शुक्रबार, वैशाख ७, २०८१

मेरो मन भित्रको सामुन्द्रिक आयतन

नेपाल प्लस२०७७ साउन १८ गते १२:३७

(लेखक परदेशी)

हाम्रो घरको आडैबाट एउटा बाटो घुमाउरो पर्दै दक्षिण जान्छ र जयश्री खोलामा पुगेर टुङ्गिन्छ । खोलाको अल्ली माथि, पारी पट्टी इत्रुको गाउँ छ । सलाखाला सात घर छन् । त्यसको ठ्याक्कै आधा किलोमिटर तल नारायणी बग्छ । हरेक बर्षादमा नारायणी हौसिन्छ र जयश्री खोलो छेकेर उँधो जान्छ । हामी जयश्रीमा ठेलिएको पानी हेरेर कलीला मन भित्र समुन्द्र बनाउँछौं । मनको समुन्द्र भयंकर छ, आधा पृथ्वी ढाकेको छ यसले । बा लाई के थाहा मेरो मन भित्रको समुन्द्रको आयतन । कुनै बेला नारायणीको पानी हाम्रो घर मुन्तिरैसम्म आइपुग्छ, लाथ्रा लागेका मकैका घोगा पानीमा चह चह हुन्छन ।

एक रात हामी सुत्दै नसुती टक्रक्क बस्यौं । नारायणीको पानीले तल्लो खेतको धान सोहोरेर लाग्यो । पानीको सतह अलिकती बढ्यो भने हाम्रो घर जाने छ, त्यसपछी कटेरो डुब्छ । बा को डर हामीले हिसाब गर्नै सकेनौ । बेहिसाब डर थियो बासँग । हामी डराएनौं, बिन्दास थियौ । किन भने हामीसँग बा थिए ।

भोली पल्ट बिहानै नारायणी घट्यो । सबैले भने ‘दयालु नारायणी ।’ हामीलाई खोलाको छेउछाउमा नजान उर्दी भो । त्यसै दिन नारायणीको भेलमा परेर यात्रु वाहक डुङ्गा घोप्टियो । चितवन-परासी वार पार गर्ने बडेमानको डुङ्गा तल्तिरपट्टि बन्दै गरेको पुलको खम्बामा ठोक्किएर भुमरीमा पसेछ । त्यही बिहान एक दर्जन भन्दा धेरैको जिन्दगीमा नारायणीले पूर्णविराम लगायो । मलाई नारायणी एक रती पनि दाँयालु लागेन । तर मलाई सधैं के लागि रह्यो भने यत्रो बडेमानको नारायणी कहाँँ पुगेर बिश्राम लिन्छ होला । बाले भने- “समुन्द्रमा” । मलाई हो त्यही समुन्द्र देख्नु थियो । नारायणी अलप हुने समुन्द्र सँग मेरो मनको समुन्द्र मिसाउनु थियो ।

म ७ मा पढ्थें कि क्या हो । गणेश हलमा एउटा सिनेमा लाग्यो इल्जाम । हेरेर आउनेहरुले खतरा फाइट छ भने । हिन्दी बुझिन्न त्यसैले फाइट वाला सिनेमा च्वाइसमा पर्दथे । एउटा शनिबार प्लान बन्यो र सुटुक्क हिँडियो नारायणघाट । एक रुपैयाँको टिकट हुन्थ्यो अघी बसेर हेर्ने । फिल्म सकियो पर्दामा, तर मनमा धेरै बर्ष बसिरह्यो । गोविन्दाको फाइट भुल्न सकिएन । त्यसैले तान्यो बम्बई । कती बर्ष म लुकी लुकी फिल्म हेर्न गएँ । मनमा हजारौं फिल्म बनाएँ । घाँस काट्न जाँदा एक्लै नाचेँ । फाइट सिक्ने एउटा किताब खोजेँ । किचकन्नी खोला भन्दा उत्ताको चौरमा आँफै फाइट खेलें। मकै बेचेका पैसाले अल्ली ठुलो ऐना किनें । दिनको पचासौं पटक आफ्नो अनुहार हेरें । के कम छु त म ? कतिखेर बम्बई सुइकिउ झैं भयो । बालाई भनें- “म हिरो बन्न जान्छु बम्बई” । बाले ट्वाल्ल मलाई हेरेको हेर्यै गरे- “पढ्नु सढ्नु छैन तँलाई हिरो बन्न पर्नी । खुरु खुरु पढ्, पछी बने हुन्छ हिरो सिरो” । बा ले भने जस्तै बम्बईले पछी सम्म कहाँँ कुरेर बस्ला र ! मलाई लाग्यो, हाम्रा बाका कारण बम्बई फिल्मले एउटा गतिलो कलाकार गुमाउने भयो । त्यस पछी मैले कहिल्यै बा लाई बम्बई जाने कुरा गरिन ।

जाँच सकिएको दोस्रो हप्ता- अस्ती देखिनै मन बेचैन थियो । मैले झल्झली बम्बई सँग जोडिएको समुन्द्र देखेको थिएँ । मेरा वरीपरी टल्किएका रिफ्लेक्टर देखेको थिएँ । तर त्यहाँसम्म पुग्ने कतै मेसो परेन । खोइ किन हो आमाले मदुसमा ताला पड्काउन सुरु गरिन् । मलाई एक हजार ऋण कल्ले पत्याउने त्यो बेला ?

“साइकल बेच न”- ठुलोकान्छाले भन्यो । कती पर्ला साइकलको ? त्यस्तै सात आठ सय पर्ला । दाइले अस्ति भर्खर सत्र सयमा किनेको साइकल । ह्या ! जतिसुकै परोस मलाई बम्बई पुग्न पाए भयो । त्यो दिनभरी ठुलो कान्छो र म साइकल किन्ने मान्छे खोज्न घुमेको घुम्यै गर्यौं नारायणघाट भरि । साँझपख एउटाले किन्छु त भन्यो तर छ सय भन्दा दिएन । मेरा सान्दाईले बडो रवाफका साथ किनेको महँगो फोनिक्स साइकल कौडीका भाउमा बेचेर म बम्बई हिंडे । ठुलोकान्छो बजारमै छोडियो । बाका सपना गैंडाकोटमा अडिए । बाले त भनेका हुन साहसीलाई दैबले पनि रोक्न सक्दैन । कसले रोकोस मलाई ।

बसको छतमा मेरो लामो कपाल हावाले फर्फरायो- यो कपाल अब बडेमानका फिल्म हलका पर्दामा फर्फराउँछ । बिहानको चार बजे सुनौली वल्तिर नेपाल पट्टी अधा कप चिया पिएर बाटो नापेँ । ओहो पैसा साट्न बिर्सें, कती देला खै पाँच सय असिको ? एउटा छ नि बस पार्कको आडैमा इत्रुको पान पसल जस्तो, पोहोर पनि हामीले त्यही साटेको हो- देवीलाल र म भागेर बनारस जाँदा । ३ सय सत्तरी दियो शायद- ठिकै छ यतिले पुग्छ ।

गोरखपुरको बस चढेँ । बसमा एउटा बाबा भेट्टिए सुरत जाँदै रहेछन- पशुपतिनाथको दर्शन गरेर आएका अरे । “बेटा आप अकेले बम्बई जा रहे हो अपना ध्यान रखना ! अलग तरहके लोग होते है उहाँ” ! बुढासँग म बैशाली एक्स्प्रेस चढेर दिल्ली सम्मै गए । त्यसपछी दुबैले राजाधानी एक्स्प्रेस लिनुपर्ने भयो । बिच बाटोमा सुरत आउँछ भने- ” मै उधर हि उतर जाउङ्गा ! अगर मेरी जरुर पडी तो आ जाना सुरत” ! बुढाको बडेमानको आश्रम छ अरे सुरतमा । बिभिन्न संघ संस्थाको सहयोगमा बिद्यापिठ पनि चलाऊने रहेछन । “दुर दुर से बच्चे आते है पढाई के लिए”- उनले सुनाए । मलाई खासमा उनका कुरामा कत्ती रुची थिएन ।

राती म त निदाइसकेछु । सुरत आउनु भन्दा अली अघी उनैले उठाए ! आफ्नो आश्रमको ठेगाना लेखेर दिए । साथमा एक सय रुपैयाँ थियो । मैले झोलामा घुसारेँ । बुढा झरे पछी एक्लै भए जस्तो लाग्यो, डर पो लाग्यो त । बितेका चौबिस घण्टामा उनी आफन्त जस्ता भएका थिए, मायालु देखिएका थिए । उनको स्टेशन आयो उत्रे । म पनि एउटा स्टेशनमा उत्रिने छु । सँगै यात्रा गर्ने धेरै मान्छे छुट्ने छन अनी एक्लै परीने छ । सबै एक्लै हुन्छन- मैले मन बुझाएँ । रेल नासिकबाट तल ओर्लीयो । पहाडै पहाडले ढाकिएको यो भूमी देख्दा यस्तो लाग्यो यहाँँ आफ्नै जमीनको वास्ना आइरहेको छ । भीटी स्टेशन पुग्दा साँझ पर्न लागेको थियो, अजंगको शहरको आभाश स्टेशनले दियो । वडा पाँउ खाएर बाहिर निस्केँ । धेरै बेर पैदाल हिँडे । कहाँँ पुगे होला आँफैलाई थाहा छैन । बम्बई चिचोल्नु चानचुने कुरा होइन रहेछ । राती अबेर सम्म नरिमन पोइन्टको चिसो समुन्द्री बतासले लखेटीरह्यो । कतै सस्ता होटल पाइएनन् । खुला आकाश ओढेर सुते । रातभरीमा मलाई के थाहा भो भने मेरो बम्बई बसाई सहज हुने छैन र मेरो हिरो बन्ने यात्रा लामो हुनेछ ।

नरिमन पोइन्टको तल धेरै उँधो सम्म निलो समुन्द्र हल्लीईरहेको छ । नारायणी यतै कतै मिसिएको हुनु पर्दछ । मैले मेरो मन भित्रको समुन्द्र खोलेर टक्रक्क राखें । अब मेरो मनको महासागर र हिन्द महासागर मिसिनु पर्दछ ।

तपाइँको प्रतिक्रिया