बिहीबार, वैशाख १३, २०८१

मलाई त सन्चो भो, संसारलाई अझै बिसन्चो

तारा बराल२०७७ भदौ १४ गते ९:३०

म कलिलै थिएँ त्योबेला । छ सात कक्षामा पढ्थेँ सायद । उँधैउँभैले मलाई लखतरान पार्दै थियो । गाउँमा झारफुक गर्ने धामी बाहेक उपचार जान्ने कोही थिएनन् ।

झापाको उत्तरपूर्वी भेगको सुन्दर गाउँ शान्तिनगर शैक्षिक मामिलामा जिल्लाभरि नाम चलेको भएपनि स्वास्थ्य चेतनामा भने कमजोर रहेछ भन्ने कुरा मैले आफूलाई परेपछि मात्र थाहा पाएँ । झाडापखालाले मेरो शरीर शिथिल हुँदैथियो । तिर्खाले उधुम हुँदासमेत पानी पिउन दिने कसैको हिम्मत थिएन । त्यस्तोबेला पानी धेरै पिउनु हुन्न भन्ने अन्धविश्वास थियो समाजमा । तर स्कूलका केही शिक्षक र साथीभाइको सल्लाहमा मलाई उपचारका लागि भारत,पश्चिमबंगालको शिलीगुडी लैजाने निधो भएछ ।

त्योबेला हाम्रो स्कूलमा नेपाल स्काउट निक्कै सक्रिय थियो । स्काउटका साथीहरुले स्ट्रेचर तयार पारे । मलाई त्यसमा हालेर नक्सलबारी कुदाए । बाटोमा मेची नदी तरेर भारत प्रवेश गर्नुपर्थ्यो । सडक थिएन । घोडा र मान्छे हिँड्ने बाटो थियो । गोरुगाडा पनि फाट्टफुट्ट चलेको देखिन्थ्यो ।

मेची नदीमा पानीको सतह तर्नै नसकिने थिएन सायद । साथीहरुले मलाई सजिलै नदीको भङ्गालो पार गराउँदै थिए । मैले स्ट्रेचरबाट हात बाहिर निकालेर मेचीको कन्चन पानी खेलाउन थालेँ । तिर्खाले मुख सुकेर खपिनसक्नु भाथ्यो । दुईचार अन्जुली पानी पिउन देउन मलाई – मैले उनीहरुलाई अनुरोध गरेँ ।

दुई चम्चा पानी मेरो मुखमा पर्यो । मैले अरु कर गरिन । हैजा लाग्दा सायद योभन्दा धेरै पानी पिउनु हुन्नहोला भनेर सहेर शिलीगुडी पुगेँ ।

शिलीगुडीमा त्योबेला निक्कै चर्चित एक बंगाली डाक्टर थिए । कालु डाक्टरको नामले दार्जिलिङ्ग र झापाका नेपालीहरु उनलाई चिन्दथे । मलाई त्यहीं पुर्याइयो । मेरो सामान्य परीक्षण गरेपछि ती डाक्टरले मलाई बोकेर ल्याउने साथीहरुलाई झपारेको सुनें । बंगाली लबजको हिन्दीमा भन्दै थिए – तुमलोग कैसे मानुस हो ? इनको क्या हुआ बुझ्ते पार्बोना ! देखो ए लड्का प्यासके वास्ते सुखा हो रहा है । इनको भिषण जल पिलाओ, लस्सी पिलाओ । ए तो हैजासे तडप रहा है ।

डाक्टर मलाई बेडमा सुताएर नसा मार्फत पानी चडाउन थाले । दुई गिलास पानी पिलाए । केही साथीहरु लस्सी लिन नजिकैको रंजित होटलतिर दौडिए । बडेमानको शिशाको गिलासमा लस्सी आइपुग्यो । मैले एकै सासमा तन्तनी लस्सी पिएँ । सुकेको मुख बल्ल रसाउन थाल्यो । छटपटी बिस्तारै शान्त हुनथाल्यो । कतिबेला निदाएछु थाहा पाइन । भोलिपल्ट बिहान डिस्चार्ज भएर कालु डाक्टरको क्लिनिकबाट बाहिर निस्कँदा म अलिकति फूर्तिलो भैसकेछु ।

मैले यो घटना स्मरण गर्दैगर्दा संसारले नितान्त फरक र अकल्पनीय फड्को मारिसकेको छ । हैजा, दादुरा र औलोले ग्रसित भएर मर्नुपर्ने अवस्था छैन । स्वास्थ्य चेतना र उपचारको उल्लेख्य विकास भएको छ । मेरो गाउँ शान्तिनगरका बासिन्दा चेतनाको स्तरमा निकै माथि उक्लिएका छन् । हैजा र कालोजरोले मरिएला भन्ने त्रासबाट मुक्त भएका छन् । मधेस जान औलोको डर मान्नु पर्दैन । पूरै गाउँ उँधैउँभैले सखाप भएको खबर सुन्नु पर्दैन ।

त्यो महामारीको युग सकियो भनेर खुशी मनाउँदै गर्दा हाम्रो थाप्लोमा अहिले अदॢश्य शक्तिको महामारी बुर्कुसी मार्दैछ । मानव समुदायले नसोचेको, नपत्याएको यो अदॢश्य शत्रु विश्वव्यापी ताण्डव मच्चाउँदै छ । हैजा, औलो र दादुरा मात्र भोगेका मजस्ता धेरैले प्लेग र स्पानिस फ्लूको इतिहास त पढेका होलान् । तर अहिलेको कोरोनाको जस्तो कहर सायद जीवन पर्यन्त सम्झिरहने घाउ बनेको छ । र यस्तो घाउको अगतिलो अनुभवले मलाई बेलाबेला झस्काइरहन्छ । मजस्ता लाखौं मानिस जस्ले यो संक्रमणसँग जुधेर नयाँ जीवन पाए । उनीहरुको लागि कहिल्यै नबिर्सने अध्याय भएको छ । मर्नेहरु त अतीत भैसके, बाँच्नेहरु भाग्यशाली बने ।

झन्डै एकहफ्ता अघि हुनुपर्छ त्योबेला, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मनमा एकप्रकारको डर पसेको थियो । मभन्दा पहिले बिटुमा सामान्य लक्षण देखिएको थियो । अब बेलैमा कोरोनाको परिक्षण गरेर ढुक्क हुनुपर्यो, हामी दुईले निर्णय गर्यौं ।

अब हाम्रो समय त्यही टेस्ट रिजल्टको अधीर पर्खाइमा बितिरहेको थियो । जुन २४, २०२० राती १०. ३० बजे उनी सुत्ने तरखरमा कोठामा पसेपछि टीभीमा समाचार हेर्दै गरेको मेरो ध्यान इमेल हेर्न हतारियो । त्यो दिन अवश्य रिजल्ट आउला भन्ने आशा थियो । पोजेटिभ नेगेटिभ जे आएपनि भोग्न तयार थियो मनस्थिति । ‘कोभिड-१९ डिटेक्ट पोजेटिभ’ मेरा आँखामा शुरुमै यी शब्दहरु परे । एकछिन अघि दरो बनाएको मेरो आत्मबलमा अकस्मात मूक्का हाने जस्तो भयो । हस्याँगफस्याँग गर्दै श्रीमतिलाई सुनाउन सुत्ने कोठामा पसेँ । उनले मेरो अनुहार हेरेरै थाहा पाइन् ।

जे नचाहेको त्यही भयो । भोग्न लेखेको रैछ । अब भोग्नै पर्यो । घरमै बन्दाबन्दी भएर दुई हफ्ता आराम गर्ने सल्लाह गर्यौं । अलग कोठा र बाथरुम प्रयोग गर्ने, सतर्कता अपनाउने । यस्तै आवश्यक विमर्शमा हामीले केही समय बितायौं । उनको ल्याब रिपोर्ट आउन बाँकी थियो । तर त्यसको पूर्व अनुमान हामीले गरिसकेका थियौं ।

गरुङ्गो मन लिएर म अर्कै कोठामा सुत्न गएँ । निद्रा लाग्ने कुनै छाँट थिएन । त्यसै पनि केही दिनदेखि ज्यान आलस्य थियो । अब झन लल्याकलुलुक हुनथाल्यो । ओछ्यानमा पल्टेपनि छटपटि थियो । मन र दिमाग दुबैमा अनेक तर्कना मडारिन्थे । आत्मबल कसिलो बनाउन प्रयास गर्थें । न्युयोर्क र यूरोपेली सहरहरुको बिजोग आँखामा झल्झली आउँथ्यो । कोरोनाले ज्यान गुमाउनेहरुको सयौं लाश एउटै खाल्डोमा पुर्दै गरेका समाचारका दॢश्य सम्झिन्थें । आफन्तहरुले टाढैबाट लाश हेरेर अन्तिम बिदाइ गरेको कारुणिक घटनाले मन भत्भती पोल्थ्यो ।

जम्माजम्मी दुईजना छौं घरमा । दुबै सिकिस्त परियो भने के होला ? आफन्त र साथीहरुसँग भेट नहुने भो ! अमेरिकामा दिनरात नभनी पसिना बगाएर कमाएको अलिकति सम्पत्ति पनि काम नलाग्ने भो । कोरोनाले मरियो भने यो सम्पत्ति पनि बेवारिस हुने भो ! आउँदो डिसेम्बरमा नेपाल फर्किने योजना पनि अनिश्चित हुने भो । यस्ता बग्रेल्ती कुराले कुँडिदा कुँडिदै कतिबेला निदाएछु थाहा पाइन । बिहान ब्युँझदा पसिनाले लथपथ थियो जीउ । मन भने अलिक शान्त भएझैं लाग्यो ।

दुईदिनपछि बिटुको पनि रिपोर्ट आयो, कोरोना पोजेटिभ । दुबै संक्रमित हुँदा थोरै सजिलो हुने रैछ । हामी संक्रमित भएको खबर सार्वजनिक गर्यौं । साथीभाइ, आफन्त र शुभेक्षुकहरुले ढाडस र शुभकामना दिन थाले । साथीहरु घरमा आउने क्रम शुरु भयो । मूल ढोका बाहिरै भेटेर फर्किन्थे । खानपीनका सामाग्री बोकेर आउँथे । उनीहरुसँगको भेट र कुराकानी हाम्रो आत्मबलको उर्जा बन्यो । घरमै थुनिएर बसेको तीनहफ्ता पुगेपछि अबचैं कोरोना पराजित भयो भन्ने लाग्यो । दुबैजनाले टेस्ट गरायौं । हामी एंटीबडी पोजेटिभ भैसकेछौं । कोभिड १९ हामीसँग पराजित भएछ ।

हामी त निको भयौं । संसार अझै निको भएको छैन । दैनिक हजारौं संक्रमित हुने र मर्ने क्रम रोकिएको छैन । धनी गरिब, बलिया बाङ्गा, शासक शासित कोरोनाले कसैलाई मोलाहिजा गरेको देखिँदैन ।

राज्यसत्ताका नायकहरुको गैरजिम्मेदार र अविवेकी व्यवहारले लाखौं मानिस ज्यान गुमाउँदैछन् । सम्पन्न भनिएका मुलुकहरु यो अदॢश्य रोगसँग हार्दैछन् । विज्ञानलाई उपेक्षा गरेर ट्रम्पले आफ्नो हठ र राजनीतिक पूर्वाग्रह त्याग्न नसक्दा विश्व सामु आज अमेरिका निरीह र लज्जित भएको छ । संसारका अरु मानिसभन्दा आफू अब्बल र बलियो भन्ने अहममा बाँचेका अमेरिकीहरु मास्क नलगाउने, सामाजिक दूरी नमान्ने गर्दा पनि अमेरिकाको यस्तो बिजोग भएको हो । ब्राजिलका राष्ट्रपतिले ट्रम्प कै सिको गर्दा त्यहाँको अवस्था जर्जर बन्दैछ । नेपालका प्रधानमन्त्रीको बेसार पानी र हाछ्युँ प्रविधिको हावादारी गफले त्यहाँ कोरोनाको संक्रमण भुसको आगो झैं सल्किरहेको छ । विज्ञान भन्दा पूजा पाठ, दीप प्रज्वलन र तालीमा विश्वास गर्दा प्रधानमन्त्री मोदीले भारतलाई ठूलो संकटमा धकेल्दैछन् ।

बाहिर निस्किन अझै डर लाग्छ । हामी बसेको सहर खतरामूक्त छैन । मानिसहरु बेपर्वाह छन् । बाहिर ननिस्के गुजारा पनि चल्दैन । कोरोनाले यस्तै दोसाँधमा ल्याएर छोडिदियो ।

करोडौं मानिस बेरोजगार छन् । करोडौं बालबालिका स्कूल जान पाएका छैनन् । व्यापार व्यवसाय, उध्योगधन्दा सबै चौपट छन् । विश्व अर्थतन्त्र ओरालो लाग्दैछ । तर कोरोनाको ग्राफ भने उकालो चढ्दो छ । आफन्त साथीभाइसँगै बसेर रमाइलो नगरेको त महिनौं बित्यो । कतै घुम्न जाउँ, सबैतिर त्रास । गाडीभित्र बस्यो आफ्नो कामबाट घर । घरबाट काम । मास्क बेगर बाहिर निस्कने कुरा आएन । आफ्नै साथीभाइ पनि चिन्न सकिँदैन । मुख र नाक छोपेपछि एकले अर्को ठम्याउन मुश्किल । लाग्छ, जिन्दगी अब यतिमै सीमित छ । थाहा छैन निस्फिक्री घुम्ने, पहिले झैं स्वच्छन्द रमाउने दिन कहिले आउला !

तपाइँको प्रतिक्रिया