बिहीबार, वैशाख १३, २०८१

यहि उडानका कारण पाइलट बिजय लामालाई कोरोना : सोल्टीमा क्वारेन्टाइन

नेपालप्लस प्रतिनिधि२०७७ भदौ ३० गते २१:३४
साउथ सुडान गएको जहाजबाट फिरेपछि कोरोना भेटिएकाले अहिले सो जहाजमा गएका २०० भन्दा बढी नेपाली सैनिक पनि ‘कन्ट्याक्ट ट्रेसिंग’ मा परेका छन् । तर, केही लक्षण नदेखिएको अवस्थामा सुडानमा रहेका सैनिकको भने पीसीआर गरिएको छैन ।
काठमाडौं— कोरोना कहरका माझ पनि सुविधा लिन र पाउन सकिन्छ भने किन पछि पर्ने भन्ने मनसाय बोकेर नेपाल वायुसेवा निगमका पाइलट, एयर होस्टेससहित बरिष्ठ तहका कर्मचारीहरु होटल सोल्टीमा ‘क्वारेन्टाइन’ बस्दै आएको लामो समय भैसकेको छ ।
यहि क्रममा नेपाली शान्ती सेनाको डफ्फा लिएर गत सेप्टेम्बर ११ मा साउथ सुडानको जुमामा उडान भरेर फिरेका नेपाली क्याप्टेन बिजय लामा पनि कोरोना पोजेटिभ देखिएपछि सोल्टी होटलका पाहुना बनेका छन् । उनीसँगै एक विदेशी क्याप्टेन र केही प्राविधिक पनि सोल्टी क्वारेन्टाइनमा छन् । बायुसेवाले तोकेको मापदण्ड र तय गरेको व्यवस्थाअनुसार बिजयसहितको समूह सोल्टीमा बस्न पुग्नु कुनै अनौठो कुरा होइन । तर, सोल्टीमा बस्नासाथै सबै स्वास्थ्य सुरक्षा रहन्छ, सम्भव छ भन्ने ग्यारेन्टी कसले गरिदिने ?
साउथ सुडान गएको जहाजबाट फिरेपछि कोरोना भेटिएकाले अहिले सो जहाजमा गएका २०० भन्दा बढी नेपाली सैनिक पनि ‘कन्ट्याक्ट ट्रेसिंग’ मा परेका छन् । तर, केही लक्षण नदेखिएको अवस्थामा सुडानमा रहेका सैनिकको भने पीसीआर गरिएको छैन ।

वायु्सेवा निगमका अनुसार नियमित उडान भएको अवस्थामा क्वारेन्टाइनमा बसेरै ४ देखि ५ वटा फ्लाइट भर्ने गरिएको छ । अथार्त १४ दिनको तालिकाभित्र अर्को उडान परेमा फेरि उही पाइलट सोल्टीबाट निस्किएर एयरपोर्ट पुग्छ । र फर्केर सोल्टीमैं आएर बस्छ ।

सुरक्षा प्रबन्ध र कोरोना सचेतनाका आधारमा यसरी सोल्टीमा ‘क्वारेन्टाइन’ राख्नु ठीकै होला । तर यसैगरि चार्टर फ्लाइट भरेर आएका हिमालय एयरलाइन्सका पाइलट, स्टाफ भने कहिँकतै पनि होटलमा बसिरहेका छैनन् । सबैजना पूर्ण सुरक्षा र सतर्कताका उपाय अपनाएर घरमैं बसेर काम गरिरहेका  छन् ।

कोरोना संक्रमणका माझ कुवेत, युएइसहितका मुलुकबाट नेपाल बायुसेवामैं उडेर आएका केहि नेपाली यात्रुमा कोरोना पोजेटिभ भेटिएपछि अहिले कोहि आइसोलेसन त कोहि आइसीयु कक्षमा बसेर उपचाररत छन्, तर सोल्टीमा बस्ने पाइलट र अरु कर्मचारीहरु भने ५० भन्दा बढि जना अट्ने एउटै कक्षमा बसेर लन्च–डिनर लिन अनुमती पाइरहेको समाचार समेत सार्वजनिक भैसकेको छ ।

देखावटि सुरक्षाका लागि गरिएको लगानीले जोखिम मात्रै निम्त्याएको छैन, निगमको घाटा समेत बढिरहेको छ । यस घटनाक्रमले जे जसरी भएपनि फाइदा उठाउने र राज्यदोहन गर्ने नियतमा नेपाल बायुसेवा लागिपरेको देखिन्छ ।

सरकारले तोकेको क्वारेन्टाइन होटलको मापदण्ड र सूचीमा नपरेपनि उपयुक्त सेवासुविधा तथा सुरक्षा रहेको भन्दै अहिले नेपाल वायुसेवाका पाइलटहरु, काठमाडौं महानगरका मेयर र अन्य थुप्रै उच्चपदस्थहरु सोल्टी होटलको क्वारेन्टाइनमा छन् । अरु मापदण्ड तोकिएका होटलमा विदेशबाट कुनै फ्लाइटमा उडेर आउनासाथै ५ दिनको प्याकेजका लागि ११ हजार ५ सय रुपैंया र ५ दिनपछि अनिवार्य  पीसीआर टेष्ट भएपनि सोल्टीका हकमा यो लागू छैन । सोल्टीमा एक रातकै औसतमा १० हजार रुपियाँ र सामान्यतया क्वारेन्टाइनको १४ दिने अवधीसम्ममैं यी उच्च पदाधिकारीहरु बस्ने गरेका छन् ।

‘यो बितेको २ महिनामा मात्रै नेपाल बायुसेवाका १ सय ५० भन्दा बढि पाइलट, एयरहोस्टेज, प्राविधिकहरु सोल्टी क्वारेन्टाइनमा आएका छन्,’सोल्टी व्यवस्थापनका एक कर्मचारी भन्छन्—‘नेपाल वायुसेवाबाटै २ करोड रुपैंया सेवासुल्क उठ्नुपर्ने देखिन्छ ।’ नेपाल वायुसेवाकै हकमा सोल्टीबाट आउने दैनिक खर्चको हिसाब ५ लाख रुपियाँभन्दा बढि हुने गरेको छ । जबकि हिमालय एयरलाइन्स र नेपाली सेनाको समेत कतिपय चार्टड फ्लाइट भैरहेकै भएपनि ती उडानका पाइलट र अन्य होटल सोल्टीमा बसिरहेका छैनन् । उनीहरु कि त होम–क्वारेन्टाइन अथवा सरकारले तोकेका सामान्य होटलमा बसिरहेका छन् । तर बायुसेवाका पाइलटसहितका अधिकारी भने आफ्नै स्वेच्छा र हवाइ उड्यन सुरक्षा निकाय (आइकाओ) को निर्देशिका देखाएर सोल्टीमा ‘हाइप्रोफाइल क्वारेन्टाइन लाइफ’ बिताउनमा व्यस्त छन् ।

सोल्टीभित्रै बसेका पाइलट तथा क्रु–मेम्बरलाई कोरोना हुन थालेपछि गत असार अन्तिम सातादेखि ‘सिल’ अवस्थामा राखिएको सोल्टी अहिले विशेष सिफारिश र पहुँचमा मात्रै क्वारेन्टाइन सेवासुविधा दिने थलो बनेको छ । नेपाल बायुसेवाका पाइलट बिजय लामा आफैंले फेसबुकमा राखेको विवरणअनुसार, नेपाली शान्ती सेनालाई दक्षिणी सुडानको राजधानी जुमा पुर्याउन काठमाडौं–दिल्ली र दिल्ली–जुमाको १८  घण्टा लामो उडान गरिएको थियो । एयरबस ३३०-२०० बाट गरिएको उडानका बारे बिजयले प्रशंसामा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंशाकारका बारेमा समेत सकारात्मक टिप्पणी गरेका छन् । भ्रष्टाचार, विवाद र बहस भएपनि कंशाकारले नेपालमा पहिलोपटक २ वटा वाइडबडी बिमान ल्याएका थिए ।

तपाइँको प्रतिक्रिया