शुक्रबार, चैत १६, २०८०

चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन

नेपालन्यूज डेस्क२०७७ असोज ९ गते १८:४४

२५ सेप्टेम्बर, भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । दुई महिना अघि कोरोनाको संक्रमण देखिएपछि उनी चेन्नई अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । गत हप्ता गरिएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

तमिल र कन्नड भाषामा चर्चित भैसकेका गायक एसपी बालासुब्रमण्यम नब्बेको दशकमा चर्चाको शिखरमा चढ्दै गरेका सलमान खानको जीवनको सफलताको निम्ति निकै सहयोगी बने । मोहम्मद रफीको गीतबाट असाध्यै प्रभावित उनले दिल दिवाना बिन सजनाके, आजा साम होने आयी, मेरे रंग मे रंगने वाली जस्ता उसबेलाका हरेक मानिसका ओँठमा झुण्डिएका गीत गाएर एक पछि अर्को गर्दै सलमान खानलाई चर्चित बनाउनमा सहयोगी बने ।

जीवनको अन्त्यसम्म १६ भाषामा ४० हजार भन्दा बढि गीत गाएका सुब्रमण्यमले गिनिज बुकमा नाम त लेखाए नै अहिलेसम्म आफूलाई कति गीत गाइयो भन्ने कुनै हिसाब नभएको बताउने गर्दथे । भारतको सम्मानित पद्मश्री र पद्मभूषण पदकबाट सम्मानित उनको निधनमा सलमान खानले मृत्युको खबरले आफ्नो हृदय छियाछिया भएको जनाएका छन् ।

एक समय नेपालका गल्ली गल्ली र चोकचोकमा गुन्जने हिन्दी चलचित्र ‘मैने प्यार किया’ का सबै गीतहरुमा उनको स्वर थियो । प्रेम गीतका निम्ति चर्चित एसपी बालासुब्रमण्यमले तेलेगु फिल्म श्री श्री मर्यादा रामान्नाबाट सन् १९६६ मा गाउन शुरु गरेका थिए ।

तपाइँको प्रतिक्रिया