शनिबार, वैशाख ८, २०८१

चुरोट, चकचक र चिन्तन 

इश्वर कँडेल२०७७ असोज ३ गते १३:०९

जब सपनाबाट ब्युँझिएँ, बिहान भैसकेको रहेछ । झ्यालका पर्दाहरु खुल्लै रहेछन् । उठें । तर भर्खर देखेको सपनाको ह्याङ ओभर अझै बाँकि थियो । सपनामा एकजना महिलाले शरिरमा कुनै रोग प्रवेश गर्न सक्ने कुराको पूर्व ज्ञान दिएकि थिईन् । के हुनसक्छ यस सपनाको अर्थ भनेर एकछिन सम्म सोचिरहें । एक्कासि एउटा बिचार आयो- अब मैले चुरोट पिउन छाड्नु पर्छ । त्यसै बिचारलाई पूर्ण समर्थन गर्दै चुरोट पिउन छाड्ने निर्णय मनमनै गरें । एउटा चुरोट अन्तिम पटक पिउन मनलाग्यो । चुरोटको खिल्लि र लाईटर लिएर घर बाहिर निस्कें । सल्काएँ । धित मर्ने गरि तानें । आधा पनि हुन नपाउँदै निभाईदिएँ ।

त्यसपछिको समय केही पीडादायक बन्दै थियो । शरीर चुरोट माग्दै थियो । म ‘नाई’ भन्दै थिएँ । त्यस दिनभरि चुरोट फेरि सल्काईन । गुगलमा चुरोट छाड्नुका फाईदाहरु पढ्दै मन मनै खुसि हुँदै थिएँ । चुरोट छाडेको करिव २० मिनेटपछिनै शरिरमा सकारात्मक परिवर्तन हुन थाल्ने कुराले खुसि लागिरहेको थियो । करिब ३४ दिन पछि चुरोटको तलतल कम हुँदै थियो । आफूमा थुप्रै सकारात्मक परिवर्तनहरु महशुस गर्दै थिएँ । प्रशस्तै मनतातो पानी पिउँदै शरीर शुद्धिकरण गर्दै थिएँ । चुरोट प्रतिको लगाब बिस्तारै कम हुँदै थियो ।

छोरीहरु हुर्किए पछि, पढिसकेपछि जस्तै भएपनि बाबा अलि नबुझ्ने या थोरै कुराहरु मात्र थाहा पाएको जस्तो ठान्दारहेछन् । मपनि कुनै बेला आफूलाई आफ्नो बाबा भन्दा धेरै जान्ने सुन्ने र कुरा बुझेको सम्झन्थें ।

चुरोट पिउन छाडेको करिव एक महिना भैसकेको थियो । एक दिन खकारमा धुलो मिसिएको झै फोहोर देखें । त्यस्तो खकार कहिल्यै देखेको थिईन । साँच्चै डर लागेर आयो । खकारमा कालो पदार्थ जस्तो देखिंदै गयो । हरेक पटक नियालेर हेर्थें । सधैँ मैलो देख्थें । एक दिन गुगललाई सोधें । फरक फरक जवाफहरु आए । कुनै बेला गुगल भन्थ्यो ‘यो फोक्सोले आफूलाई सफा गरेको हो र तपाईंले अहिलेसम्म धुमपान गर्दा फोक्सोमा जम्मा भएर बसेको धुवाँको कालो पदार्थ (टार) फोक्सोले बिस्तारै बाहिर निकाल्दैछ’ । फेरि कुनै बेला गुगल भन्थ्यो ‘खकारमा कालो देखिनु कुनै रोगको लक्षण हुन सक्छ’ । म वास्तबमै डराउन थालेंब्। घर नजिकै क्यान्सर अस्पताल भएकाले पनि दिमागमा अलि धेरै कुराहरु खेल्न थाले । दिउँसो काम गर्दा काममा मन नलाग्ने र राति निन्द्रा नलाग्ने हुन थाल्यो । हरेक पटक खोकि लाग्दा खकारलाइ सावधानिपूर्वक हेर्ने गर्थें । जहिले पनि कालो देख्थें ।

एक जना नर्स साथीलाई सम्पर्क गरेर सोधें । उनले पनि कत्ति ढिलो नगरी आजै डक्टर भेट्नु भन्ने सल्लाह दिईन । “कत्ति ढिलो नगरी ” भन्ने कुराले मन अझै ढक्क फुलेर आयो । घरमा सल्लाह गरेर म बि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल गएँ । मेरी छोरीलाई म प्रति शंका लागेछ । उ पनि मसँगै अस्पताल गई । उसले सोचिहोली ‘बाबा डक्टरलाई नभेटि फर्कन सक्छ र भेटें भन्न सक्छ’ । छोरीहरु हुर्किए पछि, पढिसकेपछि जस्तै भएपनि बाबा अलि नबुझ्ने या थोरै कुराहरु मात्र थाहा पाएको जस्तो ठान्दारहेछन् । मपनि कुनै बेला आफूलाई आफ्नो बाबा भन्दा धेरै जान्ने सुन्ने र कुरा बुझेको सम्झन्थें ।

बिपि मेमोरियल क्यान्सर हस्पिटल भित्र छिर्न खोज्दा त्यहाँ गेटमा बस्ने चौकिदार भाईले स्यानिटाईजरले हात सफा गरेर मात्र भित्र जान मिल्ने कुरा गर्‍यो । उसै अनुसार भित्र छिर्यौं हामी बाबा छोरी । मेरो मन भित्र थुप्रै डरहरु उम्रिदै, हुर्किँदै र नष्ट हुँदै थिए । छोरी टिकट किन्न लाईनमा उभिई । म यता उता हेर्दै थिएँ । टिकट काउन्टरको माथि लेखिएको थियो- “टिकट लिँदा कृपया आफ्नो सक्कली प्रमाणपत्र देखाउनु होला, नत्र क्यान्सर रोगीले पाउने एक लाख रुपैयाँको सहयोग पाउनुहुने छैन ।” मलाई त्यो एक लाखको चिन्ता होईन कि बरु म आफू क्यान्सरकै रोगी भैसकेछुकि भन्ने पिर बढेर आयो । खुसुक्क छोरीको अनुहारमा हेरें । उसलाइ काउन्टर माथि लेखेको पढ्न संकेत गरें । उसले मनमनै पढी र म तर्फ हेरेर खिस्स हाँसी । हाँसो भित्र के लुकेको थियो मेरा आँखाहरुले पढिसकेका थिए।

बिहानको १० बज्यो । टिकट काउन्टर खुल्यो । म लाईनमा उभिनेहरु हेर्दै थिएँ । कसैको अनुहारमा पीडा थिएन । सबैलाई क्यान्सर आदत भईसकेको झैं लाग्थ्यो । मैले सोचें- मलाई यहाँ देखेर के सोच्दै होलान् यी मानिसहरु ? ६ फिट दुई ईन्च अग्लो, लामा दारि जुँगा, हट्टाकट्टा शरिर भएर पनि हामी जस्तै रहेछ पो भन्ने ठाने कि ?

मलाइ यसैबेला करिब २०४७ साल तिरको घट्ना सम्झना आयो । म त्यस समय ओशो आश्रम, सौराहा जाने गर्थें । समय समयमा ध्यान योगमा पारङ्गत स्वामीजीहरु नयाँ साधकहरुलाई नव – सन्यास दिनु हुन्थ्यो । सन्यस्त भएपछि वहाँहरु नाच्दै, झुम्दै रमाउँदै फर्कनु हुन्थ्यो । हामी अङ्कमाल गरेर स्वागत गर्थ्यौं। मेरो दिमागमा यस्तै यस्तै कुराहरु खेल्दै थिए । यदि मेरो पनि क्यान्सर पुष्टि भयो भने अस्पतालमा उपचार गराई रहनुहुनेहरुले यस्तै सम्झाई, फकाई मेरो मन बुझाउन खोज्नु हुन्छ कि भन्ने सोच्न थालें । छोरीले सोधी- ड्याडि, शरिरको कुन भाग जाँच्ने हो र ? मैले भनें- फोक्सो ।

छोरीले टिकट लिएर आई । मलाई टिकट थमाउँदै भनी- डा. विनय सँग भेट्नु होला । मैले ‘हस’ भनें र डा. विनयको क्याविन खोज्दै गएँ । केही क्षण लामो साईजको टिकट जुन खुसुक्क गोजीमा राख्न पनि नमिल्ने बोकेर ढोका अगाडि उभिएँ । चिनजानका डक्टर, नर्स र छिमेकिहरु यता उता गर्दै थिए । म कसैसँग आँखा नजुधाई अन्तै भित्ता या सिलिङतिर आँखा घुमाउँदै थिएँ । एउटा भाइ नजिकै आएर बोलायो- दाइ, नमस्कार । मैले नमस्ते फर्काएँ । फेरि भित्ता हेर्न थालें । उसले सोध्यो- यता खास के थियो दाइ ? टिकटपनि लिनु भएको छ । मैले भनें- खास केहि होईन भाई, डा। विनयलाई भेट्न खोजेको । उ अलि पर गयो । उभिएर मेरो निगरानि राख्न थाल्यो । यदि मलाई क्यान्सर रोगलागेको खबर गाउँसम्म पुर्याउन पाए उसको त्यस दिनको दुई छाक नै सजिलै पच्ने वाला थियो । म उ त्यहिँ छ कि गयो होला भनेर पुलुक्क हेर्थें । उ पनि मलाई हेरिरहेको हुने रहेछ।पटक पटक हाम्रो आँखा जुधिरह्यो।

क्यान्सर रोगसँग अलि धेरैनै डराईरहेको थिएँ म । यस रोग लागेपछि धेरै मान्छे सञ्चो भएर घर फर्कन्छन् भन्ने कम थाहा थियो । घर वरिपरि क्यान्सर रोगका बिरामीहरु, उनिहरुले पाएको दुखजस्ता कुराहरुले यस रोग देखि धेरैनै डर लाग्छ । त्यहि डरलाई मित्र बनाएर बाँकि समय बाँच्नुपर्ने हो कि भन्ने कुराले धेरै बेर सताईरह्यो ।

डा। विनय सँग भेट्ने मौका जुर्यो ।  उहाँले सोध्नु भयो- के छ सर ? के भयो हजुरलाई ? मैले नमस्ते गरेर नजिकै कुर्चिमा बसें । भनें- सर जम्मा जम्मि २७ बर्ष चुरोट पिएँ । २० बर्ष रक्सि पिएँ । एक ताका बिद्यालयमा शिक्षक हुँदा सुर्ति नखाएसम्म पढाउन नसक्ने भएको थिएँ । ठमेल बस्दाका समयमा चरेश पनि सेवन गरेँ । बाबा हुन्जेल वहाँको डरले लुकि लुकि पिएँ । बाबा बित्नु भएपछि आमासँग खासै डर लागेन । आमालाई फकाउन धेरै सजिलो हुन्छ । सानो तिनो घुर्किले पनि काम गर्छ । ज्यादै भयो चुरोट र रक्सि सेवन भनेर दुबै छाडिदिएँ । तर एक महिना बित्न नपाउँदै खकारमा कालो खरानी जस्तो आउन थाल्यो । त्यसैले हजुरलाई भेट्न आएँ । डा. विनयले छाती र ढाडमा स्टेथेस्कोप लगाएर जाँच्नु भयो र भन्नुभो – त्यस्तो त केही देख्तिन । तैपनि सिटि स्क्यान गराउनुस् ।

मेरो रोगप्रतिको आशंका बढ्न थाल्यो । निधारमा चिट चिट पसिना आउन थाल्यो । एक पटक सबै आफन्त र साथीभाईहरु सम्झें । असल त जिन्दगिमा के नै पो गर्न सकें होला र ? तैपनि अझै कति बदमासि गर्नै बाँकि थियो ।

म डाक्टरको कोठाबाट बाहिर निस्कें । कसैले देखिहालेकि भनेर वरिपरि हेरें । क्यान्सर हस्पिटलमै काम गर्ने नर्स मित्रलाई फोन गरें र सिटि स्क्यानलाई कति तिर्नु पर्ला भनी सोधें । साथीले १५ हजार जति हो कि ? भनिन् । म घर आएँ । सोचें, सिटि स्क्यानकालागि कपडा पनि फुकालेर कुनै गाउन जस्तो अन्य कपडा लगाउनुपर्छ होला । त्यसैले भित्रि बस्त्र फेरें । १५ हजार लिएँ । अस्पताल फर्कें । करिब ४ हजारमा सिटि स्क्यान भयो । सिटि स्क्यानमा हामीले अहिले हेर्दा केहि देखेका छैनौं । तर डक्टरले देख्न सक्नुहुन्छ भन्ने कुरा सिटि स्यान प्राविधिक मित्रले भन्नु भयो । सिटि स्क्यानको पेपर नर्स मित्रलेनै राख्नु भयो र पछि मसँग कुरा गर्छु भन्नु भयो । मलाई ठूलै रोगले च्याप्तै छ भन्ने शंका बढ्दै गयो ।

घर आएँ । छोरीले सोधी- सिटि स्क्यान भयो ड्याडि ? ‘भयो’ । उनी पेशाले नर्स भएको कारण अति धेरै चासो देखाउँदै थिई । सिटि स्क्यानको एक्स-रे खै त ? उसले सोधी । मैले हस्पिटलमा साथीले उसैसँग राखेको कुरा बताएँ ।

क्यान्सर लाग्यो भन्ने जानेपछि श्रीमती र छोरी अलिक टाढा टाढा भैरहेका हुन् कि जस्तो लाग्न थाल्यो । बिस्तारै आशा मार्न थालेका हुन् कि जस्तो लाग्यो । सोचें, आखिर सबैकुरा बाचुन्जेल मात्र त हो नी ! ‘मर्दैछ’ भन्ने थाहा भएपछि अझै मायाँ गर्नुको अर्थ पनि त छैन । आखिर श्रीमती र मेरो नाता नै पो के छ र ? बिवाह गर्दा पनि कतैबाट कुनै नाता नपर्ने ब्यक्ति खोजेर बिवाह गरेको त हो । म झोक्रिएर एउटा कोठामा बसें । उनीहरु कोहि मेरा नजिक आएनन् ।

मेरो दिमाग उल्टो चल्न थालेको थियो । क्यासेट प्लेयरमा रिवाईण्ड गर्दा निस्कने आवाज जस्तै विचारहरु रिवाईण्ड हुँदै थिए । म जतिसक्थें उतिधेरै कुराहरु सम्झँदैं थिएँ । कतिपय कसैसँग सेयर गर्न नमिल्ने सुन्दर गल्तिहरु संझेँ । परम आनन्द महसुस गरें । फेरि संझे । कुनै काम गर्ने तिब्र ईच्छा छ कि भनेर । त्यस्तो केहि लागेन । केही यस्ता मित्रहरुको संझना भयो कि मन थाम्न सकिन । थाहै नपाई आँशु खसिसकेका थिए । मलाई लाग्यो, जीवनमा असल मात्र भएर लुकिछिपि बदमासि नगरेको थिएँ भने सम्झनका लागि म सँग केही हुने रहेनछन् । वाल्यकाल र युवा अवस्था चकचक र बदमासि गर्ने नै उमेर रहेछ ।

फेरि संझे । कुनै काम गर्ने तिब्र ईच्छा छ कि भनेर । त्यस्तो केहि लागेन । केही यस्ता मित्रहरुको संझना भयो कि मन थाम्न सकिन । थाहै नपाई आँशु खसिसकेका थिए । मलाई लाग्यो, जीवनमा असल मात्र भएर लुकिछिपि बदमासि नगरेको थिएँ भने सम्झनका लागि म सँग केही हुने रहेनछन् ।

आजकल हामी आफ्ना केटाकेटी हरुलाई सानै देखि सभ्य, अनुशासित बनाएर उनीहरुलाई जीवन बाँच्न दिईरहेका छैनौं । हामी उनिहरुलाइ ब्रोईलर कुखुरा झैं हुर्काई रहेछौं । जे होस् युवा अवस्थामा समाजले बदमास ठान्ने साथीहरु बनाएँ । सिक्नु नसिक्नु सिकाए । नजाने ठाउँमा लिएर गए । उभिनु नहुने ठाउँमा उभ्याए । खान नहुने कुरा खुवाए । साच्चै भन्नेहो भने ती बदमासिहरुले नै मलाई विश्वविद्यालयले सिकाउन नसकेको जीवनोपयोगी पाठ पढाएको छ । आजकल त्यसैकारण मानिसहरु छिट्टै चिन्छु । दुखि गरिवलाई खान दिन्छु । चराचर जगत आफ्नै लाग्छ । मुठ्ठि बन्द गरेर के के न गर्छु भनेर जन्मने मान्छेहरु हामीले वाल्यकालमा खेलिने केही खेलहरुकै अलि अपडेटेढ भर्सन खेल नै खेलेजस्तो लाग्छ । कागजका टुक्राहरुलाई सय, हजारका नोट बनाएर खेलेकै हो । विहे गरि खेलेकै हो । बा-आमा बनेकै हो । श्रीमान- श्रीमतिको भूमिका निभाएकै हो । घर बनाई खेलेकै हो । आखिर जीन्दगी त उसैबेला पो बाँचिएछ त ।

छोरी र श्रीमती कम बोल्न थाले । कम ठट्टा गर्न थाले । मलाई लाग्यो, अब म यस रोगसँग लढ्न सक्तिन कि ? घर, जग्गा, सम्पति मेरै उपचारमा स्वाहा हुने हो कि ? आखिर घरको एक जना कुनै ठूलो रोग लागेर उपचार गर्दै गर्दा घर घडेरि पनि सकिनु र उपचार गर्दै गरेको घरको मुल मान्छेलाई पनि जोगाउन नसक्नु जस्तो अवस्था आएर बाँच्नेहरुले पनि सुखले जीन्दगी काट्न नसकेको अवस्था आफैंले देखे सुनेको कारण पनि म अति सम्वेदनशिल अवस्थामा थिएँ । म जस्तो मध्यम बर्गिय नेपालीका लागि यो रोग भयंकर महङ्गो पर्छ भन्ने म मा पुर्वआभास भईरहेको थियो।

त्यस दिन भरि न भोक लाग्यो न त निन्द्रा नै । भोलि पल्ट बिहानै उठें । कराग्रे बसते लक्ष्मि, करमध्य सरस्वति देखि लिएर समुन्द्र वसने देवि पर्वतस्तनमण्डले र नुवाउँदै गर्दा गंगे च यमुने चैव र त्यसपछि त्वमेव माता च पिता त्वमेव साथै हनुमान चालिसा पाठ गरें ।

भावनाको हुरिबतासले मन होँडलिराख्यो । थम्नै नसकेपछि श्रीमती र कान्छी छोरीलाई सँगै राखेर भनें- यदि मेरो शरिरमा कुनै ठूलो रोग र सञ्चो नहुने रोग देखियो भने म हिमालय क्षेत्र तिरको यात्रामा निस्कन्छु । उतै योग, ध्यानमा समय बिताउँछु । तिमीहरुले मेरो चिन्ता नलिनु । योग, ध्यान, सात्विक भोजन, स्वच्छ हावापानीबाट नै म मेरो शरिरको विकार फ्याँक्न सक्छु । यदि भनेजस्तै भएर रोगबाट मुक्ति पाउनसके हाँसिखुसि केहि वर्षपछि सकुसल फर्किहाल्नेछु । त्यसपछि दुखजेलो गरेर भएपनि सुखि र खुसि जीवन फेरि सँगै बाँचौंला । यदि आफूले सोचे जस्तै भएन भने पनि दुख नमान्नु । किनकि सुख दिन नसकेपनि जीन्दगीमा तिमीहरु सबैलाई सताएको छु । कति समय जानेर नजानेर दुर्व्यवहार गरेको छु । मुख छाडेको छु । छोरीहरुलाई कति पटक चित्त दुखाएको छु । यी सबै कुराहरु पनि त बिर्सेको छैन मैले । त्यसकारण मलाई तिमीहरुले सम्झने भन्दा बिर्सने कामहरु धेरै गरेको छु । मलाई थाहा छ, तिमिहरुले मलाई छिट्टै बिर्सने छौ ।

अस्पतालदेखि मलाई सानै देखि वितृष्णा थियो । सानोमा जण्डिस हुँदा भरतपुर अस्पतालमा भर्ना लेखिदिए डाक्टरले । म हस्पिटल बाट भागें । चितवनमा नै त्यस समय ” चन्द्र मेडिकल” र पछि “अमृत थोपा ” मेडिकल चर्चित थिए । त्यहाँ पुगेपछि जस्तै रोगको पनि उपचार हुन्छ भन्ने मान्यता थियो । पछि गाउँ नजिकैका एक जना मानिसले झारफुक गरेर मेरो जण्डिस सन्चो पारेका थिए ।

दिउँसो रिपोर्ट लिन हस्पिटल पुगें । मनमा अनेक थरि कुराहरु खेल्दै थिए । तर डा. विनयको विदा बस्ने दिन परेछ । नर्स साथीलाई फोन गरें । उनले एक छिन कुर्न लगाईन् । हस्पिटलको भित्रि मूल ढोका बाहिर साथी कुर्दै थिएँ । त्यसैबेला रोगले ग्रस्त पारेका बिरामीहरु यता उता गर्दै थिए । म तिनीहरुमा आफ्नो भविष्य देख्दै थिएँ । साथीलाई अलि परबाट आफूतिर आउँदै गरेको देखेंब्। उसको मुहारमा हेर्दै त्यस मुहारमा आउने परिवर्तनहरु पढ्न थालें । साथी मसँग आँखा पनि नजुधाई नजिकै आएर उभिईन् । उनको अनुहारमा कुनै त्यस्तो खुसि थिएन जुन मलाई देख्ता या भेट्ता उनमा देख्ने गर्थें । उनले सिटि स्क्यानको एक्स-रे पेपर मलाई दिँदै भनिन्- आत्तिनु पर्दैन । भोली विनय डक्टर सापलाई भेट्नु । अलिकति दाग जस्तो देखिएको छ । डाक्टरले ५६ महिनाको लागि औषधि लेख्न सक्नुहुन्छ । नियमित खानु र त्यसपछि फलोअपमा आउनु ।

म फेरि नराम्रो सँग डराएँ । मलाई लाग्यो क्यान्सर रोगिहरुको जिन्दगि ओखतिबाट शुरु हुन्छ । केमोथेरापीबाट अघि बढ्छ र फलोअपहरु हुँदै हस्पिटलको ओछ्यानमा थला पर्छ । अन्तिम विदाका शब्दहरु राख्न घर आउँछन् ।

थम्नै नसकेपछि श्रीमती र कान्छी छोरीलाई सँगै राखेर भनें- यदि मेरो शरिरमा कुनै ठूलो रोग र सञ्चो नहुने रोग देखियो भने म हिमालय क्षेत्र तिरको यात्रामा निस्कन्छु । उतै योग, ध्यानमा समय बिताउँछु । तिमीहरुले मेरो चिन्ता नलिनु ।

जीन्दगिसँग त्यस्तो धेरै प्रेम र मृत्युसँग घृणा भएर बढेको थिएन म भित्र रोगको डर । यसका केही कारणहरु थिए-
१- म खुल्ला प्रकृति, जंगल, खोलानाला, एकान्त स्थानको प्रेमी भएका कारण रोगलागेपछि यीनिहरुसँगको भेटघाट र कुराकानिमा कमि आउँदै जान्छ भन्ने पिर बढ्दै थियो ।

२- साथीसँगीहरु सँगको भेटघाट, प्रेमिल कुराकानी, खानपिन सबै कुरामा कमि आउँदै जान्छ भन्ने अर्को पिर ।

३- परिवार र आफन्तहरुमा थपिने दु:ख र चिन्ताका कुरा, ईत्यादी ।

सिटि स्यानको पेपर लिएर आएँ । बाटोमा मोटरसाईकल रोकेर सिटि सक्यान लाई घाम तिर फर्काएर हेरें । सबै कालो थियो । कतै केहि देखिन । त्यस दिनभरि घरमै बसें । एक मनले सोचें- चुरोट, रक्सि छोडेर गल्ति गरेछु । खाईरहेको भए सायद केहि हुन्न थियो कि ? चुरोट प्रेमिका भन्दा प्रिय लाग्थ्यो । आफ्नो जिम्माको काम सकेर चुरोट पिउँदा अलौकिक आनन्द पाउथें । त्यस क्षण चुरोटलाई सार्है मिस गरें । चुरोट किन्न जाने बिचार गरें । घरबाट निस्किएँ । पसल पुगेपछि यहि मनले भन्यो- अरु एक दिन नपिउनु । रिपोर्ट हेर्नु पहिला । हो जस्तो लाग्यो । क्रयानवेरि जुस किनेर फर्किएँ ।

भोलिपल्ट बिहानै डा. विनय भेट्न झोलामा सिटि स्क्यान पेपर राखेर हिंडे । डा. विनय ब्यस्त हुनुहुँदो रहेछ । थुप्रै बिरामीहरु लाईनमा आफ्नो पालो कुरेर बसेका थिए । मपनि उभिएर आफ्नो पालो कुर्दै थिएँ । कहिलेकाहिँ डा. विनयको सहयोगि परिचारिकाले ढोका खोल्दा तैपनि डा. विनय सँग आँखा जुधिहाल्छ कि भनेर हेर्थें । तर जुध्दैन थियो । परिचारिकालाइ अलि छिटै डाक्टर भेटाईदिनुहोस् भनेर निवेदन गरें । मुसुक्क हाँसेर ‘हुन्छ’ भनिन् । तर भेटाईनन् ।

अन्तिममा सबै बिरामीको पालो सकिएपछि डा. विनयले आँखा जुधाउनुभयो । म भित्र पसें । डाक्टरले सिटि स्क्यान हेर्नू भयो र भन्नुभयो भयो- हुन्छ म हजुरलाई ओखति लेखिदिन्छु । नियमित खानुहोला है ? मैले टाउको हल्लाएँ ।

डाक्टरले म्युकलाईटिस् र एन्टिवायटिक लेखिदिनु भयो र भन्नू भयो – तपाईं लक्कि हुनुहुँदो रहेछ । यति लामो समय चुरोट र रक्सि सेवन गरेपनि तपाईं स्वस्थ हुनुहुन्छ । अब साँच्चै यी कुराहरु छाडिदिनोस् । प्रसस्त पानी र स्वस्थ खानकुरा खानुहोला।

मैले आफूलाई त्यस दिनदेखि संसारमा सबैभन्दा सुखि महसुस गर्न थालेको छु । आफू कुनै अरुनै ब्यक्तिको शरिरमा छु जस्तो महशुश हुन थालेको छ । नयाँ घर निर्माण गरेर घरपैंचो गरि बस्न थालेको महशुश हुन थालेको छ । म र शरिर दुई फरक चिज रहेछन् । शरिर म होईन रहेछ भन्ने बोध हुन थालेको छ । आफूले शरिरलाई मायाँ गरेमात्र शरिरलेपनि आफूलाई मायाँ गर्छ भन्ने लागेको छ।

तपाइँको प्रतिक्रिया