मंगलबार, मंसिर ९, २०७७

कहिलेसम्म गाउँ बस्तिलाई भर्याङ बनाइरहने

शेखर कँडेल२०७७ भदौ २४ गते १४:२५

पचासौं बर्ष पहिलादेखि शुरु भएको थियो बसाईसराई । उहिले अहिले जस्तो न त सवारी नै हु्न्थे, न बिजुली, न त शिक्षा । हाम्रा हजुरबाका पालादेखि पहाड़बाट मधेशमा बसाई सराईको चलन चलेको रे । त्यो बेला पहाडमा धेरै बालबच्चा हुनेहरुको लागि परिबार धान्न साह्रै मुस्किल थियो । त्यसैमा पनि गरिबहरुको त बिजोग नै । त्यो बेला केहि टाठाबाठाहरुलाई मदेशमा सित्तैमा जग्गा पाइन्छ रे भन्ने भएपछि पहाड तिरबाट मधेश जाने भन्ने लहर चल्यो । तर सदियौं देखि बस्दै आएको गउँ बस्ति छोडेर कहाँ हो कहाँ जानुपर्दा धेरैलाई डर लाग्थ्यो, स्वभाविक हो । त्यहाँ पुग्न पनि सजिलो कहाँ थियो र ! हिँडेर बटौली पुग्नुपर्थ्यो । त्यसैमा पनि घर छोडेर हिँड्दा बचे खुचेका चाहिने सामान लैजानै पर्ने । साथमा ससाना लाला बाला ! कति त बिच बाटोबाटै फर्केर गाउँमै आउँथे रे । त्यस्तो चुनौतीपूर्ण काम, अहिले सोच्दा कहाली लाग्दछ ।

त्यहाँ पुगेपछि झनै ठूलो कष्ट भोग्नुपर्थ्यो । घना जंगल फाँडेर घरबार बसाउनुपर्ने र औलोको कारण धेरै त सखापै भएको सुनियो । हुन त त्यो बेलाको बसाई सराई बाध्यात्मक थियो । तरपनि साहशिक ब्यक्तिहरुले त्यस्तै घना जंगललाई छिचोले र औलोलाई चिरेर बस्ती बसाई छोडे ।

तर हिजो आज उहिले जस्तो छैन । गाउँ गाउँमा मोटर बाटो पुगेको छ । चारै तिर बिजुली झलमल्ल बलेको छ । शिक्षा स्वास्थ्य पनि प्राय: गाउँउहरुमा पुगेको छ । जीबनस्तर पनि पहिलेको भन्दा राम्रो भएको छ । तर पनि बसाई सराई अझै रोकिएको छैन । हिजो गाउँमा रोजगार नपाएर छिमेकि मुलुक भारतमा काम गर्न जानेहरुको धुईरो अहिले पनि त्यत्तिकै छ । रोकिएको छैन । भारत हुँदै बिश्वका बिकसित देशहरुमा वर्कपरमिट भिसामा काम गर्न जानेहरुको संख्या पनि उसरी नै बढेको छ । उच्च शिक्षा हॉसिल गर्न बिदेशिने युबाहरुको बाढि झनै उदेक लाग्दो छ । हेर्दा हेर्दै गाउँका गाउँ खालि हुँदै छन । गाउँमा जाँदा लाग्छ, चारै तिर सन्नाटा छाएको छ ।

अठार बर्ष माथि पचास पचपन्न बर्ष भित्रका मानिसहरु खासै भेटिँदैनन । गउँमा केहि समस्या पर्यो भने गुहार पाउन गाह्रो छ । यदि कोहि मरिहाल्यो भने घाटमा पुर्याउने र सतगत गर्ने मान्छे छैनन् । यस्तो भयाबह छ गाउँ बस्तिमा । अलि राम्रो कमाई हुने देशहरुमा पुगेकाले पैसा कमाएर शहरमा घर घरेडि किन्न शुरु गरे । जसको शहर तिर जमिन जग्गा छैन त्यस्लाई हेर्ने दृष्टिकोण बदलियो ।

बिबाह गर्दा समेत संपत्ति, त्यसैमा पनि शहरहरुमा घर जग्गा भएकालाई मात्र छोरी दिने चलन चल्यो । राम्रो पढे लेखेका तर शहर तिर घर घडेरि छैन भने तिनिहरुको बिबाह हुन समेत धौ धौ हुन थाल्यो । लाहुरे बिदेशबाट छुट्टिमा गाउँमा जॉदा यदि उसको शहर तिर जमिन जग्गा छ भने छुट्टै ईज्जत । सबैको चाख ! अझ शुरु शुरुमा त बाजै बजाएर स्वागत गर्ने चलन थियो । अनि गाउँमा बचे खुचेका ठिटाहरुमा जे जसरि भए पनि बिदेशिने रोग नै लाग्यो । अहिले हेर्दा हेर्दै गाउँका उब्जाउ जग्गाहरु बन्जड भएका छन् । तर कसैले पनि गाउँ फर्किने कुरै गर्दैन बा !

यसरि बिदेशमा बस्दै जाँदा कतिपय देशहरुको अध्यागमन कानुनले कम्तिमा दश बर्ष बसेमा पि।आर।अर्थात स्थाई कागज पाउने नियमले पनि धेरै नेपालीहरु बिदेशी भैरहेछन् । अहिले आएर धेरैलाई आफ्नो गाउँ घरको याद आउन थालेको छ । किनकि पहाड बाट बसाई सरेर तराई या अन्य शहरहरुमा आईसकेपछि धेरैलाई बल्ल आफ्नो बास्तबिक परिचय गुमेको महशुस हुन थालेको छ । मान्छेहरु बिदेशिएको यहि वातावरणमा केहि चतुर खेलाडिहरुले प्रवासमा बसिरहेका नेपाली समूदाय माझमा संघ संस्था खोल्न शुरु गरे । वास्तवमा यस्ता संस्थाहरुले नेपालीहरुको हितमा कति काम गरेका छन यो बिस्तारइ बुझिँदै छ । समयलाई छोप्न सक्नेहरुले यस्तै संस्थाहरुलाई प्रयोग गरेर नेता बने । ब्यापारी बने ।

शुरुमा यस्को हेक्का कसैलाई भएन र अहिले पनि धेरैलाई छैन । केहि पढे लेखेका केहि ब्यापार ब्यबशाय गरेर पैसा कमाएकाहरुलाई के थाहा भयो भने हामीले जति “पैसा कमाए पनि जस्तासुकै चिप्ला कारमा चडेर हिँडेपनि हामीलाई बिदेशमा कसैले वास्ता गर्दैन । त्यति मात्र हैन, नेपालमा जाँदा पनि जहाँँ जहाँँ बसाई सरेर घरजम गरेका छन् ती ठाउँहरुमा ननयाँ भएको र कसैले पनि नचिनेको महशुस हुन थाल्यो । पैसाको भोक मेटिएपछी नामको भोक पलायो । अहिले बिदेशमा रहेका नेपाली संस्थाहरुको उद्गम नामको भोकबाट शुरु भएको हो । र, तिनै गाउँ बस्तिहरु जो कहिल्यै काम नलाग्ने जस्तो गरेर फालेर आएका थियौं अहिले याद आउन थालेका छन् । किनकि हामीहरुलाई राम्रै सँग थाहा छ, त्यहाँ अझै अभाब छ । अझै गरिबि छ ।

यस्तो परिस्थितिमा हामीले यहाँ सबै सँगबाट पैसा उठाएर गाउँम् केहि चारो हाल्दै गरेमा भोलिका दिनमा कमसेकम त्यहाँ त हाम्रो अस्तित्व रहला । पुन: गाउँ बस्तिमा गएर हिरो बन्न पाइएला भन्ने सोचका साथ आर्थिक सहयोग भनेर केहि रकम पठाउने कामहरु भएका छन । यहाँ सबैबाट चन्दा उठाउने अनि नेपालमा गए पछि मैले ल्याएको, मेरो पहलमा गरेको भनेर खादा, माला लगाउने र आफू मात्रै हिरो बन्ने काम भएको छ । तर सबैमा के हेक्का हुनु जरुरि छ भने यदि हामीले साँच्चिकै आफ्नो जन्मभूमी प्रति माया गरेका हौं भने किन गाउँमै लगानि लगाएनौं ? किन गाउँमै घर घडेरि किनेनौ ? किन भए खुचेको बाउबाजेको सम्पत्ति सर्लक्कै बेचेर सुबिधाको लागि बसाई सर्यौं ? फेरि जुन ठाउँमा बसाई सरेका छौं त्यहाँ पनि कसैले हाम्रो सोधनि गर्दैन भन्ने थाहा भयो । यदि त्यहाँ हाम्रो खोजनि भएको भए कुनै हालतमा पनि फर्केर हामी गाउँ सोच्ने थिएनौं ।

पहिलेका हाम्रा बाजेहरुले त उपाए नलागेर बसाई सराई गरेका थिए । तर अहिले त त्यस्तो छैन । किन हामी गाउँ जान चाहँदैनौं त ? किनकि हामी स्वार्थी छौं । हामीलाई हाम्रै सुखशयलको चिन्ता छ । गाउँप्रती देखाईएको मायामा छल छ । यो यथार्थता हो । यस कटु सत्यबाट कदापि भाग्न सकिँदैन । छोडौं देखावटि माया गर्न । हिम्मत छ लागौं गाउँतिर । नत्र आफ्नो स्वार्थको लागि गाउँलाई भर्याङ बनाउन छोडौं ।

राज्यले लगाएको अर्बौको लगानिले त केहि हुन सकेन भने हामीले प्रबासबाट पठाएको दुई चार लाख, करोडले केहि हुने वाला छैन । यो केबल बालुवामा पानी हाले जस्तै हो । मागेर कति दिन खान पुग्छ र ? एक दिन त काम गर्नैपर्छ । सक्छौं उजाड बनेका बस्तिहरुलाई हराभरा गर्ने तर्फ लागौं । हैन “देखावटि गाउँ प्रेम” बन्द गरौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक