बुधबार, वैशाख १२, २०८१

हाम्रो देशको कथा

किशोर नेपाल२०७७ साउन २५ गते १३:५२

समय छ कोरोना–कोलाहलको । यस्तो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबध्दता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरुको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ नमानिएला । यी शब्दहरु, त्यसैपनि, कहिल्यै शोभायमान भएको देखिएन नेपाली समाजमा । नेपाली समाजले भीममल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो । अरुलाई चिन्दै चिनेन । मल्ल राजाका भारदार थिए भीम मल्ल । त्यतिबेला तिब्बतको आर्थिक र ब्यापारिक संप्रभूता काठमाडौको हातमा थियो । काठमाडौंका जनता ‘भोटे नून’ खान्थे । तिब्बतीहरु नेपाली चामल । उठतीपुठतीमा गएका भीममल्ल तिब्बतबाट फर्किनासाथ दरबारको ढोकैमा काटिए । उनको अपराध के थियो ? कसैले थाह पाएन । अपराध थियो भनेपनि त्यसका प्रमाण–प्रमेय थिएनन । सबै अनुमानको कुरा हो । नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएकोछ । हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थे, नेपाली इतिहासका स्रोतहरु सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन । भीम मल्ललाई जनताले आजपनि शानका साथ सम्झिन्छन । भीमसेन थापाको इतिहास पनि बिबादास्पद छ । उनको

ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन । अमरसिंहको कद उनको भन्दा धेरै अग्लो थियो । यो सत्य हो ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जसदिने कुरा लगभग सल्टिइ सकेको छ । पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोधगर्ने अब कोही देखिएका छैनन । नेत्रबिक्रम चन्दले त्यो काम नगर्लान । नेपाल राष्ट्रको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारहरुको भद्रगोल खूब चल्यो । जो जो बलिया भए ती सबैले आ–आफनो ‘इतिहास’ लेखाए । भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत बिबिध थर र एकै वर्गका ब्यक्तिहरु । यी त केही उल्लेखनीय उदाहरणमात्रै हुन । नेपालको इतिहासको आकार देशको बास्तबिक आकारभन्दा कैयौं गुना अग्लो र लामो छ । यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र । जतिबेला माओवादी लडाईंमा थिए त्यतिबेला ती रनबन घुम्थे । देशमा पाइने अपार जरिबूटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे । नेपालगन्जमा सीमित जरिबूटीको ब्यापारलाई देशब्यापी प्रचारमा ल्याएका हुन माओवादीले । मान्नै पर्छ ।

जतिबेला माओवादी लडाईंमा थिए त्यतिबेला ती रनबन घुम्थे । देशमा पाइने अपार जरिबूटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे । नेपालगन्जमा सीमित जरिबूटीको ब्यापारलाई देशब्यापी प्रचारमा ल्याएका हुन माओवादीले । मान्नै पर्छ ।

देशमा राजनीतिक आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन । वार्तापनि भएको छैन । संबैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि देशका समस्याहरुमाथि छलफलगर्ने चलन व्हात्तै बढेकोछ । त्यो संगै बढ्यो आसन ग्रहणको चलन । ब्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै मन्चमा बिराजमान भए । भाषण सुन्ने कोही भएन । सभाकक्षमा आमन्त्रित सहभागीका चालकहरु, सुरक्षाकर्मीहरु र निजी सचिवहरुले ‘भरिएको’ थियो । मन्चमा जो

बिराजमान थिए ती आपसमा मस्त थिए । एकअर्कासंग तीन तेह«को सम्बन्ध नहुनेहरु पनि ‘भलाकुसारी’ गर्दै थिए ।

सबै आमन्त्रित मन्च अर्थात बोल्ने ठाउँमा बिराजमान थिए । सबै अतिथि थिए, कोही बिशेष अतिथि, कोही प्रमुख अतिथि । सुन्ने ठाउँमा कोही थिएन । भर्खर भर्खर प्रजातन्त्रको पुनस्र्थापना भएको समाजमा यस्ता क्षणहरु रोचक बन्दै थिए । तीस बर्षको मौनतापछि मानिसको मुख खुलेको थियो ।

त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने !

त्यतिबेलाका सभामा, स्वाभाविक थियो, शहीदहरुको सम्मानमा एकमिनेटको मौन धारणापछि अर्को एकमिनट बीपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुबैको बर्षा हुन्थ्यो । ‘भलाद्मी’ राजा बीरेन्द्रको लोकप्रिय ब्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो – उहाँको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो । त्यसको प्रमाण स्वरुप काठमाडौंका सम्भ्रान्त बैठकहरुमा कथाको एक अंश सुनाइन्थ्यो – देशका बुध्दिजीवीहरु सहभागी भएको एउटा महत्वपूर्ण सभामा कसरी राजा बीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ संवोधन नगरेर ‘श्रीमती’ संवोधन गरेका थिए । त्यसैदिनदेखि राजा बीरेन्द्रका बिरुध्द पुराना र घरानिया दरबारियाहरुले षडयन्त्र शुरु गरेको कथा काठमाडौंका सभ्रान्त बैठकहरुमा दोहोरिन, तेहोरिन थालेको थियो ।

त्यसपछि, स्वाभाबिक थियो, बीर गणेशमानको चर्चा हुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि गणेशमानजीलाई ‘बीर’ त के, ‘अकिन्चन’ नागरिकका रुपमा पनि शान्तिसंग रहन दिइएको थिएन । उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो । तर, के उहाँलाई

साँच्चै सर्बोच्च रहन दिइयो त ? यसको जवाफ इतिहासमा आउँदै गर्ला ।

यस्ता सभाहरुमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्तदिंदै राजनीतिमा इमान–जमानको सम्झना गरेको पनि सुनिन्थ्यो कतै कतै । त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुंगो हुन थालेपछि बिस्मृतिको गर्भमा लोप भयो । किशुनजी पनि राजनीतिबाट लगभग लोप हुनुभयो । उहाँको छाता–सुराहीको प्रजाति हरायो । तर, प्रजातन्त्र पुनस्र्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन–मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान–जमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए । पुनस्र्थापित संबैधानिक राजतन्त्र तथा वहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो । यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमतले जित्यो ।

प्रजातन्त्र पुनस्र्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनस्र्थापनापछि, अभिमान भन्दापनि हलक्क बढेको थियो घमण्ड । पहिलो चुनावको मौसम थियो । आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रुपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । चुनावकै प्रसंगमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’ संगगर्दै पत्रकार रघुपन्तले आफनो स्तम्भ लेखेका थिए । पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र एमाले पक्षका ओली बिरोधी नेता माधव नेपालको गूटमा छन ।

सभा सकिन्थ्यो । कांग्रेसहरु कम्युनिष्टहरुलाई दुइ हात जोडेर ‘नमस्कार’ गर्दथे । कम्युनिष्टहरु मुडकी उजाएर ‘सलाम’ फर्काउँथे । यतिबेला कम्युनिष्टहरु मुडकी उजाएर कांग्रेसलाई नमस्कार गर्न होइन, डडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन ।

दुइवटा पुरा र एउटा मध्यावधि चुनावपछि पुनस्र्थापित प्रजातन्त्रले बिश्राम लियो । जनतालाई सन्तुष्टिदिन सकेन । राजा बीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शाह राजा भए । बिडम्बना उनी राजा ज्ञानेन्द्रका रुपमा भन्दा पनि पारस शाहका पिताका रुपमा बढी चिनिए । राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे । उनका चाकरीदारहरुले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो, ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसूस गरिबक्सिएको थियो ।’ अप्ठेरो महसूस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सियो त ? यो प्रश्नको जवाफ ती कीर्तिकारहरु कसैसंग पनि छैन होला । अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन । उनी समाजसेवा र ब्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेको देखिन्छन । राजा बेलायतको होस कि नेपालको, धनी होस कि गरीब, मूर्ख होस कि बुध्दिमान: अलिकति सन्की नै हुन्छन । बेलायतकी महारानीका छोरा युवराज नै बूढा भै सके, नाती र पनाती समेत रोलक्रममा आइसके । तै पनि उनी गद्दी छोडदिनन ।

गणतान्त्रिक राष्ट्रका रुपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए । मल्लकालीन नेपालमा भारदारहरुको बृत्तको बिस्तार भएको थियो नेपालको शासन–प्रशासनमा । पृथ्वीनारायणका आफना मानिस थिएनन । मल्ल राजाहरुको पतनपछि अलमल्ल परेका भारदारहरु शरणार्थीका रुपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे । मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता

दियो । शाह राजतन्त्रलाई गणतान्त्रिक शासन ब्यबस्थाले निरन्तरता दियो । गिरिजा प्रचण्ड र परिवर्तनका अन्य महत्वपूर्ण नेताहरुले एउटा संविधानसम्म पनि लेख्न सकेनन । संविधान सभाको पहिलो कार्यकाल गफैगफमा सकियो । दोस्रो कार्यकालमा परिवर्तनका नेताहरुले सर्बोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए । त्यसपछि रेग्मीले जुन चुनाव गराए त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो ।

तै पनि, संविधान बन्यो । संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लागेन । नेताहरु कुनैपनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस भनेर सतर्क थिए । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरुले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भयो ।

अहिले जमाना बदलिएकोछ । दशबर्ष लगाएर बडो कष्टका साथ ठसठसी कनी कनी लेखिएको थियो संविधान । भारतका हालका बिदेशमन्त्री जयशंकर प्रसादले काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौ भनेर नेपाली नेताहरु आफनो गुनगान अझै गाउँदैछन । उता संविधान सक्रिय निष्क्रियताको बाटोमा लागेको अनुभवगर्न थालेका छन मानिसहरु । किनभने, देशमा व्दन्व्द अहिले पनि कायम नै छ । संविधानले एकै झमटमा गाउँका गाउँलाई नगरपालिका बनाएकोछ । तर, मानिसका सामान्य आबश्यकताको

पहिचानगर्ने चेष्टा गरेको छैन । समावेशी शब्दको अर्थ र तात्पर्य दुबैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा । जनयुध्दमा सत्र हजार जनता मारिएकोमा माओवादीको सत्तो–सराप गर्नेहरु शाहीसेनाबाट मारिएका जनताको हिसाब–किताबगर्न उत्सुक देखिदैनन । भेरी, कर्णाली, तीला र पूर्व पश्चिमका अरु नदीहरुको भेलमा कतिलाई जवर्जस्ती हेलिएको थियो ? त्यो न माओवादीलाई थाह छ, न अरु कसैले त्यसको अभिलेख राखेकोछ ।

कुनैबेला हालका प्रधानमन्त्री खड्गप्रसाद ओलीका लागि नेपालमा गणतन्त्र आउनु भनेको गोरुगाडा चढेर अमेरिका पुग्न खोजेजस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएकोछ । उखान टुक्का र कथा कहानीमा रुचिराख्ने चाखलाग्दो ब्यक्तित्व छ उनको । उनको नेतृत्वमा अहिले नेपालले बिदेश नीतिका आफना प्राथमिकता बदलेकोछ । भारतसंगको खुला सीमाना बन्द गरेर चीनसंग सीमा खुला गर्नुपर्ने बिचार जागृत हुँदैछन । उसो त, चीनसंग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेकोछ । चीन चिढिएला भनेर राजाहरु समेत सतर्क रहन्थे । नेपालको सरकारले तिब्बत चीनमा गाभिंदा पनि केही बोलेन । सन १९८९ मा चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको मांगगर्दै बेइजिंगको तियानमेन स्क्वायरमा ‘चार जूनको आन्दोलनगर्ने’ युवा बिद्यार्थीहरुको दमन र हत्याका समाचार नेपालका भारदारवर्गले पढेकै छैन जस्तो पो छ !

अहिले एकथरि वामपन्थीहरु रन्थनिएका छन नेपालमा एमसीसीको उपस्थितिले । शीतयुध्द कालमा युरोप अमेरिकाका मानिसहरु जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे । उनीहरुलाई यो थाह छैन एमसीसी चीनकै बाटो आउँछ । आज नआए भोलि आउँछ । चीनसंग

मूठभेड नगरेर उसलाई आर्थिक बिकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले । उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले । यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन १९७२ । कम्युनिष्टहरुका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ । सोभियत संघसंगको सीमा युध्दले माओ उद्विग्न बनेका थिए । त्यही रन्कोमा उनले अमेरिकासंग मित्रताको हात बढाएका थिए ।

माओत्से तुंगमा ब्यबहारवाद प्रचूर मात्रामा थियो । उनको राजनीति र कूटनीति नैतिक र सैध्दान्तिक आधारमा होइन, तत्कालीक परिस्थितिका आधारमा निर्भर हुन्थ्यो । उनी भन्थे, ‘थोरै क्रान्ति, धेरै आबश्यकताका आधारमा कूटनीति ।’ माओको यो नीतिको अबलम्बन अहिलेसम्म भएको छ । नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेकोछ । यो सत्य हो, बितेको पचास बर्षमा आर्थिक बिकासमा चीनले छलांग मारेको छ । चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ बिकास गरेका छन । चीनको यो छलांगमा अमेरिका र युरोपका देशहरुले साथ दिएका छन । चीनले एक्लै बिकास गरेको होइन ।

बितेको पचास बर्षमा आर्थिक बिकासमा चीनले छलांग मारेको छ । चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ बिकास गरेका छन । चीनको यो छलांगमा अमेरिका र युरोपका देशहरुले साथ दिएका छन । चीनले एक्लै बिकास गरेको होइन ।

यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरुको ‘मौलिक’ चरित्रसंग अनभिज्ञ छ । त्यो मामिलामा चीनियाँहरु माहिर छन । चीनका नेताहरुले नेपाली नेताहरुको नाडी छामी सकेका छन । नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन । त्यसबाट आकर्षित भएका छन । त्यसैले, चीनका नेताहरु पूर्व राजदूतहरुलाई भाषणगर्न पठाएर नेपाली जनतालाई उनीहरुको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन ।

हामीले जानेका छौं गफगर्न । हाम्रा सरकारहरुले जानेका छन छडके हान्न । आफना कार्यकर्ताहरुलाई सामाजिक संजालमा सक्रिय

गराएर बिरोधीको मान–मर्दनगर्न । जनता लिम्पियाधुरा र लिपुलेकको नक्सा हेरेर दंग परेकोछ । रैथाने, पुरानिया भारदारहरुले काउकुती लगाइ दिएर सरकारलाई प्रसन्न तुल्याएका छन । हामी नेपाली सारमा सबै कुरा बुझ्छौ – जस्तो गीतासार । श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको सार आठ पंक्तिमा ।

एकताका शहरका पुस्तक पसलहरुमा एउटा पोष्टर पाइन्थ्यो – कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन ? आजकाल त्यस्तो पोष्टर कसैले बेच्दैन । किनभने, अहिले स्वर्ग–नर्कका बीच कुनै भेद छैन

तपाइँको प्रतिक्रिया