शुक्रबार, असोज ९, २०७७

ऐनाझैं टुटेको साहिर लुधियानावीको प्रेम कथा

महेन्द्र पौडेल२०७७ भदौ १८ गते ९:४७

बिसौं शताब्दीका भारतीय कवि तथा गजलकार साहिर लुधियानावीको जन्म ८ मार्च १९२१ भारतको पंजाब लुधियानामा बुबा फजल अहमद र आमा सरदार बेगमको कोखबाट भएको थियो । उनको नाम अब्दुल हई उनको बाबुले राखेका थिए । आमाबुबाको राम्रो सम्बन्ध थिएन । दिनहुँ झैंझगडा गर्थे । जमिन्दार खानदानी बाबुले दर्जनौं बिबाह गरेका थिए । तर सन्तानमा छोरा केवल साहिर मात्रै भए । आफ्नो छोराको नाम कुनै शत्रुको नामबाट बाबुले राखेका थिए । बाबुका शत्रुको नाम अब्दुल हई थियो । त्यतिबेला त्यो अब्दुल भयंकर बलियो हुनाले कसैले पनि उसलाई हराउन, जित्न नसकेका कारण बुबाको मनभित्र उसप्रति रिस उठिरहेको थियो । त्यसैले आफ्नो छोराको नाम शत्रुको नामबाट राखेर छोरालाई बाटो, घाटो छरछिमेकमा गाली गरेर चिच्याउँदै बोलाउँथे । तब उनको मन शान्त हुन्थ्यो । लाग्थ्यो शत्रुलाई गाली गरेको छु ।

जब आमाबुबाको झगडा हुन्थ्यो बाबुले आमालाई पिट्थे । साहिरलाई सह्य हुँदैनथ्यो । तर उनले केही गर्न सक्दैनथे । भित्रभित्रै बुबाप्रति साहिरमा नकरात्मक भावना पैदा हुँदै गयो । बुबाआमाको लडाईले साहिरको कोमल हृदय छियाछिया हुनथाल्यो । एकदिन लडाई झगडाबिच छोरो लिएर आमाले घर छाडिन् । पंजाबबाट दिल्ली आइपुगिन् । दिल्लीबाट आग्रासम्म यात्रा तय गरिन् । रेलको लिगनेरको कच्चीघरमा साहिर हुर्कँदै गए । जबजब साहिर बढ्दै गए, पढ्दै गए । उनमा गजलप्रति साहित्यप्रति प्यास जाग्दै गयो । आमा बुबाको झगडा र आमाको बैचन जिन्दगी देखेर साहिरको मनप्रति सदैब आक्रोस उत्पन्न हुन थाल्यो । यो आक्रोस तत्कालिन सत्ताप्रति, समाजप्रति उनले देखे । जब उनी १९ वर्षका भए उनले एउटा कबिता लेखे । कबिताको नाम थियो ‘ताजमहल’ ।

कलेज पढ्दै गएका साहिर कबिता लेख्दैगर्दा चर्चित हुँदै गए । त्यसैबखत उनले आफ्नो नाम ‘साहिर’ राखे । यसको मतलव हुन्छ जादुगर । आफू लुधियानामा जन्मेका कारण त्यसलाई मिलाएर लुधियानावी राखे । उनको कलेजमा प्रेमा चौधरीसँग प्रेम सम्बन्ध रहन पुग्यो । एकदिन प्रेमासँग साहिरले कलेजको बगैंचामा गफगर्दै थिए । केटीको बाबु त्यो बेलाको धनिमान्य थियो । साहिरसँगको सम्बन्ध प्रेमाको बाबुलाई चित्त बुझेन । किनभने साहिर गरिब थिए । त्यसैले उनलाई कलेजबाट निकालिनु पर्यो । यही मौंकामा उनले ताजमहल भन्ने गजल कोरेका थिए जसको अंश हो यो १९ वर्षको उमेरमा कोरेको कविता–

‘इक शहंशाह ने दौलत का सहारा लेकर
हम गरीबों की मोहब्बत का उडाया है मजाक
मेरी महबुब कहीं और मलिा कर मुझ से’

पहिलो प्रेम टुटेपछि साहिर विक्षिप्त बने । उनमा चुरोट पिउने नशा जाग्न थाल्यो । त्यसपछि यिनको प्रेम अमृतासँग हुन थाल्यो । पंजाबको प्रीतनगरस्थित एक गजल समारोहमा साहिर र अमृताको भेट हुन्छ । दुवैले आफ्नो शेरहरु भन्छन् । दुवैले एक अर्कालाई सुन्छन् । आँखालाई शब्दको आवश्यकता पर्दैन । आँखैबाट दुवैलाई प्रेम हुन्छ । अमृता आफ्नो विवाहबाट सन्तुष्ट थिइनन् । उनको सानैमा बिवाह भएको थियो । साहिरको गम्भिरता र अमृताको सुन्दरको मिलनले एकअर्कालाई चुम्बकझैं तान्छ । यसरी तान्छ कि आजपनि उनीहरुका बीचमा धेरै फिल्मका कथाहरु बनेका छन् । अमृता र साहिरले धेरै वर्षसम्म पत्रबाट आफ्नो भावनाहरु साटासाट गरे ।

साहिर अमृताको घरमा आउँछन् । घण्टौंसम्म एउटा रुममा बसेर सिगरेट पिउँछन् । आधा निभाउँछन । फेरि अर्को सल्काउँछन । यसो गर्दागर्दै जुरुक्क उठेर हिँड्छन् । केही बोल्दैनन् । जब साहिर निक्लन्छन् अमृताले साहिरले जुठो हालेका सिगरेटका ठुटाहरुलाई सँगालेर एउटा बटृामा राख्छिन् र घरको दराजभित्र थन्काउँछिन । आधा सिगरेटलाई जलाएर पिउँछिन् । उनले त्यहीँबाट सिगरेट पिउन सिकेको भन्ने उनको आफ्नो जीवनी लेखेको किताव ‘रसिदी टिकट’मा लेखेकी छिन् ।

अमृतालाई जब एक्लो अनुभव हुन्छ दराजबाट सिगरेट निकाल्छिन् र साहिरको यादमा मस्त डुबेर सिगरेट पिउँछिन् । उनलाई लाग्दछ कि मेरो औंलाले साहिरको औंलालाई छोएको छ । जब सिगरेट च्याप्छिन् उनले यही सोच्छिन । साहिर अमृताको प्रेममा पागल थिए । अमृता पनि साहिरको प्रेममा पागल थिइन । एकदिन साहिरले अमृतालाई भने ‘हामी चीन जाऔं उतै घरजम गरौं उतै बसौ ।’ साहिरको पलायनबादी सोच अमृतालाई राम्रो लागेन । अमृता साहिरसँग बिवाह बन्धनमा बाँधिन चाहन्थिन् । प्रेमलाई सम्बन्धमा परिणत नगरीकन दुवै मौन बसे । एकदिन साहिर मुम्बई पुगे । मुम्बईमा साहिर सफल हुँदै गए । सफलतासँगै साहिरको जिन्दगीमा त्यो बेलाकी प्रख्यात गायिका सुधा मल्होत्राको प्रवेश हुन्छ ।

जब गायिका सुधा मल्होत्राको उनको जिन्दगीमा आउँछन् अमृतासँगको सम्बन्ध साहिरको सकिन्छ । त्यहीबेला अमृताको आफूभन्दा दशवर्ष कान्छो इमरोजसँगको प्रेममा पर्छिन । इमरोजलाई साहिर र अमृताको प्रेम कहानी थाहा हुँदाहुँदैपनि अंगाल्छन् त्यतिबेला । जब अमृता इमरोजको मोटरसाइकलको पछाडि बस्दापनि इमरोजको ढाडमा साहिर लेख्थिन रे । इमरोजलाई यस कुराले खासै प्रभाव पार्दैनथ्यो । अमृता इमरोजलाई भन्थिन कि तिमी किन ढिलो भेट भयौं भनेर । साहिरसँगको भावनात्मक प्रेम र इमरोजसँगको शारिरिक प्रेम हुनपुग्यो अमृताको । इमरोज र अमृताको पनि उत्कृष्ट प्रेम कहानी छ त्यो अर्को पाटो भयो ।

धेरैवर्षपछि एकदिन फेरि साहिर र अमृताको भेट हुन्छ । इमरोजले अमृतालाई भरपुर प्रेम गर्दथे । तब साहिरलाई चोट पुग्न थाल्यो । इमरोजले गरेको प्रेम देखेर साहिर छटपटाउन थाले । साहिर क्रोधित भएर उनले यो शेर लेखे–

‘महफिल से उठा जाने वालों
तुम लोगों पर क्या इलजाम
तुम आबाद घरों के वासी
मे आवरा और बदनाम’ ।

साहिरलाई खपिनसक्नु भो । उनले आफूलाई आवरा र बदनाम ठान्न थाले । सुधाको अथाह प्रेम पनि फिका लाग्न थाल्यो । अमृताको अधुरो प्रेमको पीडाबीच ‘मेरे नदिम मेरे हम सफर’ फिल्म भाइ बहनको एउटा सेटमा सुधा र साहिरको भेट भएको थियो त्यहि गीतबाट सुधा मल्होत्राको चर्चा चुलिँदै गएको थियो । साहिरलाई सुधा मनपर्न थाल्यो । अमृताको प्रेम विर्साउन उनले सुधालाई प्रेम गर्न थाले । एउटा प्रेम विर्साउन अर्को प्रेम गर्नुपर्ने हुन्छ । जुन कारणले पिडा भएको थियो त्यसको उपचार त्यही नै हुन्छ ।

यस्तो समय थियो कि जब बिहान हुन्थ्यो उनले सुधालाई फोन गर्दथे र कुनै गीत गाउन भन्दथे । सुधाले बिहानै बिहानै फोनमा साहिरलाई गीत गुनगुनाउँथिन् । साहिर ट्वाइलेट जान्थे । फ्रेस हुन्थे नास्ता खान्थे । सुधा गुनगुनाइरहन्थिन । साहिरको फोनलाई सुधाको पिताले अर्लम भन्थे । बिहान उठाउने अर्लम भनेर । दुवैको प्रेमको मुम्बई नगरीमा चर्चा हुन थाल्यो । साहिरले सुधाको बारेमा केही टिप्पणी गरेनन् भने सुधाले आफ्नो इज्जतको वेप्रवाह साहिरलाई दिल लुटाइरहिन् ।

साहिरले लेखेको एउटा गीत सुधाले गाएकी थिइन जसको शिर्षक थियो ‘कभी कभी’ । यस गजललाई धेरैपछि यश चोपडाले ‘इसी’ नामको फिल्ममा राखेका छन् भनिन्छ यस फिल्ममा साहिर र अमृताको प्रेम कहानी र कभी कभी फिल्मको कहानीका आधार हो ।

साहिरले लेखेको दुइदर्जन गीत सुधाले फिल्ममा गाइन् । अफवाह र किस्साहरु चल्दै गए । साहिरले सुधाका लागि विभिन्न म्युजिक डाइरेक्टर्सहरुसँग सिफारिस पनि गरे । आफूले लेखेका धेरै गीतहरु सुधामार्फत गाउन लगाए । प्रेमको पारो चढ्दै गइरहेको थियो । यस्तोमा एकदिन सुधाको बिवाह हुन पुग्यो ।

साहिर फेरि टुटे । उनी फेरि रक्सी र चुरोटको लतमा परे । यस्तोमा एकदिन एउटा पाटीमा सुधा र उनका श्रीमानसँग साहिरको भेट हुन्छ । साहिर क्रोधित भए । उनले त्यही पार्टीमा एउटा शेर सुनाए–

‘वो अफसाना जिसे अंजाम तक लाना न हो मुमकिन
उसे एक खूबसूरत मोड देकर छोडना अच्छा
चलो एक बार फिर से अजनबी बन जाएं हम दोनों’

यस शेरलाई बीआर चोपडाले यस्तो अवस्थामा एउटा फिल्म त बनाए र बजारमा आएन जसमा सुनील दत्त बने साहिर, साधाना बनिन सुधा र अशोक कुमार बने सुधाका श्रीमान । भनिन्छ फिल्म निक्लेन ।

सुधा मल्होत्रा सँगको सम्बन्ध यतिसम्म थियो कि साहिरले लेखेको एउटा गीतलाई सुधाले आफैं कम्पोज गरेर गाइन् । जुन गीतलाई कम्पोज गर्न कसैलाई दिइनन् । उनले यो गीत आफ्नै भावना, मनबाट गाइन जहाँ अफसोस अधुरो प्रेम कहानी बयान गरिएको छ –

‘तुम मुझे भूल भी जाओ, तो ये हक हे तुमको
मेरी बात और है, मैंने तो मोहब्बत की है,’

बारबार प्रेम टुटेर दिक्कदार भएको छोरोको हालत देखेर आमाले बिबाह गर्न दबाब दिन्छिन् । साहिर आमालाई बहुत प्रेम गर्दछन् । आमाको कुरा टार्न सक्दैनथे । उनको जिन्दगीमा आमा सबैभन्दा महत्वपूर्ण थियो । हरकोहीसँग गरिएका प्रेम आमाको डरका कारण आमासम्म पुग्न सकेन । आमाले अस्विकार गर्लिन भन्ने भय साहिरमा थियो । यस्तोमा एक दिन पाकिस्तानकी प्रभावशाली लेखिका हाजिरा मसरुरसँग साहिरको इन्गजमेन्ट हुनपुग्यो ।

एकदिन हाजिराले साहिरको कुनै उर्दु शब्दको बारेमा सच्याइन् । तब साहिरलाई सनक चढ्यो । साहिरले इन्गजमेन्ट तोडिदिए । हाजिराले पाकिस्तानका उर्दु पत्रिका ‘डान’ का सम्पदक अहमन अली खानसँग बिबाह गरिन् ।

साहिरको प्रेम टुट्दा टु्ट्दै बिबाह गर्न मनले मानेन । उनको जिन्दगीमा कैयौं युवतीहरु आए । तर अमृतासँगको प्रेम महँगो सावित भो । एक मित्र संगितकारसँग साहिरको झगडा कपका कारण हुनपुगेको थियो । ती मित्रले साहिरको टेवलमा रहेको पुरानो कप हटाउन सुझाव दिए । त्यो कप अमृताको थियो जुन कपमा अमृताले चिया पिएकी थिइन । जब उनी अन्तिमपटक साहिरको घरमा आएकी थिइन । त्यसैमा साहिर चिया पिउँथे । कप हटाउने कुरामा संगितकारसँग उनको झगडा भयो । वर्षौसम्म बोलचालन बन्द भै दुवै विते । यो कुरा अमेताको नजिककी साथी पाकिस्तानकी लेखिका फहमिदा रियाजले त्यहाँको पत्रिका ‘जंग’ मा साहिर र अमृताको अन्तिम भेटका बारेमा लेखेकी थिइन, जसलाई अमृताले उनीसमक्ष शेयर गरेकी थिइन –‘ जब अमृता अन्तिमपटक साहिरको घरबाट जानका लागि उठिन तब साहिरले भने– ‘तुम चली जाओगी, परछाइयाँ रह जाएगी, कुन छ कुन इश्क की रानाइयां रह जाएंगी । ’ त्यसैमा कप छाडिएको थियो ।

यो गीत फिल्म ‘शगुन’मा समाहित गरियो । जसलाई मोहम्मद रफिले आवाज दिएका थिए । गीत सदर भयो तर साहिरले फेरि अनुरोध गरे कि रफिको श्वरमा ‘रानाइयां’ यस शब्दको अर्थ रफिले गाएकोमा स्पष्ट आएन । यसलाई फेरि गाउन अनुरोध गरियो । रफिले साहिरलाई सम्मान गर्दथे । उनले फेरि गाए । त्यतिबेला साहिरले रफिसँग भनेका थिए रे –‘यो गीत अमृताको लागि थियो तिमीलाई जे गर्नपनि छुट छ’ ।

एउटा प्रेमीको प्रेम पटक पटक हुन्छ यस्तोमा साहिरको पनि प्रेम पटकपटक भएको देखिन्छ । बिरक्तिएर हिडिरहेको बखत साहिरको एसडी बर्मनसँग भेट हुन्छ । साहिरको पीडाको गहिराई र कविताको लयलाई एसडी बर्मनले चिन्छन् । अंग्रेजी गायिका कानी फ्रांसीसको एउटा गीत ‘नेवर आँन अ सण्डे’ को आलापमा इन्सपायर भएर उनले ट्युन बनाउँछन् र साहिरले गीत लेख्छन् ।

‘ठण्डी हवाएँ लहरा के आएँ’ यहीँबाट बर्मन र साहिरले एकैसाथ काम शुरु गरे । साहिरको एउटा गजललाई एसडी बर्मनले बार डान्सरको गीत बनाइदिए त्यो पनि पश्चिमी धुनमा त्यो गीत यस्तो थियो ।

‘तदबीर से बिगडी हुइ तकदीर बना ले,
अपने पे भरोसा हे तो एक दाव लगाले’

