बिहीबार, वैशाख १३, २०८१

सम्भोग भर्सेज समाधी : आश्रमको उत्ताउलो रात

गुमनाम परदेशी२०७७ असोज ८ गते ७:५५

सुरत शहरमा म राती नै ओर्लेको थिएँ । मैले त्यो आश्रमको नाम बिर्सें । तर ति बाबाले लेखेर दिएको कागजको एउटा पानो हातमा समातेर धेरै बेर प्लेटफर्ममा लन्ठ्याङ लन्ठ्याङ घुमिरहें । एक दुई जना पसलेलाई सोधें पनि, आश्रम कता पर्छ ? भनेर । सबैले तल्लो ओंठलाई चिउँडोसम्म पुर्याएर मुन्टो हल्लाए । त्यसै पनि रातिको दुई बजे कतै जान सकिन्न । ‘ह्या बिहान रेलवेका मान्छेलाई सोधे बताइदेलान नि’ भन्ने लाग्यो । सुरतको यो स्टेशन बडेमानको छ । एक पटकमा अठार वटा रेल अडिन सक्छन अरे- भिमकाय बनावट ।

प्लेटफर्म प्राय: सुनसान छन् । म ओर्लेपछि दुई वटा रेल पास भए । एउटा कोल्हापुर जाने रहेछ- कोल्हापुर अंगुरको शहर हो रे ! कटेराका छानामा समेत अंगुर फल्छन भन्ने सुनें ? बम्बई छँदा । उ बेला लटरम्म फलेका अंगुरको झ्याँङमुनी उभिएर फोटो खिचाउने कम्ता इच्छा थिएन मेरो । तर उल्टो बाटो आएँ ।

सुरतको यो बडेमानको कुर्सीमा लत्रक्क पल्टेको छु । प्लेटफर्ममा मधुरा बत्तिहरु छन् जसको प्रकाशले पान खाएर भित्तामा थुकेका टाटाहरु प्रष्ट देखिन्छन् । मैले बम्बई मै मायाँपुरी किनेर झोलामा कोचारेको थिएँ । पढ्न सकिन । अक्षर बुझिएनन् । म सुतेको कुर्सीको दाहिनेपट्टी एउटा पसल छ के को हो कुन्नी । बन्द छ । त्यसको आडैमा बोरा बोरामा खाँदिएका केराको रास छ । बिहानैका रेलले यि केराहरु बोकेर भारतभरी पुर्याउनेछन् । कमै भारतीय होलान् जसले सुरतका केराको स्वाद नचाखेको होला । राजिव गान्धी नमारिएको भए यि केरा क्यानडा र अमेरिकी बजारमा छ्याप्छ्याप्ती हुने थिए । राजिव गान्धीको मृत्‍युपछि यो सम्झौता त्यत्तिकै छ शायद ।

प्लेटफर्म अत्यन्तै फोहोर छ । रेलका लिक वरीपरी बथानका बथान मुसा दुगुर्छन् । भेँडाका हुल जस्तै ग्वार्ग्वार्ती दुगुर्ने मुसाका हुल देखेर म तीन छक परेको छु । सुरतका मान्छेहरु मुसा सँगै बाँच्न अभ्यस्त भइसकेका छन् शायद । नत्र यती धेरै मुसा एकै पटक कसरी निस्किन्छन ? मैले अहिलेसम्म यती धेरै मुसाहरु हुल बाँधेर दुगुरेको कहिल्यै देखेको थिइन ।

बिहानको ४ बजेको हुँदो हो, पल्लो प्लेटफर्मको एउटा पसल खुल्यो । चिया पसल हो शायद । म झोला समातेर हिँडे । एक जना बुढा बडेमानको स्टोभमा हावा पेल्दै गरेका छन् । तिनको स्टोभ ह्वार्र बल्छ र फेरि निभ्छ । तिनी पटक पटक सलाईको काँटी कोर्छन र स्टोभको मुन्टोमा झोस्छन् । “चाचा चाय मिलेगा क्या”?- मैले सोधें । “थोडा टायम लगेगा”- उनले मलाई हेर्दै नहेरी जवाफ दिए । उनी स्टोभमै ब्यस्त छन् । यदि यो स्टोभ चलेन भने यिनका घरमा रोटी पाक्ने चुल्हो पनि जल्ने छैन ।

स्टोभ चल्यो तिनले दिउरी बसाले । “कहाँ से आए हो बेटा”- तिनको सोधाई निकै मिठासयुक्त थियो । “नेपाल से” । “अरे पशुपतिनाथ के घर से आए हो” । “जी” । दिउरिमा चिया भुर्लुक्क उम्लियो । बासी दुधको होला । तर अचाक्ली ‘टेस्टी’- जिउमा तरान पस्यो । यिनै चियावाला बुढाले बताए आश्रमको ठेगाना । बस चढेर आधा घण्टा शहर छिचोलेपछि आश्रम पुगिँदो रहेछ ।

म आश्रम पुग्दा भर्खर झिसमिसे भएको थियो । बुटै बुटाले घेरिएको इत्रुको जंगल । जंगलको बिचैमा माझौला खालको आश्रम । महादेवको सानो मन्दिर । त्यसभन्दा बाहिर बडेमानको फलामको गेट । गेट नजिकै पुग्दा बिभिन्न सुगन्ध मिसिएको धुवाँ उडिरहेको थियो । शंख धुनी चलेको रहेछ- मन प्रफुल्ल भयो । । मैले मुल गेटको ढोकालाई बिस्तारै ढक्ढक्याएँ । धेरै बेरपछि एक जना साधुले गेट खोले । “श्याम सुन्दर महाराज से मिल्ना है”- मैले भनें । “महाराज धुनी लगारहे हैं । आइए आप बैठिए । उनको थोडा वक्त लगेगा” ।

म उनी सँगै भित्र पुगें । परै बाट महादेवको दर्शन गरें । लामा लामा टुप्पी पालेका केही बिध्यार्थीहरु ओहर दोहर गरिरहेका थिए । अब एक्कै छिनपछि सामूहिक आरती चल्छ अरे । तर म आरतीमा सामेल भइन । मलाई कसैले बोलाएन । म एउटा आँपको पोथरा मुन्तिरको कुर्सीमा टुक्रुक्क बसिरहें । ति लामा लामा टुप्पी पालेका यता उता टहलिने केटाहरुले पुर्लुक्क मलाई हेर्थे र खासखुस गर्थे । जे सुकै गरुन मलाई के मतलब ?

आधा घण्टापछि बाबाले बोलाए । आश्रमको अल्ली पछाडिपट्टि झोपिल्लो बदामको बुटो । त्यसको आडैमा चिटिक्क परेको सानो घर । म भित्र पसें । लामा दाह्री पालेका उनै बाबा गेरु वस्त्रमा अगाडि टुप्लुक्क देखिए- आस्थाले शिर झुक्यो । उनले मेरो शिरमा हात राखे । “दिल नही लगा बम्बई में”- उनले सोधे । के भनु खै म तिनको अनुहारमा हेरेको हेर्यै भएँ । समुन्द्रको किनरमा ढुङ्गा माथि सुतेर पाँच रात बिताएको काहानी उदेक लाग्दो हुने छ- मैले केहि भनिन । उनैले भने- “कोइ बात नहीँ । आप आश्रम में रहो । अगर आप चाहे तो अपनी पढाई भि कर सकते हे” । मैले पढ्छु त भनें तर शास्त्र अध्ययन चानचुने कुरा होइन । म सानैमा देवघाटको पढाई छोडेर भागेको छु । तर जिन्दगी यसरी घुम्यो कि म बडेमानको चक्रलाई पछ्याउँदै फेरी आश्रममा आइ पुगें – संस्कृत पढ्न ।

मलाई कपाल खौरेर बडेमानको टुप्पी लर्काउन मन छैन । पंडित भए पनि अलिकति आधुनिक पंडित हुन मन छ । जिन्सको पाइन्ट लगाएर सराध्ये गराउन किन सकिन्न ? दिनभरी चिनापर्चीमै बित्य । केहि गुरुसँग भेट भयो । उनिहरु अन्तै, बाहिर बस्ने रहेछन् । बिहान धुनी लगाउने बेला आउने र दिउँसोमा बिध्यार्थी पढाउने रहेछन् । यहाँँ जम्मा १६ जना बिध्यार्थी छन् जो पूर्वमध्यमा र उत्तरमध्यमाको तयारी गरिरहेका छन् । आश्रममा यिनै १६ जना बिद्यार्थी, श्याम सुन्दर महाराज, खाना बनाउने एक जना महिला छन् । तिनको नाम मैले बिर्सें । यि भान्से दिदी सर्लक्क अग्ली छन् । गोरो अनुहार र आँखा चमकदार छन् । गढवाल हो रे यिनको घर । श्रीमानले अन्तै घरजम गरेपछि बिरक्त भएर हरिद्वार आएकी रहिछन् । त्यहिँबाट बाबाले लिएर आएका हुन् अरे ।

आश्रम भन्दा अली तल एउटा कटेरो छ जहाँँ सात वटा गाई छन् । तिनको स्याहार सुसार गर्ने एक जना मान्छे छन्, बिहारका मंगल पासवान । पढाई बाहेक बिध्यार्थीहरुले बगैंचाको हेरचाह गर्छन् । गाईको सेवा गर्छन् । सबैको लाइफ बिन्दास छ । चामल, पिठो, दाल, तेल, तरकारी बाहिरबाट आउँछ । ति दिदिले बडो मेहनत गरेर पकाउँछिन् र सबैजना एकै पटक मेसमा बसेर खान्छन् । आश्रममा लसुन र मासु बर्जीत छ ।

त्यहाँ मेरो ६ दिन बित्यो । धेरै केटाहरु साथी बनिसकेका छन् । हामी सबैजना एउटै हलमा सुत्छौं । सबैका अलग अलग बिस्तारा छन् । मेरो नजिकै युपी हापुडको एउटा केटो छ । ऊ पढाईमा अब्बल छ । सबै बिध्यार्थीहरु राती १० बजेसम्म पढ्छन् र सुत्छन । मैले पढ्दिन । म त्यत्तिकै सुत्छु । बरु रातीसम्म एउटा हिन्दी गीत  सम्झिरहन्छु- “ए कहाँँ आ गए हम” । पंडित बन्ने यो यात्रा निकै भयंकर देखें मैले । हामी सुत्ने हलको पछाडिपट्टी भान्छासँग जोडिएको एउटा सानो कटेज छ । खाना पकाउने दिदी त्यही कोठामा सुत्छिन् । तिनको कोठामा अबेर रातीसम्म मधुरो बत्ती बलिरहन्छ । हपुडको केटोले हिजो भन्दै थियो- “हमारे बाबाजी हर रात दिदिके कमरे में आते हे” । म दंगदास परें । अस्ति राती केहि केटाहरु कोठाबाट निस्केका थिए । उनिहरुले महाराजको चर्तीकला हेर्ने रहेछन । झ्यालको सानो चरबाट । आज एउटा केटोले मलाई जाउ भनेको छ ।

हामी शिकार कुरेर बसेको बाघ जस्तै अत्यन्त होसियारीपूर्वक भान्से दिदीको झ्यालमा पुग्यौं । झ्यालको इत्रुको चर । एउटा आँखो बन्द गरेर अर्कोले मात्र चियाउनु पर्ने । सबैले पालै पालो हेरे । हेरेरै मजा लुटे । मेरो पालो आयो श्याम सुन्दर महाराज चराणाम । तिनका सेतै फुलेका लामा दाह्री घिनलाग्दा देखिए । निर्वस्त्र भान्से दिदी कुरुप लाग्यो । नग्नतामा सुन्दरता देख्नेहरु सबै भन्दा ठूला ढोंगी हुन दुनियाँका । नाङ्गा मान्छेहरु यती धेरै कुरुप हुनेरहेछन मैले पहिलो पटक देखें ।

त्यो दृष्य मेरा लागि भयंकर थियो । मलाई छट्पटी भयो । सुईँ सुईँ हलमा पुगेर बिस्तारामा पल्टें । रातभरी स्याँ स्याँ भए जस्तो पो भो । निद्रा परेन । मैले सम्मान गरेका बाबा एउटी महिलासँग त्यसरी साङ्गिएको देख्दा मेरो मुटुले ठाउँ छोड्यो । हामीले के सिक्छौं ? यस्ता कुराहरुले हाम्रो तत्तु फेरिन्छ । हामी आफ्नो नियन्त्रणमा रहँदैनौं । भोलि बिहान एक छिन बगैंचा घुमें । आरतीमा जान मन लागेन । परैबाट महादेवको दर्शन गरें । म हिरो बन्न हिँडेको मान्छे कसरी पंडित बनेर फर्किनु ?

यहाँँ आएको भोलिपल्ट बाका नाममा चिट्ठी लेखेर पठाएको थिएँ- “बा मैले संस्कृत पढ्न सुरु गरें” । चिट्ठी पाएको भए बा खुशीले गद् गद् भए होलान् । यता मेरो मन बिरक्तिएको छ । खोइ के भयो कुन्नी दिनको ३ बजे मैले झोला बोकें । भर्खर आत्मिय बन्दै गरेका सबैसँग छुट्टीँदा मन अमिलो भयो । बाबालाई भेटें । म हिंड्न लागेको देखेर तिनले आश्चर्य माने । बसेर खुरु खुरु पढ् भने । मैले अनेक बहाना बनाएँ । हिंड्ने बेला ४ सय रुपैयाँ र पाँच मुठी जती काजु कागजमा पोको पारेर दिए । भने- “रास्ते मीं भुख लागि तो खा लेना” । मंगल पासवानले एलएमएल भेस्पा लेखेको एउटा स्कुटरमा चढाएर स्टेशन पुर्याए । रातिको ९ बजे गोरखपुरको लागि एउटा रेल हुँइकियो । सुरत शहर ओझेल पर्दै गयो । श्याम सुन्दर महाराज विस्मृत बन्दै गए ।

तपाइँको प्रतिक्रिया