शुक्रबार, चैत १६, २०८०

केप पोइन्ट- माउन्ट एभरेस्ट १० हजार किलोमीटर (अफ्रिका वृतान्त-१)

हिक्मत थापा२०७७ साउन १८ गते ११:३३

केप पोइन्ट – माउन्ट एभरेस्ट, १०००० किलो मिटर । आहा ! यो पनि थप्न पाए कति जाती हुँदो हो । न्युयोर्क, दिल्ली, सिडनी, लन्डन र संसारका अन्य ठुला शहरका नाम र दुरी किलो मिटरमा लेखिएको एरो बोर्ड केप पोइन्टको भ्यु टावर सँगै राखिएको थियो । हुन त माउन्ट एभरेस्ट वा काठमाण्डौं दस हजार किमी लेखेर कुनै बोर्ड रखिए पनि के फरक पर्ला र तात्विक रुपमा ? तर हाम्रा मन हुन् भयंकर फरक पर्ने रहेछ । जाडोले मान्छेका ओठ हल्लिन्छन नि हो त्यस्तरी मनको गहिराई हल्लिने रहेछ ।

केप पोइन्ट साउथ अफ्रिकाको सबैभन्दा दक्षिणको बिन्दु अझै भनौं भने अफ्रिका महादेशको नै दक्षिण भूतल । आज भन्दा त्यस्तै एघार बर्ष अघि होला मैले म सँगैको साउथ अफ़्रिकन चालक र नाइजेरियन सहयात्री इन्कालाई भनें- “यहाँ एउटा एरो थप्न कसरी सकिएला र ? मलाई केप पोइन्ट-माउण्ट एभरेष्ट १० हजार किमी लेखिएको एउटा बोर्ड हेर्न मन छ” ! उनिहरु खिस्स हाँसे, बोलेनन । मेरो सोच र त्यो इच्छा कुरैमा सकियो त्यतिबेला- मेरो मनमा सकिएन । अझै पनि केप टाउन र दक्षिण अफ्रिकाको सन्दर्भ आउँदा म त्यही सम्झन्छु ।

त्यसो त टेबुल माउन्टेनमा बसेर तल रबीन आइसलेन्ड एकतमासले हेर्दै मन्डेलाका २७ बर्से जेल जिवनका वृतान्त सुन्दाका क्षण पनि भुलीनसक्नुकै छ । अफ्रिका र दक्षिण अफ्रिका सुन्दा उस्तै उस्तै हो कि लागे पनि भिमकाय अफ्रिका महादेशको दक्षिण स्थित यो देश अल्पसंख्यक गोराहरुको लामो शाशन कालखण्ड, महात्मा गान्धी र नेल्सन मन्डेलाको लामो कष्टपुर्ण जेलजीवनले अफ्रिकाकै प्रतीक बनेको छ- बाहिरी संसारलाई दक्षिण अफ्रिका ।

भुलीनसक्नु रङ्ग बिभेद विरुद्धको आन्दोलन बाहेक पनि केपटाउनको भब्यता र सहरी वैभव, सुन्दरता, रात्री जीवनको चहक, काला र गोरा मान्छेहरुको बिबिधतामा पनि सुन्दर समिश्रणका थुप्रै कहानी छन ।

अहिले भने मैले केपटाउन देखिन सगरमाथाको दुरी खोजी रहेको छु । तल निलो पानी छ जसले जमीनलाई घेराउमा पारेको छ । चह चह उत्रेको छ पुरै अफ्रिका । यो माटोमा कतै नेपाली पाइला पनि हुँदा हुन । कसैले खोजे होला यहाँँको एरो बोर्डमा माउन्ट एभरेष्ट । उता पपुवा न्युगिनी देखि सुरीनाम सम्म अंग्रेज़हरुले भारतिय कामदारहरु लिएर जाँदापनि नेपाली पुगेका हुनुपर्ने हो । तर साउथ अफ्रिकामा भने त्यसको भेउ पाउन सकिएको छैन अझै सम्म ।

सन १९८० मा डा खिमानन्द एस गैरे दक्षिण अफ्रिकामा चिकित्सकको रुपमा काम गर्न पुगेपछि नेपाली चिकित्सकहरु जाने र त्यतै बस्ने क्रम शुरु भएको हो । अहिले त्यही चिकित्सकहरुको दोश्रो पुस्ताका कतिपय पुर्ख्यौली बिरासतलाई धान्दै चिकित्सकको रुपमा त्यही कार्यरत छन । डर्वन, इस्ट लन्डन, पिटरमर्जबर्ग र केपटाउनमै समेत गरि अहिले पनि लगभग तीस भन्दा बढि नेपाली डाक्टरहरु कार्यरत छन् । धेरैजसो दक्षिण अफ्रिकाकै नागरिक भइ त्यतैको पासपोर्ट बोक्न थाल्नु भएका डाक्टर सावहरुको नयाँ पुस्ताभने नेपाल र नेपाली भाषा देखि टाढिµµदै जान लागेको उदेक लाग्दो यथार्थ छ । कतै आभास होला र यिनलाई- माउन्ट एभरेष्ट ।

दशहजार किलो मिटरको यो दुरीमा आकर्षक सुबिधाको यो पेशामा र अन्य पेशा ब्याबसायमा नेपालीहरुले गौरव गर्नेगरि एकातिर बसिरहेका छन् भने अर्का तर्फ आजकाल अबैध रुपमा यता छिरेर शरणार्थी आबेदन भर्ने र जागिर गर्ने गरी एकहजार भन्दा बढि युवाहरु साउथ अफ्रिकामा छन् । कतिले अहिले आफुलाई बैध बनाउने र राम्रो आयआर्जन गर्ने उद्देश्य सहित संघर्षमा गरिरहेका छन । यसमा अधिकाश नेपालीहरु भारतबाट मानव तस्करहरुले बढि पैसा लिइ अबैध रुपमा यता पुर्याएका मध्येका छन् । अहिले कोरना कहरले बढि प्रभावित साउथ अफ्रिकामा केही दिन अघि ३४ बर्षका एक युवाको मृत्युु भएको छ । केही नेपालीहरु संक्रमणमा छन् र उपचार गरिराखेका छन् । तर समस्या के छ भने धेरै जसो अबैध रुपमा पुगेका भिसा र डकुमेन्ट नभएका नेपालीहरु रहेकाले समस्या पर्दा उचित उपचार र ब्यबस्थापन गर्न अप्ठ्यारो परिरहेको छ ।

तर पनि साउथ अफ्रिक डाक्टर पुष्पराज भट्टराईले भन्नू भएझैं केहि दिनदेखि संक्रमण घट्न लागेको जस्तो देखिएको छ । अस्पतालका बेडहरु खाली हुने क्रम बढेको छ । आशा गरौं यस्तै होस् र थप नेपालीहरु संक्रमणमा नपरुन् । भन्न फेरि पनि मन लागेको के हो भने हाम्रो दूतावास वा त्यहीँको समाजमा स्थापित हाम्रा डाक्टर सावहरुको प्रयासले बिश्वभरका लाखौं पर्यटक पुग्ने केपको त्यो दक्षिणी बिन्दुमा अन्य चर्चित सहरलाई दूरीले जोडे झैं अब काठमाडौं वा हाम्रो सगरमाथालाई पनि दुरी सहित स्थान दिएको एरो बोर्ड अब फेरि केपटाउनको त्यो केप प्वाइन्टमा पुग्दा देख्न पाइयोस् । र मन्डेलाको यो गौरवमय भूमीलाई हाम्रो सगरमाथा सँग नेपाली चिकित्सकहरुले गौरवसाथ जोडेको सम्पर्कले अझै सम्बन्ध मजबुत बनावस् । — लेगोस , नाइजेरिया । १ अगस्त २०२० ——-

तपाइँको प्रतिक्रिया