शुक्रबार, असोज ९, २०७७

रमिता चलिरहेको छ मुलुकमा

नेपाल प्लस२०७७ साउन २३ गते १७:५२

(लेखक देवकोटा)

काठमाण्डूमा दुखजिलो गरेर गुजारा चलाइरहेका कालिकोटका युवा बारीको साग उखेल्दै गरेको बेलामा समातिए । हातखुट्टा बाँधेर निर्वस्त्र बनाएर उनलाई यसरी भकुरियो कि मानौँ उनी भर्खर बलात्कार गरेर भागिरहेका अपराधी हुन् । आक्रोशित भिडको धुलाइले उनको ज्यान त लिएन । ज्यान लिएकै भए पनि रुकुमका घटना सामान्य मानेर पचाइरहेको र राज्यका निम्ति ठूलो टाउको दुखाइका विषय नहुने यी समाचार केही अखबार,अनलाइनका मूल पृष्ठका खबर हुन्थे ।युट्युबेहरुका लागि मसला । सामाजिक सँजालहरुमा बहस । अनि यी सबैतिरबाट केही दिनमै उनको मृत्यु अलप हुन्थ्यो । मानौँ, केही भएकै थिएन ।

विडम्बना, भोकले रन्थनिएको कालिकोटका युवकहरुकै अगाडि सत्तावालहरु करोडौँको भ्रष्टाचार डकार्दै मुलुकलाई समृद्ध बनाउने सपना देखाइरहेका छन् । आफ्नै दलमा हिजो गाउँ गाउँ पुगेर भोकैप्यासै सँगठन निर्माण गरेका स्थायी समितिका जिम्मेवार नेतृत्वको खबरदारीलाई अवज्ञा गर्दै, अपमानित गर्दै दर्जनौँ सरकारी परियोजनामा नियतवश करोडौँ रुपियाँ ठग्ने दलालहरुलाई सरकारले देश समृद्ध बनाउने जिम्मा दिन्छ । नारा समृद्धि र सुशासनको छ तर बाटो उल्टो छ । विधि,पद्धतिका सबै नियमहरु भत्काइएका छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार खुलेआम छ । लूट खुलेआम छ । जो बोल्छ, उसको जिब्रो थुत्न अरिँगालहरुको जत्था हरेक गौँडा र किल्लाहरुमा तैनाथ छ ।

कम्युनिष्टहरुका गुरु कार्ल माक्र्सले धर्मलाई अफिमसँग तुलना गरेका थिए । झापाकालीन मालेहरुले कूलदेवताका मन्दिर भत्काएर चर्पी बनाए । माओवादी विद्रोहीहरुले सँस्कृतका किताब जलाए ।

आन्तरिक कलहले डगमग सत्ता बचाउन अहिले प्रधानमन्त्रीलाई समेत उनै त्रेतायुगका रामको शरण लिन बाध्य भएकाछन् । युरोपमा दोश्रो चरणको कोभिडको महामारीको आँधी आउँदै गर्दा मुलुकमा गूट उपगूटका कलहले सत्ता भद्रगोल छ । एकथरी कसरी कुर्ची हत्याउने, अर्काथरी कसरी कुर्ची बचाउने, आफ्ना सेनामेनाहरुको प्रयोगले अखबारका मृखपृष्ठहरुदेखि सामाजिक सँजालमा तिनले बिष्ट्याएको हेर्न अभिषप्त छन् गरिब जनताहरु । दुई तिहाइ निकटको सरकारको यो निकम्मा र भद्रगोलले दिनहुँ बडा महँगो गाईजात्रा हेर्न अभिषप्त छन् जनताहरु ।

अर्कातिर छ देउवा नेतृत्वको अदृष्य प्रतिपक्ष । प्रदीप गिरीले हामी बूढा भयौँ अब छोडौँ भन्न थालेको धेरै समय बितिसक्दा पनि डेट एक्पायर्ड बूढाहरु आगामी महाधिवेशनमा आफ्नो कब्जामा काँग्रेसलाई लिन झुत्ति खेलिरहेका छन् । एकातिर देउवाको किल्ला छ, अर्कातिर कोइराला परिवार, काँग्रेस र बँचेखुचेकाहरु सिटौलाको किल्लामुनि कौरवयुद्ध गर्न लामवद्ध छन्। कार्यकर्ता प्रशिक्षित गर्ने, गाउँगाउँमा सँगठन गर्ने र सत्तालाई चुनौति दिने सामथ्र्य खुइलिएर अहिले उनीहरु कम्युनिष्टहरु फूटे पनि फाइदा हुन्थ्यो भनेर हिसाबकिताब गरिरहेकाछन् । सुकिलामुकिलाहरुको तेश्रो शक्ति, तराइकेन्द्रितहरुको राजनीति केन्द्रविन्दुसम्म आइपुग्नेकुरो पनि भएन यही गतिले ।

आपतकालमा बाँकी कुरा तपसिलको हुन्छ । पहिलो प्राथमिकतामा पर्छ जनता । अहिले कोरोनाले सँसारै हल्लाइरहेको छ । केही मत्थर भएझैँ देखिन्छ, अनि फेरी ज्वार निस्कन्छ । अर्थतन्त्र भत्किएर तहसनहस छ । कोरोनाको कहरले ध्वस्त अर्थतन्त्रको पुनर्जिवनमा मानिसहरुले के गर्दा उचित हुने हो भेउ पाउन सकिरहेकाछैनन् । हामीकहाँ सब रमिता मात्र भइरहेको छ । भ्रष्टाचारी खुलेआम समाजवादको नारा दिएर बालुवाटारमा ओतिन पुग्छ, सिमानामा कोरोना ल्याउलास् भनेर आफ्नै घर आउँदै गरेको प्रवासी थुनिन्छ । अस्पतालमा जीवनजल नपाएर राजु सदाको ज्यान जान्छ, सरकार बेसारले चट् हुन्छ भनेर भाषण गर्छ । कोरोना नाक नाक आइपुगेपछि सरकारले भन्छ,विज्ञहरु लौन केही भए उपाय बताउ । सरकारले स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गरेको छर्लँग हुँदाहुँदै नाका बन्द गरेर तमासा गर्छ । गर्नुपर्ने त सकेसम्म बढि पिसिआर परीक्षण थियो । सकेसम्म भीड जम्मा नहुनू भनेर प्रवक्ता भन्छन्, ओली बिना यो देशै रहँदैन भनेर हुलका हुल मानिसहरु सडकमा उत्रिन्छन् ।

सलह आयो, बाढी पहिरो आयो, जताततैबाट जमीनका जनताहरु नै पिल्सिएका छन् । सधैभरीको अस्थिरता, सिमित मानिसहरुको हालिमुहालीले वाक्क भएका जनताहरुले कम्तिमा सुखको दिन आउला भनेर नेपाल कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्याएका थिए । त्यो पनि अथाह मतका साथ । गर्नलाई केले छेकेको छ ? प्रदेशैभरी आफ्नो दल छ । सत्तामा आफ्नो दल छ । अहँ सत्ताधारीहरु यतिबेला विवेक गुमाएर बसेका छन् । बालुवाटारमा मुखमा छुरा उद्याएर बसेकाहरु आफ्नै सहकर्मी पार्टीको नेता विरुद्ध विष बमन गरेको छ । अर्को प्रधानमन्त्रीलाई आजैको आज कुर्चीबाट गलहत्याउन हातमा खुँडा लिएर उभिएको छ । पार्टीको अध्यक्षको कमाण्ड सम्हालेको मूली आफ्नै जिम्मेवार कमिटीसँग अन्तरसम्वाद गर्न छोडेर गूट बलियो बनाउन अर्को नेताको दैलो चाहारेको छ ।

जसको जोत उसको पोतको नारा लगाएर सत्तासिन भएको यो सरकार सम्पूर्ण रुपमा दलाल पुँजिपति र सूदखोरहरुले चलाइरहेको कुरा अब लुकाएर लुक्नै अबस्थै रहेन । त्यत्रो प्रेस, आफ्नै कार्यकर्ताहरुको खबरदारीका बीच लगानी निर्देशक बोर्डमा जब दलालहरुको नियुक्ति भयो, अब कुर्न केही बाँकी रहेन । मूसहर बस्तीमा महिलाहरुलाई आत्महत्या समेत बाध्य पार्ने गरी डोजर चलाइँदा प्रशासन रमिते बनेका घटनाहरु बाहिर आइरहेकाछन् । हिज तिनै मूसहर बस्तीमा आटोपिठो खाएर सँगठन गरेकाहरु आज तिनै मूसहर बस्तीमा डोजर चलाउन पुग्छन् भन्ने अब प्रश्न उठ्दछ, के अब शोषित पीडितको नाममा सत्ता यसैगरी चलाइरहन हुन्छ ?

विधि फेरियो तर दुखी गरिबको विधान फेरिएन । भ्रष्ट कर्मचारीतन्त्र उस्तै, जताततै लोभीपापीहरुको राज, सरकारी खर्चमा शुरु गरिएका अलपत्र कामहरु, अनि अलपत्र छाड्ने बदमास ठेकेदारहरुको नेताजीहरुसँगको हिमचिम हेर्दा अब फेरि अर्को आँधिबेहरीको निम्ति धुवाँ पुत्ताइरहेको अनुभव मानिसहरुले गर्न थालेका छन् । व्यवस्था जतिसुकै राम्रो भएपनि यदि व्यवहारमा उही ठालूतन्त्र रह्यो भने मानिसले विद्रोह गर्ने शिवाय अर्को केही बाँकी रहन्छ र ?

स्विजरल्याण्ड र सिँगापुर बनाउने नाराका साथ सत्तारोहण गरेकाहरुको दैनन्दिनी गाईजात्रा हेर्न मुलुक अभिषप्त छ । अर्थात् मुलुकमा रमिता छ ।

तपाइँको प्रतिक्रिया