सोमबार, कार्तिक १०, २०७७

मदन र पद्मश्री पाउने ‘आशामुखीहरु’

‘पुरस्कारको नामभन्दा दाम लोभलाग्दो छ' - पुरस्कारमा सूचीकृत कवि’

नेपालप्लस २०७७ असोज २ गते २२:५४

काठमाडौं— नेपाली भाषा साहित्य जगतमा हरेक वर्ष दशैं छेकमा एउटा अर्को दशैं सरहको उमंग र आशाको तरंग फैलने गरेको छ— ठूलो राशीका साहित्यिक पुरस्कार घोषणाका कारण ।

२०१३ सालदेखि प्रदान गर्न थालिएको नाम सँगै इज्जत भएको र नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कारको राशी अहिले बढेर ४ लाख रुपैयाँ पुगेको छ । यो पुरस्कार गुठीले २०७२ सालयता वर्षभरिका उत्कृष्ठ ७-१० वटा पुस्तकको सूची समेत निकालेर पाठकमा पठनको चासो र पुरस्कार पाउन सक्ने कौतुहल समेत बढाइदिन थालेको छ । गुठीका अध्यक्ष कुन्दा दीक्षितले जारी गरेको बिज्ञप्तीअनुसार, ‘मदन पुरस्कार नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित र गुठीको बिधानअनुसार गुठीमा प्राप्त पुस्तकमध्येको एक पुस्तकलाई प्रदान गरिनेछ ।’

तर, यति भन्दैमा कुरा सकिँदैन । वर्षभर छापिने र क्राइटेरिया अनुसार पुरस्कार प्रतिष्पर्धामा जाने झण्डै ३ सय पुस्तकमध्ये छानेर एउटालाई उत्कृष्ट ठहर गर्ने काम त्यति सजिलो भने होइन । अहिलेसम्म यो पुस्तक छान्ने काम कसरी हुन्छ, बिज्ञ समूहमा कोको छन्, कसरी यो प्रकृया पुरा हुन्छ भन्ने विवाद र बहस रहिआएकै छ । बर्ष २०७६ का लागि छनौटमा परेका पुस्तकमा पहिलोपटक तीर्थ श्रेष्ठ, शारदा शर्मा र बिमल निभाका ३ कविता संग्रह प्रतिष्पर्धामा परेका छन् । यसैगरी, भुवन ढुङ्गानाको लघु आकारको उपन्यास ‘परित्यक्ता, ललित बिष्टको कथासंग्रह ‘मोहपथ, चन्द्रप्रकाश बानियाको ऐतिहासिक पृष्ठभूमीको उपन्यास ‘महारानी’ र आयुर्वेद ज्ञानसम्बन्धी योगी धर्ममहारसको ‘महारसनिघण्टु’ पनि उत्कृष्टमा परेको छ ।

कहिलेकाहीँ पुरस्कृत कृति र छनौटमा यसकारण पनि अपारदर्शी स्थिती देखा पर्ने गरेको छ, जब आयुर्बेद ज्ञानको संकलन (मौलिक होइन) मात्रै रहेको ‘महारसनिघण्टु’ कृतिलाई पनि उत्कृष्ट सूचीमा हालिएको देखिन्छ । योभन्दा निकै अर्थपूर्ण र महत्वको ‘चन्द्रनिघण्टु’ पुस्तक सिंहदरबार बैद्यखानाबाट अहिलेसम्म ४ भागमा प्रकाशित भैसकेको छ ।

यस्तै, मदन पुरस्कारले पछिल्ला वर्ष भने कतिपय अवस्थामा समावेशी हुन र कतिपय अर्थमा बिरोधी कित्तालाई बोलीबन्द गराउन पनि उत्कृष्ट सूचीमा त्यस्ता बिरोधी खेमाका लेखकको किताब हालिदिन थालेको मूल्यांकन आउन थालेको छ । गुठीले हालैका वर्षमा माओवादी नेता एवं बिद्रोही लेखक मोहन बैद्य किरणको ‘हिमाली दर्शन’ देखि यो वर्ष कम्युनिष्ट धारका कवि बिमल निभाको ‘जोकरको बन्दुक’ लाई समेत उत्कृष्टमा हालिदिएको छ । मोहन बैद्यको कृति अहिलेसम्म पढ्दै र बुझ्दै आएका मार्क्र्सवादी दर्शन आधारित सिद्धान्त र त्यसको विवेचना आधारित पुर्नलेखन गरिएको कृति जस्तै मात्रै थियो भने निभाको पनि अहिले छनौट गरिएको संग्रहमा बिगतका ‘आगोनेर उभिएको मानिस’ अथवा ‘एउटा बाहुला नभएको बुसर्ट’ संग्रहभित्र भएजस्ता बलशाली रचना छैनन् । बरु यो संग्रह ‘जोकरको बन्दूक’मा बढी नारा र सिद्धान्तका रटानझैं लाग्ने कविता बढि छन् ।

यसैगरी, मदन पुरस्कार र यसको अपारदर्शी पद्धतीको लेखेर र बोलेर आलोचना गर्दै आएका कवि हरि अधिकारीको कथा संग्रह ‘प्रतिनायक’ लाई पनि पुरस्कार गुठीले २०७३ सालमा उत्कृष्ठको सूचीमा राखेको थियो । नभन्दै गुठीले यसरी सूचीमा राखेपछि सधैंजसो मदन पुरस्कारको उग्र बिरोधी देखिने कवि अधिकारी अहिले लेख्न र बोल्नमा दुबैतर्फ मुलायम बनेका देखिन्छन् भन्नेहरुपनि देखिएका छन् ।

उत्कृष्ठको सूची निकाल्ने पद्धती सुरु गरेपनि यसको आधार भने थाहा हुन सकेको छैन । २०७६ मा निस्किएकामध्ये अमला अधिकारीको ‘आलय’, केआर लिम्बूको ‘छायाँको लस्कर’, गणेश रसिकको ‘छपक्कै मनमा बसेकाहरु, कुमार भट्टराईको ‘अश्वत्थामा, मुना चौधरीको ‘दुलारी’ आदिलाई पनि पाठकले निकै रुचाएका छन् । बिक्री आधारमा पनि यी पुस्तकहरु कोरोनाकालमा समेत अनलाइन ब्यापारका लागि खुराक बनेका छन् । बिगतमा मदन र साझा पुरस्कार पाइसकेका आधारमा ध्रुबचन्द्र गौतमजस्ता लेखकका पुस्तक बाहिर आएपनि कहींकतै यस्तो सूचीकृत चर्चामा परेको देखिन्न । तर, उनको हालै रत्न पुस्तक भण्डारबाट आएको ‘चकमन्नमा एकान्त’ उपन्यास पनि प्रयोग, बिचार र शैलीका हिसाबमा बेजोडको देखिन्छ ।

कि त लेखक स्वयमले ‘म कुनै प्रकारका पुरस्कार र प्रतिष्पर्धामा सहभागी हुनेछैन’ भनेर उपन्यासकार बुद्धिसागर (चपाई)ले जस्तो साहस गरेर भन्न सक्नुपर्छ, होइन भने बिगतमा पुरस्कार पाइसकेका कारण यसलाई अब आइन्दा कुनै प्रतिष्पर्धामा राखिने छैन भन्नु पनि मदन पुरस्कार जस्ता स्थापित संस्थाले गरेको अन्यायपूर्ण व्यवहार हो । त्यसमाथि आजको दुनियाँमा पुरस्कार प्रतिष्पर्धामा भाग लिन ३ थान पुस्तक बोकर मदन पुरस्कार गुठीमैं पुग्नुपर्ने नियम पनि हाँसउठ्दो देखिन्छ ।

जेजसो भएपनि अहिलेसम्मको पाठकीय सरोकार र फेसबुक, ट्वीटर आदिको कमेन्ट हेर्दा बिगतमा कवयीत्रि भएपनि हाल उपन्यासकारको रुपमा उदाएकी भुवन ढुङ्गाना (कोइराला) को ‘परित्यक्ता’ उपन्यासले पुरस्कार हात पार्न सक्ने देखिएको छ । नारी अस्तित्वलाई केन्द्रबिन्दू बनाएर लेखिएको यो उपन्यास लेखक भुवन स्वयमकै जीवनी पो हो कि झैं जस्तो पनि देखिन्छ । हेक्का रहोस्, यसअघि भुवन ढुङ्गानाकै ज्वाई नारायण वाग्लेले ‘पल्पसा क्याफे’ उपन्यासका लागि मदन पुरस्कार पाइसकेका छन् ।

यस्तै, उत्कृष्ट सूचीमा पहिलोपटक ३ वटा संग्रह राखिएका कारण यी तीनमध्ये कुनै एकले पुरस्कार पाउन सक्ने सम्भावना छ । उत्कृष्ट सूचीमा आफ्नो संग्रह परेपछि एकजना कविले खुशीको मुद्रामा बागबजारको चियापसलमा सुनाएको अनुभव नेपालप्लसका पाठकलाई पनि रमाइलो हुन सक्छ । ती पाका कविको भनाइ रहेछ— ‘ओहो, ४ लाख रुपैंया पो हो त ! पुरस्कारको नाम वा इतिहासभन्दा पनि दामै लोभलाग्दो छ ।’

फेरि पुरस्कार प्रदान गर्ने र पुस्तक छाप्ने होडमा पनि गजबकै रमिता देखिने गर्छ । लेखकहरु पनि वल्लो घरको नरे, पल्लो घर सरेको स्टाइलमा ६ महिनाअघि किताब पब्लिसर्समा हुन्थे भने अर्को ६ महिनापछि बुकहिलमा पुगेका हुन्छन् । अथवा, फाइन प्रिन्ट र सांग्रिला बुक्समा ओहोरदोहोर गरिरहेकै भेटिन्छन् । उसो त जता २, ४ पैसा अथवा रोयल्टीको अनुपात बढि पाइने हो, त्यतै जानु स्वभाविक हो । तर, प्रकाशक जत्तिकै अस्वस्थ्य रुपमा लेखकहरु कुदाकुद गरेको रमाइलो दृष्य काठमाडौंको किताब बजारमा देख्न सकिन्छ ।

त्यसमाथि मदन पुरस्कार जस्ता ठूलाराशीका र अलिक नाम भएका पुरस्कार गुठीको टाउको दुखाइ पनि आफ्नै हुन्छ नै । गत वर्ष नेपालय प्रकाशन गृहबाट निस्किएको योगेशराजको ‘रणहार’ले मदन पुरस्कार पाएकाले यो बर्ष त्यही प्रकाशन गृहको ‘परित्यक्ता’ लाई पुरस्कार दिने कि नदिने अथवा यसरी पुरस्कार दिंदा दोहोर्याएर प्रकाशकलाई पुरस्कृत गरेजस्तो पो हुने हो कि भन्ने टिकाटिप्पणीसमेत सुरु भैसकेको छ । निजी प्रकाशकको होड चलेका बेला बरु नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन जस्ता सरकारी संस्थाबाट कुनै राम्रो किताब प्रतिष्पर्धामा आइदिए पनि हुन्थ्यो नि भन्ने स्थिति आइसकेको देखिन्छ । तर, प्रज्ञा प्रतिष्ठान र साझा आफैंमा भजनमण्डलीका केन्द्र बनिसकेको यथार्थमा त्यहाँबाट अबका केही वर्षसम्म कुनै प्रकारको सृजनात्मक काम हुन सक्ने देखिन्न ।

कृतिलाई दिइने मदनबाहेक व्यक्ति वा संस्थाले नेपाली भाषा–साहित्यका क्षेत्रमा पुर्याएको योगदानका आधारमा दिइने जगदम्बाश्री पुरस्कारको राशी पनि ४ लाख रुपैंया नै छ । मदन तथा जगदम्बा दुबै पुरस्कारको घोषणा असोजको पहिलो साताभित्र हुने गरेको छ ।

   अर्को लोभलाग्दो ‘पद्मश्री’

गैर आवासीय नेपाली जगतमा सृजनशिल काम र एकता अभियानमा लाग्न रुचाउने व्यवसायी जीवा लामिछानेले आफ्ना बाबुआमाका नाममा स्थापना गरेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०६४ सालदेखि साहित्यिक रचना तथा स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । सुरुमा मोफसलबाट प्रकाशित हुने उत्कृष्ट कृतिलाई ५० हजार रुपैंयाँ राशीसहित पद्मश्री पुरस्कार प्रदान गर्दै आएकोमा २०६६ सालबाट भने देश–बिदेशबाट नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गर्न थालेको हो । २०६७ सालदेखि भने नेपाली भाषासाहित्य, कलासंस्कृतिका क्षेत्रमा दिर्घ साधना गर्दै आएका बिशिष्ट व्यक्तिलाई पद्मश्री साधना सम्मान दिन थालेको छ । अरुभन्दा यो पुरस्कारको पनि आकर्षण यसमा रहेको राशी नै हो । यो पुरस्कार तथा सम्मान दुबैमा जनही तिन लाख रुपैयाँको थैलो राखिएको छ । वर्षेनी दिइने यो पुरस्कार पनि आउने साताभित्रमा घोषणा हुँदैछ ।

बजारमा चलेको टिप्पणी र आलोचकको समीक्षा हेर्दा, मदन पुरस्कारको उत्कृष्ट पुस्तक सूचीबाट बाहिर रहेर पद्मश्रीले पुरस्कार छनौट गर्ने चलन रहिआएको छ । यस आधारमा यो वर्ष बाहिरी बजार र पाठकीय दृष्टिमा चर्चामा रहेका कुमार भट्टराईको ‘अश्वत्थामा, केआर खम्बूको ‘छायाँको लस्कर’ अथवा मुना चौधरीको ‘दूलारी’ मध्येबाट पद्यमश्री पाउने स्थिती देखिएमा आश्चर्य नमाने हुने एक समीक्षकले नेपालप्लसलाई बताएका छन् । गणेश रसिकको ‘छपक्कै मनमा बसेका’ कृति निकै पठनीय भएपनि बिगतमा उनको ‘दशगजामा उभिएर’ कृतिले पद्मश्री पुरस्कार पाइसकेका कारण रसिक स्वभाविक रुपमा प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

पद्मश्रीले पनि सुरुवाती वर्षमा मदन पुरस्कारकै सिको गर्दै उत्कृष्ट ५,७ पुस्तकको सूची सार्वजनिक गर्न थालेको थियो । तर, यो हुलमुलमा किताब छान्न मुश्किल परेर हो अथवा किताब पढेर छान्ने समीक्षक नभेटेर हो, उसले दुई वर्षयता यो सूची निकाल्ने काम बन्द गरेको छ ।

अब धेरै समय छैन, आउने ७–१० दिनमा मदन र पद्मश्रीको पुरस्कार राशी कुन कृति र लेखकको पोल्टामा पर्ने हो, थाहा भैहाल्नेछ । केही दिन धैर्य गरौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक