सोमबार, असोज १२, २०७७

हामीले सिक्नु पर्ने जर्मनीको ‘गार्डन हाउस’ कल्चर

जीवा लामिछाने२०७७ साउन १७ गते १६:००

शहरको छेउछाउतिर झुपडी जस्ता ससाना कटेराहरु देख्दा सुरुमा त म छक्कै परेको थिएँ- जर्मनीमा समेत ‘स्ल्म एरिया’(झुपडी वस्ती) रहेछन भनेर ।

रसियन दाचा वा कन्ट्री हाउस जस्तै जर्मनीमा गार्डेन हाउस कल्चर (श्रेवरगार्डेन) यहाँका बासिन्दाहरुको जीवन यापनको एक पाटो रहेछ । दाचा वा कन्ट्री हाउसभन्दा यस्ता घरको फरक बिशेषता चाहिं के हो भने यी घरहरुमा राती सुत्न पाइदैन । करेसाबारीको रुपमा उपयोग गरिने यस्ता जमिनहरु जर्मनीका सबै प्रमुख शहर वरीपरि र गाउँतिर छयासछ्यास्ती देखिन्छन । राजधानी बर्लिन र फ्र्याकंफर्ट यस मानेमा अग्रपंक्तिमा छन् । पुरै जर्मनीमा दस लाखभन्दा बढी यस्ता गार्डेन हाउसहरु रहेको तथ्यांक छ । जर्मन चिकित्सक मोरित्ज शेर्बरले सन् १८६४ मा यसको सुरुआत गरेका रहेछन । उनको सम्मानस्वरूप यस्ता बगैचा घरलाई जर्मन भाषामा श्रेवरगार्डेन भन्ने चलन छ । जर्मनीबाट सुरु भएको श्रेवरगार्डेन परम्परा जर्मन भाषा बोलिने अस्ट्रिया, स्विटजर्ल्याण्ड लगायत युरोपका अन्य देशहरुमा पनि अहिले उत्तिकै लोकप्रिय हुँदै गएको छ ।

जर्मनीमा यो संस्कृति १९ औं शताब्दी मैं सुरु भए पनि व्यापक रुपमा यसको उपयोग भने पहिलो बिस्वयुद्द पछी सुरु भएको थियो । युद्दले तहसनहस भएका शहरका बासिन्दाहरुलाई निजि प्रयोजनकालागि त्यहॉ उत्पादन गरिने अन्न-फलफूल आदिले निक्कै ठुलो राहत दिएको थियो । वालवच्चाले खेल्ने मैदान र श्रम गर्नेहरुले यसवाट थोरै भए पनि स्वरोजगारी पाएका थिए । सरदर चार-पॉच सय वर्गमिटर क्षेत्रफलका यस्ता प्लटहरुको एक तिहाइ भागमा फलफूल-तरकारी रोप्ने, एक तिहाइमा कटेरो बनाउने र एक तिहाइ भाग रिक्रियशनका लागी खुला राख्नु पर्ने नियम छ ।

सुरुसुरुमा न्यून आय हुनेहरुले मात्रै उपयोग गर्ने चलन रहेका यस्ता प्लटहरुमा अहिले भने शहरमा बस्ने सबैथरिका मानिसहरुको रुची बढ्दै गएको छ । शहरको कोलाहलपूर्ण बातावरणबाट केहि समयकालागि मात्रै भए पनि मुक्ति पाइने भएकोले जर्मनीमा यो संस्कृति फस्टाउँदो छ । शहरका बासिन्दाहरु यसलाई स्वस्थ्य जीवनशैली जिउने माध्यमका रुपमा पनि उपयोग गर्न थालेका छन् ।

जमिनको सानो टुक्रालाई कलात्मक रुपमा सजाइएको हुन्छ । छेउछाऊमा बच्चाहरु खेल्ने ठाउँ छुट्याएको हुन्छ । ससाना नानीबाबु हुनेहरुले प्लास्टिकको स्विमिंग पुल र ट्राम्पोलिंग जाली पनि राखीदिएका हुन्छन । त्यसैगरी हात्ती, बाघ, मृग आदि जस्ता जनावरहरु र मानिसहरुका ससाना आकृतिहरुले बगैंचाको शोभा बढाएका हुन्छन । करेसाबारीका लागि छुट्याइएको भागमा आलू, गोलभेडा, काक्रो, प्याज, फर्सी आदि ग्रीष्मयाममा हुने तरकारी लगाइन्छ । बगैंचाको सानो बाँकी भागमा स्याउ, अंगुर, चेरी, स्ट्रबेरी आदि फलफुल रोपिएको हुन्छ । सहि रुपमा जमिनको उपयोग गर्न जान्ने हो भने सानो टुक्रामा यति धेरै बनस्पति रोप्न सकिने रहेछ ।

जर्मनहरु बडो उत्साहकासाथ यस्ता गार्डेनमा परिवारका सदस्यहरु र स्वजनसंग मिलेर सप्ताहन्त मनाउने गर्छन । ग्रीष्म याममा यता अबेर मात्रै सुर्यास्त हुने भएकोले दिउसोदेखि जम्मा भएका पाहुनाहरु राती १० बजेतिर मात्रै तितरबितर हुन थाल्छन । जर्मनीमा बाक्लो उपस्थिति रहेको टर्किस आप्रवासी समुदायबीच यो अझ लोकप्रिय छ । कतिपय पाको उमेर र निबृत्त जीवन बिताउने नागरिकहरु हरेक दिन गार्डेनमा ब्यस्त रहने गरेको देखिन्छ । ग्रीष्म याममा यति धेरै चहलपहल हुने यी सुन्दर बगैचाहरु जाडो मौसममा भने सुनसान हुने गर्छन ।

यो जमिन सरकारी स्वमित्वमा रहने हुनाले उपभोक्ताले मर्मत सम्भार र लिज़स्वरूप प्रतिबर्ष निश्चित रक़म तिर्नुपर्छ । यो रक़म सरदार प्रतिवर्ष ५०० युरो जति पर्ने रहेछ । जमिनको सरसफाई, रूख विरूवाको छाँटकॉट,कटेराको मर्मतसम्भार र गार्डेन क्षेत्र सन्चालन समितीले वनाएका नीति नियमको अवज्ञां गर्नेहरूको प्लट समितीले लिलाम गरीदिन सक्छ ।

कानून पालना गर्ने मामिलामा जर्मनहरू अग्रपंक्तिमा पर्छन । सुरक्षा आदिको जिम्मा सहकारी समितिले लिने गर्छ । यो ठाउं किन्न नपाइने हुनाले लीजमा लिन चाँहनेहरूले निक्कै लामो लाइनमा बस्नु पर्छ । कसैले लीज कन्टिन्यु गर्न नचाहेमा वाँ खोसुवामा परेमा मात्रै नयॉ मानिसले प्रवेस पाउने हो । त्यस्ता मानिसहरु बिरलै हुने गर्छन । गार्डेन संस्कृतिप्रति जर्मनहरुको विचित्रको मोह छ । गार्डेन गाउसमा बनाइएका कटेराहरुमा बास बस्न नपाइने नियम छ तर हिटलरको ज्यदतिकालमा भने कयौं यहुदी परिवारहरु यस्तै कटेराहरुमा लुकेर बाँचेका रहेछन । दोश्रो बिश्वयुद्द पछी पोस्टवार जर्मनी पुनर्निर्माणका बेला जर्मनहरुमा श्रेवरगार्डेन संस्कृतिमा केहि कम रुची भएको रहेछ ।

घर नजिकै यस्तै एउटा गार्डेनहाउस हामीलाई पनि मिलेको छ । हामी अघिका यो बारीका हर्ताकर्ता पाको उमेरका कारण क्यानरी आइल्याण्डतिर बसाई सर्ने भएकोले गार्डेन उनले छोड्ने भएका रहेछन । समयमै खबर पाएकोले बारी उपयोग गर्ने चाँजोपाँजो मिल्यो । गर्मी याममा फुर्सद हुँदा साथीहरुसंग बसीबियालो गर्ने यो उत्तम स्थल हुन गएको छ । तर छिमेकीहरुले झैँ चिटिक्क पारेर यसलाई अझै हामीले सजाउन सकेका छैनौं । बडो मुस्किलले मिलेको यो करेसाबारी समय ब्यबस्थापन गर्न नसक्दा उचित मर्मत सम्भार नगरेको आरोपमा पटकपटक खोसुवामा पर्न सक्ने चेतावनीयुक्त पत्र हात परे पनि अहिलेसम्म जेनतेन यसलाई बचाइएको छ । अब भने बारीको सरसफाई र गोडमेल गर्ने मामिलमा म बढी सजग भएको छु । बा आमालाई खेतीपातीमा सघाउदै मेरो बाल्यकाल बितेको हो । कृषि पेशा र किसानको मर्म मैले बुझेको छु । जमिनप्रति बाको अघाध स्नेह थियो । हामीलाई बराबर भन्ने गर्नुहुन्थ्यो- “कृषि सबैभन्दा उत्तम पेशा हो र धरती हामीले टेक्ने ठाउँ, माटोसंगको सामाजिक सम्बन्धलाई कहिल्यै नबिर्सनु, माटोले बनेको हाम्रो चोला माटोमै बिलाउने हो ।“ बाले सुनाउनु हुने माटोसंग जोडिएका यस्ता अनेक किस्साहरु अहिले पनि सम्झीरहन्छु । यो करेसाबारीले थोरै भए पनि मलाई माटोसंग जोडिने अवसर जो दिएको छ ।

ब्लगको टुंग्याउनीमा राष्ट्रकवि माधव घिमिरेका यी दुइ पंक्ति:
म पुत्र तिम्रो तिमी धर्ती माता
अटुट माटो मुटुको छ नाता !

तपाइँको प्रतिक्रिया

फेसबुक