शुक्रबार, चैत १६, २०८०

स्विस पहाडमुनि सुरुङ रेलमार्ग : मिलान पुग्न साँढे तीन घण्टापनि नलाग्ने

लक्ष्मण देवकोटा / जेनेभा२०७७ भदौ २६ गते ९:०९

संसारभरिको सबैभन्दा लामो ५७ किलोमिटरको सुरुङ खनेर रेल कुदाइसकेका स्विसहरुले अर्को महत्वाकांक्षी सुरुङ परियोजना सम्पन्न गरेर दुनियाँलाई चकित पारिदिएका छन् । स्विजरल्याण्डको गोथार्ड भेकको लामो सुरुङपछि दक्षिणी भेक सेनेरीदेखि इटालीको मिलान पुग्ने १५.४ किलोमिटर सुरुङको राष्ट्रपति सिमोनेता सोमारुगाले उद्घाटन गरिन् । परियोजना सम्पन्न भैसकेपनि रेल भने डिसेम्बरबाट चल्नेछ । पहाडका घुम्टेहरु छिचोल्दै ६ घण्टा जतिमा मिलान पुगिन्थ्यो भने अब साँढे तीन घण्टा भन्दा कम समयमै सरर रेलमा पुगिनेछ ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति सोमारुगाले भनिन्, पहिला पहिला हामी पहाडमाथिबाट यात्रा गर्थ्यौं, अब पहाड हुँदै यात्रा गर्नेछौैं । उत्तर दक्षिणको सम्बन्ध अझ सुमधुर र बलियो हुनेछ रेलले गर्दा । ब्यापारिक दृष्टिले पनि
धेरै सहयोगी हुनेछ यो रेलमार्ग जसले गर्दा तिसिनोलाई अझ सम्पन्न बनाउने छ ।

२३ बिलियन स्विस फ्र्याँकको खर्च गरेर बनाइएको यो सुरुङ बनाउन झण्डै २८ वर्ष लाग्यो । यसका पछाडि तिसिनिो भेकका जनताको विरोध मुख्य कारण थियो । सन् १९९२ मा महत्वाकांक्षी परियोजना भनेर सरकारले सुरुङ बनाउने घोषणा गर्दा तिसिनोबासीले सोधेका थिए, हामी यही पहाड हुँदै इटालीको बन्दरगाह गएर सामान ल्याउँछौँ । हजारौँ मानिसहरु यो बाटोमा निर्भर छन् । गाडी चलाउने चालकदेखि लिएर सबैको रोजगारी खोसिँदा उनीहरुको निम्ति सरकारले के व्यवस्था गर्दछ ? अनि सुरुङमा काम गर्ने मजदूरहरुको सुरक्षा र उनीहरुको उचित तलबको निम्ति के कस्ता योजनाहरु छन् ?

सरकारले प्रष्ट जवाफ नदिएको भन्दै जनताहरुले तत्कालै सुरुङको काम गर्न दिएनन् । तर स्थानीय सरकारले जनताहरुलाई प्रष्ट रुपमा सम्झाएपछि काम अघि बढ्यो । स्थानीय वासिन्दाहरु भन्छन्, हामीहरु सुरुँग बन्ने खबरले उत्साहित थियौँ । तर कुरा पहिल्यै छिनोफानो हुनुपर्छ भनेर सरकारलाई सोधेका थियौँ । यहि त हो संघियता र लोकतन्त्रको फाइदा । कामदारहरुको सुरक्षा, उचित तलब लगायत बाटोमा आश्रित मानिसहरुको उचित प्रबन्ध त हुनुपर्यो नि । आखिर हामीहरु सबै खुशी हुने निर्णय सरकारले गर्यो ।

नेपाल जस्तै पहाडै पहाडको देश स्विजरल्याण्डमा बाटो छोट्याउनको लागि ठाउँ ठाउँमा असाध्यै धेरै सुरुङहरु बनाइएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै सुरुङ निर्माण कम्पनीका प्रमुखले भने, हामीले योजना बनायौँ । स्थानीय सरकारको अनुमति हुने बित्तिकै योजनावद्ध रुपमा काम शुरुगर्यौँ र समयमै काम पूरा भयो ।

अब भूमध्यसागर हुँदै स्विजरल्याण्ड आउने सामानहरु सोझै रेलबाट आउनेछन् । बाटामा ठूला लरीहरु सामान बोकेर हिँड्नुपर्ने छैन । यसले स्विसहरुको ब्यापारलाई अझ बल पुग्नेछ भनी यहाँका ब्यापारीहरु खुशी भएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक