मंगलबार, वैशाख ११, २०८१

स्विजरल्याण्ड र नेपालका राष्ट्रपतिबीच फोन वार्ता

नेपाल प्लस२०७७ असोज ९ गते ८:३५

बर्न । स्विजरल्याण्डकी राष्ट्रपति सिमोनेता सोमारुगाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी कोरोना भाइरस विरुद्धको लडाइँमा सघाउन आफूहरू तयार रहेको बताएकी छिन् । सोमारुगाले ट्वीट गर्दै भनेकी छिन्, ”पर्वत श्रृंखलाहरू भएको देश स्विजरल्याण्ड र नेपालको लामो सहकार्यले नेपालको गरिबी हटाउने काममा निकै ठूलो प्रगति गरेको छ ।

मैले आजै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग फोनमा कुराकानी गरि कोभिड-१९ सँग जुध्न आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराएँ ।” स्वीस सरकारले नेपालमा कोरोना भाइरस बढ्न सुरु भएकै ताका मे महिनामा तीस हजार पिसिआर किट्स सहयोग गरेको थियो । नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन कापेलेरले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई किट हस्तान्तरण गरेकी थिइन् ।

स्वीस आर्थिक सहयोगमा चौदण्डीगढी नगरपालिका उदयपुरमा कोरोनाका सङ्क्रमितको उपचारको लागि ४० शैय्याको अस्पताल पनि निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र इसिमोडसँग स्विजरल्याण्डले सहकार्य गरिरहेको सन्दर्भ निकालेर उनले आउने वर्ष स्विजरल्याण्डमा हुने अल्पाइन पर्वतीय सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारीलाई निम्तो दिएकी छिन् ।

तपाइँको प्रतिक्रिया