शुक्रबार, वैशाख १४, २०८१

पिर्कामै सरर स्विजरल्याण्ड

नेपाल प्लस२०७७ साउन १८ गते २३:२१

एकबिहानै भाई निराजन श्रेष्ठले फोन मारे ‘दाई, हामी हिमाल जाँदै छौं । माथि डाँडाको हिउँबाट तल ओरालो झर्ने हो । स्नो बोर्डमा ।’ अर्थात् पिर्का जस्तो चिप्लेटी खेल्ने साधनमा चढेर हिउँमा चिप्लिँदै फेदीतिर झर्ने खेल ।

नेपाली युवाहरुले भाल दानिभे भन्ने स्विस हिमालको टुप्पोतिर जाने योजना बनाएछ्न् । निम्ता दिए । घच्चीको टोली बनेछ ‘इमान लामा, निराजन श्रेष्ठ, गोपाल तामाङ, धर्म गुरुङ, प्रेम भारती र बिदुर संग्रौला’ को । इमानजी मलाई लिन लोजान रेल स्टेशन आए । कुहिरो लागेको थियो । बादल डम्म । चार्ली चाप्लिङको गाउँ बोभेलाई फन्को मार्दै डाँडैडाँडा इमानले गाडी हुइँक्याए । जतिजति हिमाल नजिकिन थाल्यो उतिनै सडकमा हिउँका लप्काहरु थुप्रिएको देखियो । घरका छानाहरु हिउँले बनाएका जस्तो, सबैतिर सेताम्मे ।

इमान लामाले हिमालको काखमा सिंगो अपार्टमेन्टको ब्यवस्था गरेका रहेछन् । त्यसमा हामी सित्तै बस्न पाउने पाहुना । सबै जोक्कर खालका ठिटाहरु ।

डाँडाडाँडै, खोचखोचै गाडी दगुर्दा बेशीका बस्तिमा झलमल्ल बत्ती देखिने । पहाडका काखका ति गाउँको चिमिकझिमिक, रिमरिम गरेका बत्तीले रातको सुन्दरता झल्काउँथ्यो । त्यसमाथि सेता पहाडका चुचुराहरुले झनै सुन्दरता थपेका थिए । ‘यो पहाडको बाटो ड्यान्जर हुन्छ । राम्रोसित चलाएन भने सिधा तल खुर्मुरिँदै पुगिन्छ ।’ इमान लामाले घरिघरि तर्साउँथे ।

हिमालको काखमा स्विस पाराले बनेको घर । बाहिर थुरुरु पार्ने जाडो । सिरिर्र चलेको बतास । बाफ रे कति जाडो ! तर स्विसहरु कति सिपालू ‘घरभित्र तातो र चिसो पानी । आधुनिक सबै सुविधा । हिटर, बत्ती, आधुनिक बाथरुम । सबै । अझ इन्टरनेटको सुबिधापनि ।

हिमालमा मस्ति गर्ने भन्दै केटाहरुले ‘लोकल कुखुरा’ काटेर पहिल्यै तयारी मासु बनाएछन् । बरफमा जमाएर ल्याएका । ‘हिमालमा ति फेदीका ‘लोकल कुखुरा’को मासुले निकै चर्चा बटुल्यो । कोहि गित गाउन लागे “गाजलु ति ठूला ठूला आँखा ।’ कोहि गितार बजाउन ।

‘यता आएपछि स्थानिय गाउँ घुम्नुपर्छ’ भन्दै फुचुने गाउँ लगे राती । हिमाल, हिउँ र पहाडी बस्ति भनेपछि किन यो गोरेहरु यति धेरै आकर्षित ? त्यताका सबै साना होटेल भरिभराउ थिए । रेस्टुरेन्टहरुमा भिड थियो । सडकको हिउँमा पाङ्रा चिप्लिएर भिरबाट गुल्टुङ नखाउन भनेर बचाउन पाङ्रामा फलामका सिक्रि लगाएका बस भरिभराउ थिए । ला भाले भन्ने प्रदेशको भाल दानिभे, सँ लुक र सँ भाले सबै हिमाल र डाँडा काँडाको क्षेत्र रहेछ । यस्ता डाँडाडाँडै रेल दगुराएका, बस र गाडीको सडक बनाएका स्विसहरुले ।

 

 

 

 

 

 

 

 

 

 

 

भोली पल्ट बिहानै सूर्यका केहि राता लप्काहरु पहाडका चुरुरातिर हानिए । सेता हिउँका लप्काहरुमा लिपिस्टिक घसेजस्तो देखिन थाल्यो । ठिटाहरु अझै भुस परेका छन् । म बिहान लुसुक्क उठेर झ्यालका पर्दाबाट आँखा मिल्काउँदा कागहरुको सम्मेलन रहेछ । एउटा घरको छतमाथि । वरिपरिका ति हिमाली कागहरु एकै छानामा भेला भएका । जाडोले कठ्याँग्रिएका यि काग खानाको खोजिमा यस्सो भुर्र उड्थे, क्षणभरमै त्यहिँ भेला हुन्थे । सायद मनकारीहरुले केहि अन्न कतै छरिदेलान् र टिप्न पाइएला भन्ने आशामा यि पर्खेर बसेका हुन् । यता जाडोले सबै जमिन ढाकिदिँदा बिजबिजन, किराहरु ढाकिएर आहारा पाउन्नन् यि चराले भन्ने जानेका मनकारीहरुले चराको आहारा छरिदिने चलन छ । बाठा कागहरुले यो नजान्ने कुरै भएन ।

 

 

 

 

 

 

 

 

 

 

 

भोली पल्ट बिहानै सँ लुकतिर लगे केटाहरुले । वेशीबाट हिममा चिप्लिने पहाडतिर पुर्‍याइदिन बसको सुबिधा दिएका रहेछन् । हिउँमा आधा दिन चिप्लिन गएको ५० फ्र्यांक रहेछ ।

‘५० फ्र्यांक ?’

‘कति महँगो यार ।’ केटाहरुले मुख बिगारे । तर के गर्नु नगै भएको छैन ।

हेर्नका लागि मात्रैपनि २० फ्र्यांक ।

फेदीबाट हिउँको चुरुरोमा लैजान केवलकारहरु बनाएका छन् स्विस नागरिकले । त्यो केवल्कार मुन्तिरबाट एउटा रसीमा तुर्लुङ्गै झुडिएझैं लाग्छ । ‘ह्याँबाट यो डिब्बा तल खसे के होला ? यो रसी झिरिप्पै छिन्यो भने ?’

‘धत । डराउनुहुन्न’ केटाहरुले आश्वाशन दिए । बेला बेला त्यो फलामको डोरी कटकट कटटट, चट चट गरेर कराउँदा त खसिन्छ कि जस्तो डरै लाग्ने ।

बाफ रे बाफ । हिउँ बाहेक केहि छैन । जमेको छ हिउँ । त्यहि हिउँ पन्छाएर मान्छे हिँड्न गोरेटो बनाउनपनि मेशिनहरु पुर्‍याएका स्विसहरुले ।

गाउँ र शहरका सबै मानिस सोहोरिएर त्यहिँ आए जस्तो । हजारौं छन् मानिसहरु । कसैका हातमा स्नो बोर्ड भनिने पिर्का जस्ता साधन । कोहि घोचा जस्ता स्की खेल्ने साधन बोकेका । बख्खु लगाएका, आधुनिक बख्खु । कोहि केवलकारमा झुण्डिएका । कोहि हिम चिप्लेटी खेल्दै गरेका । साना केटाकेटीहरुलाई हिम चिप्लेटी सिकाउन लगेका शिक्षकहरुले । खेलकूदमा कति सानै देखि पारंगत बनाउने यि गोरा जातिले आफ्ना चिचिलाहरुलाई !

इमान लामा, निराजन श्रेष्ठ, गोपाल तामाङ, र धर्म गुरुङले हिउँमा चिप्लिने पिर्का (स्नो बोर्ड) मा खुसुक्क खुसुक्क खुट्टा घुसारे । तिनिक्क तिनिक्क पेटी कसेर पिर्का र गोडाको जोडी बनाए, नछुट्टिने जोडी । हेलमेट लगाए शिरमा । कालो चस्मा लर्काए । टनक्क खुटा कसेका यि चार ठिटा हिउँको चुचुरोमा उक्ले । सट्ट उभिएर यिनले पिर्काको भरोसामा ज्यान छोडे । पिर्का लुतुतु चिल्पिँदै चुचुराबाट तल झर्‍यो । यिनको काम पिर्कामाथि आफ्नो ज्यानलाई सन्तुलनमा राख्ने । पिर्का जता मोडिन्छ शरिरलाई उतै मोड्ने र नचाहिने बाटोतिर जान लाग्दा शरिर मरक्क मर्काएर पिर्कालाई सोझ्याउने । बास ! यसो गर्दै केटाहरु ओरालो झरे । हेर्दा हेर्दै यति बडेमानको तिनको ज्यान ति किरा जस्ता भुसुना देखिए । कति टाढा पुगेका । पहाडका चुचुरा जहाँबाट ति ओर्लेका, चिप्लिएका थिए एकै छिनमा ति कता अपल भए कता ।

प्रेम क्रिष्ण भारती र म तिनै चुचुराका साक्षी बन्यौं । हिम चिप्लेटीमा रमाउनेका दर्शक । तिनका चर्तिकका हेर्‍यौं । केटाहरु चिप्लिँदै बेशी झरेको देखेर चुक्चुकायौं लोभ र डाहले । तर तिनले आफ्नो चर्तिकलाको मात्रै न फाईदा लिए । हामीले त्यो चुचुरोका हरेक पाईला छोड्नेलाई नियाल्यौं । हिमका अरु पहाड, गोरेटाहरुको स्वाद लियौं । विश्वकै महँगो देशकोपनि महँगो थलोमा हिउँमाथि बनाएको रेस्टुरेन्टमा बसेर झन महँगो कफीको चुस्की मार्‍यौं ।

एकाध घण्टामा ठिटाहरु त्यहि रेस्टुरेन्टमा हली झैं थाकेर उफ् उफ् गर्दै आइपुगे । नेपालको प्रसंग निकाल्न थाले । ‘मनाङमा गज्जबको हिउँ छ । त्यहाँ यो स्की खेलको विकास गर्न सकिन्छ’ स्विस पेयको चुस्की मार्दै धर्म गुरुङले प्रसंग उप्काए ।

‘नेपालमा त गारह्रो छ । हिउँमा चिप्लिने ठाउँमा पुग्नै गाह्रो । दिनभरिमा नि पुगिन्न । एक पल्ट ओरालो झर्नपनि सकिन्न । केवलकार झन कसरि बनाउनी ?’ निराजनले सुनाए ।

‘मनाङमा त त्यो संभव छ । मनाङ गाउँको अलिकति माथिनै हिउँ टन्न परेको हुन्छ । मैले हेरेको छु । त्यहाँ बनाउनै पर्छ र त्यहाँ बनायो भने त युरोपबाट हिम चिप्लेटी खेल्न धेरै मान्छे जान्छन् । यो पक्का हो’ धर्म गुरुङले अड्डि छोडेनन् ।

 

 

 

 

 

 

 

 

 

 

 

यो हिमाल भनेको कठिन चिज मात्रै होइन । नजाने कठिन । जाने लाखौंलाख आर्जन । स्विसहरुले जानेकोपनि यहि हो । ‘हिमालले फरक ब्राण्डको मान्छे बनाउँछ’ काराभान फिल्मका निर्देशक, लेखक एरिक भाली यसै भन्छन् । हुनपनि हो । हिमालको चिसोले ज्यान लिने मात्रै होइन ज्यानलाई स्वस्थ, स्फूर्त र तगडापनि राख्छ । जाँघरिला बनाउँछ । सिधा, हक्की र मेहनती बनाउँछ । हिमालले कठिन परिस्थिति र गाह्रो भौगोलिक बनावटमापनि जिउन सिकाउँछ । हिमालबाट बग्ने नदी, वनस्पती, जिव जन्तु यि सबै तिनैका परिचायक हुन् । ‘लुते जिव हिमालमा बाँच्नै सक्दैन ।’

हिमालले मानिसको मन चंगा बनाइदिन्छ । हिमालका मानिसहरुलाई हत्तपत्त तनाव, मानसिक चिन्ता र मानसिक रोगहरुले हत्तपत्त गाँज्दैनन् । हिउँ, माटो, हावा, हिमनदी, चट्टान, दूर्लभ जिवजन्तु र वनस्पती मिलेर रमाउने थलो हो हिमाल । हिमालले मानिसको मन जित्नुमा यस्ता धेरै वास्तबिकताहरु लुकेका छन् । खोजि गरेर बाहिर ल्याउन सक्ने, हिमाली भण्डार र यसको महत्वलाई बुझेर सदुपयोग गर्न जान्नेले हिमालबाट धेरै फाईदा लिन्छन् । स्विसहरुले यस्ता अक्किल धेरै जान्दछन् ।

यस्तो अक्किल नेपाली युवाहरुले नसिक्ने, नदेख्ने कुरै भएन । झन इमान लामा र धर्म गुरुङ त हिमालको चुचुरोसित नाकको डाँडी जुधाउने भौगोलिक वस्तिमै जन्मे, हुर्केका । उता हिमाल भन्दा ‘गोरे हेर्न आउँछन् भन्ने बुझेका । कि त दुख हुन्छ’ भन्ने सुनेका, देखेका । यता आएपछि यिनले हिउँ खेलाएर, देखाएर पैसा बटुलेको मात्रै देखेनन् । हिउँ खेल्ने स्विसहरुको संस्क्रितिमा रमाउन सिके । त्यसैले तिनको सपना छ ‘नेपालमापनि स्कीको विकास गर्ने ।’

‘हिम चिप्लेटी महँगो खेल हो । तर हाम्ले ह्याँ महँगो तिरेर स्की गर्छम् भने नेपालमा भए गर्थेम ? विकास गर्ने हो भने बिदेशी मात्रै होइन नेपालीलेपनि तिरेर खेल्छ । कम मजा आ उँछ यो स्की खेल्न ?’ धर्म गुरुङले भने ।

‘यो धर्मे जहिल्यै यहि नेपालमा स्की स्की मात्रै भन्छ । हुने क्यै होइन’ निराजनले जिस्काए ।

‘अरुले गरेन। भएन भन्ने हो र ? आफैंले गर्नी । मनाङमा मज्जाले हुन्छ स्की, अब त बाटोपनि बन्या छ । हाम्लेनै बनाउँनी नी । किन अर्काको मुख ताक्नी ?” गुरुङले अड्डी कसे ।

(लेखक ददि सापकोटा)

तपाइँको प्रतिक्रिया