सोमबार, कार्तिक १०, २०७७

कमरेडहरुका ‘कमिना हर्कत’ : भन्नेलाई भन्दा सुन्नेलाई लाज’

थानेश्वर सापकोटा२०७७ असोज १२ गते २१:३९

अलिक ‘अफ द बिट’को एउटा बिषय वा प्रसंग आउनुपर्छ नेपाली समाजका कमरेडहरु छिचिमिरासरह जागृत भैहाल्छन् । त्यसमा पनि लैङंगिक चेतना र यसमा जोडिएका सन्दर्भहरु आए भने त वर्षौवर्ष सुतिरहेकाहरु पनि जर्याकजुरुक उठ्छन् । आफूलाई सबैभन्दा सुझबुझ र चेतनाले भरिएको बिज्ञ भन्ठान्दै ट्वीटर र फेसबुकको भित्तो रंगाउनेमा यिनै कामरेडहरु हुन्छन् । आफूले छिनभर अगाडी पोष्टिएको कुरोमा दम देखिएन अथवा भनेजति लाइक भेटिएन वा यसमा एउटा कित्ताबाट खेदो मात्रै खनिएको अवस्था आइपरे फेरि हराउँछन् । बेलाबेला टाउको उठाउने र टाउको लुकाउने कछुवा गतिमा प्रकट भइरहन्छन कमरेडहरु ।

भारतमा जसरी एउटा नवनायक सुसान्त सिंह राजपूतको आत्महत्यापछि अनेक किस्सा–प्रकरणहरु बाहिरिने क्रम जारी छ, यो हेर्दा मात्रै पनि अनौठो लाग्छ । यत्रो कोरोना महामारी, भोकमरी, किसानहरुको आन्दोलन र दैनिक एक हजारभन्दा बढि मानिस मरिरहेको भारतमा एकजना नवनायकको आत्महत्याले जेजसरी भारतीय समाजलाई बिनाबित्थामा हल्लाइरहेको छ, यहि हल्लाको महामारी नेपाली समाजमा सल्किएको हो कि झैं देखिएको छ । आइतबार एउटा सम्मानित पुरस्कार घोषणाका क्रममा भुतपूर्व कामरेड मोदनाथ प्रश्रितको नामसमेत समावेश भएपछि यसले ल्याएको तरंग अनौठो देखिन्छ ।

आजभन्दा २४,२५ बर्षअघि अर्घाखाँचीदेखि काठमाडौंसम्मको यात्रामा मोदनाथले गाउँकी एक नाबालक युवती शारदा भुसालमाथि गरेको शारीरिक र मानसिक व्यभिचारका बारे पाँ वर्षअघि मात्रै प्रकाशित ‘धरातल’ पुस्तकले धेरैकुरा बाहिर ल्याइदियो । पीडित पात्र शारदा स्वयंले लेखेको यो पुस्तकमाथि भनेजति चर्चा र बहस कतै हुन सकेको थिएन । किनभने नेपाली समाज र बौद्धिक वर्ग पनि त्यस्तै छन्, जस्तो बलेको आगो ताप्नमैं धेरै रुचि राखिरहेका हुन्छन् । तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठतम नेता, तत्कालिन शिक्षा मन्त्री, मदन पुरस्कार (मानव कृति) बिजेता र सामान्तवर्गको बिरोध गरेरै ‘नवसामन्त’ झैं बनेका मोदनाथमाथि लगाएको चारित्रिक आरोप कस्तो भयो भने मोदनाथ आफैंमा एउटा धारिलो खुकुरी हुन्— अरु सबैजना पाकेका फर्सी । फर्सी खुकुरीमाथि खनिएपनि अथवा खुकुरी फर्सीमाथि जाइलागेपनि काटिने फर्सी नै हो ।

यसरी फर्सी बनिरहिन्— शारदा भुसाल । नारी चेतना, लैङ्गिक अधिकार र असमानतामा बुलन्द आवाज उठाउने महिलाबादीहरु पनि सामान्य बहसभन्दा पर्तिर शारदाका बारेमा आवाज बन्नै सकेनन् । ति ठूला नेता मोदनाथले प्रतिवाद त जनाए तर, भनिदिए—‘शारदा पागल हो, मानसिक रोगी हो आदिआदि ।’

कुरा यत्तिकैमा सामसुम भएको थियो । तर फेरि आइतवार मात्रै घोषणा भएको पद्मश्रीले यो पुरानो कुरोलाई दमको रोग बल्झिएझैं बल्झाइदियो । अनि सुरु भयो रमिता । सत्तारुढ नेकपा पार्टीका केन्द्रिय सदस्य एवं विदेश मामला बिभागका उपप्रमुख बिष्णु रिजाल सबैभन्दा ‘जानकार’ भएर मैदानमा उत्रिए । केहि अघि आज नेकपाको शासनसत्तामा संघ, प्रदेश, केन्द्र, न्यायालय सबै आफ्नै हातमा भएका बेलामा किन भनेजति काम हुन सकिरहेको छैन भनेर अहं ‘अहंबादी जिज्ञासा’ उठाउने रिजालले फेरि उस्तै अहं सवाल उठाएका छन्—मोदनाथ बारेमा ।

उनले ट्वीटरमा भनेका छन्—‘शारदा भुसालले लगाएको आरोपको मोदनाथ प्रश्रितले त्यतिबेलै पत्रकार सम्मेलन गरेर खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिनुभएको थियो । अप्रमाणित आरोपमा कसैको बारम्बार मानमर्दन गर्न पाइन्छ र ? न प्रश्रितले निवेदन हालेर पुरस्कार माग्नुभएको हो, न यसले उहाँलाई कुनै फरक नै पार्छ । तर बेइज्जती किन ? यो विवाद निरुपणका लागि कानूनी बाटो खोज्नुपर्छ या त यसरी आरोप मात्रै लगाइनु हुँदैन । सामाजिक अभियन्ता, अधिकारबादी र समाज सुधारकले पनि पीडितलाई यहि बाटो सुझाउनुपर्छ ।’

यति मात्रै लेख्न भ्याएका थिए रिजालले, उनको रौचिरा उतार्ने काम सुरु भैहाल्यो । तर, यो तहका नेताले र सार्वजनिक तहमा ‘फेस’ गर्नुपर्ने फिगरले बोल्ने–नबोल्ने कुराको हेक्का भने राख्नैपर्ने हुन्छ । यी रिजालको काँचो राजनीतिक चेतमा ठाडो प्रहार गर्ने वालकथाकी लेखक एवं महिलाबादी अभियन्ता हेमलता राईले उस्तै ‘मारक’ कुरो लेखिन्, ट्वीटरमैं । उनले भनेकी छिन्—‘अदालत र न्यायधिश आफ्नो पार्टीको कब्जामा भएको हुंकार गर्ने तपाई आफैं बलात्कारको अपराधमा ‘स्ट्याचु अफ लिमिटेसन’ नराखौं भन्ने मागको र रोशनी शाहीको आँटको टाउको निमोठ्ने तपाईकै पार्टी र शारदाजीलाई कानूनी बाटो अपनाउन लल्कार्ने आँट तपाईलाई कसरी आयो भन्ने बुझ्न गाह्रो छ र ?’

यो बहसको भुंग्रोमा अनाहक खनिए— खगेन्द्र स्रग्रौला अर्थात कुन्साङ काका । यिनले पनि कति बुझेर अथवा नबुझेरै भनिहाले—‘मोदनाथ प्रश्रितको ‘नारीप्रेम’ एक व्यङ्गयार्थक बक्रोक्ती हो जसले सन्जीवन उप्रेतीद्धारा इङ्गित प्रश्रितीय प्रमेलाई जनाउँछ । बस । सहपुरस्कृत मोदनाथ प्रश्रितको नारीप्रेमले ‘हंस’को हंसमा खलल पुर्याएको पो बुझियो ।’ तर, प्रश्रितले जे गरिरहेका थिए, त्यो नारीप्रेम थियो भन्ने संग्रौलाको बुझाइ पनि गलत भैदियो । त्यो त प्रेम होइन, सरासर शोषण थियो । यसरी कमरेड रिजाल र संग्रौला पनि अहिले प्रश्रितसँगै घनघश्याको उकालोमा हिडिरहेका छन्— विवाद र बहसको घनघश्या ।

बरु यहिँबेला पत्रकार सरोजराज अधिकारीले भने सहि आँकलन निकालेका छन्, उपनेता रिजालका बारे । उनले भनेका छन्—‘यहि स्पिरिट कायम रहे अर्को वर्षसम्म मेरो साथी तपाई मन्त्री बन्ने पक्का छ, सांसद हुनै पर्दैन ६ महिनाका लागि । प्रश्रित सरलाई अब्बल दर्जाको पदक दिलाउन कोशिस गर्नु ल ?’

बेकारको भ्रम

आइतवार बिहानसम्म एउटै मन्चमा एकैसाथ बसेर मोदनाथसँग पद्मश्री पुरस्कार ग्रहण गर्न सक्दिन भनेर नैतिकता र इज्जतको स्वर निकालिरहेका लेखक सन्जिव उप्रेती बेलुका भएपछि अर्कै निस्किए । ट्वीटर, फेसबुकसहितका संवालमा ‘सन्जीव सरको निर्ण, क्याबात’ भन्नेहरुको भिडमा सन्जीव यति पुलकित बनिसकेछन् कि बेलुकीपख पद्मश्री पुरस्कारै नलिने ‘औकात’मा उनी उत्रिए ।

आफ्नै श्रीमती अर्चना थापा सहितका केही महिलाबादी अभियन्ताको स्वरगुलमाझ सन्जीव यति पेलिए कि औसत स्तरको ‘हंश’ उपन्यासले पद्मश्री पाइरहेका बेला पनि उनी कतै अलमलिएजस्तो देखियो । सोमबार साँझमा एउटा नवोदित अनलाइनलाई उनले भने— म पद्मश्री स्विकार गर्दिन ।

समस्या र जटिलता यहिँबाट सुरु हुन्छ । बिगतमा मदन पुरस्कार पाउन नसकेको पीडामा कर्णाली ब्लुज र फिरफिरेका लेखक बुद्धिसागरले ‘अब आइन्दा कुनै पुरस्कार भिडन्तका लागि केहि नलेख्ने’ भने झैं एकाएक सन्जीव उप्रेती पनि मैदानमा उत्रिए । बिगतको ‘घनचक्कर’ उपन्यासको प्रयोग नेपाली पाठकका लागि आफैंमा ‘घनचक्कर’ भैरहेका बेला र २४ पैसाको लोभमा प्रकाशक फेर्दै हिंड्ने अवस्था खुलेयाम देखिएका बेला सन्जीवले त्यत्तिकै दुई लाख रुपैंयाको पद्मश्री छाडेका होलान् र ? यो उनको बाध्यता र परिबन्दलाई राम्रैगरी बुझ्न सकिन्छ । र, एउटा भ्रम के नराख्दा राम्रो हुन्छ भने अमुर्त र क्लिष्ट कुरामा ‘फर्सीको जरा’ झैं लेखिएको यो ट्रेन्डलाई धन्य पुरस्कार दिइएको हो, यसलाई अस्वीकार गर्नु सन्जीवको जीवनकै सबैभन्दा गतिलो भ्रमजन्य त्रुटी हो ।

सन्जीवले आफूलाई मोदनाथसँग दाँज्नै कदापी मिल्दैन । मोदनाथको अहिलेसम्मको सम्पूर्ण सृजना र कृतित्व उनको यौनकृत्यमा गएर जोडिएको छ भने संजीव अहिलेसम्म अमुर्त र क्लिष्ट छन्, धन्य उनी यौनमा त देखिएका छैनन्, जोडिएका छैनन् । यहि उनको जीवनको ठूलो उपलब्धी हो । तर, फेरि पनि दोहोर्याएर भन्न चाहन्छु— उनले ‘हंस’ उपन्यासका लागि पद्मश्री पुरस्कार अस्वीकार गर्नु एउटा नचाहिंदो भ्रम हो, ढोंग हो र फजुलको कुरा हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक