बुधबार, वैशाख १२, २०८१

यत्रो दुस्साहस किन ?

अक्षर अध्यता२०७७ असोज ७ गते १७:३१

“हामी जोडी सँगै हुनेलाई त के नपुगे जस्तो हुन्छ । कस्तो कस्तो घुटन हुन्छ । तपाई एक्लै बस्नुहुन्छ । सेक्सुअल डिजायर हुँदैन ? कसरी म्यानेज गर्नुहुन्छ ? कहिलेकाहिँ त तपाइको निकै माया लागेर आउँछ म्याडम। सम्वन्धलाई लिमिटेसनमा राखेर म तपाइको लागि जेगर्न पनि तयार छु है ! तपाईंलाई देख्दा कस्तो फिल आउँछ यार…..”

एक समाजसेवीसँगको कफि भेटमा उनले मेरो यौन इच्छामा चासो राख्दै बोलेका थिए ।

”हेल्लो, नानू सन्चै छौ ? के छ यसो कहिलेकाहिँ घुम्न जाऊँ न । घरमा आएपनि हुन्छ । नानूलाई बोलाएर घरमा पाटी गर्न मन छ । आन्टीलाई नभनी बाहिरै भेटौं न । नानुको कस्तो माया लागेर आउँछ । रानीवनतीर घुम्न जाउँ न । मसँग गाडी छँदैछ ।”
पारिवारिक चिनजानका एक नेताले मध्य रातमा पठाएको म्यासेज ।

“म्याडम एउटा कुरा भनौं, माइन्ड गर्नुहुन्न नी ? तपाइको ओंठ कति सेक्सी छ यार । तपाइको श्रीमानले त रातभर छाड्नुहुन्न होला ।”

”सेक्सुअल लाइफ त बहुत रोमान्टिक हुन्छ होला है ? म त सम्झेरै पानी पानी हुन्छु ।” मोफसलमा बसेर पत्रकारिता गर्ने एक सिनियर पत्रकार महोदयको अडियो म्यासेज थियो यो ।

गुडिरहेको गाडीको स्टेरिङ दवाउँदै एक्कासी रोकेका थिए एक आफन्तले । हात समाउने कोशिस गर्दै उनले भने “एकपटक तिमीलाई किस गरुँ ?” तिमीलाई देख्दा मेरो पुरानो प्रेमीकाको याद आउँछ ।

कामको शिलसिलामा एक वकिलकोमा पुगेकी थिएँ । अनावश्यक रुपमा फोनमै पनि जिस्कन खोज्ने ती वकिल एकाएक आवेशमा आए । औपचारिक कुराकानीलाई सेक्सुअल सम्वन्धको उदाहरण दिए । उनले भन्दै थिए, “रमाइलो हुन्छ एकछिनको कुरा त हो नी । के हुन्छ र गर्दैमा बिग्रने हैन, खुम्चने हैन । सानो ठूलो हुने पनि हैन ।” एकाएक यस्तो कुरा सुन्दा आफ्नो महत्वपुर्ण कागजात नै छाडेर भागेकी थिएँ म ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । समाजमा मै हुँ भन्नेहरुबाट हामी हरेक दिन जस्तो अप्रत्यक्ष हिंसा सहन बाध्य छौ । अफिसियल पाटीमा जाँदा नशाले लठ्ठ भएको अग्रज सहकर्मीले आफ्नो छातीमा हेरिरहेको कामुक दृष्य होस या आत्मियता दर्शाउने बहानामा जवर्जस्ती शरिरमा ढेसिन आएको परपुरुष । वा फेसवुकको इनबक्समा भल्गर म्यासेज, अडियो, भिडियो पठाउने मानसिक विच्छिप्त भएको हाकिम होस । कहिँ न कतै हामीलाई त्रासमा राखिरहेका हुन्छन् । हिंसा गरिरहेका हुन्छन् ।

हाम्रो समाजमा हरेक महिला कहिँ न कतै यस्तै हर्कत सहन बाध्य भएका हुन्छन् । गलत हेराइ, छुवाइ र व्यवहारले महिलालाई मानसिक रुपमै कमजोर बनाउँछ । मलाई अचम्म यहाँनेर लाग्छ, घरमा श्रीमतीको काखमा पल्टिएर बाहिरी युवतीको सेक्युअल चाहना के छ भनेर सोध्ने आँट कसरी आउँछ पुरुषमा ?

महिलाहरुसँगको सम्वन्धलाई सेक्सको दृष्यमा लगेर जोड्ने दुस्साहस कहाँबाट मिल्छ ? भेट्दै नभेटेको अन्जान महिलाको छातीको उचाई र कम्मरको गोलाई थाहा पाउने चाहना किन हुन्छ ? दिनमा भलाद्मी देखिने व्यक्ति सामाजीक सञ्जालको भित्तामा कामुक, अश्लिल र मनोरोगी कसरी बन्न सक्छ ?

झट्ट हेर्दा तपाइलाई पुरुषका यस्ता व्यवहार सामान्य लाग्ला । तर यस्ता व्यवहारले महिलालाई मानसिक रुपमा निकै आघात पुर्याएको हुन्छ । तपाई हुर्किएको समाजले तपाईकी दिदि बहिनी भन्दा बढि स्वतन्त्रता दिएर हुर्कायो । उसले भन्दा बढि महत्व पाउनु भनेको तपाईले उसमाथी नै हैकम लाद्न चाहिँ पक्कै हैन । समग्र महिलालाई कमजोर आँकलन गर्नको लागि पनि हैन । यो पुरुषमा भएको गलत मनोवृतिको उपज हो । छोरीलाई भन्दा छोरीलाई महत्व दिएर हुर्काउने हाम्रो समाजको उत्पादन हो ।

बिहे अगाडी अश्लिल म्यासेज र हर्कतको खासै अनुभव गरिन मैले । कसैले केहि भन्नासाथ तुरुन्तै कडा प्रतिक्रिया दिने आदत थियो । तर जब बिहे पछाडी जागिर र पढाइको क्रममा एक्लै बस्नुपर्यो, यस्तै म्यासेज र व्यवहारको सामना गर्नुपरिरहेछ । सामान किन्न जाँदै गर्दा ‘तपाईको श्रीमानलाई देख्दिन नी’ भन्ने प्रश्न गर्छन पसले । यस्तो लाग्छ कि उसलाई सामान दिए बापत पैसा हैन मेरो श्रीमान चाहिएको छ । धेरै ठाउँमा छुच्चि भएर भन्दिएकी पनि छु “तपाइँको श्रीमतीकोबारे कहिल्यै सवाल गरेकी छु ?”

छिमेकी अंकलले ‘आमा छोरी मात्रै’ भन्दै जिस्किन खोज्छन् । यतिले मात्रै नपुगेर पव्लिक पोष्टमै लभ रियाक्ट, किसवाला इमोजी पठाउने अर्कोका लोग्नेहरु पनि उत्तिकै छन् । तपाइँ नै भन्नुहोस् उनीहरूलाई के जवाफ दिने ?

सार्वजनिक रुपमा परिचय गर्नासाथ पुरुषको मुखबाट फ्याट्टै निस्कने प्रश्न हो “सरले के गनुहुन्छ नी म्याडम ?” मैले त कुनै पुरुषसँग परिचय हुनासाथ उसको जागिर, घर परिवार, श्रीमती कहिल्यै सोध्ने गरेकी छैन । नत कहिल्यै जान्ने मन नै हुन्छ । हैन महिलाको ब्यक्तिगत कुरामा बाहिरी पुरुषलाई यतिबिधि चासो चाहिँ किन हुन्छ ?

फेसबुकमा कतै घुमेको फोटो अपलोड गर्नासाथ कमेन्ट बक्समा भन्दा इनबक्समा म्यासेज बर्साउने इज्जतदारहरु पनि कम छैनन् ।
“एक्लै ?”
“हाम्रो पालो चाहिँ कहिले आउछ नी ?”
यस्तै प्रश्नको सामना गर्न परिरहेको हुन्छ । उनीहरुको कुरा सुन्दा यस्तो लाग्छ कि महिलाहरु भनेको सार्वजनीक वस्तु हुन्, पुरुषलाई मन लाग्नासाथ घुम्न, डुल्न ……..गैदिनुपर्ने । छि कति निच सोचाई । कति गिरेको चेतना ? के महिलाहरु एक्लै खुशी हुन, रमाउन, सार्वजनिक ठाउँमा घुम्न जान सक्दैनन् ?

धेरै ठाउँमा यसैगरी प्रहार हुन थालेपछि हो महिलाले आफ्नै आफन्तसँग सर्तक हुनुपरेको । आफ्नाहरुसँग जोगीन परेको । स्वतन्त्र काम गर्ने रहरलाई खुम्चाउन परेको । सुन्दा सामान्य लागेपनि पुरुषका यस्ता हर्कतले महिलालाई मानसिक यातना दिइरहेको हुन्छ । कति ठाउँमा सवाल गर्दे जाने ? कतिलाई ब्लक गर्दे जाने ? कतिसँग डराउँदै भेट्नुपर्ने ? कार्यालयमा समेत असुरक्षा महसुस गर्नुपर्ने ? यसको बदलामा तपाईंले अरुको व्यक्तिगत विषयमा सवाल नगरे हुन्न ? उसले के खाई, के लाई, के गरी, कता गई, तपाईंलाई के को चासो ? यो उसको नितान्त व्यत्तिगत रोजाइको कुरा हो ।

एकदिन अफिसको काममा नै व्यस्त थिएँ । वाइफाई अन नै गरेर काम गरिरहेकी थिएँ । आफूलाई निकै भद्र र चरित्रवान् भन्ने सरकारी कर्मचारीले मोवाइमा म्यासेज पठाए । म्यासेजमा थियो “अध्यता ब्याड्ली यु यार । पानी पनि कति परिरहेको । यो झरीमा दुई चार रात तिमीसँग हुन पाए जिन्दगीको स्वादै फेरिन्थ्यो । कति त्यहि मात्रै काम गर्छ्यौ ? मैले भनेको मान न, म तिमीलाई राम्रो ठाउँमा सेटल गराइदिन्छु । म तिमीबाट सबथोक चाहन्छु ।”

म्यासेज हेर्नासाथ झननन् तोरीको फूल देखें मैले । मेरो मुखबाट……साले…..। मु…….अश्लिल शव्द निस्कियो उसको लागी । एक सेकेन्डमै नम्वर व्लक गरिदिएँ । उसको म्यासेजले भने मलाई धेरै दिनसम्म निदाउन दिएन । दुई छोराछोरीको बाबुले घरमा श्रीमतीलाई धोका दिएर मसँग बाहिर जाने र मेरो शरिरसँग जथाभावी खेल्ने सोच्न सक्यो कसरी ? सामान्य चिनाजानीमा रहेकी मलाई यति सजिलै शारिरिक सम्वन्धको अप्रोज गर्ने दुस्साहस कसरी गर्यो ? पुरुषहरु यत्तिकै लायक हुन् त ? उसलाई अगाडी बढ्नको लागी न मैले कुनै संकेत दिएकी छु न कुनै छुट । तरपनि यति तल्लो स्तरमा सोचेर गिर्न कसरी सक्छ ? छोरीको सेनेटेरी प्याड किन्न लजाउने पुरुष दोस्रो महिलासँग अन्तरँग सम्वन्ध बनाउने दुस्साहस किन गर्छ ?

यस्ता नियत भएकासँग लड्नु भन्दा उनीहरुलाई बेवास्ता गरेर आफ्नो काममा लाग्नु नै उत्तम विकल्प हो । अति नै दुख दिएको अवस्थामा हामीले कानूनको सहयोग पनि लिन सक्छौं । उसका म्यासेज र अडियो सुरक्षित राखेर सार्वजनीक बदनामी गरिदिन सक्छौं । दोहोरो सम्वन्ध भएकाको हकमा यो गर्नु आफ्नै लागि पनि गलत हो । तर कसैले एकोहोरो यौन उतिडन गर्छ भने उसलाई सहेर बस्नु भनेको उसको हर्कतलाई फैलन मौका दिनु हो । तपाईको नजरमा तपाइ सहि हुनुहुन्छ भने मन लागेको काम गर्नुस् । आफ्नो क्षमता बढाउने बाटोमा अग्रसर हुनुस् । आत्मनिर्भर बन्न कोशिस गर्नुस् । आफ्ना लागि आफै कमाउनु भनेको आत्मविस्वास बढ्नु हो । समाजसँग लड्नका लागि तयार हुनु पनि हो । समाजले चरित्रहीन भन्दै गरोस् । तपाई सँगै हिँड्नु भएको पुरुषसँगको सम्वन्ध खोज्दै गरोस् । प्रश्न उठाउदै गरोस् । चरित्रको नाफा घाटा गर्दै गरौंला, इज्जतको मूल्यांकन पनि खोज्दै गरौंला । तपाईले रोजेको बाटो निरन्तर हिँडिरहनुस् शिखरमा पक्कै पुग्नुहुनेछ ।

[email protected]

तपाइँको प्रतिक्रिया