शुक्रबार, वैशाख १४, २०८१

अष्ट्रेलियाको नेपाली समूदायमा बढ्याे आत्महत्या

हिरा श्रेष्ठ / अष्ट्रेलिया२०७७ भदौ २९ गते १५:५१

अष्ट्रेलिया – कोरोनाको कहर र बिदेशिने रहरबिच सीड्नीमा उच्च अध्यनका लागि आएका तीन नेपाली विध्यार्थीले पछिल्लो महिना आत्महत्याको बाटो रोजेर संसारबाट बिदा भए । रकडेलमा झापाकी नानी र ग्रानभिलमा भक्तपुरे युवाले डोरीमा पासो लगाएर संसार त्यागेको पीडादायक खबर थियो नेपाली समूदायका लागि । यता समाचार बनेका नानी बाबाहरुको अभिभावकमा परेको बज्रपातको चर्को पीडाको के कुरा । यति मात्र हैन, पछिल्ला केहि महिना केलाउने हो भने अस्ट्रेलियामा पढन आएका आधा दर्जन नेपाली विध्यार्थीहरुले विविध कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।

उच्च अध्ययनका लागि लाखौं खर्चेर बिदेश पठाएका छोरा नानीहरुले अल्पायुमा ज्यान गुमाएको घट्नाले पार्ने प्रभावको लेखाजोखा गर्ने हो भने यो संवेदनशिल घट्नाका रुपमा लिनुपर्ने देखिएको छ ।

बिदेश भन्ने बित्तीकै खुट्टा उचालिहाल्ने हाम्रो युवा पुस्ता र देखासेखी गर्ने हाम्रो समाज अनि बुझ्दै नबुझी बिदेश पठाउने हाम्रा अभिभावक यस घटनाका दोषी चस्मा हुन् ।
बिदेश गएपछि कमाएर पढ्छ र सके नेपाल पनि पैसा पठाउछ भन्ने सोच । बिदेश आएपछि महिनौं कामको खोजी र महँगो शैक्षिक शुल्क अनी मनमौजी जिवनशैली जस्ता बिषयहरुले विध्यार्थीमा परेको मानसिक असरले केहिलाई जोगि बनाउँछ भने कतिलाई रोगी बनाएर जिवनै त्याग्नेसम्म बनाउँछ ।

एसएलसी र १२ कक्षा पास गरेपछि समुन्द्रका किनार र गगनचुम्बी मिनार देखेर बिदेशीएका युवाहरु यतिखेर पढाइ लेखाइ छाडेर उबर र क्लीनिङ अनि होटलमा तन्ना कस्दै र रेस्टुरेन्टका भाँडा माझ्दै गर्दा उनिहरुको मनोबलमा कस्तो प्रभाव पर्दैछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसमाथि पनि पछिल्लो तिन महिनादेखि कोरोनाको प्रभावले थलिएको कामधन्दा । विध्यार्थीहरुमा अभाव र समस्याले नैराश्यता जरो गाड्दै जाँदा छचल्कीएको पीडावोधले कहिलकाहीँ जिवनै समाप्त पार्नपनि पछाडि पर्दैनन् ।

देशका प्रतिभाशाली युवाहरु दक्षता अभिबृद्धीका लागि उच्च शिक्षा हासिल बिदेश आउँदा पढाइ भन्दा उल्झीने काम र त्यसबाट प्राप्त हुने दाममा जिवन बर्बाद गरिरहँदा उनिहरुमा देखिएको प्रभाव पनि हो यो । एसएलसी र १२ कक्षामा डिस्टीङसनको सर्टिफीकेट झुन्डाउँदै डाक्टर र इन्जिनियर अनि बैज्ञानिक र प्राध्यापक बन्ने सपना बोकेका देशका मेरुदन्डहरु बैदेशिक अध्यनका नाममा गलत सोचाइ र प्रतिकूल रोजाइका कारण पनि दोधारमा परेको देखिन्छन् । भिषा लागेपछि साथीभाइलाई पार्टी दिएको संझदै केहि महिना अघि मात्र सिड्नी झरेका काभ्रेका संजोग पराजुली भन्छन ‘यहाँं आएको दुइ महिनासम्म काम पाइएन । बिश्वबिद्यालयको महँगो फीस, ल्याएको पैसा सकियो । त्यसपछिको के कुरा संझनु । अहिले एउटा काम पाएपछि पढाइ अगाडि बढ्ला जस्तो भएको छ ।’

आफैंले रोजेको देशमा सोचेको जस्तो अनि खोजेको कुरो नपाएपछि मानिसमा नैराश्यता छाउनु स्वभाविक नै हो । यसमा अझ युवा वर्ग बढि प्रभावित हुने गर्छ । आत्महत्याका घट्ना बढ्नुको पछाडीका प्रमुख कारण मानसिक समस्या रहेको बताउँछन, सीड्नीका युवा अभियन्ता डिला खरेल । आफूहरु पनि विध्यार्थीहुँदै व्यवशायी बन्दैगर्दा भोगेको अनुभव सुनाउँदै डिला खरेल भन्छन “अहिलेको युवा वर्गमा सहनसीलता र धैर्यतामा कमी देखिन्छ । सानो समस्यामै आत्तीने र ससना उपलब्धीमै मात्तीने बानीले पनि मानिशलाई बढि इमोशनल बनाएको छ” खरेलले भने ।

सानो उमेरमै बिदेशीएका नानी बाबुहरु एक्कासी खुला समाजमा आइपुग्दा संहालिन नसक्नु अर्को कारण हुनसक्ने बिज्ञहरुले निश्कर्ष निकालेका छन् । अभिभावकको नियन्त्रणमा रहेका भाइ बहिनीहरु एक्कासी यहाँ आइपुग्दा लागुपर्दाथ र कुलतको शिकारमा फस्नसक्ने र त्यसबाट बिचलित भइ आफूखसी गलत निर्णय गर्नसक्ने बताउँछन,एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मी ।

कोरोनाको कहरलेपनि यतिखेर अस्ट्रेलियामा थुप्रैको रहरहरु मेटिन पुगेका छन् । कतिपयको काम गएको छ । कतिको ब्यापार बिग्रिएको छ । पढाइ र लेखाइ घरबाटै चलेपनि महँगा फीले भने पछ्याउन छोडेको छैन । यस्तै यस्तैमा पीडाका भावलाई सबैको साथ बाँड्ने कार्यमा एनआरएन लगायतका बिभिन्न संघ संस्थाहरु लागिपरे पनि त्यो पर्याप्त छैन । त्यो किनभने हजारौंको संख्यामा बिध्यार्थीहरु बेरोजगार भएका छन् र जिन्दगी चलाउन हम्मे हम्मे भएको छ । बिदेशी भूमिमा कुनैपनि नेपालीले अभाव र प्रभावका कारण आत्महत्याको बाटो रोज्नु नपरोस ।

तपाइँको प्रतिक्रिया