बिहीबार, वैशाख १३, २०८१

लघुकथा : उत्कोच

धनराज गिरी२०७७ असोज ३ गते १०:१९

अभाव र वाग्देवी आमाको नाता अलि नजिक हुनेरहेछ । प्रचुरतासित भने अक्सर छत्ती, यही पायो गाउँले गुरु कनकनारायण पण्डितले । पढाइमा राम्रो हुने चेलाचेली उही अभावनगरवासी । एउटा परिवार, प्रतापपुरमा, छोराछोरी ८, पत्नी दुई, जग्गाजमिन प्रशस्त रिमाल बाजेका । तीन सन्तान ४ देखि १० सम्म कृपांक पाएर उकालो चढ़े । आयो “टेस्ट “, अब हुने हो कि रेस्ट भनेर रिमाल बाजेलाई चिन्ता भयो । “पण्डितले चाहेमा जे पनि हुन्छ, हेड मास्टरको दाहिने हात हो “रिमाल बाजेको कान फुक्यो कसैले । बाजे पुगे पण्डित निवास ।

“सर, एकछिन एकान्त !” अनुनय बाजेको । मान्यो पण्डित ।” सर, हुर्केका छोरी, एस एल सी जे होला होला, टेस्टसम्म पार भए यो बूढो बाउले गंगा नुहाउने मेसो हुने थियो । हजुरको शरणमा आएँ | जसरी भए पनि…….६ छोरी …..बोझ ……..मेरो अनुरोध सर …….यति …….”त्यसपछि कमीज उचालेर कम्मरमा बाँधेको एक पोको फुकाए……..नगदको बिटो ……..”काका “गाउँले नाताले पण्डित रिमाल बाजेलाई काका संबोधन गर्ने । पुरानो परिचय । उनको मनोविज्ञान बुझेर नरम भाषामा सम्झायो,”काका, हामी गुरुपनि उहि बाटोमा लागे भोलि यो समाजलाई कसले जोगाउने ? पवित्र पेशामा लागेको भनेर कुन नाकले गर्व गर्ने ? मबाट यो काम यो जुनीमा त के अर्को १० जुनी पनि हुन्न ।

एक – एक महिना ट्यूसन पढाएको रू ४८० दिए हुन्छ । अरू पैसा काकीलाई लगेर दिनुहोला । नमन काका, बुहारीले पकाएको चिया ………निन्याउरो अनुहार लगाएर बाटो लागे रिमाल बाजे । “उत्कोच …..” पण्डितको मनमा घूम्यो । “वास्तवमा खाने बदमास कि खुवाउने ?” आजसम्म यसको उत्तर पाएको छैन पण्डितले । त्यो साल होइन, अर्को साल, राम्रोसित पढेर “टेस्ट “पार गरे तीन रिमालले ।

तपाइँको प्रतिक्रिया