सोमबार, कार्तिक १०, २०७७

स्लोभेनियाको सबैभन्दा अग्लो हिमशिखरमा नेपाली झण्डा फर्फराउँदा

कृष्ण थापा / स्लोभेनिया२०७७ असोज १० गते १०:४५

त्रिग्लाव हिमालका बारेमा धेरै धेरै सुनियो । यसका आकर्षणका कथा परेला तन्किनेगरी आँखामा बसे । अन्तरात्माले धेरै अघिदेखि भन्यो, एक पटक जरुर चुम्नु पर्छ त्रिग्लाबको चुचुरो ।

पूर्वी युरोपको सुन्दर देश स्लोभानियाको आकर्षण इटालीदेखि अग्लिँदै आएका सुन्दर हिमश्रृंखलाहरु हुन् । नेपालबाट सात हजार किलोमिटर टाढा रहेको स्लोभानियाका हिमश्रृंखला मध्ये सबैभन्दा अग्लो र यात्राको निम्ति कठिन हिमशिखर मानिन्छ त्रिग्लाव, जसको नेपाली अर्थ हुन्छ तीनटाउके । यसैलाई चुम्न हाम्रा तीन टाउका आकाश तर्फ उचालिएका थिए- सन्तोष रुपाखेती, इकेश महर्जन र म ।

दुई हजार आठ सय त्रिसठ्ठी मिटर अग्लो यो हिमाल स्लोभेनियाको गौरवको रुपमा चिनिन्छ । हामीलाई चुचुरोमा पुगेर हाम्रो गौरव उचाल्नु छ । जुलियाँ हिमश्रृंखलाको यो सबैभन्दा अग्लो हिमालको टुप्पोमा पुगेर एक पटक बेस्सरी चिच्याउनु छ । र चन्द्र सूर्य अंकीत झण्डा फहराउनु छ ।

पूर्वी युगोस्लाभबाट स्लोभेनियन पर्वतारोहीहरु नेपालका हिमाल आरोहण गर्न वर्षेनी जाने गरेका छन् । आधाजसो साना ठूला हिमाल चढेर आएका कतिपय स्थानिय मित्रहरुले हामीलाई हाम्रै हिमालका काहानी भन्दा हामी वाल्ल पर्छौं । कती सुन्नु हाम्रै हिमालका कथा- यो दुर दराजको देशमा बसेर । त्यसैले हामी तीन जनाले सल्लाह गर्यौ, हामी पनि के कम, हामीले पनि चढ्न सकिन्छ होला नि यहाँको अग्लो चुचुरो ।

हामी बस्ने शहर स्कोफेलोकाबाट करिव एक घण्टाको बस यात्रा गरेपछी पुगिन्छ त्रिग्लाव हिमालको फेदिमा । अगस्त १ तारिखको दिन त्यही लक्ष्यका साथ हिँड्यौं । त्रिग्लाव चढ्न कस्सिएका हामी आरोहीहरु आवश्यक पर्ने सबै सामानले सुसज्जित थियौँ । भौतिक सामान भन्दा बढि हामीसँग हिमालमा चन्द्रसूर्य अंकित प्यारो नेपाली ध्वजा फर्फराउने अभिलाषा, हिमशिखरबाट दृष्यावलोकन गर्ने हुट्हुटी र यात्राका रमाइलोको भिन्दै मजा लिने असिमित चाहना थियो ।

स्लोभेनियाका पर्वतारोहीहरु भन्छन- “ख्याल गर्नु ! तीनटाउके हिमालले धेरैको ज्यान लिएको छ । अलिकति पनि लापरवाही गर्यौ पनि जीन्दगी त्यहीँ सकिनेछ । आफूलाई अब्बल ठान्ने पर्वतारोहीहरुको पनि ज्यान लिएको छ त्यो हिमालले” ।

यात्रा अब कल्पनाको वास्तविक उडान मात्र नहुने भयो । यसमा सतर्कताको सूईपनि झुण्डियो टाउकोमाथि । तीनटाउके हिमालको काखमा रहेको मनमोहक बोहिन तालको छेवैछेउ स्टार फूजिना हुँदै हामी उकालो लाग्यौं । ठ्याक्कै सराङकोटबाट फेवाताल हेरे जस्तै, हाम्रो मनमा पोखरा भरियो । जंगल, खोला, खोँच छिचोल्दै चार घण्टापछि कोचाना प्लानि प्रि यजेरो नाउँ गरेको बिसौनीमा थकाइ मारियो ।

सामलतुमल खोलेर भोक मेटाइयो पनि । एकैछिन बस्न लागेकै बेला बादल मडारिएर आयो । चट्याङ शुरु भयो । हेर्दा हेर्दै ह्वार्ह्वार्ती असिना परे । हे राम ! ओतिने ठाउँ पाइएन । असिनाको चुटाइ सहँदै हामी अझै उकालो लाग्यौँ । बिहान यस्तो थिएन । हामी उकालिँदा छ्याङ्ङ घाम लागेका थिए । यस्तरि असीना पर्लान भनेर सोच्दै सोचेका थिएनौं । यदि अलिकती मात्रै हामीलाई यसको भेउ हुन्थ्यो भने केहि तयारि पक्कै गर्ने थियौं ।

भोड्नीकोब पुग्दा साँझ परिसकेको थियो । थाकेर हामी लखतरान थियौं । त्यहीँ एउटा होटल खोजेर भारी बिसाइयो । थकाइले होला एक्कैछिनमा भुसुक्कै निदाइएछ पनि । ब्यूझँदा त आँखै अगाडि बडेमानको हिमाल । हिम मृगहरु चरिरहेका । आरोहीहरुको लस्कर । एक छिन त यस्तो लाग्यो, हामी स्वर्गको आडैमा आइपुगेछौं । त्यहाँको सुन्दर मनोरम छटा देखेर मन चङ्गा झैँ भयो । अब दुई घण्टामा हामी चुचुरोमा पुग्नेछौं । मन त्यसै फुरुङ्ग भयो ।

माथि पुग्नेबेलामा निकै अप्ठेरो खोँच थियो । सजिलोको लागि एउटा फलामको डोरी झुण्ड्याइएको छ र आरोहीहरु बडो जतनसँग डोरिमा झुण्डिएर माथि उक्लिरहेका हुन्छन् । यहि ठाउँ हो आरोहिहरुको होस् हवस उडाउने र प्राणपखेरु एकैछिनमा चिलिम हुनसक्ने । बडो मुस्किलले होशियारीका साथ डोरी समाउँदै हामीले त्रिग्लावको मुन्टोमा टेक्यौं ।

अहो ति थकित र लत्रेका अन्तिम २० पाइला । ति गह्रुंगा पाइलाहरुको याद मुटुमा अजम्मरी हुनेछन । त्यो डरलाग्दो बाटो । हाम्रो जिन्दगी निमेसमा भत्काउन सक्ने हिमाली पत्थरहरु । तैपनि निकै होशियारीले चालिएका यि पाइला । स्लोभेनियाको त्रिग्लाव चिमालको चुचुरोमा १५ मिनेटसम्म नेपालको चन्द्र सूर्य अकित झण्डा चुम्दै र ‘सयौँ थुँगा फूलका हामी यौटै माला नेपाली’ राष्टिय गान गाउँदै हामीले आकाश चुमिरह्यौँ । तिनै जना थचक्क हिउँमा बस्यौं । र एक अर्काको अनुहार हेर्यौ । सबैको मन एकै चोटि उम्लियो । हामी आकाशतिर फर्केर एकै चोटि चिच्यायौं- जय जय नेपाल ।

देशको मायाँ किन लाग्छ कुन्नी ! हामीलाई हाम्रो सगरमाथा अग्लो बनाउन जताततै च्यापिएर ठडिएका हरेक पत्थरको औधी माया लागेर आयो । यहीं बसेर सगरमाथा सम्झ्यौं । लुम्बिनी सम्झ्यौं । जीवनको उच्चतम स्पर्श गर्‍यो मनले, नग्न आकाशसँग । अब धेरै वर्ष हाम्रो मन उडिरहनेछ हिउँका छिटासँग । २० मिनट पछि हामी तल ओर्लियौं । हाम्रो मन त्यहीं छोडियो । विजयको उन्माद भने अझ रोकिएको छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक