शुक्रबार, वैशाख १४, २०८१

नेतृत्वमा रस्साकस्सी : अबको कांग्रेस सभापति को ?

सन्तोष आचार्य२०७७ साउन २२ गते ११:२१

                  पार्टी सभापती देउवासहित नेपाली कांग्रेसका शिर्ष नेताहरु । फोटो-रासस

‘आगामी राष्ट्रपति रामचन्द्र पौडेल, संसदीय दलको नेता प्रकाशमान सिंह,कृष्ण सिटौला सभामुख, पार्टी उपसभापति रामशरण महत, अर्जुननरसिंह केसी गृहमन्त्री, महामन्त्री गगन थापा, शशाकं कोइराला र शेखर कोइरालामध्ये एक पार्टी सभापति ।’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र आगामी फागुन ७ देखि १४ गते हुने भनिएको १४ औं महाधिवेशनको तातो लागिसकेको छ । यही सन्दर्भ हो, माथि उल्लेखित नेताहरुको राजनीतिक ब्यवस्थापन । उधारो राखेर बाँडिएको पद ।

कांग्रेसभित्रको परम्परागत शक्ति कोइराला परिवारभित्रका अहिलेका घरमुलीहरु हुन्, वीपीपुत्र प्रकाश कोइराला, तारिणीपुत्र ज्योती कोइराला र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । यी त्रय कोइराला चाहन्छन, आगामी महाधिवेशनमा कांग्रेसको नेतृत्व फेरी कोइराला परिवारकै मुठ्ठीमा आओस । यसपटक पनि शेरबहादुर देउवाको पोल्टोमा पार्टी नेतृत्व गएको स्थितीमा कांग्रेसभित्र कोइराला परिवार डाइनोसर जस्तै लोप हुनसक्ने यी त्रय कोइरालाले नबुझेका छैनन् । यसैले उनीहरु पार्टीको कमाण्ड फेरी एकपटक कोइराला परिवारभित्रैबाट आओस भन्ने चाहन्छन् ।

नसुल्झिने यो सुत्र

कोइराला परिवारभित्रबाट सभापति पदका दुई आकाक्षीं डाक्टर छन, महामन्त्री तथा वीपीपुत्र डा शशाकं र केशव–नोनापुत्र डा शेखर । यसमध्ये एकलाई आगामी महाधिवेशनमा सभापति बनाउने कोइराला परिवारका घरमुलीहरुको चाहना हो ।
यदि यसो हो भने देउवा इतर समुहका अन्य आकाक्षींलाई के गर्ने ? यसैले उनीहरुले माथि उल्लेखित पदीय बाँडफाँडको सूत्र अघि सार्न खोजेको ज्योती कोइराला निकट स्रोत बताउँछ ।

कोइराला परिवारले उधारो राखेर गरीने पदीय बाँडफाडको यो सुत्र आफैंमा उल्झनयुक्त छ । देउवा इतरका नेताहरुले यसलाई स्विकार्ने सम्भावना तत्काल देखिँदैन पनि ।

कोइरालाबाट को ?

प्रकाश, ज्योती र सुजाता कोइरालाको तिकडीका सामु अर्को चुनौती पनि छ । यदि देउवा इतरका नेताहरुको ब्यवस्थापन गर्न उनीहरु सफल भए भने पनि शशाकं र शेखरमध्ये आगामी महाधिवेशनमा सभापति पदमा को उम्मेदवार हुने हो ?
यसलाई सुल्झाउन त्यति सहज छैन । किनभने दुबैले आगामी महाधिवेशनमा सभापति पदमा आ–आफ्नो दावी ठोक्दै आएका छन् त्यो पनि सार्वजनिक रुपमा । आफूलाई भेट्न आउने कार्यकर्तालाई शशाकंले आफ्नो आगामी महत्वकांक्षा लुकाएका छैनन् । शेखरले पनि देशब्यापी भ्रमणमा आफ्नो सभापति–सपनाबारे कार्यकर्तासंग खुलेरै कुरा गर्दै आएका छन् । अर्थात अहिलेसम्म दुबै दाजुभाई आगामी महाधिवेशनमा सभापति हुने लिगलिगे दौडमा छन् । शंशाक महामन्त्री र वीपी पुत्र भएको लाभ छ । शेखरमा सक्रियता र सम्पर्क राम्रो छ । यी दाजुभाइबीचको प्रतिस्पर्धा बुझ्न एक पटक अघिल्लो महाधिवेशनमा फर्कनुपर्ने हुन्छ ।

‘कोइराला परिवार एक छ’ भनेर जति भट्याए पनि त्यो परिवारभित्र शेखरलाई निर्णायक स्थितीमा ‘अछुत’ सरह ब्यवहार गर्ने नीश्चित छ । शेखरकालागि कोइराला परिवारबाट सर्वसम्मत रुपमा सभापतिको उम्मेदवार हुने सम्भावना धेरै परको कुरा हो ।

गत महाधिवेशनमा कोइराला परिवारबाट सहमतिमै शशाकं रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीको उम्मेदवार बने । विजयी भए । जबकी उक्त पदकालागि पहिले शेखरको नाममा सहमति भएको थियो । कोइराला परिवारभित्रैबाट शेखरको नाममा सहमति हुन नसकेपछि शशाकंलाई अघि सारिएको थियो । पौडेलले पनि केशव–नोनापुत्र शेखरभन्दा वीपीपुत्र शशाकंलाई छान्नुमै आफ्नो राजनीतिक लाभ देखे । त्यतिबेला अन्यायमा परेका शेखरलाई आगामी महाधिवेशनमा सभापतिमा सघाउने भनेर फस्ल्याङ फुस्लुङ पारिएको थियो । अहिले पनि यही कथा दोहरिने नीश्चित छ । अर्थात कोइराला परिवार केशव–नोना परिवारलाई ‘सि’ क्लासको कोइराला मान्छ ।

वीपीपुत्र प्रकाश आफुलाई कांग्रेसबाट दरबारतिर धपाउनुमा शेखरकी आमा नोनाको भुमिका रहेको ठान्छन् ।
ज्योती पनि गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा बालुवाटारमा नोनाको चुरीफुरीबाट त्यतिबेलै आफू आजित भएको रुखो टिप्पणी गर्न अहिले पनि छाडेका छैनन् । सुजाताको त नोनासँग कहिल्यै ग्रह मिलेन । अर्थात कोइराला परिवारका अहिलेका यी तीन दिग्गजको शेखरप्रति पुर्वाग्रह छ, आमा नोनाका कारणले ।

‘कोइराला परिवार एक छ’ भनेर जति भट्याए पनि त्यो परिवारभित्र शेखरलाई निर्णायक स्थितीमा ‘अछुत’ सरह ब्यवहार गर्ने नीश्चित छ । शेखरकालागि कोइराला परिवारबाट सर्वसम्मत रुपमा सभापतिको उम्मेदवार हुने सम्भावना धेरै परको कुरा हो ।

कोइराला परिवारको रोजाई शशाकं नै हुन् । यदि यसो हुन नसके कुनैबेला कोइराला क्याम्पकै भरोसायोग्यपार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल उनीहरुको दोस्रो विकल्प हो । तेस्रो विकल्पमा उनीहरु छलफल पनि गर्न चाहँदैनन ।

सिटौलाको ‘मास्टर प्लान’

१३ औं महाधिवेशनमा जस्तै यसपटक पनि कृष्णप्रसाद सिटौलाले पार्टीको तेस्रो धारका रुपमा आफुलाई उभ्याएका छन् ।
चक्रपथ, महाराजगन्जमा सम्पर्क कार्यालय खोलेर सिटौलाले सार्वजनिक रुपमै पार्टीभित्र आफू पनि एउटा शक्तिकेन्द्र रहेको जनाउ दिइसकेका छन् ।

१३ औं महाविधेशनमा सभापति पदमा देउवा र पौडेललाई चुनौती दिनेभन्दै तेस्रो भएका सिटौला यसपटक पनि यी दुवै धारमा देखिएका छैनन । अहिले ‘पर्ख र हेर’ को स्थितीमा छन्, सभापति पदमा लड्ने वा नलड्ने भनेर । प्रदेश अधिवेशनको परिणाम आएपछि उनी एउटा निर्णयमा पुग्न सक्छन् ।

सिटौला आफैं उम्मेदवार बने भने विजय हासिल गर्ने स्थितीमा छैनन् । तर कसलाई सभापति बनाउने भन्नेमा निर्णायक मत उनीसँग छ । देउवा, सिटौला र पौडेल अलग अलग प्रतिस्पर्धा गर्दा कसैले पनि विजयकालागि आवश्यक पर्ने ५० प्रतिशत भोट नपाउन सक्छन् । त्यो स्थितीमा सिटौलासँग देउवा वा पौडेल जो मिल्न सक्छ उसकै मत निर्णायक हुनसक्छ ।

अघिल्लो महाधिवेशनमा यी तीनैजना सभापतिमा भिड्दा पहिलो चरणमा कसैले पनि आवश्यक ५० प्रतिशत मत ल्याउन सकेनन । दोस्रो चरणमा सिटौला समूहको सहयोग पाएपछि देउवाले सभापतिमा जितेका थिए । अर्थात १३ औं महाधिवेशनमा कांग्रेसको आन्तरिक समिकरण जस्तो थियो अबको महाधिवेशनमा पनि लगभग उस्तै हुने देखिन्छ । यही कथा सिटौला यसपटक पनि दोहरयाउन चाहन्छन् ।

आफू हार्ने देखिए वा इतर समुहबाट रामचन्द्र पौडेल आफै उम्मेदवार बन्ने परिस्थिती बन्यो भने सिटौलाले यसपटक कोइराला परिवारभित्रबाट शशाकं वा शेखरलाई आफ्नो सभापतिमा उठाउन सक्छन् । गगन थापालाई महामन्त्रीमा अघि सार्न सक्छन् । तर यदि सिटौला समुहमा कोइरालाबन्धुमध्ये कोही आउन चाहेनन् भने थापालाई सभापति र प्रदीप पौडेललाई महामन्त्रीमा उठाउन सक्छन । यस्तो स्थितीमा आफूलाई अभियन्ताको रुपमा अघि सार्दै ‘नयाँपुस्तालाई नेतृत्व दिएमा पार्टीभित्र आमुल परिवर्तन गर्न सकिने’ नारा सिटौलाको रणनीति हुनसक्छ ।

महाधिवेशनमा देउवा,पौडेल र थापाबीच प्रतिस्पर्धा भएको स्थितीमा पहिलो चरणमा यदि पौडेल आउट भए पनि दोस्रो चरणमा पौडेलको मत थापालाई आउन सक्ने आँकलन पनि सिटौलाले गरेका छन् । सिटौलाको यो दाउ त्यति कच्चा पनि छैन । देउवाले पार्टीलाई रछ्यानमा पुरयाएको, पार्टी जोगाउन नसकेको, वामपन्थी शक्तिसँग मुकाबिला गर्ने आँट गर्न नचाहेको भन्ने गुनासो पार्टीपंक्तिभित्र ब्याप्त छ ।

यसपटक युवाहरुको ठूलो संख्या महाधिवेशन प्रतिनिधिका रुपमा आउँदैछ । देउवा,पौडेल वा सिटौलाबाट पार्टी चल्न सक्छ भन्ने कुरामा यो पंक्तिलाई विश्वास पनि छैन । यसैले उनीहरुको चाहना यसपटक नयाँलाई हेरौं भन्ने नै हो । थापाले पछिल्लो समय दुई तिहाइसहितको नेकपा नेतृत्वको सरकारको कार्यशैलीमाथि संसद र बाहिर खेलेको भुमिका पनि कांग्रेसपंक्तिको स्मरणमा ताजै रहेको हुनुपर्छ ।

कांग्रेसपंक्तिको नाडी छाम्न माहिर सिटौलाले यो कुरा बुझेका छन् । यसैले उनले आफू, आफू नभएर कोइराला परिवारमध्येबाट कोहि, त्यो पनि नभए थापालाई कांग्रेसको कमाण्ड सम्हाल्नेगरी अघि बढाउन सक्छन् ।
आफू सभापति नभए के भो, यदि सिटौलाले चाहे जस्तो भए पार्टीभित्र सर्वोच्च नेताको भुमिकामा रहन उनलाई कसैले छेक्न सक्दैन । यदि चाहे जस्तो नभएर पार्टीमा देउवा वा अरु नै कोही सभापतिमा आए पनि तेस्रो धारको पसल सिटौलाले चलाइ नै रहन्छन् ।

इतर समुहमा पौडेल सहित अनेक

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन् । आगामी महाधिवेशनमा सभापति उठ्ने योजनाकासाथ भेटघाटकालागि सहज होस भनेर उनले यहाँ कार्यालय खोलेको बुझ्न कठिन छैन । देउवा इतर समुहमा पौडेलबाहेक शशाकं,शेखर,प्रकाशमान सिंह आदिले सभापति पदमा आफ्नो चाहना मुखरित गरिसकेका छन् । यसैले पनि पौडेलकालागि आफ्नै समूहभित्रको ब्यवस्थापन चुनौतीपुर्ण बनेको छ । त्यसमाथि अर्जुननरसिहं केसी र रामशरण महतको राजनीतिक महत्वाकाक्षांबारे पनि पौडेल जानकार छन् ।

यहाँभित्र सिंह न कोइराला बन्धुकालागि स्विकार्य छन न त सिंहकालागि उनीहरु नै । उता यो समूहमा रहेका अर्जुननरसिंह केसी र रामशरण महत जस्ता ‘हेभिवेट’ हरु पनि सिंह वा कोइराला बन्धुलाई स्विकार्ने पक्षमा छैनन् । उनीहरु आफ्नो समुहबाट पौडेलमात्र सर्वसम्मत उम्मेदवार बन्नुपर्ने ठान्छन् । यो समुहभित्र अझै पनि यस्तै घन्चोमन्चो चलिरहेको छ । यस्तो स्थितीमा के देउवा इतर समुहबाट पौडेल सर्वसम्मत रुपमा सभापतिका उम्मेदवार हुन सक्लान् ?

यदि पौडेलले आफ्नो समूह मिलाउनुकासाथै सिटौलालाई पनि आफ्नो पक्षमा पार्न सके भने देउवा इतरबाट उनी सर्वसम्मत रुपमा सभापतिको उम्मेदवार बन्न सक्छन् । यसो हुन सके पौडेल देउवाकालागि चुनौतीपुर्ण हुनेछन् ।

‘देउवा दाउ

देउवाले महाधिवेशन नजिकिदैं जाँदा आफ्नो अनुकुलता अनुसार धमाधम निर्णय गर्दै आइरहेका छन् । चाहे त्यो विभाग गठन होस वा क्रियाशिल सदस्यता वितरण । के यो सबै उनले उपसभापति विमलेन्द्र नीधिलाई आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व सुम्पिनकालागि गरिरहेका हुन् ? देउवा निकट स्रोत यो मान्न तयार छैन । आगामी महाधिवेशनमा यो समुहबाट सभापतिको एकमात्र उम्मेदवार देउवा नै हुन् ।

देउवा क्याम्पमा देउवाबाहेक उनलाई चुनौती दिने सभापतिको उम्मेदवार कोही छैन । संस्थापन पक्षबाट देउवाले हात झिकेको स्थितीमामात्र नीधि सभापतिका दावेदार हुन् । तर देउवाले पछिल्लो समय जुन शैलीमा काम गरिरहेका छन त्यसमा उनले नीधिलाई सभापति पद छाड्ने देखिँदैन । यसैले महेन्द्रनारायणपुत्र विमलेन्द्रकालागि सभापति पद अझै टाढा छ ।

तपाइँको प्रतिक्रिया