शुक्रबार, चैत १६, २०८०

वामदेव गौतम : सत्ताको बन्दुक र महाधिवेशनको निशाना

लिला भारद्वाज२०७७ भदौ १८ गते १४:१०

वामदेव गौतमको राष्टिय सभा प्रवेशलाई उनको अस्थिर राजनीतिका चिन्तन र अन्तरपार्टी कलहमा खेल्ने चालको परिणति मात्र भन्यो भने अपुरो हुन जान्छ । कुनै पनि खतरा मोल्न नडराउने र रातारात कित्ता परिवर्तन गरि आजैको भोलि उल्टो चरित्र देखाउन कुनै अप्ठेरो नमान्ने वामदेवले भीरमा पुगिसकेका खड्ग प्रसाद ओलीलाई जोगाइदिए । सडकमा राजा ज्ञानेन्द्रको विरुद्ध मूर्दावादको नारा घन्किरहेका बेला उनै ज्ञानेन्द्रसँग टीको थाप्न जाने वामदेव कम्मर मर्काएर नाच्न परे नाच्नदेखि बल्खुको दरबार ठड्याउन चन्दा संकलन गरेर एकैछिनमा करोडौँ पार्टीलाई बुझाइदिने हैसियत पनि राख्दछन् । विवादै विवादका पर्याय गौतमले जान्न भनेको राष्टिय सभामा जान
किन तयार भए त ?

यसको उत्तर खोज्न एकछिन महाकाली सन्धिताकाको माथापच्चीसी र विभाजनको कुरा सम्झनुपर्ने हुन्छ । महाकाली सन्धि धोका हो भनेर एमाले विभाजन गरेर माले बनाएका गौतमले त्यतिबेला ठूलै जमात लिएर निस्किएका थिए । तर निर्वाचनमा शून्य सिट हात लाग्यो । फूटले संस्थापन र निस्किएका कसैलाई पनि फाइदा नगर्ने निश्कर्षपछि उनी एमालेमै फर्किए । निर्वाचनमा हारेको पीडाले रन्थनिएका एमालेको नेतृत्वदेखि लिएर तल्लो तहको कार्यकर्ताले संस्थापन पक्षबाट ठूलो अपमान बेहोर्नुपरेको थियो । योगेश भट्टराईदेखि सयौँ जोशिला युवाहरु कामविहीन भएर राखिए । एकदिन अति भएपछि ठाकुर गैरे, रामकुमारी झाँक्री, योगेश भट्टराईहरुले वामदेवलाई बोलाए ।

यसरी अपमानित भएर कतिसम्म सहने ? तपाईकै नेतृत्वमा लागेर हामीले हाम्रो राजनीति धरापमा पार्यौँ । अब तपाईँहरुले हामीलाई संरक्षण दिनुपर्यो भनेर उनीहरुले एकस्वरले चिच्याए । तर वामदेव गौतमले जवाफ दिए,कमरेडहरु । तपाईहरु जंगलमा बस्ने बाघ हो । बाघले आहारा आफै गर्ने हो । अरुले आहारा ल्याइदेला र शिकार गरौँला भनेर बस्ने बाघ भोकै मर्छ ।

उनको यस्तो शैलीले गूटगत रुपमा कमजोर भएपनि सत्तामा पुगेपछि शक्ति संचय हुन्छ र त्यहाँबाट धेरै काम गर्न सकिन्छ भन्ने कुरा उनलाई राम्ररी थाहा छ । आफ्ना समर्थकहरुलाई जतिसुकै आलोचना सहेर पनि काखी च्यापिरहने केपी ओली शैलीका ठिक विपरीत छन् वामदेव गौतम । मूढी र लागेपछि पछाडि नफर्कने स्वाभावका वामदेवले महाधिवेशनताका खेल्ने भूमिकाले आफू र आफ्नो समूहको भविष्यमा धक्का पुग्ने देखेरै अहिले वामदेव गौतम सचिवालयमा सबैको सहमतिमा राष्टिय सभामा सिफारिश भएका हुन् । प्रतिनिधि सभामा पराजित व्यक्ति मन्त्री हुन नपाउने भनेर संविधानमा प्रष्टै लेखिएपनि कानूनमा नौ सिँगले कुनै छिद्र फेला पारेर उनलाई उपप्रधानमन्त्रीसम्म बनाउने छ भन्ने कुरामा वामदेव ढुक्क छन् ।

केपी शर्मा ओलीले प्यूठानबाट सूर्य थापाको नेतृत्वमा वामदेव विरोधी समूहनै बर्दिया
पठाएर ०७४ को निर्वाचनमा पराजित गरेको कुरा गौतमलाई राम्ररि थाहा छ । तथापि उनी कहिले ओली निकट त कहिले ओली दूर भएर खेल्दै खेल्दै संसद प्रवेश गर्न सफल भएका छन् । यहाँसम्म कि माधव नेपालकै नेतृत्वमा राष्टिय सभाको सांसदलाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ भनेर नितान्त आफ्नो लागि कार्यदल बनाउन समेत उनी सफल भए । संसदमै नरहेका वामदेवको यो सम्मको क्षमता भनेको उनको हरेक खतरासँग खेल्ने र नडराउने हाकि चरित्र नै हो ।

पश्चिममा अझैपनि वामदेव गौतमलाई मन पराउने नेकपाका कार्यकर्ताहरु प्रशस्त छन् । एमालेमा समाहित भएपछि अहिलेसम्म धेरै अवसरबाट बन्चित गरिएकाहरुको समूह छ जसले वामदेवलाई हली भएको पनि देखेको छ, सुँगुरको खोरमा लुकेर ज्यान जोगाएको पनि देखेको छ । पछिल्लो समयमा राम राम भन्ने अवस्थाका ओलीलाई बँचाइदिएर पाएको कृपा भन्दापनि आगामी महाधिवेशनमा जनताको बहुदलीय जनवादको व्याख्याताको रुपमा प्रधानमन्त्रीको लालच देखाएर आफ्नो समहूमा आवद्ध गर्न सकिन्छ कि भन्ने ओली र राष्ट्रपति भण्डारीको भित्री चाहनाको रुपमा उनी राष्ट्रिय सभामा भित्र्याइएका हुन् भन्नेहरुको पनि कमी छैन पार्टीभित्र ।

०५१ सालको मनमोहन अधिकारीको अल्पमतको सरकापछि सम्पन्न स्थानीय निर्वाचनमा साम, दाम, दण्ड, भेद पूरै प्रयोग गरेर स्थानीय निकाय कब्जा गरेका वामदेवको क्षमता ओलीले पनि बुझेका छन् । इश्वर पोखरेलको असाध्यै विकृत छविको कारण गौतमलाई विकल्पको रुपमा अघि सार्दा आगामी निर्वाचनमा जान सजिलो हुने कुरा ओली समूहले राम्ररी बुझेको छ । बालुवाटार काण्डको घनचक्करमा फस्नबाट बँच्नको निम्ति मध्यस्थको भूमिकामा देखिएका महासचिव विष्णु पौडेल ओलीका खास सल्लाहकार हुन् जो वामदेवसँगै महाकाली सन्धी विरोधी कित्तामा सामेल थिए । पश्चिम नेपालको माले संगठनमा दुवै सँगसँगै काम गरेका भूमिगत कार्यकर्ता पनि हुन् गौतम र पौडेल ।

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन कम्मर कसेर लागेका वरिष्ठ नेता माधव कुमार नेपाल वामदेवले साथ दिँदासम्म प्रधानमन्त्री हुने आशमा पुगिसकेका थिए । तर दुवैपटकको प्रयासमा वामदेव गौतमले अन्तिममा आएर धोका दिएर प्रचण्ड समेत ओलीसँग मिलेपछि आफूलाई पाखा पारिएको चोट महसुस गरेका छन् । गत साता उनले अब पार्टीमा नीति र सिद्धान्तको निम्ति आगामी योजना लिएर महाधिवेशनलाई लक्षित गरेर व्यापक कार्यकर्ता अभियान चलाउने निर्णय उनले गरिसकेका छन् । तर उपाध्यक्ष वामदेव गौतमको भूमिका महाधिवेशनमा निर्णायक हुन सक्दछ भन्ने आँकलन र ओली पक्षबाट हुनसक्ने सबै हमलाको निम्ति गौतमलाई चिढ्याउन नहुने उनको निर्क्यौल छ । सकेसम्म गौतमलाई फकाउँदै फुर्क्र्याउँदै आफ्नो पक्षमा ल्याउन सके आफ्नो गूटले चाहेको नतिजा महाधिवेशनमा आउने उनको आँकलन छ ।

आगामी महाधिवेशनबाट निर्विरोध अध्यक्ष बन्ने वाचाका साथ प्रधानमन्त्रीमा पाँच वर्ष निर्वाध ओलीलाई छोडिदिएका प्रचण्डको पनि निर्वाचनसम्ममा गूट उपगूटहरु कहाँ पुग्ने हुन् कुनै ठेगान नभएकोले यो गुप्त सहमतिको पनि कुनै भर नभएको कुरामा उनी ढुक्क छन् । आधा आधा प्रधानमन्त्री चलाउने लिखित सहमतिलाई त ओलीले पालन गरेनन् भने यस्ता सहमति के टिक्लान् भनेर उनले आफ्ना अति निकटहरुसँग भनेका छन् । तर वामदेव गौतम र माधव नेपालहरुको जोड बलमा पार्टीभित्र अन्तरविरोध गराएर ओलीलाई ब्याक गराउन र आफूमा केही शक्ति थप गर्न उनी सफल भएका छन् । वामदेव गौतमलाई लान्न जानेको गर्नुस् भनेर हाकै भन्ने ओलीले प्रियपात्र खतिवडाको ठाउँमा चाहना विपरीत गौतमको नाम प्रस्ताव गर्नुपनि अन्तरविरोध चर्किएको उपलब्धी हो । पूर्व माओवादीको टुकडी लिएर बसेका प्रचण्डको टुकडी समेत महाधिवेशनसम्म कता पुग्ने हो त्यसको पनि कुनै टुंगो छैन । त्यसैले जसरी हुन्छ शक्ति संचय गरेर प्रभावशाली बनिरहनु उनको ध्येय हो ।

माधव नेपाल पक्षिय एक जना केन्द्रीय सदस्य भन्छन्, ओलीजी पार्टीभित्र र सरकार दुवै मोर्चामा असफल हुनु भएकोछ । उहाँको हठ र असक्षमताले पार्टी पुरै प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । उहाँको गूटमा रहेका वैचारिक नेताहरु र कार्यकर्ताहरु पनि महाधिवेशनसम्ममा हामीसँग हुनुहुनेछ । किनभने ओली गूटसँग लोभी र अवसरवादीहरु मात्र रहने कुरामा कुनै शंका छैन । हामीले संगठन, नीति र कम्युनिष्ट आन्दोलनको रक्षाको मुद्दा उठाउनेछौँ । अन्तमा नीति सिद्धान्तकै विजय हुनेछ । नीति, सिद्धान्तको मुद्दा उठाएपछि प्रचण्ड र वामदेवहरु पनि हामीसँगै नभै सुखै छैन ।

तर पूर्व एमालेको ओली गूट यत्तिकै चुप बस्नेवाला छैन । उसले जनताको बहुदलीय जनवादलाई ब्यूँताएर महाधिवेशनमा सशक्त उपस्थिति जनाउने छ । त्यसका निम्ति ओली समर्थक इन्चार्जहरु जिल्ला, अञ्चल र प्रदेशमा पूर्ण योजनाका साथ काम गरिरहेका छन् । आगामी महाधिवेशनमा को को जाने भनेर मोटामोटी तयारी समेत उनीहरुले शुरु गरिसकेका छन् । एमालेभित्र अहिलेसम्मको यो सबै सत्ता उपलब्धी जनताको बहुदलीय जनवाद र मदन भण्डारीको वैचारिक विरासतले मात्र सम्भव भएको भन्ने जमात ठूलो छ । कार्यकर्ता तहसम्म उनीहरुले यहि हिसाबले प्रशिक्षित गरेका छन् । त्यसो हुँदा जनताको बहुदलीय जनवादको नयाँ व्याख्या लिएर शंकर पोखरेल, प्रदीप ज्ञवाली, इश्वर पोखरेलहरु एकै मोर्चामा उभिए भने परिस्थिति अर्को हुनेछ । एकातिर सत्ताको दुरुपयोग, अर्कातिर चरम शक्तिको प्रयोगले महाधिवेशनमा पार्टी भित्रका अवसरवादीहरुको ठूलो चलखेल हुने नै छ ।

त्यसो भयो भने घनश्याम भूसालहरुले अघि सारेको जबजको उपादेयता सकियो भन्ने समूह पनि उत्तिकै मोर्चाबन्दीमा लाग्नेछ जसमा प्रचण्डको साथ रहनेछ । प्रचण्ड जबजको नाममा पूर्व एमालेहरुको अरनखटनमा बस्न तयार छैनन् । उनको त्यो चरित्र पनि होइन । त्यसैले आगामी महाधिवेशनमा संगठन विभागसमेत रहेका वामदेव गौतमको भूमिकालाई आफ्नो प्रभावमा पारेर देशभर नयाँ उभार ल्याउन सकिन्छ कि भनेर दुवै समूहले वामदेव लाई तान्न भरमग्दूर कोशिस गर्नेछन् ।

जस्तोसुकै विवादास्पद छवि भएपनि अन्तरविरोधमा खेलेर वामदेवले फेरि पनि के के हात पार्ने हुन् त्यो कुरा भने समयले नै बताउला । जब नीति सिद्धान्त भन्दा सत्ताको लोभमा सबैको ध्यान आकृष्ट हुन्छ, त्यहाँ वामदेव गौतमहरु निर्णायक बन्न पुग्दछन् । गौतम व्यक्ति मात्र होइनन् प्रवृत्ति पनि हुन् ।

तपाइँको प्रतिक्रिया