सोमबार, कार्तिक १०, २०७७

गोराको देशमा पनि नेपालजस्तै

ददि सापकोटा२०७७ असोज ४ गते १३:०६

आधुनिक विकास र आर्थिक सम्पन्नताका हिसाबले विश्वकै एक प्रमुख राष्ट्र फ्रान्स । आन्तरिक द्वन्दले गाँजिएर झन् गरिब बनेको नेपाल । आकाश र जमिनको जस्तै भिन्नता लाग्ने यी दुई देशबिच कतै समानता फेला पर्ला ? कुनै पनि क्षेत्रमा दाँज्न सकिएला भनेर हत्तपत्त कसैले सोच्दैन । तर, यी दुई मुलुकबिच अचम्मै लाग्दा समानता रहेछन् ।

समानताका धेरै पक्षमध्ये एउटा राजनीति हो । नेपालमाजस्तै अशान्तिले नगाँजिएपनि यहाँका नेतासमेत खेमा बदलिरहने रहेछन् । अरुका त भिन्दै कुरा । अघिल्लोपटक वामपन्थी खेमाबाट राष्ट्रपति पदमा विजयी स्व ज्याक सिराक स्वयं दोस्रोपटक दक्षिणपन्थी खेमामा पसेर पुनः चुनाव जिते ।

हप्तैपिच्छे सडकजाम, नेपाल बन्द र हडतालले नेपाली आजित भएझैं फ्रान्सेलीहरु पनि यातायात, कलकारखाना, हुलाकजस्ता सार्वजनिक सुविधामाथि निरन्तर हुने बन्दले दिक्क छन् । यद्दपी नेपालको हड्ताल राजनीतिक स्वार्थबाट गरिन्छ भने यहाँ तलब र अन्य सुविधाका लागि ट्रेड युनियहरुले सञ्चालन गर्छन् । नेपालका ट्रेड युनियनहरुले लगातार हडताल गरेझैं यहाँपनि पछिल्लो समयमा जिलेजोन भनिने पहेँलो वस्त्रधारीहरुको आन्लोनले मानिस वाक्कदिक्क बन्दै गएका छन् । चिकित्सक र यातायातका कर्मचारीहरुको आन्दोलन र हडताल उस्तै छ ।

आइतवारको बिहानै चर्चहरुमा बज्ने टर्लाङ र टुर्लुङ घण्टी र परेवाको बथानको गुरगुरले नेपालकै पशुपतिनाथ र स्वयम्भुको याद गराउँछ । नेपालमा झैं बिदाका दिन थुप्रै फ्रान्सेलीहरु चर्चभित्र पसेर इश्वरको दर्शन गर्ने र एकाग्र भएर केहीबेर बिताउने गर्छन् । चर्चभित्र नेपालकै बौद्ध गुम्बा झैं पालाहरुमा बत्ती बलिरहेका हुन्छन्।

काठमाडौंको सिंहदरबारजस्ता पुराना र मल्लकालीनजस्ता ऐतिहासिक भवन यहाँपनि प्रशस्तै छन् जुन सरकारी कामकाजमा प्रयोग गरिन्छन् । साँघुरो गल्लीमा भीड लागेको देख्दा काठमाडौंको असन र इन्द्रचोकको झझल्को आउँछ । तर, फरक के छ भने यहाँ एकले अर्कालाई धकेल्दै, ठेस लगाउँदै र पछाडिबाट चिमोट्दै कोहि हिँड्दैन ।

कानूनतः महिला र पुरुष समान छन् । तर व्यवहारमा नेपालमाजस्तै यहाँ पनि ठूलै भेद छ । यहाँ पनि पुरुषहरु निकै अगाडि देखिन्छन् । नेपालमाजस्तै यहाँपनि केही सरकारीलगायत निजी र गैरसरकारी क्षेत्रमा समान काममा पनि महिलाले करिब ३५ प्रतिशत कम तलब पाउँछन् । तर, शारीरिक अङ्ग प्रदर्शन, कार्यक्रम प्रस्तोता तथा ग्ल्यामर क्षेत्रमा नेपालमाजस्तै यहाँ पनि महिलाहरुले बढि पारिश्रमिक पाउँछन् । त्यतिमात्रै होइन, महिलाहरु कमजोर, पिलन्धरे, कुरौटे, निर्णयगर्न सक्षम हुँदैनन् भन्ने यहाँ पनि ठानिन्छ । भलै नेपालमा भन्दा यता यस्तो बिभेद अलि कम देखिन्छ । त्यसैले महिलाले गरेका काम र कुरालाई नेपालमा झैं यहाँ पनि ‘पारोल दला फाम ‘ (आइमाईका कुरा ) भनेर होच्याउने गरिन्छ ।

वनजङ्गल, खोलानाला, पहाड र पर्वत नेपालमा विभिन्न जनजातिका प्राकृतिका इश्वर भएजस्तै फ्रान्सेलीहरुका पनि प्राकृतिक इश्वर हुन् । हामीले झैं यिनले पनि आफ्नो देशलाई मातृभूमि र नदीलाई पवित्रताको प्रतिक तथा संरक्षणदायी आमा मान्छन् । हाम्रा धर्मग्रन्थ र संस्कृतिमाजस्तै फ्रान्सेली धर्मग्रन्थ र संस्कृतिमा पनि चराहरुको उल्लेखनीय भूमिका छ । जाडोयाम कोइलीको ‘कोहो कोहो ‘ पछि अन्त्य हुने विश्वास राख्छन् यिनीहरु । त्यसैले ग्रामीण भेगका फ्रान्सेलीहरु कोइली कराएपछि रोपेको तरकारीमात्रै उम्रिन्छ भन्ने विश्वास गर्छन् ।

सेतो गरुडले थाङ्नामा हालेर बच्चा पिँढीमै ल्याइदिन्छ भन्ने किंवदन्ती र विश्वास हामीले तिहारमा यमराजको दूत भन्दै कागलाई पूजा गरेभन्दा कम्ती छैन यतापनि । नेपालमा पनि ‘कर् याङकुरुङ आए काँक्रा फर्सी रोप’ भन्ने चलन अझै कायम छ, गाउँघरमा।

क्षमता र शैक्षिक स्तरअनुसारको रोजगारी प्रतिस्पर्धात्मक भए पाइन्छ भनिए पनि नेपालमा झैं प्रशस्त ‘सोर्सफोर्स ‘ लाग्छ । ठाउँमा आफ्नो मान्छे भए जागिर पाउन प्रतिस्पर्धा गरिरहनुपर्दैन । प्रशासनिक क्षेत्रको ढिलासुस्ती त झन् फ्रान्समा बुझिनसक्नुकै छ । एउटै कामका लागि सरकारी निकायमा महिनौं धाउनुपर्छ । दोस्रोपटक जाँदा ‘मलाई थाहा छैन, अर्कोपटक सर्म्पर्क गर्नुहोला’ भन्ने उत्तर पाउनु यहाँ पनि उति असामान्य होईन । नेपालमा थरिथरिका कागज मागेर हैरान पारेझैं यहाँ पनि थरिथरिका कागज मागिनाले नेपालकै हैरानीको याद आउँछ । त्यसैले फ्रान्सलाई ‘पेपर कन्ट्री’ (कागजपत्रको देश) भन्न रुचाउँछन् धेरै यूरोपेली र फ्रान्सेलीस्वयं पनि ।

फ्रान्समा हुने भ्रष्टाचारको चर्चा सुन्दा नेपालको भन्दा कम्तीजस्तो लाग्दैन । जनसेना, आयल निगम, नेपाल वायुसेवा निगम आदिमा अख्तियारले थाहा नपाएजस्तै यहाँका राष्ट्रपति ज्याक सिराक पेरिस महानगरपालिकाको मेयर हुँदा भएको भ्रष्टाचारको जरो यहाँको भ्रष्टाचार छानबिन आयोगले पत्ता लगाउन सकेको छैन । त्यो पतत नलाग्दै ज्याक सिराकको म्रित्यु भयो । फोहोरको कन्टेनर सिफारिस गर्दा पनि घुसको लेनदेन हुने कुरामा विश्वास गर्छन् फ्रान्सेलीहरु । त्यसैले ‘जसले मह काढ्छ, उसले हात चाट्छ’ भन्ने भनाइ यहाँ पनि लोकप्रिय छ ।

भाषाको बनावटमा त झन् नेपाली र फ्रान्सेलीबिच अचम्मै लाग्दो समानता छ । फ्रान्सेली भाषा र नेपाली भाषाको व्याकरण तथा लिङ्ग, बचन, पुरुष, धातु, क्रियापद र गन्ने तरिकामा पनि समानता छ । यहाँ पनि पुलिङ्गलाई कालो र स्त्रीलिङ्गलाई काली र गोरी भन्ने गरिन्छ । एघारलाई पुरानो चलनअनुसार हामी नेपालीले दश र एक एघार भनेजस्तै १७ भन्दा माथि फ्रान्सेलीहरु पनि त्यसैगरी गन्छन् । हामीले चार बीस भनेर गनेजस्तै हो फ्रान्सेलीको पनि ८० लाई गन्ने तरिका ।

नेपालमा साइरन बजाउँदै कुदेको प्रहरी देख्दा ‘कहाँ खानु थियो दौडियो’ वा ‘आज कुन पुलिसलाई दाउ पर्यो, तिर्खाएछन्’ भनेजस्तै फ्रान्सेली पनि पुलिसको साइरन बजेको सुनेपछि ‘कुन रेष्टुरेन्टमा रक्सी खान हतार भएर साइरन मार्यो’ भनेर हाँस्ने गर्छन् । प्रहरी र पत्रकारलाई ‘सकभर नजिक पनि नल्याउनु, टाढा पनि नराख्नु’ भन्ने पुरानो सोचाई यहाँ पनि कायम छ । प्रहरीमा उजुरी गरेर झन् झमेलामा परिन्छ कि भन्ने भय यहाँका नागरिकमा पनि मनग्यै छ ।

नेपालमाजस्तै भेडीगोठ प्रशस्त छन् । जौ, मकै, गहुँ, आलु र तोरीको पहेंलपुर फाँटले नेपाल नै हो कि जस्तो गरेर झुक्याउन खोज्छन् । यहाँ पनि कृषिलाई दुःखी पेशा र गाउँलाई दुःखी ठाउँ भनिन्छ । यस्ता ठाउँमा पुग्दा हातमा लठ्ठी लिएर भेडा र गाईबस्तु लखेटिरहेको, भूमिगत सिञ्चाई भइरहेको, पिरेने भन्ने हिमाली क्षेत्रबाट झरनाहरु खसिरहेको देख्दा नेपालको पहाडी भेगतिरैको झल्को आउँछ । प्रशस्त खोला, थुप्रै सिमसार क्षेत्र, हाम्रा मल्लकालीनजस्ता पुराना घर, उबडखाबड जमीनले नेपालसँग समानता राख्छन् ।

आधुनिकताका नाममा पुर्खाका चिना नासिँदै गएको साझा चिन्ता पनि नेपाल र फ्रान्सबीच उस्तै छ। इन्टरनेटले गर्दा आफ्नो भाषामाथि आक्रमणको चिन्ता बढ्दैछ। शैक्षिक अवस्था पहिलेको तुलनामा अहिले खस्कँदै गएको गुनासो नेपालमाजस्तै छ , यहाँ पनि। कम्प्युटरसँग कुरा गर्ने बढ्दो प्रचलनले यहाका बृद्धबुद्धा पनि एक्लिँदै गएका छन्। घरभित्रै सीमित हु “दै गएको चार्डपर्व र तडकभडकप्रति नेपालमाजस्तै यहाँ पनि गुनासो छ। पुराना पाटीपौवा , कुवा , ऐतिहासिक महत्वका जलद्रोणी , घोडेटा र गोरेटा मास्नेहरु पनि समानजस्तै देखिन्छ। ‘मनिप्लान्ट ‘ घरभित्र जति फैलियो धनदौलत पनि उत्तिकै थुप्रिन्छ भन्ने हामी धेरै नेपालीको विश्वास भएझैं फ्रान्सेलीको मोह पनि गजबकै छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक