शुक्रबार, मंसिर १२, २०७७

धनीलाई फुस्का घर र नदी किनार, गरिवलाई अग्ला भवन

ददि सापकोटा२०७७ भदौ २१ गते १४:०६

फ्रान्स आएको केहि सातामै अलिनले मलाई शिकार आरक्ष लैजान खोजिन् । शिकार आरक्ष वरिपरिको वस्ति देखाउने रहर उनको । मेरा खुशिका सिमा रहेनन् त्यो बेला । शिकार आरक्ष अलि काँठतिरै थियो । मान्छेको बाक्लो वस्ति । शहरभन्दा अलि पर । रेलमा जाने सल्लाह भयो । पेरिसको त्यो काँठ घुम्न ।

डिब्बै डिब्बा उनेर बनाएको लामो न लामो । अरिगाँठे जसरि दगुर्ने रेल देखेपछि मैले भनें ‘ए ए डिब्बा बनाएर एउटाले अर्को डिब्बालाई तान्ने बनाइदिए त नेपालमापनि हुन्थ्यो होला । ओहो यत्ति जानिदिए त एकै पटकमा आठ सय मान्छे बोक्ने चिज पो बन्दो रैछ’ ऊ हाँसी मात्रै ।

जाँदाजाँदै बाटोमा विशाल गाई फार्म देखाइन् । सयौं हेक्टर जमिनमा हजारौं टाटेपाटे गाइहरु स्वतन्त्र  चरिरहेका थिए । जाडो, गर्मी, असिना पानी पर्दा ति बडेमानका फिलिम हलभन्दा अझ भयंकर गोठमा बस्ने रहेछन् । दाम्लो बाँध्नु नपर्ने । वरिपरिबाट तारका बार लगाइदिएपछि ति भित्रै कैदी बन्ने रहेछन् ।

मलाई अचम्म लाग्यो ‘यति धेरै गाई मालिकले कसरि चिन्दाहुन् ? मैले अलिनलाई भनें ‘हामीले त मान्छेकै झैं हरेक गाइका नाम राख्छौं  ‘तिल्के गाई, गुरि गाइ, सुपारे, काली, पाटे, पेटारे, लौके, धमिरे आदि आदि ।’ यतातिर भने गाईका कान छेडेर तिनमा नंबर राखिदिने रहेछन् । त्यहि नंबरले गाई चिनाउने रहेछ ।

गाई दुहुने चलन गज्जबको रहेछ । तिनका थुनमा बडेमानका सुई लगाइदिएपछि दुइवटा घूँडामा बाल्टी च्यापेर दुहुन नपर्ने ।  गाईले लात्ता पड्काएर बाल्टी फाल्देला । रिसले लात्तो पड्काएर आफैंलाई ढालिदेला भन्ने त्रासपनि नहुने । तल बाल्टी राखिदियो एक्कैछिनमा दुध त हुलुलु खस्ने ! बाल्टी त क्षणभरमै टिलपिल टिलपिल । कस्तो गज्जब तरिका !

हाम्रातिर एउटा परिवारले दुई चार वटा गाइ पाल्यो । केहि भैंसी बाँध्यो । दुइ तिनवटा बाख्रा र खसिबोका स्याहार्‍यो । तिनलाई खुवाउन, पिलाउन, भकारो सोहोर्न, आहाल बसाउन सम्पूर्ण परिवार लाग्यो । यति सानो पशुपालनले कहाँबाट परिवार उँभो लागोस् ! यता एउटै परिवारले हजारौं गाइ पाल्दारहेछन् । हजारका हजार लिटर दुध, दहि न्वाउनी र चिज बनाएर बेच्ने रहेछन् । बडमानका कन्टेनरमा हालेर राखिदिएपछि गाडी आएर आफैं बजार लगिदिन्छन् । बिल दिन्छन् । समयमा पैसो आफ्नै बैंक खातामा जम्मा हुन्छ । किसानलाई कति हाइसन्चो !

गाईपालन हेरेर निस्किएपछि खोँचमा एउटा घर देखें । खरले छाएको । घर त धेरैनै थिए । तर एकाध घर मात्रै घरले छाएका । त्यो देख्दा मलाई लाग्यो, यो गाउँमा केहि गरिबपनि बस्दा रैछन् । अलिनलाई भनें ‘ए ह्याँपनि गरिप मान्छे बस्दा रैछन् है ?’

उसले अचम्म मानी ‘हैन यहाँ त धनी मानिस बस्छन् खरले छाएको घरमा ।’

‘धनीहरुले खरले छाउने ? खरले छाउने घर कसरि धनीको हुन्छ ?’ म जिज्ञासु भएँ ।

उसले भनि ‘ ददि खर उमार्न धेरै मानव शक्ति चाहिन्छ । मानव श्रम यहाँ मेशिनभन्दा महँगो पर्छ । चार पाँच महिनासमम त्यो खर उमार, काट, जतन गर, ल्याउ, रेखदेख गर, घरसम्म ल्याएर फेरि छानोमा चढाउँदा मानव श्रम धेरै लाग्ने हुनाले यो अझ महँगो पर्छ । यति धेरै काम लगाउँदा मान्छेको स्वास्थ्यको विमा हुनुपर्छ । ऊ दूर्घटनामा पर्ला भनेर अर्को विमा हुन्छ । धेरै मानिस मिलेर यो काम गर्दा महँगो पर्छ । ईटा र टायल मेशिनले एकै घण्टामा हजारौं लाखौं बनाउँछन् । त्यसैले त्यो सस्तो पर्छ । त्यहि भएर हुनेखानेहरुले मात्रै हो खरले छाउने । र यस्ता फुस्का घरमा जो जो बस्छन् ति सब धनी हुन् ।’ म चित खाएँ ।

हामीहरु फनफनी घुमेको वाज नदीको किनार पुग्यौं । यो नदीको किनार यति सफा थियो कि मेरा आँखा आफ्नै वागमती, विष्णुमती र मनोहरा खोलामा पुगे । हाम्रा नदीका किनार डम्पिङ साईट बनिरहेको देखेर अभ्यस्त  आँखा यो नदीको किनार देखेर अच्म्मित भए । यताको नदी किनारमा बस्ने गरिवहरुले सरसफाईमा औधी ध्यान दिने रहेछन् भन्ने पर्‍यो । मैले भनिहालें ‘यताका गरिबहरुले फोहोर नगरि बस्दा रैछन् ।’ ऊ हाँसेर मुर्छित भइ ।

मैले सोधें ‘किन त्यस्तरि हाँसेको ?’
‘तिम्रो कुरा सुनेर’ ऊ फेरि हाँसी ।
किन ?
‘ह्याँको नदी किनारमा बस्नेहरु त सबै धनाढ्य हुन् । यता नदी किनारमा घर हुनु भाग्य हो । यहाँ गरिबहरु अग्ला अग्ला घरमा बस्छन् । धनीहरुले नदी किनारका घर किन्छन् । किनभने नदी किनार मानव सभ्यताको थलो हो । नदीको किनारमा बस्दा जिवन स्वच्छ हुन्छ । प्राक्रितिक सौन्दर्यको आँखा अगाडि बस्न टन्न पैसा हुनुपर्छ । ‘

खर, नल र परालले छाएका घरको जिज्ञासा मेरो मनमा रहिरह्यो । निरन्तर यस्ता घरले मेरो दिमाख चाटिरह्यो । यि घरबारे बुझ्न खोजें । पछि थाह भयो- फ्रान्सेलीहरु कटेजलाई सौमियर भन्दा रहेछन् । यस्ता घरहरु फ्रान्सको रुअँ शहर नजिक धेरैनै रहेछन् । परपरागत रुपमा छप्परको छाना माटोको ओछ्यान माथि हुन्छ जहाँ आईरिस (IRIS) भन्ने विरुवा रोपिएका हुन्छन् । आइरिसको जरा, वा डाँठले जालोझैं जेलेर बस्न मद्दत गर्छन् । त्यसले घरको छत बलियो त पार्छनै, फूल फूल्दा निलो फूलले सुन्दरता दिन्छ । नफूल्दा हरियाली भैरहन्छ । त्यस्तो छानाले अधिक चिस्यान हटाउन मद्दत गर्दछ । नोरमदीका कटेजहरुमा सोमियरमा प्रायः आधा काठको पर्खाल लगाएको हुन्छ । यस्ता कटेजखाले घर प्रसिद्द भेसाई दरबार रहेको शहर भेसाईमापनि छन्।

नोरमदी परपरागत घरको उदाहरण हेर्न पाइने क्षेत्र हो । त्यसो त, फ्रान्सको नोरमदी र युरोपमा बेलायतका टापू, जर्मनी लगायतका देशमापनि पाइन्छ यस्ता घर । सोभियर भन्ने नामनै घरको छप्परको कौसीबाट राखिएको हो । यस्ता घरका छाना गहुँ र जौको नल, नर्कटबाट बनेको हुन्छ । सौमियर शब्द फ्रान्सेली भाषामा पारिवारिक घर, कुटीर वा परिवारलाई पनि प्रयोग गरिन्छ ।

पहिले स्थानीय सामग्री प्रयोग गरेर नोरमदीका सोमियरहरू निर्माण गरिएको थियो । तिनीहरूले गरीब किसानहरूलाई साधारण र सस्तो घर बनाउन अनुमति दिन्थे । माटो, ढुंगा, काठ र तोरीको खसेटो, गहुँको नल वा अन्य खेतीको सुकेको नलमा पानीले भिजाएर चपक्क पारेपछि छाउने गरिन्थ्यो । यस्तो घर बनाउन सस्तो र सजिलो थियो । किनभने स्थानिय स्तरमै उपलब्ध साधन प्रयोग गर्न पाइन्थ्यो ।

नोरमदीका सोमियर (कटेज) हरुको जगमा फ्लिन्ट भनिने एक खाले ढुंगा लगाइन्छ । यसले घरलाई बलियो आधार र राम्रो आइसोलुसेल प्रदान गर्छ । पर्खाल र छतमा आधा जसो काठको प्रयोग हुन्छ । काठका पाटाहरुलाई टर्चिस भनिने एक खाले प्राक्रितिक टाँस्सिने सिमेन्ट जस्तो पदार्थले जोड्ने गरिन्छ । टर्चिस भनेको यस्तो स्थानिय वस्तु हो जुन पानी, माटो र गहुँ वा जौको नल पिँधेर सबै घोलेर बनाइन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक