबैले गर्दा होला, यो यात्रा अविस्मरनिण बनाएको छ ।

हुन त हाम्रो नेपालमा संसारकै सबै अग्ला हिमशिखर र यस्ता चट्टान भएका पहाडी डाँडाकाँडा, खोल्सा खोल्सी, हिउँको बाटो जति पनि छन् । यस बिषयमा मैले भनिराख्नु परेन । तर स्विजरल्याण्डको बिकाश र यिनीहरुले गरेको सुरक्षाले प्रकृतिलाइ चुनौति दिएको पाइन्छ । यस्तै मेरो अतिरिक्त समयहरुमा म धेरै थोरै यस्तै नेपाल र स्विजरल्याणका डाँडाहरुमा रमाउने गर्दछु । र जाने नजानेसम्म फोटो खिच्ने सोख मेटाउने गर्दछु ।

तपाइँको प्रतिक्रिया

फेसबुक