सोमबार, मंसिर १५, २०७७

कुलमान: तमसोमा ज्योतिर्गमय

थानेश्वर सापकोटा२०७७ भदौ ३१ गते २२:१६

रामेछापको बेथान गाऊँ । काठमाडौं राजधानीबाट यो गाउँमा पुग्न वर्षायाम र प्रतिकूल अवस्थामा त दिनभर लाग्छ । गाडीबाट उत्रेरपनि केही समय हिँडेपछि मात्रै बेथान गाउँ पुगिन्छ जहाँ आज नाम काममा चिनिएका कुलमान जन्मिएका हुन् । उनले टुकी बालेर निम्न माध्यमिक तहसम्मको पढाइ गाउँमा गरे । काठमाडौं आएर एसएलसी गरे । उनले भनेका छन्— एसएलसी दिन काठमाडौंमा भाडामा बस्दा पनि धेरै बिजुली नबाल, महँगो पर्छ भन्दै घरबेटीले बेलुका ८ बजे नै बिजुलीको गुलुप झिकिदिने गरेका थिए रे । त्यसमाथि धेरै समय त आफैं लोडसेडिङ नै हुन्थ्यो ।

उनै कुलमान पढाइमा निकै तेज थिए । एसएलसीमा ४ नम्बर कम भएर मात्रै बोर्डमा परेनन् । उनले अस्कल कलेजबाट आइएससी गरे । भारतको जम्सेदपुरबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र पुल्चोक इन्जिनियरिङबाट पावर सिष्टम इन्जिनियरिङमा मास्टर्स पुरा गरे । दुःख, अभावका माझ कुलमानले पढाइको लाइनअनुसार २०५१ सालमा बिद्दुत प्राधिकरणमा सातौं तहको इन्जिनियर पदमा नाम निकाले । र, आफूले पाएको जिम्मेवारीअनुसार भूमिका निभाउँदै गए । संयोग र अवसरको पल्टाबाजीमा परेर प्राधिकरण छिरेको २३ बर्षपछि त्यहि प्राधिकरणमा उनी कार्यकारी निर्देशक बने । र, यो साता मात्रै सेवा अवधी आधारमा प्राधिकरणबाट बिदा भएका छन् ।

यो त भयो कुलमान घिसिङ भन्ने एक साधारण नेपालीको सामान्य प्रोफाइल । तर, यी पात्र आज एउटा सरकारी संस्थाबाट बाहिरिँदा माइतीघर मण्डलामा उनको जयजयकार भएको छ । कुलमान जिन्दाबादको नारा घन्किएको छ । आखिर किन ? यसको एकदमैं सजिलो र सहज जवाफ छ— बर्षौबर्षदेखि अँध्यारोमुनि बस्दै आएका, बिजुली बत्तीको नाममा लोडसेडिङको सपनाबिपना बेहोर्दै आएका र लोडसेडिङकै तालिकाको फोटोकपी पर्समा बोक्दै आएका लाखौं नेपाली जनसाधारणलाई उज्यालो दिने काम कुलमानले गरे । त्यो पनि आफू कुर्सीमा बसेको ४ महिनामैं दैनिक १८ घण्टासम्म रहेको लोडसेडिङको तालिकालाई शून्य बिन्दूमा झारिदिए । २०७३ सालको लक्ष्मीपुजाको रातदेखि सिंगो देश लोडसेडिङमुक्त भयो । त्यो लक्ष्मीपूजाको रातमा लक्ष्मी माताको भन्दा बढि कुलमानका नाममा घरघरमा दियोहरु सल्किएका थिए ।

नेपालमा सार्वजनिक पदमा रहने र सार्वजनिक इज्जत आर्जन गर्ने पात्र लोपोन्मुखझैं छन् । बिलुप्त नै भन्दा पनि हुन्छ । यहाँ धान रोप्ने याममा मल–बिउ पाइँदैन । धान गोड्ने याममा नहर–पानी पाइँदैन । झापामा सर्पले टोकेमा औषधी लिन दिल्ली जानुपर्छ । तर, त्यहि सर्प पाल्ने बहानामा सत्तारुढ नेता एवं पूर्व प्रधानमन्त्रीका नाममा राज्यले एक अर्व रुपैंयासम्म बिनियोजन गरिरहेको भेटिन्छ, देखिन्छ । काकाकुल झैं बनेको काठमाडौंमा पानी ख्वाउने भनेर ३० बर्षदेखि चलेको मेलम्ची योजना ‘अब आउने दशैंमा पनि पुरा नहुने रे’ भन्ने समाचार धेरैका लागि सामान्य हुन थालिसकेको छ । राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमै संवेदनशिल रहेको पासपोर्ट छपाइको कुरामा पछिल्लो १० महिनामा मात्रै यसको बोलपत्र २ पटक रद्ध भैसकेको छ । सबै बोलपत्रहरु कमिसन र एजेन्टको गोजीमा गएर अड्किएका छन् । हुँदै नभएको र आउनै नसक्ने रेल्वे र पानीजहाजका नाममा अर्बौ रुपैंया बिनियोजन भएर अनेक थरका टेन्डरहरु भैरहेको अवस्था छ ।

यो जन्जालका माझमा एउटा कुलमान ? यो नामै काफी बनेको छ । बर्षौबर्ष घाटामा रहेको बिद्युत प्राधिकरणमा कुलमानले झण्डै ४ बर्ष काम गरेर निस्कँदा आज प्राधिकरण ११ अर्व रुपैंयाभन्दा बढि नाफामा गैसकेको छ । ४ बर्षअघिसम्म झण्डै १२ सय मेगावाट बिजुलीको आन्तरिक माग पुर्याउन हम्मेहम्मे थियो । देशभित्र उत्पादन जम्मा साँढे ६ सय मेगावाट थियो । भारतबाट २ सय ३५ मेगावाट खरिद हुन्थ्यो । अरु बिजुली भने ‘लोडसेडिङ’का नाममा जनताले टुकी बालेर उज्यालो पर्खिरहन्थे ।

कतिसम्म भने २०७३ सालको सुरुवातमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । त्यहि बेला माओवादी उर्जा मन्त्री जनार्दन शर्माले आँट गरेर कुलमानलाई कार्यकारी निर्देशक बनाएका हुन् । यथार्थमा माओवादीले अहिलेसम्म गरेको एउटा उल्लेख्य र असल काम भनेको यही हो— अँध्यारोबाट उज्यालोतर्फ मुलुकलाई लैजाने काम ।

हो, २०७३ साल लक्ष्मीपूजाको साझदेखि लोडसेडिङ हट्यो । यो युगकै एउटा उपलब्धी सम्झाउने गरि । लोडसेडिङ हटेपछि पनि बिजुलीको माग बढेन । उल्टै २ सय मेगावाट माग घट्यो । यसो हुनुमा अर्को धन्दागिरीको हात थियो— घरघरमा रहेका इन्भर्टर, ब्याट्री, ब्याकअप रिचार्ज, डिजेल, सीएफएल, फिलामेन्टका नाममा नचाहिंदो बिजुली खपतको स्थिति नरहेपछि माग स्वभावत घट्ने नै भयो । किनभने यसरी इन्भर्टर, ब्याट्री, ब्याकअपका नाममा करोडौंको धन्दा गर्ने र गराउनेहरु पनि यहि शहरमा थिए ।

कुलमानको यति बिध्न हाइहाइ हुनुको त्यति अर्थ थिएन र छैन पनि । तर, मरुभूमीमा सानो झार प्रकृतिको ‘अँडेली’ उम्रियो भने पनि त्यसलाई रुख नै भनिन्छ । कुलमान पनि यहि असल, सदाचारी, इमान्दार र पारदर्शी पात्रको खडेरी परेको नेपाली जगतमा त्यही ‘अँडेली’ मात्रै हुन् जसलाई हामी ‘रुख’ भनिरहेका छौं । किनभने कुलमान आउनासाथै बिद्युत उत्पादन ह्वात्तै बढेको पनि होइन । भारतबाट बिजुली किन्ने काम अहिले पनि भैरहेकै छ । तर, प्राधिकरणभित्र भैरहेको भ्रष्टाचार, नाताबाद–कृपाबाद र बिजुली चुवाहटलाई कुलमानले जेजसरी रोके, त्यो व्यवस्थापकीय क्षमता थियो । यो क्षमताका कारण कुलमान ‘उज्यालो कुलमान’ बनेका हुन् ।

संयोग नै भन्नु पर्छ, यहिबिचमा ४ सय केभी ढल्केबर–मुजफ्फरपुरको अन्तरदेशीय प्रसारणलाइन पनि बन्यो । यसैबिचमा चमेलिया (३० मेगावाट), माथिल्लो त्रिशुली ३ ए(६० मेगावाट) आदिका उत्पादन पनि थपिए । कुलमान प्राधिकरणमा आउँदा चुहावट २६(२७ प्रतिशत थियो । कुलमानले चुहावट क्रमशः घटाउँदै १६ प्रतिशतमा झारे । नेपाल बिद्दुत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार, अहिले ८६ प्रतिशत जनतामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । ४ बर्षअघिसम्म ६३ प्रतिशत घरमा मात्रै बिजुली जोडिएको थियो । त्योपनि कम्तिमा आधा दिन लोडसेडिङको तालिकासँगै ।

उनको नियमित पदावधी सकिएर पदमुक्त हुनु अहिलेको स्थिति स्वभाविक हो । तर, यस्ता गुणग्राही र नतिजा देखाउन सक्ने बिरलै पात्र अरु एक कार्यकाल थपिन पाएमा अझ केही काम हुने थियो भन्ने जनअपेक्षा हुनु स्वभाविक हो । अहिले काठमाडौं शहरको आकाशमा सलहझैं झुुन्डिएको बिद्युतीय तारलाई जमिन मुनि बिछ्याउने अर्को योजनामा दत्तचित्त भएर लागिसकेका कुलमानले यो काम पनि केही बर्षमा फत्ते गराउनै लागेका थिए । तर, राज्यपद्धतीले योग्यता र कार्यसम्पादन मूल्यांकनभन्दा सम्धी, ससुरा, साला, साली, भाइ, बुहारी, मित भिनाजु आदिलाई बढि चिन्नु र जान्नुपर्ने थिती बसाउँदै लगिरहेका बेलामा कुलमान आखिर को हुन् र ?

यसकारण कुलमान किन बाहिरिए भनेर रडाको मच्चाइरहनुको त्यति तुक छैन । कुनै सवाल–जवाफ यसमा आवश्यक छैन । कुलमानले यो देशका प्रधानमन्त्री, दलका अध्यक्षहरु, उर्जा मन्त्री, सचिव, गृह मन्त्री, परराष्ट्र मन्त्री वा योजना आयोगका योजनबिद्हरु भन्दा ‘चर्को काम’ गरेर देखाइदिए । यति गरिरहँदा पनि कतै बिज्ञापित भएनन् । कतै जिहजुरीमा गएनन् । सार र सन्देश एउटै छ, त्यो सन्देश पत्रकारकै भाषामा भन्नुपर्दा यहि हुन्छ— एउटा पत्रिकामा कुनै कार्यकारी सम्पादकभन्दा तिक्ष्ण, जान्ने, बुझ्ने र भाषाको पकड भएको एउटा जाबो रिपोर्टर निस्कियो भने त्यसको हालत के हुन्छ ? हो, यो हाम्रो राज्य पद्धतीमा कुलमान त्यस्तै रिपोर्टर बन्ने भएर ‘कन्ट्राक्ट’ नथपिएरै बाहिरिएका हुन् ।

यदि कुलमानको बहिर्गमन सँगै जनताका हातमा लोडसेडिङको कुनै पर्ची थमाइयो भने त्यहाँ भन्दा भयानक अवस्था अर्को देखिने छैन । सुनिने छैन । सरकारले आवश्यक नठाने कसैको करार नथप्न सक्छ । तर बहुमत जनताको आवाजलाई नजर अन्दाज गर्न सक्दैन । सलाम कुलमान ! तिमी मरुभूमीमा उमृएका अँडेली हौ । तर, हाम्रा लागि बडेमाको सिसौको रुख !!

तपाइँको प्रतिक्रिया

फेसबुक