मंगलबार, वैशाख ११, २०८१

स्विडेनमा इस्लाम धर्मग्रन्थ कुरान जलाइयो : माल्मो शहरमा हिंस्रक भिडन्त

सुमन घर्तीमगर / गुटेनबर्ग२०७७ भदौ १३ गते २१:१०

स्विडेनको दक्षिणी शहर माल्मोमा उग्र दक्षिणपन्थी युवाहरुको समूहले कुरान जलाइदिएपछि भएको हिँस्रक भिडन्तमा प्रहरी र प्रदर्शनकारीहरु घाइते भएका छन् । शुक्रबार २९ अगस्तमा माल्मोको मुख्य चोकमा भेला भएका झण्डै तीन सय मुसलमान विरोधी युवाहरुको समूहले पुलिसकै अगाडि कुरानलाई भकुण्डो खेलाए झैँ खेलाएर आगो लगाइदिएका थिए । आप्रवासी मुस्लिमहरुको बाक्लो बसोबास रहेको माल्मोमा सो घटनापछि दंगा भड्कियो ।

दर्जनौँ कार, पसल र सार्वजानिक स्थलहरु तोडफोड गरिए । कुरान जलाएकोमा विरोध गर्ने मुसलमान युवाहरु र उग्र दक्षिणपन्थी स्विडिश युवाहरुको बीच झडपहरु भए । आक्रोशित भिडले पुलिसमाथि पनि हमला गर्यो ।

डेनमार्कबाट शुरु भयो हिंसा

डेनमार्कमा एक जना उग्र दक्षिणपन्थी राजनीतिकर्मी छन् । पेशाले पूर्व वकिल रासमुस पाउल्दान मुसलमान विरोधी छवि बनाएका विवादास्पद व्यक्ति हुन् । उनले यौटा मस्जिद नजिकै सुँगुरको मासु कुरानभित्र हालेर स्कूले केटाकेटीको अगाडि जलाइदिएको भिडियो एकैछिनमा भाइरल भइसकेको थियो । मुसलमानहरु आएर स्विडेनलाई बिगारे भन्ने कुरामा विश्वास गर्ने व्यक्तिहरुले गएको शुक्रबार उनै पाउल्दानलाई माल्मो शहरमा बोलाएर मुस्लिम विरोधी प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए । तर साम्प्रदायिक दँगा भड्किने डरले स्विडिश सरकारले उनलाई आउन दिएन । बरु दुई वर्षको लागि स्विडेन आउन नपाउने गरी पाउल्दानको यात्रा रोकिदियो ।

पाउल्दान नआएपनि युवाहरुले इस्लाम विरोधी काम गरिछाडे । कुरान जलाइसकेपछि उनीहरुले अरब देशबाट आएका मुसलमानलाई आफ्नै देशमा फर्क भनेर नाराबाजी गरे । एकैछिनमा आप्रवासी युवाहरु पनि एकतृत हुँदै प्रतिकार गर्न थाले । स्थिति नियन्त्रण बाहिर हुन नदिन ठूलो सँख्यामा प्रहरी तैनाथ गरेपनि तोडफोड र आगजनी भैरह्यो ।

डेनमार्कका उग्र दक्षिणपन्थी नेता रासमुस पाउल्दानलाई आप्रवासी विरोधी, मानवता विरोधी र साम्प्रदायिक दँगा भड्काउने काममा लागेको अभियोगमा तीन महिनाको जेल सजाय पनि सुनाइएको थियो । उनको वकिल पेशा गर्ने कागज पनि निलम्बन गरिएको छ । स्विडेन, डेनमार्क स्केन्डेनिभियन मुलुकहरु हुन् र यसमा मुसलमानहरुको कुनै गुन्जायस छैन । उनीहरु जहाँबाट आएका हुन् उतै जाउन् भनेर दक्षिणपन्थी पार्टी खोलेका रासमुसले गएको चुनावमा झण्डै सँसदको चुनाव जितेका थिए ।

मुसलमानहरुको बाक्लो बसोबास रहेको डेनमार्कको आहुस, कोपेनहेगेनमा दक्षिणपन्थी दल स्टाम क्रुसको सँगठन बढ्दै गएकोमा मानवअधिकारवादी सँस्थाहरुले चिन्ता व्यक्त गर्दै आएकाछन् । डेनमार्कबाट फैलिएको साम्प्रदायिक र धार्मिक दँगाको आगो छिमेकी स्विडिश शहर माल्मोमा अझ जोडले सल्किएकोछ । बर्लिनमा उग्र दक्षिणपन्थीहरुले जुलुस निकाल्नु र नर्डिक देशहरुमा मुसलमान विरोधी शक्तिहरु एकतृत हुनुलाई युरोपभरी आप्रवासी र मुसलमान विरोधी शक्तिहरुको वृद्धि हो भनी आजका दैनिक अखबारहरुमा खबरहरु छापिएकोछ ।

तपाइँको प्रतिक्रिया