शुक्रबार, चैत १६, २०८०

रोनाल्डोसँग कुरा नमिलेपछि जुभेन्ट्स प्रशिक्षक निकालिए

नेपाल प्लस२०७७ साउन २७ गते २०:०६

गोविन्द मगर, मिलान, इटाली

खेलाडी क्रिश्चियानो रोनाल्डोसँग मतभेद चुलिँदै गएपछि जुभेन्ट्स प्रशिक्षक मौरिजो सारीको जागिर खोसिएकोछ । मिडियासँग बडो अमैत्री व्यवहार गर्ने, थोरै बोल्ने र खेलाडीहरुसँग दोहोरो सम्वाद गर्न नरुचाउने भनेर पत्रपत्रिकामा आलोचना खेपिरहेका मौरिजो पछिल्लो पटक असाध्यै चुरोट खाने निकोटिनका नशालु कोचका रुपमा चिनिएका थिए ।

खेलाडीहरुको कपडा फेर्ने कक्ष, शौचालय जस्ता चुरोट पिउन प्रतिबन्ध लगाइएका ठाउँमा चुरोट पिइरहेका अम्मली भनेर लण्डनमा अखबारहरुमा समाचार आइरहने यी प्रशिक्षकले इटालीमा रँगशाला भित्रै चुरोट पिएका थिए । यसरी प्रतिबन्धित स्थानहरुमा धुमपान गर्नु अनुशासन विरुद्धको काम हो भनी रोनाल्डोले उनको नराम्रो बानीको बिरोध गरेका थिए ।

रोनाल्डोले यस अघि नै प्रशिक्षकको खेल सम्बन्धी तरीका आफूलाई चित्त नबुझेको बताएका थिए । बिना कुनै तयारी बीचैबाट निकालिदिँदा आक्रोशित भएर रोनाल्डोले उनलाई अपशब्द सहित गाली गरेका थिए । जुभेन्ट्स क्याप्टेन जियोर्जियो चिलेनीले मौरिजोको चुरोट पिउने बानीले हैरान भएको बताउँदै मौरिजोको मुखबाट निकोटिन ह्वास्स गन्हाउने बताएका थिए ।

मौरिजोको ठाउँमा इटालीबाट चर्चित पूर्व फूटबल खेलाडी आन्द्रेया पिर्लोलाई ल्याइएकोछ । प्रशिक्षणको खासै अनुभव नभएका पूर्व खेलाडीलाई ल्याएर नयाँ प्रयोग थालेको बताउँदै जुभेन्ट्स क्लबले बार्सिलोनामा ग्वार्डिएला र रियल मेड्रिडका जिनेदान जिदानेले झै पिर्लोले सफलता पाउने कुरा बताएको छ । स्मरणीय छ, पेप ग्वार्डियला र जिदाने आफू अनुबन्धित क्लबमै प्रशिक्षक भएर सफलता हात पारेका खेलाडी एवं प्रशिक्षक हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक