शुक्रबार, चैत १६, २०८०

चितवनमा रगत बोक्ने ‘घुम्ती बस’ सेवा

नेपाल प्लस२०७७ भदौ १३ गते ९:२५

रातो र सेतो रङको चिल्लो टाटेपाटे बस । भित्तामा एन आर एन ए (NRNA) र सँगै रेड क्रसको रातो लोगो । एन आर एन ए ब्लड बैंक लेखेको बसले अब चितवनका अस्पत्तालहरुमा एक एक गर्दै परिक्रमा गर्ने छ । फुच्चे गाडी र साना मोटरसाईकलमा केहि पोका बोकेर हिँड्ने साधनले चितवनमा बढ्दो रगतको माग पुरा गर्न सकेका छैनन् । मेडिकल सिटी भनेर चिनिने चितवनमा अस्पतालहरु दर्जनौं पुगेका छन् । डाक्टरका क्याबिन र क्लिनिकहरुको संख्या त झन गनिसाध्य छैन । तत्कालै ज्यान जोगाउन चाहिने रगतको माग यति छ कि अहिलेको सेवाले धानेकै छैन । रगतकै अभावले विरामीहरुको ज्यान जाने गरेको छ । अब भने यस्तो समस्या धेरै रहने छैन । किनभने चितवनमा बढ्दो रगतको खाँचो पुरा गर्न गैह्र आवाशिय नेपाली संघले घुम्ती ब्लड बैंक शुरु गर्न लागेको छ ।

गैह्र आवाशिय नेपाली संघका सचिव गौरीराज जोशीले नेपालप्लसलाई दिएको जानकारि अनुसार एनआरएनको घुम्ती रगत बस परियोजनाकालागि संघले नेपाल रेडक्रस सोसईटी चितवनसँग सहकार्य गरेर यो परियोजना अगाडि बढाएको हो । मौसम प्रतिकूलताको बेला पनि रगत संकलन गर्न अब सहज हुनेछ । “घुम्ती रगत बस परियोजना” ले रगतको संकलन तथा भण्डारणमा सहज बनाउँछ । रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्ने छ ।

यस परियोजनाको लागि स्वास्थ्य सामाग्री सहितको बस बनाउन सम्झौता भईसकेको जोशीले बताए । यहि अक्टोबरमा क्षेत्रिय रक्तसंचार सेवा भरतपुरलाई हस्तान्तरण हुने छ । गैह्रआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा यो परियोजना आएको हो । यसको संयोजक गैह्र आवाशिय नेपाली संघका सचिव गौरी राज जोशी हुन् । यो परियोजनामा सबै गैह्र आवाशिय नेपालीहरुलाई सहयोग गरिदिन संघले आव्हान गरेको छ ।

हाल चितवनमा रगतको माग बढेपनि आपूर्ति बढेको छैन । धेरै गर्मि र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसलेगर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने गरेको छ । रगत नपाएर काठमाडौँ गएर रक्तसंचार सेवा लिनुपर्ने अवस्थाले धेरै विरामीले समयमै उपचार पाएका छैनन् । अबको रगतको खाँचो यो घुम्ती सेवाले पुरा गरिदिने छ ।

नेपाल बाहिर रहेरपनि आफ्नो देशप्रतिको जिम्मेवारी नेपालीहरुले भुलेका छैनन् भन्ने यो अर्को उदाहरण हो । देशमा रहेका समस्या पूरा गर्न धेरै गैह्रआवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत लगाएका छन् । प्राविधिक ज्ञान र शिप उत्तिकै ओछ्याएका छन् । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैह्र आवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेर अर्को उदाहरणिय काम गरेको छ । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन रक्तसंचार क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक