शुक्रबार, कार्तिक १४, २०७७

जरुर साथी म पागल ! पागल हुनु त डा. केसी जस्तो

थानेश्वर सापकोटा२०७७ असोज ७ गते २१:४३

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा लोकप्रिय कविता छ— पागल । यो कविताले भन्छ—
‘जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्दछु ढुङ्गालाई पूल …
जरुर साथी
मेरो एक नशा ढीलो छ
यस्तै छ मेरो हाल
जरुर साथी म पागल …!’
……….
ठिक यहि हालतमा देश–दुनियाँका लागि ‘पागल’ भनिएका र पछिल्ला महिनामा फेरि चर्चामा छाएका दुई सत्पात्र कुलमान घिसिङ र डा. गोबिन्द केसी । दुबैजना रामछाप जिल्लाको भित्री गाउपाखामा जन्मेका । सरकारी बिध्यालयको शिक्षा हुँदै छात्रवृत्तिका भरमा उच्च शिक्षासम्म पुगेका ‘भेट्रान’ । दुइमध्ये उर्जा (बिजुली) को क्षेत्रमा चिनिएका घिसिङले जनसाधारणलाई ‘अँध्यारोबाट उज्यालो’ तर्फ ल्याए । डा. केसीले स्वास्थ्य संकट बेहोरिरहेका सयौं र हजारौं नेपालीलाई पुर्नजीवनकै उज्यालो बाँडिदिए ।

वर्षौदेखिको लोडसेडिङ हटाएर कुलमानले जादूमयी नाम बनाए, अठोट र प्रतिबद्धताका ‘पागल’ बनेर उनी निस्किए । मन्त्री, प्रधानमन्त्री र राज्यसत्ताभन्दा अगाडि बढेर काम गर्ने पागलपनाकै कारण बिद्युत प्राधिकरणमा उनको कार्यअवधी थपिएन । उनी गत सातादेखि पदमुक्त भएर घर बस्दैछन् । अर्का,‘पागल’ डा. केसी पनि शिक्षण अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा उमेर आधारमा गत वर्ष अवकाश पाएका हुन्, ६३ बर्षे उमेरमा । सरकार र राज्यसत्ताका नजरमा निरन्तर ‘बिरोधी शक्ति’का रुपमा चिनिएका केसी अवकाशलगत्तै सानो झोलीतुम्बी बोकेर हुम्ला–जुम्लाका गाउँवस्तीमा निशुल्क उपचारमा निस्किएका थिए ।

‘म कुनै स्वास्थ्यचौकीको कुनोमा बसेर निशुल्कमा उपचार मद्धत गर्न तयार छु’ भनेर बिन्ती गरिरहेकै बेला उनी जुम्ला सदरमुकाममैं राज्यसत्ता, स्थानीय प्रशासन र प्रहरीबाट घेराबन्दीमा परे । कतिसम्म भने सरकारी अस्पताल भित्रका औंढधी पसलमा दबाई किन्न समेत पाएनन उनले । यो राज्यद्वारा उनिप्रती गरिएको अती थियो । यहि ‘अति’का माझ उनी त्यहीं अनसनमा बसे । यो १९ औं चरणको सत्याग्रह थियो । तर, यो सत्याग्रह के लहड मात्रै थियो ? अहिलेका पर्यटन मन्त्री योगेश भट्टराईले भने झैं ‘कांग्रेस पार्टीको उक्साहटमा केसी सत्याग्रहमा उत्रिएका हुन् त’ ? यो किस्साको लहरो लामो छ ।

गोबिन्द केसीले पहिलोपटक २०६९ असार २१ मा सत्याग्रह थालेका हुन्, आजभन्दा ८ वर्षअघि । विशेषगरी इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) मा राजनीतिक आस्था र भागबण्डा आधारमा नियुक्ती गर्नुहुन्न भन्ने अडानसहित ४ बुँदे माग राखेर अनसनमा उत्रिएका थिए । उनका सुरुका चरणका सबै अनसनहरु आइओएमको शुद्धिकरण केन्द्रित थिए । डिनको नियुक्ती, चिकित्सा शिक्षा नीति जस्ता विषयबाट अघि बढेर उनले छैंटौं चरणको अनसनपछि भने मेडिकल कलेज सिटको निर्धारण, योग्यता आधारमा भर्ना, सम्बन्धन, शुल्क सिमा, निशुल्क पिजी शिक्षा, सबै प्रदेशमा सरकारी मेडिकल कलेज, चिकित्सा शिक्षा निती र ऐनको निर्माण आदिजस्ता विषय थपेर उनी बुलन्द आवाजका साथ सत्याग्रहमा बसिरहे ।

डाक्टर केसीको पहिलो र दोस्रो अनसनमा बाबुृराम भट्टराई प्रधानमन्त्री थिए भने ३ र ४ नम्बरका अनसनमा मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी ‘रमिते’ बन्ने कार्यकारी थिए । संयोग के छ भने पछिल्ला १८ अनसनमध्ये ७ वटामा नेपाली कांग्रेसकै सरकार थियो । केसीको ५, ६, ७ नम्बरका अनसनमा शुशिल कोइराला प्रधानमन्त्री थिए भने ११, १२, १३ र १४ नम्बरका अनसनमा शेरबहादुर देउवा स्वयं प्रधानमन्त्री थिए । बिगतमा ८ नम्बरको अनसनमा पनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली साक्षी थिए भने पछिल्ला १५, १६, १७, १८ र अहिले १९ चरणको अनसनमा पनि केपी ओली नै छन् । अनशनको बिगत र मागका बुँदामा कहिल्यैपनि तात्विक भिन्नता रहेको छैन । परिस्थिती र परिवेश अनुसार केहि थपिएका छन ।

सारमा डा. केसीको सबै मागको एउटै निचोड के हो भने- ‘स्वास्थ्य क्षेत्रमा सर्वसाधरणको सहज पहुँच’ । तर राज्यका संचालकहरु ति सुशिल कोइराला हुन या शेर बहादुर देउवा । बाबुराम हुन या केपी ओली किन हरेकले सर्वसाधरणलाई स्वास्थ्यको सुलभ पहुँच भन्दा बाहिर राखन खोजे या खोजेका छन् । सादगी नेताको परिचय बनाएका सुशिल कोइराला जस्ता प्रधानमन्त्रीले समेत किन स्वास्थ्य क्षेत्रको कालो पर्दा उघार्न सकेनन् ? शेर बहादुरको कुरै छोडौं आफूलाई जनताको मान्छेको पगरी गुथेका बाबुराम र केपी ओलीहरुले किन जनताका कुरा बोल्न सकेका छैनन ?

कुरो हामीले बुझेको भन्दा धेरै ‘डार्क’ छ । यो पर्दा उघारिन जरुरी छ । एउटा सचेत र प्रबुद्ध नागरिकले उठाएका आधारसम्मत मागहरु सुन्ने तथा सम्बोधन गर्ने कुरामा यसरी बेवास्ताका बर्षौंबर्ष बिताएपछि आज आएर यिनको आवाज कसले सुनिदेला ? जबकि यो सरकारमा प्रधानमन्त्रीका दाहिने हात र कार्यकारी पहुँच राम्रै छ भनिएका पर्यटन मन्त्री योगेश भट्टराई भनिरहेका छन्—‘डा. केसी नचाहिने कुरामा राज्यको इमोसनल ब्ल्याकमेलिङ् गरिरहेका छन्’ । ब्यक्तिगत प्रायोजनका लागि केही मागेका छन र केसीले ? राष्ट्र कसको हो ?

जनताको होइन ! योगेश भट्टराई कै शब्दमा यदी डा. केसीले राष्ट्रलाई ब्ल्याकमेलिङ गरेका हुन भने पनि ति सबै सर्वसाधारण जनताको लागि गरेका हुन् जुन जायज छ । काठमाडौंमा महाराजगंज शिक्षण अस्पतालबाट एच.ए. गरेर छात्रवृत्तिमा राजशाही मेडिकल कलेज, बंगालादेशमा एमबीबीएस अध्ययन गर्न गएका केसीले त्यहींको ढाका विश्वबिद्यालयबाट एम.एस. गरेका छन् । अहिलेसम्म घरबारको टुंगो नराखेरै र एकजना आफन्तको घरमा आश्रय लिएर बसिरहेका यी असल मानिस नेपाली समाज र संस्कारको चरित्र हेरीकन परोपकारी अर्थमा ‘पागल’ नै हुन् । भावना–बिचार र विवेकका पागल ।

गोबिन्द केसीको स्वास्थ्य क्षेत्र सुधारमा आएको निरन्तरको आवाजमा राज्यसत्ताको बहुलठ्ठी र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीका प्रवक्ता बनेर काम गर्ने तत्कालिन् उपसचिव कृष्णहरि पुष्करले भनेका थिए— ‘गोविन्द केसी पागल हुन्’ । संयोगले डा. केसीलाई पागल भनेर आफ्नो नामकाम बनाएका पुष्कर दिल्लीस्थित नेपाली दुतावासको आर्थिक काउन्सेलर बने र अहिले गृह मन्त्रालयमा रजगजमा बसिरहेकै छन् ।

तैपनि केसीको आवाज झुकेको छैन । उनी थाकेका छैन । जुम्लाको अनसनबाट अपहरण शैलीमा उठाएर नेपालगंज हुँदै काठमाडौं ल्याइएका केसी अहिले शिक्षण अस्पतालमा उपचाररत छन् । आफ्नो काम–कर्तव्य र मानवसेवा भनेपछि ‘विवाह गर्न समेत भुलेका’ यी पागल डाक्टरकै आवाजकै कारण बितेको ७ वर्षमा कहीँकतै केहि मात्रामा सुधार नभएको पनि होइन । तर, यसो भन्दैमा सुधार जति हुन खोजेको छ, स्वास्थ्य क्षेत्रमा त्योभन्दा बढि बिकृती थपिंदो छ । स्वास्थ्य सेवाका नाममा निजी क्षेत्रमा खुलेका अस्पताल र नर्सिंङ होमहरु राँगा, खशी, कुखुराको मासु बेच्न हाटखोलामा लहरै बसेका बगरेझैं मात्रै देखिन्छन् । दायाँ खुट्टाको उपचार गर्न जाँदा बायाँ खुट्टाको अप्रेसन गरेर पठाउने चिकित्सक न कारबाहीमा छन्, न यसबारे कतै आत्मबोध छ । तैपनि केसीकै प्रयास र आवाजका कारण भएका केही सुधार यस्ता छन्—

—नेपाल मेडिकल काउन्सिलले लिने प्रवेश परीक्षा पास गरेपछि मात्रै विदेश पढ्न जान पाउने ‘इलिजिबिलटी सर्टिफिकेट’ दिइनुपर्ने,

—चिकित्सा ऐन तथा नियमावली बनाउने आधारसहितको माथेमा कार्यदल स्थापना,

—‘प्रदेशपिच्छे मेडिकल पढाइमा सरकारी कलेज खोलौं, काठमाडौबाहिर नभएका ठाउँमा खोलौं, नयाँ विश्वविद्यालयबाट खोलौं, पैसा नहुने तर जेहन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण बनाउँ र दुर्गममा सेवा गर्न पठाउँ’ भन्ने माग नेपाल सरकारका तर्फबाट सहमती जनाइएको छ । तर यि मागहरुको कार्यन्वयनमा कुनै पनि सरकारले त्यति रुची देखाएका छैनन् ।

—केसीकै अडानअनुसार, अधिकांस निजी कलेजमा बिद्यार्थी सिट क्षमता निर्धारण । अब १५० सिटबाट घटाएर १०० सिटमात्रै । केसी आन्दोलनले सिट घटाएको छ, शुल्क घटाएको छ, नियमन बलियो बनाएको छ ।

…….
पछिल्लोपटक केसीले राखेका माग पनि उही हुन्, पुरानै हुन् । बरु यसमा अहिले कोरोना संक्रमणमाझ पीसीआर टेष्टको दायरा बढाइनुपर्ने र यो स्वास्थ्य संकटको घडीमा भैरहेको भ्रष्टाचार छानविन हुनुपर्ने माग उनले थपेका छन् । यस्तै,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ शुरु गर्नुपर्ने भन्ने उनको माग पुरानै हो ।

यो बेला छातीमा हात राखेर अहिलेको कांग्रेस, त्यसबेलाको एमाले वा माओवादी सबैले सोध्नैपर्ने र सोच्नैपर्ने भएको छ— आखिर गोबिन्द केसीले के गलत गरे ? उनले कसका लागि के माग राखे ? कि आफना सम्धी र साढुदाइको भलाइका लागि केही मागिरहेका छन् ? या गोविन्द केसीले ब्यवस्था परिवर्तनको माग गरेका छन ? उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध मात्रै गरिरहे । नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राखिरहेकै छन् । तर सुनुवाइ भने शून्यप्राय छ । उखान छ—सुतेकालाई ब्युँझाउन सकिन्छ, सुतेको बहाना गरेकालाई ब्युझाउन निकै मुश्किल छ ।

गोबिन्द केसीका ७ वर्ष अघिको अनसनदेखि आजसम्मै सबै समस्या र सरोकारमा ध्यान राख्ने पूर्व मुख्यसचिव एवं चीनका लागि पूर्व राजदूत लिलामणि पौड्यालले ट्वीटरमा लेखेका छन्—

–गोविन्द केसीको अनसनमा ४ पटक (१ पटक सरकारी टोलीको नेतृत्व, २ पटक सहयोगी) र पछिल्लो सन् २०१५ मा नागरिकका रूपमा सरकार- डा. केसी दुबैको मध्यस्थकर्ता भई वार्तामा बसेको । स्वास्थ्य मन्त्रालयमा १३ घण्टाको वार्तापछि मनमोहन अस्पताल सरकारले किन्नेसमेत सहमतिमा पछिल्लो संझौता भएकों (तर, कार्यान्वयन शून्य) ।

–केसीका कतिपय मागसँग सहमत थिइन र छैन । वहाँ हठी र अव्यवहारिक पनि लाग्छ । तर, विगतका संझौता कार्यान्वयन होउन र हुनुपर्छ भन्ने मान्यता सदैब बोक्छु । केसीको निष्ठा, सादगी र आधारभूत स्वास्थ्य सेवाबाट बन्चितको सेवामा समर्पण प्रति कहिलै शंका भएन र छैन ।

(कला स्रोत : सामाजिक संजाल, @thetakala)

तपाइँको प्रतिक्रिया

फेसबुक