बिहीबार, वैशाख १३, २०८१

चौतारीमा राखिएको ‘मादलजस्ता नेताहरु’ र बामदेवको संसद आरोहण

सुरेशचन्द्र कुइकेल२०७७ भदौ १८ गते १४:०५

काठमाडौं— नेपाली राजनीतिमा यतिखेर कसैको बढि चर्चा छ भने एकैजना नेता छन् जो अघिल्लो संसदिय निर्वाचनमा नराम्रो हिसाबमा पराजित भए । तर, उनको सानमान भने कुनै बिजेताको झैं छ । सत्तारुढ पार्टीको अनेक फन्डा मिलाउने, सत्ता समिकरण, बार्गेनिङमा सदैब अग्रमोर्चामा रहने र कुर्सी पाइने सर्तमा बिहानको बेलुकै गुट–उपगुट गरिरहने यी नेता हुन्— बामदेव गौतम ।

महिनौंको प्रतिक्षापछि अन्तिम घडीमा आएर बुधबार अपरान्ह बालुवाटारमा सम्पन्न नेकपा सचिवालय बैठकमा पनि उनै बामदेवको चर्चा छाइरह्यो । भदौ २० बाट राष्ट्रिय सभामा एक सांसद पद रिक्त रहने अवस्था र यसमा नेकपा उपाध्यक्ष बामदेवलाई लगिने प्रस्तावसहितको छलफलभन्दा महत्वपूर्ण सरोकार यी र यस्तै केही पात्रहरुको घेराबन्दीमा नेपाली राजनीति सधैंसधैं किन रहेको छ (?) भन्ने हो ।

इतिहासमा एकपटक उपप्रधान तथा गृहमन्त्री भैसकेका बामदेव गौतम कुनै बिचार र दर्शनभन्दा पनि आफ्नो बलिष्ठ कद र पेलेरै जान सक्ने मिचाहा प्रवृत्तिका कारण बढि छाएका छन् । उमेरका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा ४ बर्षले जेठा ७२ बर्षिय बामदेव पढाइमा तृतिय श्रेणीमा एसएलसी उर्तिण राजनेता हुन् । उनको क्षमता र योग्यता के भन्दा सबै नेता र जनसाधारणले थाहा पाउने गरी उनी ‘पल्ला हेरफेर’ गर्न सक्छन् । वामदेवगौतम चौतारीमा राखिएको मादलजस्तै उनी यता वा उता जतापनि बज्न सक्छन् । उनलाई मादल सम्झेर बजाउनेहरु यत्रतत्र धेरै छन् । तर उनलाई यो कुराको त्यति हेक्का रहन्न । अथवा, हेक्का रहेपनि उनमा निर्लज्ज हुने खुबी छ ।

सत्ता र शक्तिका खातिर बामदेव अघिल्लो रात प्रधानमन्त्री ओलीलाई भैंसेपाटी घरमैं बोलाएर शान्त रात्रीभोज दिइरहेका हुन्छन् । भोलिपल्ट बिहानै खुमलटारमा प्रचण्ड निवासमा पुगेर शक्ति सन्तुलनको अभ्यास गरिरहेका हुन्छन् । अचम्म के लाग्दैन भने, अब यी एसएलसी पास बामदेव यो मुलुकको अर्थमन्त्री हुनेछन् र नेकपा दुइ तिहाइको सरकारको ख्यातीमा अर्को इँट थप्नेछन् ।

चुनाव हारेपछि यसैगरी सत्ताशक्तिको भक्त भएर राष्ट्रिय सभा सांसद भैसकेका माओवादी नेता एवं सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि यसैगरी राजनीतिमा देखिएका अर्का नमूना पात्र हुन् । अघिल्लो संसदीय निर्वाचनमा पराजित नेता श्रेष्ठ पनि आफ्नै माओवादी शक्ति–सन्तुलनमा कहिले यो कित्ता, कहिले ऊ कित्ता गरिरहन रुचाउने मादले–पात्र हुन् ।

यस्ता अमूल्य निधीहरु हरेक राजनीतिक दलमा छन् । जस्तो नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल । नेपाली राजनीतिमा एउटा शैली बनेको छ— रामचन्द्र शैली । ‘यो पनि ठीक, त्यो पनि ठीक’ भनेर गन्थन मात्रै गरिरहने यो शैली रामचन्द्र शैलीका नामले चिनिन थालेको छ । संसदीय निर्वाचनमा हार खाएर पनि पार्टीपंक्तिमा सानो गुट लिएर ‘कहिले राजनीतिबाट सन्यास लिन्छु, कहिले केन्द्रिय सदस्यबाट राजिनामा दिन्छु’ भन्दै आफैंसँग कलह गरिरहने रामचन्द्र पनि यस्तै मादले–नेता हुन् जो अरुले बजाउनै पर्दैन, आफैं बजिरहन्छन् ।

सत्ताशक्तिका कुरा गर्दा प्रजातन्त्र पुर्नस्थापना लगत्तै चलेको शब्द थियो— मुसा प्रवृत्ति । त्यसमा सद्भावनाका नेता गजेन्द्रनारायण सिंहदेखि पछि राजेन्द्र महतो, राप्रपाका कमल थापादेखि अहिले ह्दयेश त्रिपाठीसम्मका नेताको नाम चर्चित छ । बरु योगदान र भूमिका त्यति नदेखिएपनि जनता जनार्दनले रुचाएका नामहरु भने अलग छन्, सत्तासक्तिको झिनाझपटीभन्दा टाढै रहने चित्रबहादुर केसी, नारायणमान बिजुक्छे आदि आदि ।

यति टिप्पणी गरिरहँदा बुधबार साँझबाट फेरि बामदेबको उदय राम्रैसँग भैसकेको छ । उनी राष्ट्रिय सभाको सांसद बनिसकेका छन् । नेकपा सत्तारुढ पार्टी बिग्रह रोक्नका लागि एक महिनाअघि दुबै पार्टी अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर आफ्नो सांसद पदको पुर्वआभाष गराइसकेका बामदेव धेरैपटक मादल झैं बजेर र बजाइएर संसद–सत्ताको ढोकामा पुगेका छन् ।

अब अर्थमन्त्री युवराज खतिवडाको स्थानमा अथवा सरकार हेरफेर क्रममा गृहमन्त्रीको पदमा उनी पुग्नेछन् । जनताले चुनावमा मतबाट हराएर त के भो ? ‘अजब काशी, गजब नेपाल’ को उदाहरण हामीमाझ हराइसकेको छैन । ‘प्रतिनिधि सभाको चुनाव हारेको व्यक्तिलाई त्यहि संसदकालमा राष्ट्रिय सभा सदस्य हुन्छ भन्ने परिकल्पना हाम्रो अहिलेको संविधानले गरेको छैन । तर, यहाँ परिकल्पनाभन्दा बाहिरका कुरा धेरै हुन्छन्,’सर्वोच्च संसदको राज्य व्यवस्थामा रहेका एक सहसचिव भन्छन्—‘बामदेवलाई अब मन्त्री हुनका लागि केही कुराले रोक्नै सक्तैन । बामदेवलाई अब मन्त्री हुनका लागि केही कुराले रोक्नै सक्तैन । रोक्नुपर्ने नैतिकताले हो जुन बामदेबमा छैन ।’

तपाइँको प्रतिक्रिया