शुक्रबार, कार्तिक १४, २०७७

मुम्बइ आगोमा पोलिएरै मरे ७ नेपाली

नेपाल प्लस२०७७ साउन २८ गते २२:००

‘न राहत न सहयोग- बिचल्लीमा बाँचिरहेछ घरपरिवार’

कपिलबस्तु — नेपाल–भारत सिमाबिन्दू र दशगजासँगै टाँसिएर बसेको एउटा गाउँ । यो हो— कपिलवस्तुको महाराजगन्ज नगरपालिकाभित्रको सत्भरा । गाउँका करिब दुई सय घरमध्ये आधाउधि कच्ची छन् । अधिकांश युवा बेरोजगार छन् । कवीहरुले भन्ने गरेझैं भोक, रोग र शोकले ग्रस्त छ यो गाउँ ।

गाउँमा ऋणपान गर्न सक्ने केही युवाहरु मलेसिया वा खाडी पुगेका छन् । नसक्नेहरू भारतको मुम्बई जान्छन् । मुम्बइ नै किन जान्छन् ? कोही कारण छैन । मुम्बइ जाने इतिहासदेखि बानी र बिरासत झैं अहिले पनि गाउँका ५० जति तन्नेरीहरु उतै श्रम पोख्ने काम गरिरहेका छन् ।

२०७२ पुस १३ गते सबेरै मुम्बईबाट आएको फोनले भने यसअघि जस्तो सुखद सन्देश ल्याएन । पुसे ठिहिलाई छेड्दै आएको त्यो सन्देशमा अकल्पनीय दुःख मिसिएको थियो । त्यसको सार थियो– मुम्बईको भिबन्डीस्थित एउटा कबाडी काठ गोदाममा मध्यरातमा एकाएक आगो सल्कियो । त्यतिबेला गोदाममा काठका मुढा ओसार्ने ११ जना मजदुर मस्त निद्रामा थिए । तीमध्ये सात जना नेपाली र एक भारतीय सुतेकै ठाउँमा बिते । मुम्बईको त्यस आगलागीको ‘लप्का’ केही घण्टामै सयौं किलोमिटर परको सत्भरा गाउँ पुग्यो । खबर पुग्नासाथ गाउँमा कोलाहल मच्चियो । आफन्त गुमाएकाहरू एकअर्कामा छाँद हालेर रुन थाले ।

यो घटनाको साढे ५ वर्षपछि सत्भरा गाउँ पुग्दा पनि पीडित परिवारको अनुहारबाट शोकको रङ उडिसकेको थिएन । ७० वर्षीय परसरी लौनिहाले आगलागीमा दुई जवान छोरा गुमाए । गाउँलेकै साथ लागेर उनका छोराहरू गौरी र राजु मुम्बई गएको २ महिना मात्रै भएको थियो । घटनाको एक साताअघि मात्रै उनले दुवै छोरासँग फोनमा कुरा गरेका थिए । दुई छोरा बितेको धेरै वर्ष भैसक्दा पनि परसरीले आफूलाई सम्हाल्न सकेका छैनन् । ४ वर्षअघि भित्रिएकी कान्छी बुहारी र सानो नातिको अनुहार देख्दा उनको गह भरिएर आउँछ ।

‘गौना’ भैनसकेका कारण जेठी बुहारी घर भित्रिएकी थिइनन् । घटनापछि उनी माइतीमै बसिन् । घटना भएको भोलीपल्ट बिहान उनलाई कसैले सुनाएको थियो, मुम्बईमा आगलागी हुँदा गाउँका आठ जना बिते भनेर । पछि त्यसमा आफ्नै दुई छोरा परेको थाहा पाएपछि उनको होसै गुम्यो । उनी आफैं मुम्बई गए । उनका दुई छोराको शरीर गोदामका काठका मुढा जसरी जलेका थिए । बचेको शरीर पोस्टमार्टम गर्न अस्पतालमा पोको पारेर राखिएको थियो । सुरुमा त उनलाई पोकामा राखिएका छोराहरूको शरीर हेर्न पनि दिइएन । आफ्नै छोरा हुन् भनी पुष्टि गर्ने कागजात गाउँबाट मगाएपछि आठौं दिन अन्तिम संस्कार गर्ने बेला मात्र उनले छोराको शव बेरिएका पोका खोल्न पाए ।

यस्तै शान्ति मोराइनका श्रीमान् लौटु मुम्बई गएको १५ दिन मात्रै भएको थियो । उनी धेरथोर कमाइ गरेर परिवार सजिलैसँग पाल्न सकिएला भनेर मजदुरी गर्न अरु साथीभाइको पछि लागेका थिए । अभावमा हुर्किरहेका ससाना छोराछोरीको अनुहार हेरेर शान्तिले श्रीमानलाई परदेश जानबाट रोक्न सकिनन् । घटनाको अघिल्लो दिन राति सुत्ने बेला पनि शान्तिले लौटुसँग खैखबर सोधेकी थिइन् । श्रीमानले हालखबर राम्रो छ भनेका थिए । अहिले पनि उनलाई घटना सम्झँदा कहाली लाग्छ, पहाडै खसेजस्तो हुन्छ । उनको १ छोरा र ३ छोरी छन् । अहिले परिवार पाल्न लुगा सिलाइबुनाइ गर्दै जिविका चलाइरहेकी छन् । यतिसम्म कि श्रीमती शान्ति आफ्ना मृत श्रीमानको अनुहार हेर्न जान पनि सकिनन्, पैसा नभएकाले ।

मुम्बई गएका छिमेकीले उनका श्रीमानको अन्तिम संस्कार उतै गरिदिए । यतिबेला शान्तिलाई साना दुई छोरी कसरी हुर्केलान् भन्ने पिरलोले छोपेको छ । त्यो आततायी घटनामा सात नेपालीले ज्यान गुमाएका थिए । उनीहरूलाई काठ कम्पनी, महाराष्ट्र राज्य सरकार, नेपाल र भारत सरकारले राहत दिने प्रतिबद्धता गरेको थियो । तर, अहिलेसम्म कहींकतैबाट एक रुपैयाँ सहयोग पनि पाएका छैनन् । बरु महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले पीडित परिवारलाई केही राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘दशैं चाड अघि यी पीडित पविारलाई केही राहत दिने प्रयत्न गर्नेछु,’मेयर कलामले भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक