बिहीबार, वैशाख २०, २०८१

कथा : न्याय

धर्म राजु२०७७ साउन ३१ गते १०:०२

दस बजे अफिस पुगेर हॉंजिर गरेर कुर्सीमा बसेको मात्र के थिएँ, पिउनले ढोकैबाट भन्यो- “सर हजुरलाई भेट्न बाहिर कोहि आएको छ” ।
आज जसरी पनि सक्नुपर्ने चाङक चाङ फाईलहरु थिए टेबलमाथि । पहिले त्यो काम सक्नु थियो । यस्तो बेला मन्त्रीनै आए पनि मैले भेट्न नसक्ने कुरा थियो ।
“को हो नी फेरी यति बिहानै ?” मैले पियुनतिर नहेरी सोधें ।
“खोई नाम त सोधिन सर । तर त्यस्तै २२, २३ बर्षको केटी छ । सिडीओ साबलाई जसरी’नी भेटनु छ भन्दै छे” ।
“काम के रहेछ सोधेनौ ? यसो गर म अहिले बिजी छु एक घन्टापछी मात्र भित्र पठाईदेउ । अनी सुन, यतिखेर जो आएपनि एक घण्टासम्म कसैलाइ पनि भित्र आउन नदिनु । म एकदम बिजी छु” ।
“हस सर” भन्दै पिउन ढोकाबाट अलप भयो ।

करिब एक घण्टापछी त्यस्तै २२, २३ बर्षकी, पातली, निलो रंगको कुर्तासलवार लगाएकी गहुँगोरी, न त अग्ली, न त होची केटी मुसुक्क हॉंस्दै मलाई अभिवादन गर्दै भित्र प्रबेश गरि । मैले त कताकता उसलाई पहिले देखेजस्तो पनि लाग्यो । तर ठम्याउन भने सकिन ।
“पहिले भेट भएको थियो र हाम्रो ? नाम केहो बैनिको?” मैले नमस्कार फर्काउँदै भनें ।
“भेट भएको छैन सर, आज नै पहिलो हो । म मनिता कार्की, म थाकखोला, स्याङग्जाबाट आएकी” उसले ठेगाना सहित भनि ।
“ए, बस्नुस् न । अनि के कामले यति बिहानै आऊनु भयो त ?”
उ सोफ़ामा बसी ।
“मेरो नागरिकता बनाउनु थियो सर”
“नागरिकता बनाउने भए पहिले उता नागरिकता फॉंटमा जानुस । त्यहॉं निवेदन दर्ता गराउनुस् । यहाँ त अन्तमा सनाखत गर्ने बेलामा मात्र आऊने हो नी” । मैले उसलाई प्रकृया बताईदिएँ ।
“सबै गरिसकें सर । तर पनि मेरो नागरिकता बनेन । अब सरले नै केही सहयोग गर्नुपर्यो” ।
“उताबाट भएन भने मैले त गर्न सक्दिन । हामीले पनि उताबाट पास भएर आएपछी मात्रै नियमानुसार छ छैन हेर्ने हो । रित पुगेन होला । या कुनै कागजपत्र पुगेन होला । के भन्यो त्यहाँ ?”
“सर अरु त सबै ठिकै थियो । बाबाको नागरिकता देखाउ भन्छ” ।
“अनि कुन ठुलो कुरा भो र ? बाबाको नागरिकता लेर आउनु काम भैहाल्छ नी” ।
“सर मेरो बाबा हुनुहुन्न” । उसले भुईँतिर हेरेर भनि । उसको कुरा सुनेर मलाई दुःख लाग्यो । बिचरा टुहुरी रहिछ । के गर्नु दैवको लेखा । मनमनै सोचें ।
“बाबाको नागरिकता त होला नी ?”
“बाबा नै नभएपछी नागरिकता कसरी हुन्छ र सर?” उल्टो प्रश्न गरी मनिताले । म पुरै कन्फ्युज भएँ । भन्न के खोजेकी हो कुरै बुझ्न सकिएन । बाबू पनि छैन, बाबुको नागरिकता पनि छैन । सायद नागरिकता फॉंटले यही कुरा नबुझे होला । त्यही भएर यहाँ आईछ । मैले यसबारेमा थप जानकारी लिएर नागरिकता फाँटलाई स्पस्ट पारिदिने बिचार गरें ।
“मतलव तिम्रो बाबा नभएपनि उहाँको नागरिकता त हुनुपर्ने हैन र ?”

मनिता एकछिन कही बोलींन । मेरो अनुहारमा हेर्दा पनि हेरिन । मलाई उसको कुरामा कता कता शंका पनि लाग्यो । खासमा कतै यो दुईनम्बरी धन्दा पनि पो होकि भन्ने लाग्यो । तर उसको अनुहारमा भने कुनै बनावटीपन थिएन ।
एकछिन चुप लागेपछी उसले झ्यालतिर हेरेर बोली – “खासमा मेरो बाबा नै हुनुहुन्न । म बाबु बिनाको सन्तान हुँ सर । मेरो बाबाको नागरिकता त परको कुरा मलाई उहाँको नाम समेत थाहा छैन । मलाई आमाले एक्लै हुर्काउनु भयो । मैले मेरो बाबालाई अहिलेसम्म देखेको पनि छैन । जतिखेर मलाई बाबाको खाँचो थियो त्यतिखेर आमाले एक्लै मलाई हुर्काउन पर्यो । यतिखेर मलाई मेरो बाबा भन्दापनि मलाई मेरो नागरिकताको खाँचोचो छ” । बोल्दा बोलिदै रोकिई मनिता । अनी फेरी मेरो अनूहारमा हेरी र भनि – “मेरो आमाको भने नागरिकता छ । आमाको नागरिकताबाट मेरो नगरिकता बन्छ भन्ने सुनेकी थिएँ । त्यसैले म अहिले आमाको नामबाट बनाउन आएकी । तर मलाई त बाबुको नागरिकता चाहियो भनेर दिक्क पारे । अब हजुर नै भन्नुस सर, कहाँबाट ल्याउँ मैले बाबाको नागरिकता ?”

मैले उसको कुरा बुझें । आजभोलि यस्ता बिनाबाबुका अरु केशहरू पनि फाट्टफुट्ट आउन थालेका थिए अफिसमा । समाचारमा पनि आउँथे । बहस पनि भएको सुनेको छु । तर अहिलेसम्म यो कार्यालयबाट आमाको नामबाट नागरिकता दिईएको छैन । मनिताको कुरा सुन्दा मानवताको नाताले नागरिकता दिनुपर्ने हो । तर क़ानूनले यो कुरा अझै स्विकार गरेको छैन।
मैले उसलाई भनें –“ हेर्नुस मनिताजी, मलाई तपाँईको कुरामा ठूलो सहानुभूति छ । तपाइले आमाको नामबाट नपाउनु दुखको कुरा हो । तर यस्तो अवस्थामा अहिलसम्म सिधै ज़िल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएको नजिर कतै छैन। बेला बेला अदालतले फैसला गर् छ। तर त्यो पनि घटना अनुसारको हुन्छ । यस अर्थमा तपाई पनि उद्दा नै लडनुपर्छ । त्यसको लागि तपाईले के कसरी बाउ छैन भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । तपाईले उद्दा जित्नुभयो भने नागरिकता बन्न सजिलो हुन्छ” ।
उसले भनि – “हेर्नुस सर यो त सबैलाई थाहा भएको कुरा हो कि बाबु बिना त कोहि पनि बच्चा जन्मिदैन । जैबिक रुपमा त जन्मिन असम्भव छ । तर यो तर समाजले भने जन्माईदिंदो रहेछ । म पनि त्यस्तै सन्तान हुँ जसले आजसम्म बाबाको मुख देखेकि छैन । बाबा को हो मलाई नै थाहा छैन” ।
“तपाईलाई थाहा नभएपनि तपाईको आमालाइ त पक्कै थाहा होला नी । किन भन्नु हुन्न उहाँ ? किन खोज्नु हुन्न बाबालाई ? केही कारण त होला नी हैंन?”
“सबै कुरा त आमालाई थाहा होला । उहाँ पनि यो कुरा धेरै कोटयाऊन चाहनुहुन्न । म पनि सोध्नै छोड़े । तर धेरै अघि एकदिन आमाले मलाई भनेको कुरा मात्र मलाई याद छ। आज यो कुरा म सरलाई पनि भन्न चाहन्छु” ।
अनि उसले भनि- “आज भन्दा झन्डै २४ बर्ष अघि खोई कुन एकजना सरकारी हाकिमसँग मेरो आमाको प्रेम थियो रे । त्यो हाकिमले पनि आमालाई असाध्य प्रेम गर्थ्यो रे । प्रेम संगै सहवास पनि भएछ । तर म पेटमा भएको थाहा नहुँदै हाकिमको त्यहाँबाट सरुवा भएछ । जाने बेला बाआमासँग सल्लाह गरेर बिहे गर्नलाई आउँछु भनेर गएको हाकिम म जन्मिने बेलासम्म पनि फर्केर आएनछ । आमालाइ समाजले बच्चाको बाबा को हो सोधेर निक्कै यातना दिएछ । उहाँले सरकारी हाकिम हो भनेर भन्नुपनि भएछ । प्रहरीमा पनि उजुरी गर्नु भएछ । तर मेरो आमाको कुरा कसैले पत्याएन छन् । त्यसपछी उहाँले आत्महत्या गर्न भनेर खोला किनारमा जानुभएछ ।

बोल्दाबोल्दै रोकिई मनिता एकछिन । म चुपचाप उस्को कुरा सुनिरहेको थिएँ । उसले फेरी थपि- “तर फेरी कताकता आमालाई पेटको बच्चाको माया लागेर आएछ र आख़िर मर्नु नै छ भने बच्चा जन्मएर मात्र मर्छु भन्ने सोचेर घर फर्किनु भएछ । तर पछी म जन्मेपछि भने फेरी उहाँलाई मेरो माया लागेर आएछ र मर्ने निर्णय छोडिदिनु भएछ । पछी म जन्मेपछी फेरी बाँच्न मन लागेछ । समाजले उहाँलाइ बहिस्कार गर्न थालेछन । धन्न मेरो हजुरबाले आमालाई छोरा सरह नै पालेर राख्नु भएछ । आमाले अहिलेसम्म बिहे पनि गर्नुभएको छैन” ।

निक्कै नै पिडादायी तर छोटो कहानी सुनाई मनिताले । अहो कस्तो दुखलाग्दो कुरा। कस्ताकस्ता पिडा उनेर बाँचेका छन् मान्छेहरु । मलाई लाग्यो, उसकी आमालाइ त्यो हाकिमको नाम त थाहा थियो होला ? सरकारी हाकिम नै हो भने पत्ता लगाऊँन सकिन्थ्यो । बरु त्यो सरकारी कर्मचारी नभएर कुनै ठग पनि त हुन सक्थ्यो।
मनिताले छेउमा रहेको पानीको बोतल उठाई र मतिर हेरेर सोधि- “पिउन मिल्छ सर?” मैले हातले पिउ भनेर इशारा गरें ।

उसले भन्दै गइ – “गाऊँमा उसलाई सबैले हाकिम साब भन्थे रे । तर आमालाई चाही उसको नाम थाहा रहेछ । तर मेरी आमालाई जून नाम थाहा थियो त्यो पनि उसको असली नाम रहेनछ । नाम पनि ढाँटेको रहेछ, त्यसैले पत्ता लागेन सर । अली धेरै सोधिखोजी गरेको भए त पत्ता पनि लाग्थ्यो होला ।
तर आमाले त्यस्तो धोकेबाजलाई भेटीहाले पनि यसले माया गर्दैन बरु एक्लै जीवन ठीक छ भनेर वास्ता गर्न छोडनु भएछ । खै छोड्नुस सर यो दुखको कहानी सुनेर हजुरलाइ के फाईदा ? बरु मेरो नागरिकता कसरी हुन्छ बनाउनु पर्यो ।” यति भनेर मनिताले आफ्नो कुरा टुङगाईदिई । मलाई भने किन किन उसको कुरा अली गहिरिएर नै बुझ्न मन लाग्यो । फेरी कुरा पुरानै कुरा तिर मोडें ।

“हून त यो धेरै समय बितिसकेको कुरा हो । पत्ता लाग्ला नलाग्ला । म पनि निजामती सेवामा नै छु । पत्ता लगाउनलाई म केही सहयोग गर्न सक्छु । त्यसो भए तपाइको नागरिकताको सवाल पनि सजिलो हुन्छ । बरु मलाई तपाईको आमाको र सरकारी हाकिमको नाम थाहा भए बताईदिनुस न ।
“आमाको नाम कल्पना कार्कि हो । अनी त्यो हाकिमको छद्मनाम नाम चाहिं सूरज हो रे”।
मनितका यो कुराले मेरो शरिरमा एक्कासी बिच्छीले डसे जस्तो भयो । बसेको कुर्शीनै भासिएको जस्तो भयो। कुर्सी तलबाट कसैले करेंट झोसीदिएको जस्तो भयो । कोठाहरू भूकम्प आउँदा जस्तो हल्लिन थाले । एक्कासी बहोस नै हुन लागेजस्तो भयो। मैले अगाडी बसेकी मनीतलाई पनि धमिलो देख्न थालें । अनी २४ बर्ष अगाडीको स्याङग्जा थाकखोलाको दृश्य मेरो आखा अगाडी स्पस्ट देखिन थाल्यो।

+++++++++++++++++++++

तेतिबेला म बिए पास गरेर अस्थाई जागीर पाएको थिएँ अनौपचारिक शिक्षा केन्द्रमा । जिल्ला शिक्षा कार्यालय मार्फत गाऊँमा अनौपचारिक शिक्षा कार्यक्रम हुन्थ्यो। म थिएँ स्याङ्ज़ा ज़िल्ला संयोजक । थाकखोलामा हाम्रो नमूना अनौपचारिक कक्षा संचालन हुन्थ्यो । सदरमुकामबाट त्यस्तै दुई घन्टा पैदल दुरीमा थियो थाकखोला । सदरमुकामबाट नजिक पर्ने भएकोले हामीले त्यो ठाऊँ छानेका थियौ। त्यसो त म सबै ठाऊँ जानुपर्थ्यो । तर थाकखोला जानथालेपछी म बिस्तारै त्यहिँ मात्र केन्द्रित हुनथालेको थिएँब्। यसको एउटै कारण थियो कल्पना । प्रौढ़ शिक्षा पढाउने शिक्षिका थिई कल्पना । भरखर २० बर्षकी थियी । पातली, गोरी, तर असाध्य राम्री । सायद कल्पना जस्ति राम्री केटी मैले त्यो बेलासम्म देखेकै थिईन भन्दा हुन्छ । गाऊँको स्कुलबाट एसएलसी दिएर पनि क्याम्पस पढन नगएकी । सायद थाकखोला क्षेत्रमा तेतिखेर एसएलसी पास गरेकी अबिवाहित केटी त्यही कल्पना मात्र थियी । कल्पना भन्थी- ‘एस एल सी सम्म पुग्दा नपुग्दै यहाँ सबै केटीहरुको बिहे भईसक्छ । क्याम्पसको मुख त यहाँका केटीहरुले कसैले देख्न पाउँदैनन् । मलाई त एकचोटी क्याम्पस सम्म टेक्ने रहर छ तर । मलाई थाहा छ मेरो त्यो रहर पुरा हुन सक्दैन। मेरो कुनै पनि बेला बिहे हुन सक्छ’।

म सरकारी हाकिम र उ शिक्षिकाको नाताले नाताले हाम्रो धेरै जसो भेट हुन्थ्यो । कहिलेकाहिँ उसलाई भेट्नका लागि मैले त्यस्सै पनि सदरमुकाम बोलाउँथे अनी के के काम बनाएर फेरी हामी सँगै उसको गाऊँ फर्किन्थ्यौं । एक दिन यसरी नै फर्किने बेला मैले उसलाई भने – ‘बिहेपछी पनि पढन मन छ ?’ उसले भनि- “बिहेपछि पनि कुन चाहीँ होला लोग्ने श्रीमतीलाइ क्याम्पस पढाउने, मलाइ त अहिलेसम्म थाहा छैन” । मैले भने –“म जस्तो श्रीमान भयो भने त बिहे पछी पनि पढन पाईन्छ नी” । उ लाज ले मुख रातो पारी ।

सरदरमा जोड्ने हो भने मेरो एक बर्षको कार्यकालमा नौ महिना त मैले थाकखोला मै बिताएँ होला । समयक्रममा कल्पना र म निक्कै नजिक भएका थियौं । म कल्पनालाई साँच्चिकै माया गर्न थालेको थिएँ र उसलाई बिहे पनि गर्न चाहन्थें । पहिले त उसले पत्याएकी पनि थिईन । तर मेरो उ प्रतिको आसक्ति देखेपछी भने उसले मेरो प्रेम स्विकारेकी थिई । म निरक्षण भन्दै थाकखोला गईरहन्थें । कल्पनालाई पनि म निरक्षणमा आएको ठीक लाग्थ्यो । किनकी उसले जस्तो पढाए पनि म राम्रो रिपोर्ट गरिदिन्थे । अनौपचारीक कक्षा साँझमा हुने गर्थ्यो । अनौपचारिक कक्षापछी कल्पना र मेरो औपचारिक कक्षा चल्थ्यो । मैले कल्पनालाई बिहे गर्ने आश्वासन दिएको थिएँ । उसले मलाई आफ्नो शरिर दिएकी थिई ।
मेरो एकबर्षे कार्यकाल पनि सकिन लागेको थियो । अन्तिम रिपोर्ट बुझाउन मैले काठमाडौं जानूपर्ने भयो । फेरी मेरो एम ए प्रथम बर्षको परीक्षाको रुटिन पनि आइसकेको थियो । एक महीनामा सबै काम र जांच सकेर फर्किन्छु भनेर हिंडें । हिड्ने बेलामा कल्पना मलाई बिदा गर्न सदरमुकाम सम्म आएकी थिई । बसको झ्यालबाट उसले अन्तिम पल्ट एकोहोरो हेरिरहेको सम्झना अझैँ पनि मेरो मनमा रहिरहेको छ ।

सबै कुरा भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र ? त्यहीबेला त्रिबिबिले आन्तरिक समस्या देखाउँदै तिन महिना जाँच पर सार्यो । मैले लोकसेवामा पनि फारम भरेको थिएँ । एम ए को जाँच सकिए पछी तुरुन्तै मैले लोक सेवाको तयारीमा लागें। कल्पनालाई बेला बेला सम्झिन्थें । तर भौगोलिक दुरीले भेटन जान सम्भव भएन । अहिले जस्तो मोबाइल, ईन्टरनेट, फेसबुकको जमाना थिएन । यस्तैमा मैले थाकखोला छोडेको एक बर्ष बित्यो । समयको दुरी पनि बढ्यो । लोकसेवामा मेरो नाम निस्कियो । म झापामा खटिएँ । कल्पनाका बाबू आमाले उसको बिहेका लागि अर्कै केटो खोजेका थिए त्यहीबेला । मलाई लाग्यो कल्पनाको बिहे पनि भयो होला । फेरी भेटेर कुरा गर्नु भन्दा नगर्नु नै बेश थियो ।
कल्पनालाई झुटो नाम बताउने त्यो सुरज अरु कोही थिएन । म नै थिएँ । मैले नै यो नाम कल्पनालाइ भनेको थिएँ । कल्पना बाहेक अरु कसैलाइ थाहा पनि थिएन । मेरो वस्ताबिक नाम त थाकखोलामा कसैलाइ थाहै थिएन । कल्पनालाई पनि । यसको एउटै उदेश्य थियो अफिसमा कसैले थाहा नपाउन् र अफिसको बदनाम नहोस भन्ने । मेरो बैंसालु उमेरले यो नै उपयुक्त ठान्यो त्यो बेला । मैले कमसकेम कल्पनालाई त असली नाम भन्नुपर्थ्यो किन भनिन होला ? अहिले मलाई आएर आश्चर्य र दुख लागिरहेछ ।
यदी यो मेरो अगाडी सोफामा बसेकी केटी त्यही कल्पनाकी छोरी हो भने यो कुरा प्रमाणित गर्न कतै जानु पर्दैन कि उ नै मेरी छोरी हो र म नै उसको बाबु हुँ । तर यतिबेला उ भने बाबूको नागरिकता नभएर आफु स्वयं अनागरिक भएकी छ । उ अझै चुपचाप सोफामा बसिरहेकी थिई ।

+++++++++++++++++++

“आमाको नागरिकता त छ तिमीसँग ?” मलाई एकपटक कल्पनाको फोटो भए पनि हर्न मन थियो र सोधें ।
मनिताले ब्याग खोली अनि पानी रंगको प्लास्टिकले ढाकेको नागरिकता निकाली र मेरो टेबलमा राखीदिई र भनि- “यो हो सर ।”
मैले कल्पनाको अटो साईजको फोटो धेरैबेर हेरें । ब्लाक एंड वाइट कल्पना । मलाई फेरी उहि थाकखोला झझल्को आउन थाल्यो । सायद त्यतिबेला तिरै खिचेको फोटो हुनुपर्छ त्यो । नगरिकता हेरेर फिर्ता गरिदिएँ ।
म दोधारमा परें । अब मेरो अगाडी दुईवटा बाटाहरु थिए । पहिलो- मनितालाई म उसको बाबा हुँ भनेर भनिदिनु र बाबाको नामबाट नागरिकता दिलाउनु । दोस्रो उसलाई अदालतको ढोका ढकढकाउन लगाउनु र त्यसमा सक्दो सहयोग गर्नु । तर तत्काल मैले कुनै निर्णय गर्न सकिन । मनिता मलाई नै हेरेर बसिरहेकी थिई । मैले उसलाई यतिमात्र भन्न सकें- “मनिता तिमिले जसरी पनि नागरिकता पाउनु पर्छ । आज नभए पनि कुनै दिन अवश्य पाउने छौ । म अफिसियल र पर्सनल रुपमा तिमीलाई सहयोग गर्छु । बरु मलाई तिम्रो सम्पर्क नम्बर दिनु । केहि उपाय भएछ भने म तिमीलाई खबर गर्छु” ।
“आफ्नो नम्बर एउटा सानो कागजमा टिपेर उसले मलाई दिई र बाहीर निस्की । सायद उ केहि राहत पाएजस्तो गरी हिँडी । म केही आहत पाएजस्तो भएर कुर्सीमा बसें ।

मनिता निस्केपछी मलाई अफिसमा एक सेकेन्ड पनि बस्न मन लागेन । कताकता रिंगटा चलेजस्तो अनि शरिर पुरै तातो भएर आफ्नै शरिरले आफैलाई नै पोलेजस्तो भयो । पानी पिएँ । तर तातो कत्ति कम भएन । पिउनलाई बोलाएर भनें – “मलाई आज अली सन्चो छैन । ज्वरो पनि आउला जस्तो छ । म घर गएर आराम गर्छु । ड्राइवरलाई भन्दिनु”।
दिउसै घर पुगें । घरमा कोहि थिएनन । श्रीमती अफिस गएकी थियी । छोराछोरीहरू कलेज । म एक्लै थिएँ । एक हिसाबले मलाई यो समय ठिकै लाग्यो । म यतिबेला एक्लै नै हुन चाहेको थिएँ । कुनै कुरा समस्या पर्दा म श्रीमतीको सल्लाह लिन्थें र दुबै मिलेर समाधान गर्थ्यौ । तर आज ? यो यस्तो समस्या पर्यो कि एक्लै समाधान खोज्नु पर्ने । अझ समाधान नै नभएको समस्या जस्तो भयो मलाई । भन्छन नी – चक्कु माथी फर्सी खसेपनि या फर्सी माथी चक्कु खसेपनि आखीर काट्ने त फर्सीलाई नै हो । हो त्यहि चक्कु बनेर आई आज मनिता मसँग ।

कोठामा पुगेर कपड़ा खोलेर फालें । मलाई सॉंचिकै हनहनि ज्वोरो आएजस्तो भयो। सिरक ओढेर गुडुल्किएँ । अनि अघि पत्ता लगाएका दुईवटा बाटाहरुमा मन्थन गर्न थालें । एक एक गरेर दुवै उपायहरुलाई सोच्न थालें र उपयुक्त उपायबारे निर्णय लिने बिचार गरें । तर दुइटै बाटाहरु बिचमा जोडिन्थे र कैंची बनेर मेरो शरीरलाई दुइतिर चिर्दै गए ।
पहिलो बाटोलाई मनले ठाडै अस्वीकार गर्यो । म सिडिओ जस्तो मान्छे समाजले के भन्ला ? समाजको कुरा छोडौं । श्रीमतीले के भन्ली ? जसलाइ मैले उसँग नै मेरो पहिलो सम्भोग भनेर ढाँटेको छु । म प्रतिको उसको बिश्वास कहाँ जाला? फेरी कल्पनाले पनि त श्रीमतिको अधिकार खोज्ली ? म के दिउँला ?

दोस्रो बाटो केही नरम देखियो । हुन त मैले मनितालाई यत्तिकै छोडिदिए पनि यसले अदालत जाली, मुद्दा जित्ली, र नगरिकता लेलि आखिर उसलाई नागरिकता न चाहिएको हो ? म किन बाउ बनेर बिचमा आउनु पर्यो ? तर यो पनि अलिकति त अन्याय नै भयो । मेरो आफ्नै छोरी पनि कोहि सी डी ओ को छोरी हुने अनि कोहि जाबो नागरिकताका लागि बर्षौ संघर्ष गर्नुपर्ने?

फेरी पहिलोमा आएँ । जे भए पनि मनिता मेरी छोरी हो । मेरो रगत हो। आजसम्म मेरो कारणले आमाछोरीले जे जति दुख पाए । अब म थप दुख दिन चाहन्न नत्र म पापी ठहरिने छु । मेरो रगत हो । मेरी छोरी बराबर उसको पनि हक छ । समाजले जेसुकै भनोस । कल्पनालाइ आज यो अवस्थामा ल्याउने दोषी म नै हु । म बरु संजय पाउन तयार छु तर पापी हुन चाहन्न । मैले म मनिताको बाबू हुँ भन्ने बित्तिकै पाँच मिनटमा उसको नागरिकता बन्छ । अदालत गए भने पाँच बर्ष पनि लाग्न सक्छ ।

फेरी दोस्रो तर्क आयो – मेरी श्रीमती माथी अन्याय हुन्छ । उसलाई सौता म कसरी हालुँ ? मिडियामा समाचार आउँछ । मैले आजसम्म कमाएको ईज्जत सबै जलेर खरानी हुन्छ ।
तर्कहरु जुधिरहे । आखिर एउटा निष्कर्षमा त आउनु नै थियो। अन्तमा जे त होला भनेर मैले एउटा मध्यमार्गी योजना बनाएँ । मोबाइल उठाएँ । कोटबाट अघि मनिताले दिएको कागजको टुक्रा हातमा लिएँ र फोन हानें । तीन घण्टीमा फोन उठ्यो । मनिताले फोन उठाई । “म सिडीओ बोलेको भोली आमालाई लिएर १२ बजे तिर अफिसमा आउनु । केही उपाय होला जस्तो छ” । यति भनेर फोन राखिदिएँ ।

भोलीपल्ट मैले अफिसमा कल्पनाको प्रतिक्षा गरेर बसें । नभन्दै बाह्र बजेतिर आमाछोरी कोठा भित्र पसे । कल्पनालाई त मैले देख्ने बित्तिकै चिनिहालें । लगभग उस्तै नै रहिछ । आज उसले कलेजी रंगको सारी लगाएकी थियी, पहिले भन्दा अली मोटाएकी । देब्रे गालाको कोठी अली ठुलोपनि भएछ । कल्पनाले मलाई नमस्ते गरी । मैले नमस्ते फर्काएँ । सानो बालाक ले भर्खर पाएको गुडियालाइ जस्तै मैले आखा नझिम्कियाइकन कल्पनालाई हेरिरहें । उसले भने कतिखेर मलाई कतिखेर छोरी अनी कतिखेर भित्तातिर हेरिरही । उसले मलाई चिनेजस्तो कुनै हावभाव नै देखाईन । भनौं उसले मलाई चिनिन । बिचरा चिनोस पनि कसरी । २४ बर्षमा म निक्कै बदलिएको थिएँ । मैले पो उ आउँदैछ छ भन्ने थाहा थियो र चिनें । बाटोमा देखेको भए त चिन्ने पनि थिइन होला ।

उनिहरूलाई बसाएपछी मैले नै कुरा निकालें । कल्पनालाई हेरेर भनें- “मलाई हजुरको छोरीले सबै भनिन् । आमाको नाम बाट नागरिकता दिलाउन अहिले असम्भव नै छ । संसदमा नागरिकता सम्बन्धि नया बिधेयक बन्दैछ । बहस पनि हुँदैछ । सडकमा पनि दवाव आएको छ । त्यस बिधेयकमा आमाको नामबाट नागरिकता दिने बिषयमा केहि बुँदाहरु समेटिएका छन् । तर कहिलेसम्म पास हुन्छ थाहा छैन” । मैले यसो भन्दा कल्पनाले भुइँमा हेरिरहेकि थिई । उ केही बोलींन । बोली सुनेर पनि उसले मलाई चिनेको कुनै छनक दिईन ।
उनिहरु दुबै नबोले पछी मैले फेरी भनें – “तपाईहरुले निक्कै दुख पाउनु भएको छ । म सिडीओ भएर र सबै कुरा थाहा भएर पनि नागरिकता दिलाऊन नसक्दा मलाई समेत ग्लानि भएको छ । तर मैले आफ्नो रिस्कमा एउटा उपायले नागरिकता बनाइदिन सक्छु ।”

मेरो कुराले आमा छोरीको अनुहारमा खुसि दौडियो । बल्ल कल्पना बोलि “सर, एक त हामीलाइ भाग्यले ठग्यो । त्यसमाथी अहिले सरकारले ठग्दैछ । हामीहरू त अरुद्वारा ठगीन मात्र यहाँ जन्मेका हौं जस्तो लाग्यो । के पो त्यस्तो उपाय होला र हामी अभागीहरुको लागि ? ”
“हेर्नुस यसमा थोरै रिस्क त छ, तर तपाइहरुको दुख देखेर म यति रिस्क उठाउन तयार छु । कुरा के भने- छद्म नै भएपनि सुरज शर्मा मनिताको बाबुको नाम हो । मनिताको नागरिकतामा उसको बाबुको नाम “सुरज शर्मा” राखेर नागरिकता बनाउन सकिन्छ । अरु बन्दोबस्त म मिलाउँछु ।”

कल्पना केही बोलिन । मानौं उसलाई मेरो कुराले कुनै फरक पारेको छैन । वा भनौ उसले मेरो कुरा सुनेकै छैन । म त उसलाई नै हेरिरहेको थिएँ । तर उसले मलाइ हेर्दा पनि हेरिन । धेरै बेरपछि उसले छोरीको अनूहारमा हेरी । अनि मलाइ हेरेर भनी- “मलाइ सुरज मनिताको बाउ हो भन्ने कुनै रहर छैन सी डी ओ साब । र हामीलाई त्यो धोकेबाजको नाउँ नागरिकतामा राख्नु पनि छैन चाहे नागरिकता नै किन नबनोस् । जहिले सम्म मेरो आफ्नै नामबाट नागरिकता बन्दैन । मेरो छोरी अनागरिक नै रहन्छे । जाउँ छोरी हिँड” यति भनेर कल्पना जुरुक्क उठी ।

त्यसपछि उनिहरु दुबै जना उठेर ढोकाबाट बाहीर जान लागे । मैले उनिहरुलाई एकछिन बस पनि भन्न सकिन । छोरी अगाडी थिई । कल्पना पछाडी । छोरी ढोका बाहिर निस्केपछी कल्पना ढोकामा टक्क रोकिई र एकछिन एकोहोरो म तिर हेरीरही । उसको हेराइ ठ्याक्कै आजभन्दा २४ बर्ष अगाडी मैले उसलाई स्याङ्जामा छोडेर हिँड्ने बेलाको जस्तो थियो । फरक यत्ति थियो –उतिबेला मैले उसलाई छोडेर हिँडेको थिएँ, यतिबेला उसले मलाइ ।

तपाइँको प्रतिक्रिया