बर्मन र साहिरले एकसेएक हिट गीतहरु दिए । तर ‘बाजी’ फिल्ममा आएपछि दुबैको खुब झगडा चल्यो । बोलचाल बन्द भो । त्यतिबेला संजयदत्तको पीता गुरुदत्तको फिल्ममा प्रवेश हुन्छ । साहिर र गुरुदत्तको स्वभाव उस्तै हुन्छ । दुवै प्रेम र युवतीका लालयित हुन्छन् । गुरुदत्तको आफ्नो श्रीमती गीता दत्तसँगको सम्बन्ध राम्रो थिएन । यस्तोमा उनको वहीदा रहमानप्रति प्रेम चलिरहेको थियो । गुरुदत्तको मनमा अमिट छाप छाड्ने खालको निर्देशकको आकांक्षा थियो । साहिरभित्र अथाह कलाकारको खजाना लुकेको थियो । लत्रा मंगेशकर र एसडी बर्मनले भन्दा एकरुपिया बढि साहिरले पारिश्रमिक लिने ब्यबस्था गरेका थिए । शुरुवातमै गुरुदत्तको फिल्म आयो ‘प्यासा’ शुरुमा उनका फिल्महरु हल्का स्तरहिन हुन्थे । सो फिल्ममा साहिरले बर्मनभन्दा एक रुपिया बढि लिने अड्डी कसेको त्यतिबेला खुबै चर्चित भएको थियो । यो फिल्म अति नै चर्चित भयो । यसै फिल्मबाट साहिरले एउटा नयाँ ट्ट्रेन्ड सुरुवात गरिदिए ।

गीतकारको कारणले फिल्मको गीत हिट हुनेकुरा त्यहाँबाट सुरुवात भएको हो । त्यो जमानामा पहिला धुन बन्थ्यो । त्यसपछि त्यस धुनमा फिट हुने खालको शब्द चयन हुन्थ्यो र गीत बन्थ्यो । तर प्यासामा साहिरले सबै गीतहरु पहिलेनै लेखेर बर्मनलाई दिए । बर्मनले नचाहेरपनि साहिरका कारण संगीत दिनु पर्यो र यसैफिल्मपछि साहिरले कहिल्यैपनि एसडी बर्मनसँग काम गरेनन् ।

साहिरका जीन्दगीमा धेरै युवतीहरु आए । तर उनले अमृता प्रितमलाई कहिल्यै भुल्न सकेनन् । साहिरलाई मनपराउने लाखौ युवतीहरु थिए । हरदिन सिसाजस्तै टुटेको हृदय लिएर साहिर मुम्बइमा भड्किरहन्थे । हिन्दी साहित्य उर्दु गजल र बलिउड फिल्ममा अतुलनीय योगदान दिएका साहिरको मृत्युपश्चात आफू गाडिने जमिनसमेत पाएनन् । साहिरलाई मृत्युपश्चात जुन ठाउँमा गाडिएको थियो पछि त्यो जग्गा नपुगेर उनलाई अन्तै लगेर गाडियो ।

न परिवार, न नातापाता कोही थिएनन् । मात्र साथी थिए । २५ अक्टोबर १९८० का दिन जीवनको आखिर खण्डमा उनले एउटा टेक्सीलाई बोलाए । टेक्सी लिएर उनी आफ्नो साथीलाई भेट्न पुगे । टेक्सी बाहिर पर्खन लगाए । उनी साथीको घरभित्र छिरे । साथीलाई अगाँलो हालेर रोए । साथीको अँगालोमा आफ्नो प्राण त्यागे । त्याग्नुभन्दा अघि उनको एउटा गजल थियो यस्तो–

‘रंग और नूर की बारात किसे पेश करुँ
ये मुरादों की हसीं रात किसे पेश करुँ
मैंने जज्बात निभाए हैं उसूलों की जगह
अपने अरमान पिरो लाया हुू, फूलों की जगह’

त्यतिबेलाको सबैभन्दा प्रख्यात प्रभावशाली कम्पोजगर मदन मोहनले यसलाई कम्पोज गरे । मोहम्मद रफिले यस गजललाई गाए । सुनिल दत्तले बनाएको फिल्म ‘गजल’ थियो । जसमा मीना कुमारीको अभिनय थियो । एउटा यस्तो अवस्था आउँछ जहाँ मिना कुमारीको रहमानसँग इन्गजेमेन्ट हुन्छ । जब साहिरको रिस उठ्छ इन्गजेमन्ट तोडिन्छ ।

उत्कृष्ट प्रेम सदैब कमजोर हुन्छ । साहिरमा पनि यही लागू हुन्छ । टुटेको प्रेम, छुटेको प्रेमिका जति नै कोमल होस कोपीरहन्छ । साहिरलाई जिन्दगीभर यही कोपाईमा परे । उनका प्रत्येक गजलहरु यही कोपाईका उपज हुन् ।

तपाइँको प्रतिक्रिया