बिहीबार, वैशाख १३, २०८१

पेरिस हमलामा संलग्न २० वर्षिय पाकिस्तानी युवा

नेपालप्लस न्युज डेस्क२०७७ असोज १० गते ११:५३

हिजो शुक्रवार पेरिसमा भएको आतंककारि हमलामा संलग्न २० वर्षिय पाकिस्तानी नागरिक रहेको खुलासा भएको छ ।

फ्रान्सका वकिलहरूले पेरिसको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको पूर्व कार्यालय नजिक शुक्रवार छुरा प्रहारमा दुई जना घाइते भएपछि आतंकवाद बिरुद्दको अनुसन्धान शुरु गर्दा यो रहस्य खुलेको हो । सुरक्षाकर्मीहरुले संदिग्ध अपराधी र अन्य छ जनालाई पनि हिरासतमा लिएका छन् ।

हमला लगत्तै पेरिसका केहि क्षेत्र सिल गरिएको थियो । उनलाई पक्रेपछि पेरिसका बन्द गरिएका भूभागहरु साँझपख खुला गरिएको थियो ।

संदिग्ध अपराधी पक्राउ परेपछि फ्रान्सका गृहमन्त्री जेराल्द डारमानाँले भनेका छन्, ‘यो कट्टरपन्थी मुस्लिम आक्रमण हो । यो गल्ली त्यहि हो जहाँ ‘शार्ली हेब्दो’ को कार्यालय थियो । यसमा कुनै शंका छैन कि अतिवादी मुसलमानहरुले हाम्रो देशमा रक्तपातपूर्ण हमला गरेका छन् ।’

मुस्लिम धर्मका गुरु मोहम्मदलाई क्यारिकेचर गरेर ‘शार्ली हेब्दोमा’ एक कार्टुन प्रकाशित भएपछि सन् २०१५ को जनावरीमा यसै साप्ताहिकमा कार्यरत १० कार्टुनिष्ट पत्रकारहरु मुस्लिम अतिवादी आक्रमणमा मारिएका थिए ।

आतंककारी हमलामा संलग्नहरु मध्येका प्रमुखहरु पेरिसमा भएका दुई अन्य ठूला आक्रमणमा मारिईसकेका छन् । तर बिगत तीन हप्ता देखि पेरिसको अदालतमा सो मुद्दाको सुनुवाई भईरहेको छ र त्यहाँको दृष्य बहुतै दुखद छ ।

अदालतमा सुनुवाई हुनु पहिला शार्ली हेब्दोले पुन मोहम्मदको क्यारिकेचर गरेको कार्टुन प्रकाशित गरेको थियो । उसले भनेको छ ‘हामीहरु कदापी हार्ने छैनौँ । हामीहरु अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न डराउने छैनौँ ।’

हिजो आक्रमणमा परेका दुई पत्रकारहरुको शार्ली हेब्दोसँग सम्बन्ध छैन । तर उनीहरुले काम गरिरहेको ठाउँ पुरानो शार्ली हेब्दोको कार्यालय हो । आक्रमण पछि शार्ली हेब्दोको कार्यालय अन्तै सारिएको छ जहाँ पत्रकारहरु कडा सूरक्षा व्यवस्था भित्र दिनरात प्रहरीको निगरानीमा रहेर काम गर्छन् ।

प्रहरी निगरानीका कारण पत्रकार पत्रकारबिच खुलेर संवाद हुन नसकेको र प्रशासनले पटक पटक अज्ञात धम्कीहरु पाईरहेको जनाईएको छ ।

हिजो गंभिर घाईते भएका पत्रकारहरु पेरिसको एक अस्पतालमा उपचाररत छन् । हिजो आक्रमण गर्ने पाकिस्तानी नागरिक तीन वर्ष पहिला फ्रान्स आईपुगेको उल्लेख छ । उनले फ्रान्सेली सरकारले दिने वालवालिका भत्ता खाएर जीवन गुजारेका थिए ।

तीन वर्षमा उनी स्कूल पनि नगएको स्थानिय मेडियाले उल्लेख गरेका छन् । प्रहरी हिरासतमा उनले दोभाषेको सहयोग लिएका छन् ।

वालकको हैसियतमा भत्ता उनले पेरिसको उत्तरमा पर्ने ६० नम्बरको अन्चलमा रहेको वाज क्षेत्रबाट लिँदै आएका हुन् भने बसोबास भने पेरिस सँगै टाँसिएको पताँ भन्ने ठाउँमा रहेको जनाइएको छ ।

उनीसँगै बस्ने अरु पाँच जनालाई पनि प्रहरीले सोधपुछकालागि हिरासतमा लिएको छ । आक्रमणको समयमा उनको साथमा रहेका अल्जेरियन नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

चुरोट पिउन गल्लीमा झरेका बेला मासु काट्ने चक्कुले दुई पत्रकारलाई आक्रमण गरेपछि चक्कु त्यहिँ छाडेर उनी सरासर रगत लागेका लुगा र अनुहार लिएर मेट्रो चढ्न पुगेका थिए । पेरिसमा मास्क अनिवार्य लगाउनुपर्ने नियम भएपनि उनले मास्क लगाएका थिएनन् ।

सिसिटिभी क्यामेरामा उनले रातो जुत्ता र पहेंलो टि शर्ट लगाएको देखिएपछि प्रहरीले एकाएक पेरिसका केहि गल्लीहरु बन्द गरेको थियो । उनी मेट्रो चढ्ने क्रममै पक्राउ परेका हुन् । (फोटो साभार – डेली मेल)

तपाइँको प्रतिक्रिया