शनिबार, वैशाख ८, २०८१

राजदूतमा एमाले हावी हुँदा चर्को विवाद,‘बार्गेनिङ’का भरमा कूटनीतिक पद

सुरेशचन्द्र कुइकेल२०७७ असोज १५ गते १७:३४

परराष्ट्रका मुख्य सचिवमा नियुक्त शंकर वैरागी

काठमाडौं— प्रशासनयन्त्रभित्र चल्दै आएको चाकडी र पदको ‘बार्गेनिङ’ का भरमा मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतका लागि राजदूतमा सिफारिश र परराष्ट्र सचिव शंकरदास बैरागी खनाल मुख्य सचिवमा पदासिन भएका छन् । यस अघि गत भदौ १७ गते नेपालप्लसले’ मुख्यसचिव र सचिवबिच राजदूत बन्ने होड तिब्र‘ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

निमित्त, कामू हुँदै सचिव भएर नेपालको इतिहासमैं सबैभन्दा लामो सात वर्षे सेवामा परराष्ट्र सचिव रहेका शंकर बैरागी आफ्नो सेवाअवधी टुंगिनु १० दिनअघि मुख्यसचिवमा नियुक्त भएका छन् । यो पनि पद रिक्त नरहेकै अवस्थामा भैरहेका मुख्यसचिव लोकदर्शनलाई राजिनामा गर्न लगाएर र यसको सट्टामा तत्काल बेलायतका लागि राजदूत बनाइदिने शर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाएअनुसारको पदपुर्ती सम्भव भएको छ । योसँगै आफ्ना अति विश्वासपात्र र २ साता अघिसम्म अर्थमन्त्री रहेका तथा हाल प्रधानमन्त्रीका अर्थ सल्लाहकार रहेका युवराज खतिवडालाई अमेरिकाको वासिङ्टन डीसीस्थित राजदूत सिफारिश गरिएको छ । अमेरिकाले अनुदानका रुपमा दिन लागेको भनिएको झण्डै ५५ अर्व रुपैंयाको एमसीसी परियोजना रोकिएकै अवस्थामा यसमा निकास दिन र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषसहितका दातृ निकायमा सुसम्बन्ध बनाउन खतिवडालाई रोजेर प्रधानमन्त्री ओलीले वासिङटन पठाउन चाहेका हुन् ।

तर, सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल भने मुख्यसचिवमा बैरागीको नियुक्ती र सल्लाहबिनै अमेरिका, बेलायतमा राजदूत नियुक्ती गरिएकोमा चर्को असन्तुष्टि जनाएका छन् । गत साता मात्रै नेकपा सचिवालय बैठकमा यस्ता नियुक्ती र सिफारिशमा दुबै अध्यक्षबिच परामर्श हुनेसहितका सर्तमा सहमती भएपछि नेकपा विवाद सुल्झिएको थियो । ‘यसपटक सत्तारुढ दलको कुरामा पनि राजदूत नियुक्तीका कुरामा नेकपा एमाले हावी भएको छ,’नेकपा विदेश बिभागका एक नेताले भने—‘बेलायतका प्रस्तावित राजदूत रेग्मी ‘बार्गेनिङ’मा आएका र प्रशासन सेवाबाट आएका हुनाले त्यति विवाद भएन । तर, मुख्यसचिव शंकर बैरागी र अमेरिकाका राजदूत खतिवडा भने पुरै एमालेकरण शैलीमा भएको छ । यसबाहेक, बिहिबारकै मन्त्रीपरिषद्ले दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त गरेका डा।निर्मल विश्वकर्मा पनि एमाले कार्यकर्ता हुन् ।’

बिशेषगरि परराष्ट्र सचिव छँदा बैरागीले अष्ट्रेलियामा रहेकी राजदूत लक्की शेर्पा, कतारबाट मायाकुमारी शर्मा र चीनबाट लिलामणि पौड्याललाई फिर्ता बोलाएका थिए । यी तिनै जना राजदूत माओवादी कोटामा रहेका कारण पनि सत्तारुढ पार्टीमा माओवादी पक्षधरको बैरागीको नामप्रति असन्तुष्टी थियो । ‘तर, नेपालको भारत–चीनसँगको असन्तुलित सम्बन्ध मिलाउन र नेपालको कुटनीतिक छवि बिस्तारका निम्ति यसपटक परराष्ट्र सचिव बैरागीलाई मुख्य सचिवमा ल्याइएको हो,’ प्रधानमन्त्री ओलीले बिहिबारको मन्त्रीपरिषद् बैठकमा भनेका थिए ।

प्रधानमन्त्रीको यो भनाइमा तत्काल कसैले बिरोध नगरेपनि माओवादी इतरका मन्त्रीले तत्काल बैठकबाट बाहिर निस्किएर चर्को असन्तुष्टि जनाएका थिए । सचिव बैरागीले सात वर्ष परराष्ट्रमा रहँदा उल्लेख्य केहि काम गर्न नसकेको र परराष्ट्रका ३ सय कर्मचारीको संजाल सम्हालिरहेका एकजना सचिवले निजामतीका ७० हजार कर्मचारीको भद्रगोल स्थिती सम्हाल्न नसक्ने माओवादी पक्षधर मन्त्रीहरुको भनाइ थियो । ‘तर, नेकपा सचिवालय सहमतीमा सरकार चलाउने जिम्मा प्रधानमन्त्री ओलीको रहेकाले उहाँले गर्ने निर्णयमा कसैको बिरोध वा समर्थनको कुनै अर्थ छैन,’प्रधानमन्त्री कार्यालयकै एक सहसचिवले भने ।

सचिव बैरागी ६० वर्षपछि परराष्ट्र पृष्ठभूमिबाट मुख्यसचिव बन्ने दोस्रो व्यक्ति बनेका छन् । बैरागीअघि २०१७ सालमा तत्कालिन परराष्ट्र सचिव शोभारजंग थापा मुख्यसचिव नियुक्त भएका थिए ।

बैरागी पर्वत जिल्लाको मल्लाज गाउँमा २०२३ सालमा जन्मेका हुन् । बैरागीले २०४४ सालमा नायब सुब्बाका रूपमा परराष्ट्र सेवा सुरू गरेका हुन् ।

मुख्यसचिव नियुक्तीको यो लफडाबारेमा पूर्व सचिव एवं बालुवाटार जग्गा छानवीन समितिका संयोजक शारदाप्रसाद त्रितालले स्ट्याटस सार्वजनिक गर्दै भनेका छन्—‘अवकाशपछि राजदूत वा अन्य पदको आशा नगरी आफ्नो दायित्व निर्वाह गर्ने हो भने एउटा मुख्य सचिवले धेरै काम गर्न सक्छ ।’

यसो भनेर त्रितालले बिगतका आशामुखी सचिव र पछिका मुख्यसचिवहरु सोमलाल सुवेदी, भोजराज घिमिरे, लिलामणि पौड्याल, माधवप्रसाद घिमिरे(स्व) आदिलाई इंगित गरेका हुन् । र, अहिलेका लोकदर्शन रेग्मीलाई भने ठाडै प्रहार गरेका हुन् ।
र, परराष्ट्र सेवामा न्याय–अन्यायको कुरा गर्ने हो भने अहिले मुख्य सचिव बनेका बैरागी झण्डै चार बर्ष मात्रै सहसचिव बनेका थिए, परराष्ट्रमा । तत्कालिन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेका सहयोगी भएबापतको निगाह र कृपा थियो उनलाई । उनी निमित्त र कामु सचिव भैहाले । अहिले निमित्त सचिव भएका भरतराज पौड्यालका हकमा उनी झण्डै १० बर्ष सहसचिव भएपछि मात्रै सचिव हुने क्रममा छन् । यसको अर्थ परराष्ट्र सेवा भनेर मात्रै पनि सबै कामकुरा र कार्यपद्धती चाकडी तथा पहुँचकै भरमा सम्भव भैरहेको बिज्ञहरुले बताउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक