शुक्रबार, चैत १६, २०८०

लाज पनि लजाउने विभूषणको ताज

-लिला भारद्वाज२०७७ असोज ४ गते ८:४६

कार्टून सौजन्य – रविन्द्र मानन्धर

“समीको वृक्षलाई पोथ्रासित तुलना गर्न मिल्दैन । जूनकीरीलाई चन्द्रमासित दाँज्न सुहाउँदैन । त्यस्तै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसित उहाँका समकालीन नेताको तुलना हुन सक्तैन” । गत साउन २० मा ‘गोरखापत्र’ पत्रिकामा एउटा लेख छापियो— ‘अतुलनीय नेतृत्व’ शीर्षकमा । लेखक थिए— प्रा डा बद्रीविलाश पोखरेल । यी लेखकको खोजबिन भैरहेकै थियो- संचार माध्यममा त्यति परिचित नभएका यि प्रा डा को हुन र अचानक अचानक ओली स्तुतीमा कसरी झुल्किए । बजारमा बिभिन्न लख काटिँदै थियो । असोज ३ को संविधान दिवसकै अवसरमा यी लेखकको नाम फेरी छापियो, तर लेखक रुपमा होइन । बरु सुप्रबल जनसेवा श्री तृतीयबाट बिभुषित हुने महानुभावका रुपमा । नकारात्मक रुपमा भए पनि दिनभरिमा यि प्राध्यापक हिट भए । मान्छेहरुले पंचायतकालिन पदक बितरण सम्झिन त्यति जरुरी ठानेनन् । बरु पंचायतमा ब्यक्ती भन्दा ब्यवस्थाको स्तुती गाउनेहरु बढि बिभुषित हुन्थे । अहिले ठीक उल्टो भएको छ, ब्यवस्थाको धज्जी उडाउनेहरु, ब्यक्तिगान गाउनेहरु पदकको सूचिमा लयबद्ध छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको किस्सा झनै उदेक लाग्दो छ । जम्मा १ हजार रुपैयाँ घुस खाएको अभियोग लगाएर ४२ दिन अख्तियारको थुनामा राखिएका मालपोतका कर्मचारी रामहरि सुवेदीले आत्महत्या गरेको एक वर्ष पनि पुगेको थिएन, गत असार ३० मा उनी निर्दोष रहेको ठहर गर्दै विशेष अदालतले फैसला सुनायो । ‘ठूला माछा पक्रने’ मूल मन्त्र लिएर अख्तियार छिरेका नवीन घिमिरे यो साता पदावधीका आधारमा अवकाश पाएर घर बसिरहेकै बेला रामहरिजस्ता निरिह आत्माको यो स्थिती सम्झेर कसरी दिन बिताइरहेका होलान् ? अनेक बेचैनी र छटपटीका माझ उनलाई राहतको प्याकेज बनेर आएको छ— प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीय ।

बालुवाटार जग्गा काण्ड, माओवादी शिविरको रासन तथा हतियार खरिद काण्ड, आयल निगम जग्गा खरिद काण्ड, सुन तस्करी र अन्य कान्डै कान्डहरु । यी सबै मुल मुद्धाहरुलाई ‘तामेली’मा राख्न सफल प्रमुख आयुक्त घिमिरे यसैकारण राष्ट्रिय प्रतिभाका रुपमा पुरस्कृत भएका छन् । अझ यसमध्ये पनि आयल निगमको जग्गा खरिद प्रकरणमा घिमिरेले पूर्व गृहसचिव प्रेम राईलाई जोगाइदिएका थिए ।

अख्तियारमा सम्भावित प्रमुख आयुक्त भएर आउन लागेका भनिएका राई बिगतमा आयल निगमको जग्गा खरिदसम्बन्धि एउटा ठूलो भ्रष्टाचार मुद्दामा जोडिएका छन् । उनी आयल निगमको बोर्ड अध्यक्ष हुँदा करोडौं रुपैंयाको उक्त खेल सम्पन्न भएको थियो । अहिले यो जग्गा खरिद प्रकरणको फाइललाई तामेलीमा राखेर प्रमुख आयुक्त घिमिरे बिदा भएका छन् । यसैकारण, बालुवाटार जमिन काण्डदेखि अरु दर्जनौं प्रकरणलाई तामेलीमा राखेबापत घिमिरेले पनि शनिबार प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीय पाएका छन । यीसहित अख्तियारको गतिहिन अवस्थाका साक्षाी दुई आयुक्त गणेशराज जोशी र सावित्री गुरुङ पनि एकैसाथ सम्मानित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसअघि यतिसारो कहिल्यै गलेको थिएन । निर्मला पन्त हत्याकाण्डको छानविन गर्न नसकेका कारण कारवाही भोगेका तत्कालीन कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार खड्का पनि अब्बल ठहरिए, राज्यले उनलाई पनि सम्मान गर्‍यो । यसरी नेपाली समाज, राजनीति र राज्य संयन्त्रको पंगु दृष्यचित्र आँखैसामु आइरहेका बेला असोज ३ गते अर्थात पाचौं संविधान दिवसका अवसरमा धेरै खालका मुखटाहरु बाहिर आएका छन् । राज्य संयन्त्र र पद्धतीगत कुरामा लाज भन्ने चिज नरहेपछि यसमा शोक, सुर्ता वा अनावश्यक चिन्ता र चासो पनि गरिरहनुपर्ने अवस्था देखिन्न । ‘आफ्नो हात जगन्नाथ’ भनेर चलेको आहान झैं यो एउटै बिषद र बिरक्तिको रथमा दुइ पाङ्रा बनाएर एकातर्फ आँखाका ज्योति डा।सन्दुक रुइत र अर्कातर्फ अख्तियारका ज्योति नवीन घिमिरेलाई एकैसाथ हालेर पुरस्कृत गरिएको स्थिती आफैंमा अनौठो छ, तुलनाका हिसाबमा लाजमर्दो पनि । देश–दुनियाँमा उज्यालो बाँडेर इज्जतका ‘कुलमान’ बनेका कुलमान घिसिङ र अख्तियारका यी दूत नवीन घिमिरे एकैदिन अवकाशमा परेका हुन् । तर, जनसाधारणले तनमनमा चिनेका कुलमान आज कहीं छैनन् । अन्तत एउटा सामान्य खरिदार रामहरी सुवेदीको आत्मामा मात्रै रहेका अख्तियारका नवीन भने प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीय का भागिदार बनेका छन् । ओहो, यो कस्तो क्षण होला ? सरकारले कस्तो समाजको निर्माण थालेको हो । एउटा सभ्य समाजको यसरी नै धज्जी उडाईरहने हो एकतमासले ? यहाँ हेरौं, केही जनसाधारण र पत्रकारको सरोकार, ट्वीटर र सामाजिक सन्जालमा:-

—जतिसुकै धुवाँधार विरोध गरेपनि विभूषण–तक्मा वितरण रोकिन्न । त्यसकारण यो सूची ‘सत्ता र हाकिमका चाकडीदार–चुक्ली–चाप्लुसवाज’ चिन्न प्रयोग गरौ । २०१७ देखि २०४६ सम्मका निरंकुश पञ्चायती व्यवस्थाका मतियारहरु पनि विभूषणमै सूचीकृत छन्, कुनै बेला त २७३ पृष्ठ राजपत्र खर्चिएका पाइन्छन् ।
-पत्रकार हरिबहादुर थापा

—आफूलाई मन परेकालाई बाँडीचुँडी पदक । जनतालाई सडकमा रामधुलाई । मन परेकालाई काखी, मन नपरेकालाई फ्याँकी । संविधानको अपमान, गणतन्त्रको अपमान, जनमतको अपमान, जनताको अपमान ।
—पत्रकार मनोज दाहाल

—यसपालीको अनुरोध प्रधानमन्त्री केपी शर्मा ओलीका समिपमा । तपाइले केही गर्नु पर्दैन, खुट्टी देख्दै चाल पाएका नेपालीलाई आश पनि छैन । तर हामीलाई एउटा कृपा गर्नोस्— भ्रष्टाचार नियन्त्रण गर्छु वा गर्दैछु आदि नभनिदिनोस् !

—चिन्तक डा. देवेन्द्रराज पाण्डे

—त्यही (खुलामन्च) सामुन्ने पदक बाँडेको सरकारले आज १ छाक भात बाँढेको भए नि हुन्थ्यो नि, पुष्पबृष्टि गर्दा कसैको थालमा फूल बर्सियो कि बर्सिएन होला ?

— पत्रकार समा थापा

—कुलमान घिसिङ र अख्तियार प्रमुखले एकैदिन कार्यकाल पुरा गरेका थिए । एकले पदक पाए, अर्काले पाएनन् । यो सरकारमा बसेकाको सोच र स्वार्थको परिणाम थियो । तर, जसले पदक पाएनन्, उनी आम नागरिकको मनमनमा बसेका छन् । यो सबैभ न्दा ठूलो उपलब्धी हो ।

— चिकित्सक डा.लुना भट्ट शर्मा

बिरोध यती मात्र होइन नेपालका ठुला संचार माध्यमले समेत पदक बितरणलाई त्यती प्रथामिकतामा राखेनन । पदक बितरण जनचासोको बिषय रहेन अब । किनभने जनताको रोजाइमा परेका ब्यक्तिहरु सबै बाहिर रहे, मन्त्रिका गलत कृत्यका मतियारहरु मात्र दौडमा सामेल भए उनिहरुले नै जिते । जसले राष्ट्रलाई छामी छामी कोपरे करोडौं नेपालीले तिरेको करलाई उनिहरुले नै छातीमा तक्मा बनाएर भिर्ने छन । जसको लेखाजोखा कुनै दिन नेपाली समाजले गर्ने छ । गत वर्ष सरकारले पदक दिने घोषणा गरेपनि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त निलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य, वरिष्ठ अधिवक्ता शम्भु थापा, कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछानेले पदक अस्विकार गरे । त्यसैले यसपाली सरकारले गत बर्षको तुलनामा संख्या केही कम गराएको थियो । तर सन्दुक रुइतको नाम झिकिदिने हो भने पद्वी ग्रहण गर्ने टोली भजन मन्डली बाहेक अरु केही देखिँदैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक