सोमबार, असोज १२, २०७७

खबरदार ! देशमा भोकमरी फैलिएको छ !

किशोर नेपाल२०७७ भदौ १९ गते १५:०२

!कोरोना महामारी शुरु भएको एक महिनापछि नै देशमा भोकमरी चम्किएला भन्ने कसैले सोचेको थिएन होला । कोरोना महामारीको मारमा परेका जनताले भोकको भार खेपे । बालबालिका र बृध्दबृध्दाले समेत खान पाएनन् । समृध्दिको नारा लगाउने सरकार भएको देशमा यस्तो किनभयो ? यसको जवाफ छ । ती जवाफ घटनासँग तालमेल खानेगरी प्रस्तुत गरे मात्र सत्यको जीत हुन्छ । सत्य यो होे कि प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीको अहंकार र अभिमानले नेपाली जीवनको अपमान गर्यो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको अति सामान्यिकरण गरे । यो ज्यादै दुःखद बिषय थियो । बिहिवार बिरगन्जमा केन्द्रीय सरकारका प्रतिनिधि सीडीओको कार्यालयले १५ सय जनतालाई राहत पाउनका लागि फारम भर्न बोलायो । भोकमरीबाट मुक्ति पाउनका लागि फारम भर्नपर्ने यो बिडम्बना जनताले पहिलो पल्ट भोगे । तर, काठमाडौंमा मच्छेन्द्रनाथको रथयात्राका सन्दर्भमा जनता र पुलिसका बिच भिडन्त भएको खबर आएपछि बिरगन्जमा मन्चन हुन लागेको नाटक रोकियो । राहतका लागि आएका जनतामाथि लाठी बर्साइयो । राहतका आकांक्षी ज्यान जोगाउँदै भागे ।

महामारी शुरु भएको आठ महिनापछि आएर समाचारपत्रहरुले जनताले खान नपाएको समाचार महत्वका साथ छापे । जनता त महामारी शुरु हुनु भन्दा अघि देखि नै भोका थिए । महामारीको शुरुवाती दिनमा राहत आउन थालिसकेको थियो । प्रदेश दुइका यूवा नागरिक कन्चन झाको अगुवाइमा सानो पाइला संस्थाबाट पर्सा, धनुषा, महोत्तरी र सिराहाका ६६ हजार मुसहर तथा दलित नागरिकलाई पहिलो लकडाउनको दोस्रो दिनदेखिनै खाना बितरणगर्न थालिएको थियो । बुढानिलकण्ठ स्कूलका अलुम्नाइ, सहायता नेपाल र स्थानीय दाताहरुको सहयोगमा ६६ हजार जनतालाई एकलाख खानाको ब्यवस्था भैसकेकोछ । नेपाली कांग्रेसका सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको प्रेरणामा शुरु भएको यो कार्यक्रम अहिले मधेश प्रदेशमा सर्बप्रिय भएकोछ । कन्चनका शब्दमा : मधेशमा मुश्लिम परिवारका महिलाहरु पर्दामा बस्दछन । उनीहरु खुल्ला भएर सामाजिक सहभागिता जनाउन सक्दैनन् । यो उनीहरुको सांस्कृतिक प्रचलन हो । हामीले यस्ता महिला, अपांग र बृध्दबृध्दा सहित ११ सयलाई एकएक महिनाको रासन दिएका छौं ।

मानिलिउँ कि राहतमा केन्द्रीय सरकारले जानीबुझी राजनीति गरेको थिएन होला । तर, जहाँ जहाँ नेपाल कम्युनिष्ट पार्टीका जन–प्रतिनिधि थिए र कम्युनिष्ट सरकारको प्रभाव थियो । त्यहाँका हुनेखाने जनताले समेत पन्ध्र दिनको रासन पाएको गुनासो सुनियो । अरुले सात दिनको रासन पाएर चित्त बुझाएका थिए । जब महामारीको राप बढ्दै गयो । राहतको चाप घटन थाल्यो । गाउँका गाउँ नेपाली जनता भोकले मर्न लागेपछि अचानक समाचारपत्र र सन्चार माध्यमले त्यसमा ध्यान दिएका थिए । तर, यसमा जसको ध्यान पुग्नुपर्ने थियो, अर्थात संघीय सरकार, उ मौन छ । उसले कोरोना संक्रमण, मृत्यु र कोरोना मुक्तिका समाचारलाई औपचारिकताको बर्को ओढाइदिनुलाई नै आफनो काम सम्झिएकोछ । सरकारका मार्फत आउने यस्ता समाचार बिबादास्पद बनेका धेरै उदाहरण भेटिन्छन् । सरकारी स्रोतका समाचारमा दशकौंदेखि लालमोहर लगाउने काम गर्दै आएको गोरखापत्र दैनिकलाई वर्तमान सरकारले उसको भूमिकाबाट बन्चित गरेकोछ ।

कोभिडका बिरुध्द गोरखापत्र निकै प्रभावशाली हतियार बन्न सक्दथ्यो । तर सरकार आफैंले त्यसको भूमिका संकुचित गरेको छ । भोकमरीको समाचार प्रकाशन र प्रसारण भएपछि संघीय राजधानी शहर काठमाडौमा हलचल मच्चियो । संघीय सरकार आफनो दायित्व पूरागर्न असक्षम भएकोमा औंला उठाउन नसक्ने राजधानीका समाजसेवी र दानवीरहरु भोका जनतालाई खाना खुवाउन जुर्मुराएर उठे । भोकाएका नेपालीलाई भात खुवाउन खुलामन्च खलंगा उपयुक्त ठाउँ थियो । उनीहरुलाई त्यही बोलाएर खाना खुवाउन थाले । समाचारपत्रहरुले खान नपाएका मानिसलाई खाना खुवाइएको यो समाचार बिशेष महत्वका साथ ठूलो तस्वीरसहित् सहित छापे । यति भएपछि धर्म फराक भयो । पाप हरायो । भोकका बिरुध्द संघीय सरकारको भूमिका कतै देखिएको छैन, न त कोरोना महामारीका बिरुध्द नै एकाग्रता देखिएकोछ ।

जनताको जीवनप्रति यति अनुत्तरदायी र यति चुत्थो सरकार त निर्दलीय पन्चायतकालमा पनि बनेको थिएन । यसैले प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीको सरकार प्रतिगामी हो । राष्ट्रदेवका रुपमा मानिएका, किसान र सर्वसाधारण उपत्यकावासीका लोकप्रिय आदिदेव मच्छिन्द्रनाथको रथयात्रा बिथोलेर होस, बिस्केट जात्रा रोकेर होस, इन्द्रजात्राको परम्परा भत्काएर होस – प्रम ओलीको सरकार उपत्यकाका पारम्परिक शक्ति र धार्मिक स्वतन्त्रताका पक्षपाती नेपाली जनताको सदभावमा प्रहार गर्न चाहन्छ । सरकारलाई सांस्कृतिक संवेदना र सामाजिक मर्यादाको रत्तिभर परवाह छैन । राजनीतिक हिसाबले पनि प्रम ओली नेतृत्वको सरकार प्रतिगामी हो ।

दुइवटा निर्वाचन क्षेत्रबाट हारेको एउटा भिल्ललाई राष्ट्रिय सभामा स्थापित गरेर मन्त्री बनाउने निर्णय लिनुपनि गणतान्त्रिक र नैतिक लोकतान्त्रिक मान्यताका बिरुध्द ठूलो षडयन्त्र हो । अहिले देशलाई न्याय चाहिएको छ । बिधिको शासन चाहिएको छ ।

गणतन्त्रको खोलभित्र लुकेको दक्षिणपन्थी अधिनायकवादको प्रतिनिधि पात्रलाई बिदागर्नु आजको आबश्यकता भएको छ । तर, देशको राजनीतिमा नालायकहरु हावी छन चाहे ति पक्षमा हुन या प्रतिपक्षमा, भोका जनताको आवाज कसैले सुनेको छैन । यस्तो लाग्छ, जनता आवाज बिहिन भएका छन किनभने उनिहरुलाई कसैले सुनेकै छैन ।

संघिय सरकारका जिम्मवालहरु अक्षता लिएर पीएम ओलीका चराणकमलको प्रतिक्षामा छन् । भोकमरिले जनताको सास रोकिएपनि तिनलाई मतलव छैन । अब भोकमरी र महामारिको बिचमा ओलीको श्रीपेच जोगाउन भिल्लको आगमन भएको छ । लोकतन्त्रको धज्जी उडाउन काफी छ । बिधिको शासनका लागि बोल्न पर्नेहरु बोल्दैनन् । जनताको आवाज भिल्लहरुले सुन्दैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक