सोमबार, असोज १२, २०७७

यस्तो लाग्यो, मिठो पानीको एउटा टुटी फेला पर्दैछ

गुमनाम परदेशी२०७७ भदौ १७ गते १०:४३

रातभरि जून लागे, छ्यांङ आकाश देखियो । समुद्रको पानी पर पुगेको छ । मलाई पानी छुन नपरोस यो रातभरि- म आकाश छुन आएको यहाँँ । ४ दिन देखि यस्तै चलेको छ । रातभरी समुद्र हेर्छु । समुद्र हिँड्छ-यहाँ देखि उहाँसम्म- आकाशको जूनलाई कप्लक्क निल्छ यसले । नरिमन पोइन्टको छेवैबाट समुद्रसँग जोडीँदै एउटा बडेमानको बाटो हिंडेको छ । दादर, जुहु र बिलेपार्ले हुँदै अझै माथिसम्म पुग्छ । तल अलि घुमाउरो पर्दै गेटवे अफ इण्डियासम्म जोडिन्छ शायद । बाटोको देब्रे पट्टी टमक्क मिलेको म जत्रै अग्लो दिवार छ । दिउँसो समुद्रको छालका बाछिटा बाटोसम्म आइपुग्छन । मलाई त्यो अग्लो भित्तोमा ठोक्किएर बाटोभरि छरलिएका पानीका थोपाको असाध्यै मायाँ लागेर आउँछ । यिनले अब कहिल्यै सागर फेला पार्ने छैनन ।

देब्रेपट्टिको दिवार मुन्तिर लस्करै सजिएका बडेमानका ढुङ्गाहरु छन । ढुङ्गाहरुको अल्ली उँधो बगर छ । मरुभूमी जस्तो । कहिल्यै पानी नपरे जस्तो । तर दिन ढल्किने बेलासम्मै पानीले ढाकिन्छ । माथिका ति बडेमानका ढुङ्ङा चुर्लुम्म डुब्छन समुद्रमा । साँझ परेपछि फेरि सास फेर्छन् ढुङ्गाहरुले । राती म तिनै ढुङ्गाको एउटा कोप्चेरोमा सुत्छु । झोलामा एउटा खास्टो छ । दुई वटा कमिज । गाउँमै सिलाएका हेटौंडे जिन्सका दुई वटा पतलुन र तीन जोर जनै छन् । बाले खै कता जाँदा किनेको रिडिको खास्टो हो रे । तातो छ । म जस्तै अरु केहि मान्छे सुत्छन् त्यसरी । रेल स्टेशन र अरुतिर सुत्यो भने पुलिसले पिट्छ । पहिलो रात म सुत्दै नसुती स्ट्रीट लाइट्को उज्यालोलाई ट्वाल्ल हेरेर बिताएको छु ।

म भन्दा अल्लि उता ढुङ्गाको मुनीपट्टी एउटा केटो सुत्छ । मेरठ युपीको हो । उ त्यहाँ आउने बेला एउटा इत्रुको प्लास्टिकमा वडापाउ लिएर आउँछ र क्वाम क्वाम खान्छ । “कुछ बना क्या” उसले सोध्यो । मैले टाउको हल्लाएँ “बनेगा क्या, कुछ नही” । त्यसको नाम मैले बिर्सें, उ काम खोज्दै आएको हो । बाउको मृत्‍यु भएपछि आय भएन । घर चलाऊन केही काम पाउँछु कि भनेर आएको रहेछ । केही महत्वाकांक्षा छैनन उसका ।

‘यो दुनियामा खुट्टा टेकेपछि सबैलाई बाँच्न मन लाग्छ । बाँच्ने बाटो खोज्दै छु- उ भन्छ । महत्वाकांक्षा छैननन्, त्यसैले ढुङ्गामा सुतेर पनि उ खुशी छ । मलाई ढुङ्गो बिझाउँछ । आकांक्षा चुलिएका छन नि त मेरा – म झल्झली घर सम्झिन्छु ।

नरिमन पोइन्ट भन्दा अलिमाथि चर्चगेट पर्छ । चर्चगेट बम्बईका धेरै मजदुरहरुको टूलो जक्सन हो, खास गरेर बिहार र पश्चिम बंगालबाट आउने मजदुरहरुको बाहुल्य छ बम्बई भरि । धेरैजसो मान्छेसँग गतिलो वासस्थान छैन । इत्रुको ‘खोली’ मा दर्जनौं मजदुरहरु खाँदिएर बस्छन् । यिनिहरु नै हुन् दिनभरि महाराष्ट्रियनहरुको स्याहार सुसार गर्छन् । राती चिसो ‘खोली’ मा घुँडा खुम्च्याएर रात बिताउँछन । यिनले सम्मानित शब्द कहिल्यै पाउँदैनन- यो शहर नै यस्तै छ ।

“बिहारी साला”- उत्तर भारतबाट बम्बई छिर्ने जो सुकै यही उपनामबाट चिनिन्छ । हाम्रो कुरो अर्कै छ । हामी बहादुर हौं । धेरैले गर्व गर्छन् बहादुर भनिँदा । मलाई भने सबभन्दा अरुचिकर लाग्ने यहि शब्द हो । हामीले हाम्रालागि भन्दा अरुका लागि धेरै पटक बहादुरी देखाएका छौं, त्यसैले भारतभरि यो शब्द ‘पपुलर’ छ । चर्चगेट र अर्थर रोडको वरिपरि बस्ने तिनै मजदुरहरु एकाबिहानै समुद्रले छोडेको बगरमा लस्करै हग्न बस्छन । दिन छिप्पिँदै जाँदा समुद्र सुस्तरी आउँछ । तिनिहरुको फोहोर सोहोरेर लैजान्छ । मैले तीन दिन देखि त्यस्तै देखिरहेको छु । हुन त धेरै अघिदेखि चलेको होला । अती उदेक लाग्दो देखिन्छ यो ।

पाँच दिन समुद्रको छेउमा रात बिताएपछी मैले नरिमन पोइन्ट छोडें । पछिल्लो रात पानी पर्‍यो । ओतिने ठाँउ भएन । अनी फेरि यसरी ओडारमा बसेर कसरी फेला पर्ला मैले खोजेको सगरमाथा । म हिंडें बिहानै । झोला खोलेर हेरें । खास्टो भिजेको छ रातिको झरीले । कतै पार्कमा सुकाउनु पर्ला । अस्ती आठ आना तिरेर नुहाएको त्यसपछी नुहाएको छैन । फ्लोरा फाउन्टेनको पछाडिपट्टी यस्तै एउटा ठाउँ छ नुहाउने र कपडा धुने । दिउँसो कतै भेट्टिएन भने फर्किनु पर्ला । म हिँडे । बसिरह्यो भने होचो भइन्छ । आकाश छुनका लागि उठ्नु पर्छ- तनक्क तन्किनु पर्छ ।

तीन दिन सम्म तारन्तार फोन गरेपछी हरमेश मल्होत्रासँग बल्ल कुरा भयो । उनले फिल्म सिटी बोलाए, दिनको १ बजे । म कसरी त्यहाँ पुगें भन्ने कुरा धेरै त बिर्सें । तर बसबाट गोरेगाँव झरेपछी फिल्मसिटी पुग्न एउटा इत्रुको पहाडको भितै भिता आधा घण्टा हिंड्नुपर्छ । त्यसको अली वल्तिर कमलिस्तान स्टुडियो छ शायद । मैले यि दुबै स्टुडियोको पटक पटक चक्कर लगएको छु ।

एक बज्नु भन्दा अलिकति अघि म गेटमा पुगेर नाम लेखाएँ । एक जना मान्छे लिन आयो । भन्यो- “अच्छा आप हो , नेपाल से हिरो बन्ने आए हो” । ‘जी’ – मैले भनें । त्यो मान्छे मुसुक्क हाँस्यो । ह्या के फरक पर्छ र मलाई । मल्होत्रा अर्को कसैसँग कुरा गर्दै थिए । तर तिनले पिर्लिक्क मेरो अनुहार हेरे । जिङ्ग्रिङ्ग परेको मेरो कपाल हेरे । म शायद त्यति रुचिकर लागिन तिनलाई ।

तिनी त्यो बेलाका सुपरहिट डाइरेक्टर । कम से कम भेट्न त पाएँ । अब बोल्नु छ तिनीसँग । ” बोलो बेटा मै क्या कर सकता हुँँ आपके लिए ?”- उनले भने । मेरो अनुहारमा अलिकती चमक आयो । यस्तो लाग्यो, अब जिन्दगीभर रसाउने मिठो पानीको एउटा टुटी फेला पर्दै छ । ” मुझे आपकी फिल्मो मे काम चाहिए”- मैले एक्कै सासमा भन्दिएँ । बुढा त ट्वाल्ल ! त्यो दिन मैले तिनीसँग एक घण्टा कुरा गरेहुँला । उनले हरेक पटक त्यहि कुरा भने- “वापस घर जाओ, अपनी पढाई पुरी करो । फिर आना” । बम्बईमा बाहिरबाट आउनेहरुले भन्ने एउटा पपुलर डाइलग छ- “मै वापस जाने के लिए नहीँ आया हुँ” । मैले त्यही भन्दिएँ । मेरो लागि यो सित्तैको पासा थियो । सत्र परे जित्थें, नपरे पनि हार्दिनथे ।

त्यो बेलुका हरमेश मल्होत्रा सँगै उनको घरमा गएँ । उनैले जाम भनेर । आज गतिलो सँग सुत्न पाउँछु । गतिलोसँग खान पाउँछु । मलाई अजीवको मायाँ दिए तिनका बुढाबुढीले । काम गर्ने मान्छेहरु पनि फरासिला । घरैभरि फिल्मका बडा बडा पोस्टर । एक छिन कोरीडोरमा उभिएर हेरेको हेर्यै भएँ म-“उफ एउटा पोष्टरमा म उभिन पाए” ।

तिनको घरमा अली बेर पार्टी चल्यो । जितेन्द्र थिए । अरुलाई खै मैले चिनिन । अलीबेर रक्सी पिए तिनिहरुले । मलाई कसैले सोधेन । म सानै पो छु कि क्या हो । अनी अर्को कुरा मेरो दिमागमा बसिरह्यो- उनिहरु सबै अंग्रेजीमा गफिएका थिए । म त अंग्रेजी बुझ्दिन नि । कालिका स्कुलमा पढेको मान्छे कसरी अंग्रेजी बुझ्नु । राम्रो सँग नेपाली पढ्न सक्ने भएँ त्यही ठुलो कुरो हो मेरो लागि ।

राती सुत्न जानु भन्दा एक्कैछीन अघी तिनले मेरो घरको फोन नम्बर मागे- “मै तुम्हारे पपा से बात करुङ्गा” । “हाम्रो पुरै गाउँमा फोन छैन । फोन त के बिजुली बत्ती पनि छैन । हामी मट्टीतेलको टुकी बाल्छौं” – तिनी दंगदास परे कुरा सुनेर ।

राती धेरै बेर सोचें- हरमेश मल्होत्राले ठीक भनिरहेका छन । फिल्ममा काम खोज्नु भन्दा पहिले मैले धेरै कुरा सिक्नुपर्ने छ । बरु म घरै फर्के जाती होला । अहिले त्यो बेलाको आफूलाई हेर्छु- सोह्र बर्षको केटो कत्रो हुन्छ होला ? इत्रुको । ह्या फर्किन्छु । सुरतका बाबालाई सम्झें । बरु त्यहाँ गएर संस्कृत पढ्छु । बिहानै मल्होत्रा परिवार सँग बिदा मागेर हिंडे । त्यो एक रात अनौठो थियो मेरो लागि । मल्होत्रा परिवार सधैंंभरि सम्झनामा रहिरहे । त्यहींबाट म पोखिन सिकें । र सिकेँ छरालिन ।

तपाइँको प्रतिक्रिया

फेसबुक