शुक्रबार, मंसिर १२, २०७७

कुलमान, कोरोना र कैलाश

किशोर नेपाल२०७७ भदौ १२ गते १३:३२

अमेरिकी डलरमा अरबपति बिनोद चौधरीलाई कोरोना भाइरसले समातेकोछ । उनी अहिले आइसोलेसनमा छन् । उनको उपचार शायद चौधरी ग्रुपको नाममा संचालित नर्भिक अस्पतालमा हुँदैहोला । बिनोद चौधरी वा देशका बिशिष्ठ ब्यापारी, राजनीतिक नेता र सरकारका अधिकारीहरुलाई कोरोनाले समातेपनि देशका जनताको स्वास्थ्य अवस्थामा कुनै सुधार आउने होइन । सरकारका सम्पूर्ण संयन्त्र भीआइपीको उपचारमा तल्लिन हुन्छ । यो देखेर जनता गदगद हुन्छन् । यहि चल्दै आएको छ सनातनदेखि देशमा ।

बिहीबार देशमा कोरोना भाइरसको बिकासले लामो फडको मार्यो । बिनोद चौधरीलाई कोरोनाले समातेको पनि बिहीबार नै हो । डलरमा अरबपति सहित काठमाडौंमा कोरोना संक्रमित हुने ४ हजार भन्दा बढि भए । बिहीबार सखारै निस्किने अखवारले ठोकेरै लेखेको थियो – अरु रोगले भन्दा कोरोनाबाटै बढि मृत्यु । अरु रोगबाट कति मानिसको मृत्यु भएको छ ? त्यसमा कसैले पनि खासै रुचि लिएको देखिँदैन । जोन हप्किन्स कोरोना भाइरस सेन्टरका अनुसार, नेपालमा अहिलेसम्म ३५ हजार ५ सय ९९ संक्रमित छन् । यो अंकमा सम्भवतः जोन हप्किन्सका अधिकारीहरु नै सहमत नहुन सक्छन् ।

यहाँ अहिले आततायीहरुको शासन छ । ती शासकले अहिलेसम्म कोरोनाका नाममा झण्डै १५ अरब रुपैयाँ खर्च गरिसकेका छन । प्रधानमन्त्री संसदमा खुलेआम भन्दछन, मैले भनेपछि भइहाल्यो नी ! उनले आफूलाई सत्यवादी राजा हरिश्चन्द्रका सन्तान नै सम्झेका छन कि के हो थाहा भएन । उनले भनेपछि जनता जेपनि पत्याउन बाध्य हुन्छन् ।

सरकारले पर्याप्त पीसीआर किनेको छैन । सरकारका प्रवक्ता भन्छन, २० हजार ७३ जना नेपाली कोरोना मुक्त भएका छन् । कसरी पत्याउनु संक्रमण बढेको बढेकै छ । आखिर कोरोना नाडी छामेर थाह हुने रोग त होइन । पीसीआर नै नभै कसरि ठहर हुन्छ कोरोना हो कि होइन ?

कोरोना महामारीको आतंक त छँदैथियो । बुधबार र बिहीबार उपत्यकाका सबै शहरमा कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखको पदमा पुनर्नियुक्तिको प्रश्नले अर्को आतंक मच्चायो । कतिले कुलमानले कम्मरमा बाँधेको इमान्दारीको पटुका समाएर सामाजिक सन्जाल रंगाए । कतिले कुलमानको नियुक्ति भएको मनगढन्ते खबरका आधारमा प्रधानमन्त्री र कुलमान दुबैलाई बधाइ टक्रयाए । कुलमान घिसिङ २०४६ को जन–आन्दोलन अघि राजाले चलाएको निर्दलीय पन्चायत ब्यबस्थाजस्तो प्राधिकरणका लागि निर्विकल्प मानिए ।

यसमा कसैको दुइमत छैन, कुलमान कुशल ब्यबस्थापक हुन् । उनमा काम गर्ने जोश छ, जाँगर छ । जुन कुशलताका साथ उनले चिलिमे जल बिद्युतलाई आयोजनाको निर्माण र संचालनको दायित्व पूरा गरे, त्यसका लागि उनलाई धन्यवाद दिनै पर्दछ । उनले जुन कुशलताका साथ लोडशेडिङको ब्यबस्थापन गरेर नेपाल बिद्युत प्राधिकरणलाई नयाँ जीवन दिए त्यो आफैंमा प्रशंशनीय छ । त्यसो भन्दैमा, प्राधिकरण आजीवन कुलमानको जिम्मामा दिनु जायज हुँदैन । लोकतन्त्रमा लिगेसीको होइन, मेरिटको मर्यादा राख्नु पर्दछ ।

कुलमान तामाकोशीमा काम लाग्छन् । बुढी गण्डकीमा काम लाग्लान् । अन्य धेरै बिद्युत आयोजनामा काम लाग्छन् । तर, उनलाई बिद्युत प्राधिकरण नै चाहिएकोछ । त्यसमा उनको रुचि छ । उनी आफैपनि बिद्युत आयोजनाका प्रवर्धक छन् । नसोध्नु होला कुन आयोजना ? समयमा सबै बाहिरिन्छ, कुलमानको योग्यताको कदर भएको छ । फेरी पनि कदर हुन्छ । उनी जत्तिको सफल र योग्य मानिसले जनजातिको लवी बनाएर आफनो गीत गाउन लगाउनु पर्दैन । कुलमान जस्ता ब्यक्तिले यो गणतन्त्रलाई पूरै समावेशी बनाउने आन्दोलनको सिर्जना गर्नु आबश्यक छ । उनका लागि लाखौं कुलमानलाई सुयोग्य नागरिक बनाउने भूमिका सुरक्षित छ । जनजाति, दलित र सीमान्तकृत जातिको कल्याण हुनै पर्दछ । कल्याण भनेको दया होइन । अहिलेसम्म सीमित वाहुन क्षेत्रीको पकडमा रहेको राज्यको स्रोतमाथि जनजाति, दलित र सीमान्तकृत जातिको पहूँच र पकड आबश्यक छ ।

आजको तेस्रो बिषयमा छन्– कैलाश सिरोहिया । नेपालका एकमात्र मिडिया टाइकून सिरोहिया कहिले आफैं बिबादको सिर्जना गर्दछन् । कहिले बिबादमा घिच्याइन्छन । यसपटक उनका मित्रहरुले उनलाई बिबादमा घिच्याएर ताने । पहिले त उनी हनिट्रयापमा परेको हल्ला चलाइयो । त्यसपछि, सिधाकुरा भन्ने एउटा संचार माध्यमले सिरोहिया र दुवइबाट आएकी शर्मिला नामकी केटीसँग सोल्टी होटलको कोठामा, नम्बर ९२८ किटेरै, रमाउन खोजेको समाचार लेख्यो । त्यसपछि देशका गण्यमाण्य बुध्दिजीवी र प्रतिभावान ब्यक्तिहरु सिरोहियालाई लखेट्दै पछिपछि लागे । ट्विटर भरियो । गाली र तालीको बर्षा भयो । देखेर मेरो मन खिन्न भयो ।

कैलाशलाई म धेरै अगाडिदेखि चिन्छु । उनले जीवनमा निकै ठूलो संघर्ष गरेका छन् । उनको संघर्ष फल्यो । भाग्यले साथ दियो । उनी र उनका तत्कालीन मित्र बिनोद छँदाखाँदाको गलैंचा उद्योग छाडेर पत्रिका प्रकाशनमा आए । कान्तिपुर र काठमाडौं पोष्ट दैनिकको स्वामित्व लिए । कान्तिपुर प्रकाशन खडा गरे । नेपालमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्रको सम्बर्द्धनका लागि यो राम्रो योगदान थियो कैलाश र बिनोदको । कैलाश सिरोहिया कमजोरी नभएका मानव होइनन् । त्यस्तो कमजोरी नभएको प्राणी कोही नहोलान् । उनका कमजोरीहरुलाई छाडेर समाचारपत्र प्रकाशनमा उनले दिएको योगदानको कदर गर्नुपर्दछ ।

कैलाशका, स्वाभाविक हिसाबले, दुश्मन बढि नै होलान् । तर, दुश्मनी साँध्नेले पनि सामान्य तथ्यमा ध्यान दिनुपर्दछ । एकातिर कोरोना महामारी, अर्कोतिर निषेधाज्ञा लागू भएको समयमा कैलाश सिरोहिया एउटा केटी पछ्याएर सोल्टी पुगे होलान् ? यस्तो कल्पना कसैले गर्न सक्दैन । सुनिए अनुसार, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार सिरोहियाको दाहिने थिएन । सिरोहिया पनि सरकारले गरेका अदभूत उपलब्धिको कद्रदान थिएनन् । हाम्रो जस्तो देशमा सरकार लाग्यो भने बाँच्न कठिन हुन्छ । कम्युनिष्ट सरकार त बिचार संप्रेषणका बिरुध्द लागेकै हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक