शनिबार, वैशाख ८, २०८१

कोरोना पिडितलाई गरिएको दुई खर्ब ९० अर्ब युरो सहयोगमा माफियाको चलखेल

सुमन घर्ती मगर२०७७ असोज २ गते १३:१७

१८ सेप्टेम्बर, कोरोना संक्रमणले थिलोथिलो पारेको इटालीको अर्थतन्त्र र जनजीवन सामान्य बनाउन विभिन्न निकायले गरेको आर्थिक सहयोगमा इटालीमा माफियाले चलखेल गरेर रकम कुम्ल्याउने धन्दा गरिरहेको खबर छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल इटालीका कार्यकारी निर्देशक डेभिड डेल मोन्टेले सेप्टेम्बर १८ को दिन आफूसँग पाएका तथ्यांक र सूचनाहरु सार्वजानिक गर्दै बेलैमा ख्याल नगरिए दुईखरब ९० अरब आर्थिक सहयोगको धेरै रकम माफियाहरुको हातमा पुग्ने बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशल, इटालीका निर्देशक डेभिड डेल मोन्टे

युरोपेली युनियनको अगुवाइमा युरोपेली बैँक, अन्तर्राष्ट्रि मुद्रा कोष लगायत विभिन्न निकायहरुले कोरोना पुनर्निर्माण कोष बनाएर इटालीलाई सहयोग गरेका थिए ।

तथ्य प्रमाण सहित बोल्दै ट्रान्सपरेन्सी इन्टरनेशनलका निर्देशकले भने, हतियार माफिया, लागू औषधीका माफियाहरुले खाध्यान्न, पानी, घरको लागि चाहिने सामाग्री र निर्माण कम्पनीमा कालो धन प्रयोग गरेर स्वामित्व जमाए । गत वर्षदेखि नै शुरु भएको यो धन्दा कोरोना संक्रमण भएपछि अझ बढ्यो । उनीहरुले नेदरल्याण्ड र बेलायतमा बैँक कारोबार गर्छन भने कम्पनीहरु लक्जम्बर्गमा खोलेर इटालीमा लगानी गरेको देखाएका छन् । करोडौँ डलर नोक्सान देखाएर उनीहरुले यो सहयोग रकम हात पार्ने ठूलो फट्याइँ गरेका छन् । यो धन्दामा सरकारमा बस्नेहरुकै सहयोग छ ।

उनको दाबी छ, यसरी दुई नम्बरी धन्दा गर्नेहरुले रकम कुम्ल्याए भने साँच्चिकै कोरोना प्रभावित कम्पनी, व्यवसायी र सर्वसाधारणहरु हेरेको हेर्यै हुनेछन् ।

युरोपेली युनियनका अरु देशहरुमा पनि नक्कली कागतपत्र बनाएर सहयोग रकम हात पार्ने प्रयास गरिएका खबरहरु सार्वजानिक भए पनि संगठित माफियाहरुले रकम कुम्ल्याउने प्रयास गरेको भने यो पहिलो पटक हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक